दुधकोशीमा ह्युम पाइप, खुम्बु क्षेत्र जोडियो सडक सञ्जालमा

पुस ६, २०८१

भानुभक्त निरौला

Hume pipe in Dudhkoshi, Khumbu area connected to road network

सोलुखुम्बु — दुधकोशी नदीमा ह्युम पाइप राखेसँगै खुम्बु पासाङ ल्हामु गाउँपालिका पुनः सडक सञ्जालमा जोडिएको छ ।

गत साउन ३२ गते थामेमा आएको बाढीले मितेरी पुल आधा बगाएसँगै विच्छेद भएको सडक सन्जाल शनिबार ह्युम पाइप राखिएसँगै पुनः जोडिएको हो । 

जिल्लाको माप्यदुधकोशी गाउँपालिका १ र सोलुदुधकुण्ड नगरपालिकाको सिमानामा रहेको ओर्लाङघाटस्थित दुधकोशी नदीमा अस्थायी ह्युमपाइप राखेसँगै ४ महिनापछि खुम्बु सडक मार्गमा जोडिएको हो । अस्थायी सडक खुलाउन ३ वटा स्थानीय तहले साझेदारी गरेका थिए । ह्युम पाइप राखिने स्थानसम्मको सडक ट्र्याक खन्ने कार्यका लागि जग्गाको व्यवस्थापन सोलुदुधकुण्ड नगरपालिकाले गरेको थियो भने ३ किलोमिटर सडक खन्ने काम माप्यदुधकोशी गाउँपालिका र ह्युम पाइप राख्ने काम खुम्बु पासाङ ल्हामु गाउँपालिकाले गरेको हो । 

बाढीले पुलमा क्षति गरेसँगै तीन पालिकाको साझेदारीमा अस्थायी रूपमा सवारी साधन आवतजावत सुरु गराइएको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए । ‘चार महिनाको अथक मिहिनेतपछि सडक सन्जालसँग खुम्बु क्षेत्रलाई जोड्ने काम शनिबारबाट पूरा भएको छ,’ उनले भने, ‘आज एउटा बस सहज रूपमा खुम्बु प्रवेश गरेको छ ।’ 

खुम्बु क्षेत्रका नागरिक सडक यातायातबाट विमुख भएपछि जनताको समस्यालाई मध्यनजर गरेर नगरपालिकाले जग्गा व्यवस्थापनमा सहजीकरण गरेको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए ।

भानुभक्त निरौला

Link copied successfully