खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्वर्गीय जसबहादुर राईको स्मृतिमा उनका परिवारले स्थानीय श्रीमावि बास्बोटेमा अक्षयकोष स्थापना गरेका छन् । श्रीमती मैयाँकुमारी राई, छोरी रिनादेवी राई, छोरा सञ्जयकुमार राई र छोरी रविना राईले बुवा जसबहादुरको निधन भएको वार्षिकीको अवसर पारेर ‘जस–मैया किरात राई लाफेहाछा अक्षयकोष’ स्थापना गरेका हुन् ।
एक लाख ११ हजार एक सय ११ रूपैयाँको अक्षयकोषको वार्षिक ब्याजबाट दलित तथा अभिभावकविहीन विद्यार्थीलाई छात्रवृत्ति दिने गरी शुक्रबार नगद हस्तान्तरण गरेका हुन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका शिक्षा कार्यदलका संयोजक सूर्यबहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्रीमती मैयाँकुमारी राई र नाति सौहार्द राईले विद्यालयका अक्षयकोष परिचालन समितिका संयोजक ज्ञानेन्द्र राईलाई उक्त अक्षयकोषको रकम हस्तान्तरण गरेको सञ्जयकुमार राईले बताए ।
कार्यक्रमकै अवसरमा ‘जस मैया किरात राई लाफेहाछा अक्षयकोष’का संस्थापक परिवारले दुई थान भलिबल र दुई थान जालीसमेत हस्तान्तरण गरेको राईले सुनाए ।
२०१६ साउन १६ गते जन्मिएका जसबहादुर राईको २०८० पुस ५ गते निधन भएको थियो । स्वर्गीय राई पूर्व भारतीय सेना हुन् । यो सहित उक्त विद्यालयमा अक्षयकोषको संख्या १३ पुगेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङ, कांग्रेस खोटाङका प्रवक्ता रोजन राई, कांग्रेस महासमिति सदस्य सुमनबाबु आचार्य, नेविसंघ खोटाङका नेता मोतिचन्द्र राई, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति थियो ।
