खोटाङ — रुखले लागेर एक युवकको मृत्यु भएको छ । रावाबेसी गाउँपालिका–२ खार्पाको भडारे भन्ने ठाउँमा सोमबार दाउराका लागि रूख ढाल्ने क्रममा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले ढाँडगाउँका १८ वर्षीय शिव परियारको मृत्यु भएको हो ।
खार्पाका वडाध्यक्ष डोलराज बस्नेतका अनुसार दाउराका लागि ढालेको रुखले अर्को मक्किएको रुखमा बज्रिएको र त्यो मक्किएको रुख भाँच्चिएर परियारलाई लाग्दा सोमबार दिउँसो दुई बजे घटनास्थलमै मृत्यु भएको हो । ‘दाउराका लागि रुख ढाल्दा पोहोर साल डढेलोले मक्किएको रुखमा बज्रिएछ,’ बस्नेतले भने,‘त्यो मक्किएको रुख भाँच्चिएर लाग्दा घटनास्थलमै ज्यान गयो ।’
बस्नेतका अनुसार स्थानीय कमल नेपालीको जग्गामा उक्त रुख काटिएको हो । तेह्रथुमका कुलचन्द्र भट्टराईले उत्तिस र चिलाउने जातको रुख खरिद गरी प्लाउड उद्योगमा लैजान कटान गर्ने क्रममा नेपालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता मोहन पोखरेलको टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको वडा सदस्य दीपक राईले बताए ।
