आफूविरुद्ध समाचार लेख्ने पत्रकार एवं नदीजन्य पदार्थ उत्खनन गर्नेमाथि कारबाही गर्न र प्रशासकीय अधिकृत पठाउन माग
सुनसरी — धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्ने मागसहित केन्द्र सरकारलाई तीनवटा पत्र पठाएका छन् । आफूविरुद्ध समाचार लेख्ने पत्रकार र नदीजन्य पदार्थ उत्खनन गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई दुइटा र प्रशासकीय अधिकृत पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई गरी तीनवटा पत्र पठाएका हुन् ।
आइतबार पत्रमार्फत साम्पाङले आफूविरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेका छन् । खोज पत्रकारिता केन्द्रका लागि पत्रकार गोपाल दाहालले 'हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार प्रकाशित भएलगत्तै आक्रोशित बनेका नगर प्रमुख साम्पाङले दाहालसहित पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईलाई कारबाही गर्न गृहमन्त्री लेखकसँग माग गरेका छन् ।
पत्रकार दाहालले समाचारमा आफूलाई नक्कली माओवादी बनेर चन्दा असुलेको उल्लेख गरेको र उक्त विषय झूटो भएको साम्पाङले गृहमन्त्रीलाई लेखेको पत्रमा दाबी गरिएको छ । उक्त समाचारलाई जनकऋषिले दुष्प्रचार गरेको साम्पाङको आरोप छ ।
साम्पाङले पत्रमा लेखेका छन्, ‘दुवैलाई कानुन मुताबिक कारबाही गरी लोकतन्त्रमा नागरिकको मताधिकार र जनादेशबाट निर्वाचित नगर प्रमुखजस्तो पदलाई अपमान र अनादर गरी भ्रम फैलाउने तथा मानहानि गरी प्रेस स्वतन्त्रताका नाममा पार्टीगत आग्रह-पूर्वाग्रह राखी लोकतन्त्रलाई नै निकृष्ट र बदनाम गर्ने आपराधिक, असामाजिक, अमर्यादित कृत्य र त्यसबाट हुन जाने विकृतिलाई रोक्न आवश्यक कदम चालियोस् भन्ने अनुरोध छ ।’
साम्पाङले प्रेस स्वतन्त्रताका नाममा व्यक्ति र पद दुवैको मानहानि गर्नेलाई कारबाही गर्न पनि पत्रमार्फत माग गरेका छन् । शुक्रबार सुनसरीका पत्रकारहरुले साम्पाङको धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध धरान पुगेका गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएका थिए । त्यसलगत्तै आइतबार कार्यालय खुलेपछि साम्पाङले गृहमन्त्रीलाई पत्र लेख्दै आफूविरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाहीको माग गरेका हुन् ।
आइतबार नै गृह मन्त्रालयलाई दोस्रो पत्र लेखेका साम्पाङले नदीजन्य पदार्थ उत्खनन गर्ने तस्करीको गाडी नियन्त्रणमा लिन माग गर्दै पत्र पठाएका छन् । नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका धरान-५ का सन्तोष लिम्बुले सरकारी जग्गामा ढुंगा निकालेर बिक्री गरेको पत्रमा उल्लेख गरेका छन् । मंसिर ४ गतेदेखि नगर प्रहरीलाई ढुंगा झिक्ने गरेको ठाउँमा खटाउनु परेको र नेपाल प्रहरीले सहयोग पनि नगरेको साम्पाङले आरोप लगाएका छन् ।
उत्खनन र ढुवानीमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीमा पत्र पठाए पनि काम हुन नसकेकाले गृह मन्त्रालयमा जानकारीसहित पत्र पठाउनुपरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । गृह मन्त्रालयमा पठाएका दुवै पत्र साम्पाङले जिल्ला प्रशासन कार्यलय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा इलाका प्रहरी कार्यालय धरानलाई समेत बोधार्थ दिएका छन् ।
साम्पाङले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम गर्न गाह्रो भएको भन्दै उनले तत्काल पठाउन आग्रह गरेका छन् ।
