खोटाङ — साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माविमा पौने तीन करोडको लागतमा निर्माण हुने भवनको शिलान्यास गरिएको छ ।
ब्रिटिस गोर्खा वेलफेयरको दुई करोड ८५ लाख ५८ हजार एक सय ३३ रूपैयाँको लागतमा सम्पन्न हुने गरी निर्माण हुन लागेको भवनको शुक्रबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईले शिलान्यास गरेका हुन् । ब्रिटिस गोर्खा वेयलफेयरले सुविधासम्पन्न १२ कोठे भवन १८ महिनाभित्रसम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरिने छ ।
कक्षाकोठा अभाव झेरिरहेको उक्त विद्यालयका लागि सुविधासम्पन्न भवन ब्रिटिस गोर्खा वेलफेयरले उपलब्ध गराएपछि खुसी लागेको अध्यक्ष राईले बताए । ‘ब्रिटिस गोर्खा वेयलफेयरको लामो समयसम्मको सहयोग उल्लेखनीय छ,’ राईले भने, ‘त्यसमा पनि भवन अभाव झेलिरहेको विद्यालयलाई भवन उपलब्ध गराएको छ, यसमा ज्यादै खुसी लागेको छ ।’ उक्त भवन आगामी २०८२ असार १४ गते सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।
विद्यालयको पूर्वतर्फ रहेको लामो पुरानो विद्यालय भवन र त्यसअघिको दुई कोठे भवन भत्काएर उक्त भवन निर्माण थलिएको प्रधानाध्यापक शितल राईले बताइन् । नयाँ विद्यालय भवनको साथमा पुराना भवनहरू मर्मत, ६ कोठे अपांग तथा महिलामैत्री शौचालयको समेत निर्माण हुने राईले बताइन् । ‘नयाँ भवनका साथै पुराना भवनहरू मर्मत, अपांग तथा महिलामैत्री शौचालय, ६० जोर डेक्सबेञ्च, फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ, खानेपानी ट्यांकी, धारा पनि बन्ने छ,’ राईले भनिन् ।
भवन शिलान्यासमा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, गाउँपालिका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री न्यौपाने, वडा नं १ का वडाध्यक्ष हेमन राई, पालिका पूर्वउपाध्यक्ष सरिता खड्कालगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।
