संखुवासभा — संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र र मकालुमा प्रहरीका लागि २ वटा सुविधासम्पन्न नयाँ भवन निर्माण भएको छ ।
लामो समयसम्म भाडाको घरबाट सेवा दिइरहेका प्रहरी भवन निर्माण सम्पन्न भएपछि आफ्नै प्रहरी कार्यालयमा बसेर सेवा दिन थालेका छन्। सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल मङ्गलबारेमा स्थापना भएको प्रहरी चौकीले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्र कुवेर खापुङले बताए ।
भवनको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक खापुङले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताए । प्रहरीले उच्च मनोबल प्राप्त हुने र नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठूलो भूमिका हुने उनको भनाइ छ।
साढे दुई तले प्रहरी चौकी भवन भ्याटसहित १ करोड ५२ लाख ९६ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो। उक्त भवन विनायक निर्माण सेवा चैनपुरले निर्माण गरेको थियो ।
त्यस्तै मकालु गाउँपालिका-५ स्थित नुममा पनि प्रहरी चौकी उद्घाटन भएको छ। राज्यको सेवा जनताको घरघरमा पुऱ्याउने उदेश्यले प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।
