फरार अभियुक्त साढे १३ वर्षपछि पक्राउ

मंसिर २०, २०८१

रमेशचन्द्र अधिकारी

Fugitive accused arrested after 13 and a half years

धनकुटा — प्रहरीले जबरजस्ती करणीको मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई १३ वर्ष ७ महिनापछि पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका-६ का ३६ वर्षीय सर्वण नेवाः खड्गीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए । श्रेष्ठलाई टंकबहादुर मगरको जाहेरीले नेपाल सरकारवादी भएको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले २०६८ वैशाख २५ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । 

वर्षौसम्म लुकिछिपी बस्दै आएका श्रेष्ठलाई सुनसरीको धरान उपमहानगरपालिका-५ देउरालीबाट पक्राउ गरिएको प्रवक्ता खनालले बताए । ‘लुकिछिपी बसेको गोप्य सूचनाको आधारमा खोजतलास गरी पक्राउ गरिएको हो,’ उनले भने, ‘अदालतमा दाखिला गरी कारागार चलान गरिएको छ ।’ 

जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार महेन्द्र खरेलको कमाण्डमा खटिएको टोलीले पक्राउ गरिएको जनाइएको छ ।  

यसैबीच, दुई महिनाअघि फरार रहेका सहिदभूमि गाउँपालिका-४ पिप्लेका ३० वर्षीय दिपराज राईलाई पनि प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ । राईलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय फैसला भएको थियो । उनलाई धनकुटा-७ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully