तिङ्लामा सुक्खा पहिरोले १ सय घर जोखिममा

सयौँ रोपनी खेतीयोग्य जमिन सखाप

मंसिर २०, २०८१

भानुभक्त निरौला

100 houses at risk due to landslides in Tingla

सोलुखुम्बु — हिउँदयाममा गएको सुक्खा पहिरोका कारण सोलुदुधकुण्ड नगरपालिका-११ तिङ्लाको एउटा बस्ती नै जोखिममा परेको छ । एक सातायता सोलुखोलामाथि सारेलोकचौरमा लगातार पहिरो जाँदा २ सय रोपनी खेतीयोग्य जमिन बगाएको छ भने सिंगो बस्ती नै उच्च जोखिममा परेको छ ।

सोलु खोलामाथि रहेको उक्त स्थानमा करिब १ किलोमिटर जमिन पहिरोले बगाउँदा बस्तीमा असर गर्न थालेको हो ।

स्थानीयले धान रोप्दै आएको खेत बगाउँदा आधा दर्जन परिवार जमिनविहीन हुन पुगेका छन् । तल्लो सोलु जलविद्युत् आयोजना (८२ मेगावाट) ले सुरुङ खन्दा निस्किएको माटो भण्डारण गरेको क्षेत्रमा पहिरो गए पनि जलविद्युत आयोजनाकै कारण पहिरो गयो या अन्य कुनै कारण भन्ने यकिन हुन नसकेको वडाध्यक्ष टंक कार्कीले बताए ।

पहिरो नजिकैको क्षेत्रबाट उक्त जलविद्युत् आयोजनाको सुरुङमार्ग रहेको छ । पहिरो गएपछि त्यस क्षेत्रका बासिन्दा ५ दिनयता ढुक्कले सुत्नसमेत सकेका छैनन् । पहिरोका कारण खेत नै सखाप परेपछि उनीहरु निकै तनावमा छन् । ‘मेरो त २५ मुरी धान फल्ने खेत सबै बगायो, एक टुक्रो जमिन नराखी सुकुम्बासी नै बनायो,’ पहिरो प्रभावित ७१ वर्षीया वृद्ध चित्रकुमारी कार्कीले भनिन् । उनको आँगनसम्मै पहिरोले जमिन चिरा परेको छ । ‘राति ननिदाएको धेरै नै भयो,’ कार्कीले भनिन् । उक्त गाउँका वीरबहादुर कार्कीको घर पनि पहिरोले तान्ने अवस्थामा छ । ‘मेरो जीवनभर दु:ख गरेर आर्जन गरेको सबै जमिन पहिरोले बगायो,’ उनले भने, ‘भएको एउटा घर पनि आजभोलि भएको छ, अब कहाँ बस्ने के खाने चिन्तामात्रै छ ।’

उक्त स्थानमा २०४८ सालमा एक पटक पहिरो गएपछि त्यसयता कुनै बाढीपहिरो नगएको स्थानीय रामचन्द्र कार्कीले बताए । गत असोज १२ गते आएको बाढीका कारण सोलु खोलाको बहाव परिवर्तन भएकाले पहिरो गएको हुन सक्ने आँकलन स्थानीयको छ । मंसिर ५ गतेबाट सुरु भएको पहिरो गाउँसम्म आइपुगेपछि स्थानीयको निद्रा नै हराएको छ । पहिरोले चौर र फाँटको जमिन बगाएको हो । ‘हाईड्रोपावरको लापरबाहीका कारण हामीलाई उठीबास गरायो,’ पहिरो प्रभावित स्थानीय गोपाल कार्कीले भने, ‘अब हाम्रो यो सिंगो बस्तीलाई सुरक्षित स्थानमा लगेर स्थानान्तरण गरिदिनु पर्‍यो ।’ 

उक्त पहिरोले कम्तीमा १ सय घर परिवार उच्च जोखिममा रहेको वडाध्यक्ष कार्कीले बताए । ‘अब यहाँको व्यवस्थापन वडाको बसमा छैन, हामीले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन, संघीय सरकारले नै अग्रसरता लिनु पर्ने देखिन्छ,’ वडाध्यक्ष कार्कीले भने । सोलुदुधकुण्ड नगरपालिकाले चाँडै भूगर्भविद्को टोली बोलाएर स्थलगत रुपमा जमिनको अध्ययन गर्ने जनाएको छ । भूगर्भविद्बाट अध्ययनपश्चात् बस्ती स्थानान्तरणबारे निचोडमा पुग्ने नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए ।

बस्तीको वैकल्पिक रुपमा दिगो व्यवस्थापनको लागि गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणमा प्रतिवेदन पठाइसकेको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । ‘तत्काल केही गर्न सकिने अवस्था छैन, यसको दिगो व्यवस्थापनका लागि मन्त्रालयमा लिखित रुपमै पहल गरेको छु,’ प्रजिअ घिमिरेले भने, ‘मानवीय क्षति हुन नदिनका लागि सुरक्षाकर्मी तैनाथ गरी प्रभावित क्षेत्रको निरन्तर निगरानीको व्यवस्था मिलाइएको छ ।’

भानुभक्त निरौला

Link copied successfully