आकाशे पानी शुद्धीकरण गरेर पिउँछन् च्यास्मिटार माविका विद्यार्थी

मंसिर १९, २०८१

डम्बरसिं राई

The students of Chasmitar Mavi drink water purified by the sky

खोटाङ — खानेपानीको भुक्तमान खेपिरहेका हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माविमा आकाशे पानी शुद्धीकरण गरी उपभोग गर्न थालिएको छ । खानेपानीको समस्या भएपछि उक्त विद्यालयमा वर्षातको पानी सङ्कलन गरी शुद्धीकरण गरेर उपभोग गर्न थालिएको हो ।

बेस्ट वाटर संस्था काठमाडौंको १२ लाख र विद्यालयको १ लाख ९० हजार गरी १३ लाख ९० हजार रुपैयाँको लागतमा पानी शुद्धीकरण गर्ने उपकरण गरिद गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए । उक्त विद्यालयको एउटा आरसीसी र एउटा जस्तापाताको छाना भएको भवनको पानी सङ्कलन गरिएको हो ।

उक्त दुईवटा छानाको पानी १० हजार लिटरका तीनवटा ट्याङ्कीमा जान्छ । त्यसपछि एक हजार लिटरको ट्याङ्कीमा तानिन्छ । त्यहाँबाट पाँच सय लिटरको ट्याङ्कीमा शुद्धीकरण गरेर त्यहाँबाट फेरि पाँचै सय लिटरको ट्याङ्कीमा पूर्ण शुद्धीकरण भएको मानी जम्मा हुन्छ । त्यसबाट पासआउट भएर चारवटा धाराबाट खानेपानीको व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक तेजकुमार राईले बताए । यसबाहेक अर्को ३९ हजार लिटरको ट्याङ्कीमा पानी स्टोर गरेर राखिएको प्रअ राईले बताए । 

पानीको व्यवस्था भएपछि विद्यालयका कक्षा १२ सम्मका पाँच सय विद्यार्थीलाई सहज भएको राईले बताए । ‘पहिले विद्यार्थीले पानी नै पिउन पाउँदैन थिए, बाहिर पसलमा गएर चाउचाउ र बिस्कुट किनेर खाँदा पानी मागेर खान्थे, हामी शिक्षक स्टाफलाई कार्यालय सहयोगीले बोकेर ल्याई पानी खुवाउनु हुन्थ्यो,’ प्रअ राईले भने, ‘अहिले साह्रै सहज भएको छ ।’ 

उक्त ठाउँ पानीको चरम अभाव भएको ठाउँ हो । उक्त विद्यालयका विद्यार्थीहरूले घरमा पानी बोक्नुपर्ने अवस्था छ । ‘बिहान ५ बजे पानी लिन जाने र ९ बजेतिर मात्र घर आइपुग्छन्, अनि खाना खाएर विद्यालय आइपुग्दा साढे १० एघार बजेतिर हुन्छ, पढ्न र होमवर्क गर्न पनि पाउँदैनन्,’ प्रअ राईले भने, ‘यस्तो अवस्थाका विद्यार्थीलाई विद्यालयमा सहज खानेपानीको सुविधा भएपछि साह्रै खुसी भएका छन् ।’

उक्त खानेपानी योजना सम्पन्नपछि असार १० गतेदेखि नै विद्यालयले उपयोग गर्न थालेको राईले बताए । मंसिर ९ गतेदेखि भने औपचारिक रूपमै दातृ निकायले विद्यालयलाई हस्तान्तरण गरेको छ । नगरप्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत, बेस्ट वाटर संस्थाका प्राविधिक अधिकृत गोकुल दंगाल, बेस्ट वाटर संस्थाका दाताहरू अर्पना पोखरेल, अनमिका अर्याल, सरोज भण्डारी र स्थानीय अभिभावक लगायतको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण तथा उद्घाटन गरिएको राईले बताए ।

उक्त योजनाका लागि नगर प्रमुख राईको पहल र दातृ निकायहरूसँगको समन्वयमा सम्भव भएको नगरपालिकाका प्रवक्ता गिरीले बताए । ‘पानीको यस्तो विकराल अवस्थामा योजना सम्पन्न भएपछि विद्यार्थी, शिक्षकलाई सहज भएको छ,’ उनले भने । 

हलेसी तुवाचुङ नगरपालिकामा करिब पाँच हजार उपभोक्तालाई दूधकोशी नदीको पानी लिफ्ट गर्न निर्माणाधीन ‘बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजना’ भने अलपत्र अवस्थामा छ । नेपाल सरकारको ९६ करोड ४५ लाख ४ हजार १ सय ३८ रूपैयाँको लागतमा सम्पन्न गर्ने गरी २०७४ सालबाट सुरु गरिएको उक्त खानेपानी आयोजना अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully