सुनसरी — सुनसरी प्रहरीले दुईवटा सरकारी नम्बर प्लेट राखिएको गाडीबाट करिब ७ सय किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यलय धरानको टोलीले उक्त गाडी नियन्त्रणमा लिनका लागि चार राउन्ड गोली समेत चलाएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
प्रहरीले गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिए पनि गाडीका चालकमध्ये एक जनालाई मात्र पक्राउ गरेको छ । कोशी राजमार्गअन्तर्गत धनकुटाबाट गाँजा लिएर धरानतर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट भएको बा १ झ ४६०५ नम्बरको स्कार्पियो र बा १ झ ५१२७ नम्बरको कार मंगलबार राति रोकेर चेक गर्ने क्रममा प्रहरीले गोली चलाएको तिम्सिनाले जानकारी दिए ।
बा १ झ ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा पक्राउ गरे पनि अर्का चालक गाडी छाडेर भागेको जनाएको छ । दुवै गाडी चेक गर्दा ७ सय किलो गाँजा बरामद भएको र प्रहरीको गोली प्रहारबाट ५१२७ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
नियन्त्रणमा लिएको गाडीहरू सरकारी हुन या होइनन भन्ने सन्दर्भमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । सुनसरी प्रहरीले यसअघि एम्बुलेन्स, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र भारतीय नम्बर प्लेटको सवारी साधनबाट समेत ठूलो परिमाणमा गाँजा बरामद गरिसकेको छ ।
लागूऔषध गाँजाको ओसारपसार र कारोबारमा संलग्न गिरोहले यसको तस्करीका लागि नयाँ–नयाँ शैली अपनाउन थालेको भन्दै यसतर्फ पनि प्रहरीले निगरानी बढाएको इलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
