गलत विवरण देखाएर चन्दा माग्ने दुई जना पक्राउ

मंसिर १८, २०८१

डम्बरसिं राई

Two people were arrested for asking for donations by showing false details

खोटाङ — गतल विवरण दिएर चन्दा माग्ने दुई जना पक्राउ परेका छन् । बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का १९ वर्षीय अजयराम चमार र १९ वर्षीय जितेन्दरराम चमार पक्राउ परेका हुन् ।

उनीहरूलाई बोल्न नसक्ने, कान नसुन्ने भन्दै शहीद लखन गाउँपालिका गोरखाको लेटरप्याडमा आर्थिक सहयोग गरी दिने विषयको पत्रसहित ऐंसेलुखर्क गाउँपालिकाको विभिन्न ठाउँमा चन्दा मागिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।

उक्त पत्रमा शहीद लखन गाउँपालिका–११ का सन्तोषकुमार शर्मा र दीपेन्द्रकुमार शर्मा उल्लेख गरिएको छ । पक्राउपछि सोधपुछ गर्दा वास्तविक नाम, थर, ठेगाना पत्ता लागेको पोखरेलले बताए । उनीहरूलाई चन्दा ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरी सोमबार जिल्ला अदालतमा तीन दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको पोखरेलले जनाए ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद १७ हजार सात सय ६० रुपैयाँ बरामद गरेको जनाएको छ । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully