पाँचथर — फालेलुङ–५, प्राङबुङको डाँडागाउँ टोलमा गत भदौ १३ गते भएको विस्फोटमा ज्यान गुमाएका र घाइते भएका बालबालिकाका अभिभावकलाई राहत रकम उपलब्ध गराइएको छ ।
फालेलुङ कञ्चनजंघा पर्यापर्यटन संस्था, दीप ज्योति युवा क्लब र फालेलुङ सेवा समाजले संकलन गरेको रकम साेमबार संयुक्त रूपमा वितरण गरिएको हो । ती संस्थाको अगुवाइमा मृतक र घाइतेका अभिभावकका लागि नगद ३ लाख ४२ हजार ९ सय ५६ रुपैयाँ संकलन भएको थियो ।
उक्त रकममध्ये ज्यान गुमाएका दिप्सन र प्रिन्सा साँवाकी आमा पूजा साँवालाई १ लाख ७१ हजार ४ सय ७४ र घाइते दिप्सन राई र पवन राईका अभिभावकलाई ८५ हजार ७ सय ३९ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको फालेलुङ सेवा समाजका अध्यक्ष सुवास राईले जानकारी दिए ।
फालेलुङ–५ का वडाध्यक्ष भरतकुमार खपाङ्गी, दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवा, फालेलुङ कञ्चनजंघा पर्यापर्यटन संस्थाका अध्यक्ष शिल्प साम्पाङ, फालेलुङ सेवा समाजका अध्यक्ष सुवास राई र कालिका मावि प्राङ्बुङका प्रधानाध्यापक किशोर गौतम लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।
गत भदौ १३ गते स्थानीय आइतराज केरुङको घरमा खेलिरहेका अवस्थामा बेवारिसे बम विस्फोट हुँदा स्थानीय दिलीप र पूजा साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षीया छोरी प्रिन्सा साँवाको ज्यान गएको थियो भने ज्ञानबहादुर राईका छोरा पवन र दीपक राईका छोरा दिप्सन राई घाइते भएका थिए ।
घाइते दुवै जनालाई कीर्तिपुर बर्न अस्पतालमा उपचारपछि घर फर्काइएको छ भने स्वास्थ्यमा क्रमशः सुधार आइरहेको बताइएको छ ।
