विराटनगर — कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुखले भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री भण्डारीको शपथ सोमबार साँझ साढे ५ बजे तय गरिएको छ । आफू मन्त्री नियुक्त भएको र शपथको तयारी भइरहेको भण्डारीले जानकारी दिए ।
मन्त्रीको जिम्मेवारी पाएपछि कोशी प्रदेशमा बन्न बाँकी ऐन निर्माण गर्ने, ऐन कार्यान्वयन गर्ने आवश्यक नियमावली निर्माण गर्ने भण्डारीले बताए ।
उनले नयाँ कानुन बनाउनुपर्ने भए प्रदेश सभामार्फत पहल लिने पनि बताए । त्यस्तै कोशी प्रदेशको यातायात मन्त्रालय पनि आन्तरिक मामिलामन्त्रीले नै सम्हाल्ने भएकाले यातायात क्षेत्रलाई लाई पारदर्शी, व्यवसायिक र उन्नत बनाउन पहल लिने भण्डारीले बताए ।
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लब अधिकारीले तीन जना युवालाई अनधिकृत रूपमा जापान लगेपछि विवादमा परेका थिए । उनी जापानको एयरपोर्टबाट डिपोर्ट भई नेपाल फर्काइएका थिए । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
अधिकारीलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउन सिफारिस गरेपनि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको थियो ।
