करेन्ट र ब्लास्टिङले माछा लोप हुने अवस्थामा 

कार्तिक ११, २०८१

डम्बरसिं राई

In case of fish extinction due to current and blasting

खोटाङ — रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित धारापानी माविमा कक्षा ९ मा अध्ययरत १८ वर्षीय सन्तोष मगर अचेल दिनहुँ रावाखोला धाउँछन् । दिनभरिमा दुई–तीन केजी माछा मार्छन् अनि प्रतिकेजी ६ सय रूपैयाँका दरले बेचेर घर फर्किन्छन् ।

पहाडका खोलाहरूको माछा मिठो हुनुका साथै माछाको माग बढ्दो रहेकाले पैसा कमाउने ध्याउन्नमा खोला धाउने गरेको उनको भनाइ छ । दुवाली छेक्ने, जाल हान्ने, जाल थाप्ने, कुर थुन्ने लगायत सीप अपनाएर माछा मार्ने गरेको मगरले सुनाए । ‘दिनभरि माछा मार्दा १२ सयदेखि १८ सयसम्म कमाइ हुन्छ,’ उनले भने, ‘कपी-कलम, कपडा, फोन खर्च चलेकै छ ।’ 

तर यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा खोलामा माछा नभएपछि माछाबाटै जीविकोपार्जन गर्नेहरू चिन्तित छन् । माछा नपाएपछि माछा पसल नै चौपट भएको कटरेबेसीमा माछा पसल गरेर बस्ने रत्नमायाा रम्तेलले बताइन् । ‘कुनै बेला एकै दिन ५० हजारसम्मको माछा बेचियो, यस वर्ष त खोलामै माछा पाइँदैन,’ उनले भनिन्, ‘यहाँ माछा व्यापार गर्ने तीनवटा पसले छौं, हाम्रो व्यापारै चौपट भयो ।’ 

करेन्ट, ब्लास्टिङ, बाढी, जलवायु परिवर्तनका कारण माछा घटेको रावाबेसी गाउँपालिका–२ खार्पाका वडाध्यक्ष डोलराज बस्नेतले बताए । रावाखोलामा बर्सेनि ६–७ ठाउँमा तिप थाप्ने गरेको बस्नेतको भनाइ छ । ‘अघिल्लो वर्षतिर एउटै तिप (सोराइ)मा तीन-चार सय केजी माछा निक्लन्थ्यो, यस वर्ष सय केजी पनि पुगेन,’ उनले भने, ‘करेन्ट, ब्लास्टिङ, बाढी, जलवायु परिवर्तनले माछा घटे ।’In case of fish extinction due to current and blasting

रावाबेसी गाउँपालिका–३ लामीडाँडाको तिल्केटार, वडा २ खार्पाको चालिसे, वडा ४ डुम्रेधारापानीको कटहरे, वडा ५ दुबेकोलको पिप्ले, चिण्डेभदौरेबेसी लगायत विभिन्न ठाउँमा सोराइ थाप्ने गरिएको बस्नेतले बताए । यसमध्ये तिल्केटारमा माझी समुदायले हिउँदे सोराइ लगाउने गरेका छन् । चालिसे, पिप्ले, कटहरेबेसी लगायत विभिन्न ठाउँमा भने वर्षे सोराइ लगाउने गरिन्छ । ‘यस वर्षामा चालिसे, कटहरेबेसी, पिप्लेको सोराइ बगाएको थियो,’ बस्नेतले भने, ‘यसमध्ये चालिसे र कटहरेबेसीमा बगाएको सोराइ फेरि बनाइएको हो ।’

ब्लास्टिङ, करेन्ट, विष लगाउन बन्देज गरिए पनि रोक्न नसकिएको वडाध्यक्ष बस्नेतले जनाए । ‘अघिल्लो स्थानीय सरकारदेखि वर्तमान स्थानीय सरकार, वडाहरूले समेत करेन्ट, ब्लास्टिङ, विष लगाउन प्रतिबन्ध गर्दै आएको हो तर सफल भइएको छैन,’ बस्नेतले भने ।

करेन्ट र ब्लास्टिङ लगाएर माछा मार्ने एउटा टोलीलाई समातेर प्रहरीसम्म पुर्‍याउँदा समेत नियन्त्रण गर्न नसकिएको बस्नेतको भनाइ छ । ‘एकचोटि करेन्ट र ब्लास्टिङ लगाएर माछा मार्नेलाई समातेर प्रहरीसम्म पुर्‍याएको हो, नेताहरूको रोहबरमा आइन्दा त्यसो नगर्ने बाचा गरेर छाडिएको थियो,’ बस्नेतले भने, ‘तैपनि नियन्त्रण भएन ।’

करेन्ट र ब्लास्टिङ प्रयोग गरेर माछा मार्दा माछामा प्रजनन क्षमतामा कमी आउनले भएकाले असला लगायतका स्थानीय प्रजातिका माछा लोप हुने अवस्थामा पुगेको बस्नेतले बताए । ‘करेन्ट र ब्लास्टिङ प्रयोग गरेर माछा मार्दा मर्ने त मरिजान्छ तर बाँच्ने माछा र भुरा पनि घाइते हुने, प्रजनन क्षमतामा कमी आउने हुँदो रहेछ, त्यही भएर पनि माछा घटेको हो, अब लोप हुने चरणमा पुगेको छ ।’

जिल्ला समन्वय समिति खोटाङले पनि जिल्लाका रावाखोला, तापखोला, साप्सु खोला, मेवा खोला लगायत विभिन्न खोलामा करेन्ट, ब्लास्टिङ र विष प्रयोग गरेर माछा नमार्न दुई महिनाअघि नै सम्बन्धित स्थानीय तहहरूलाई पत्राचार गरेको समन्वय प्रमुख सनबहादुर राईले बताए । यसअनुसार कार्यान्वयन भयो भएन भनेर निरीक्षण पनि भइरहेको राईले बताए । ‘दुई महिनाअघि नै करेन्ट, ब्लास्टिङ, विष प्रयोग गरेर माछा नमार्न पत्राचार गरिसकेका छौं, त्यसै अनुसार निरन्तर अनुगमन भइरहेको छ, हिजै पनि सिडिओ, सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले रावाखोला क्षेत्रमा अनुगमन गरियो,’ राईले भने, ‘त्यस्तो पाइए कानुनी कारबाही हुन्छ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully