खोटाङ — वर्षाका कारण गएराति गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाामा दुई ठाउँ र ३ च्यास्मिटारमा एक ठाउँ गएको पहिरोले अवरुद्ध भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार बाहुनीडाँडाको गोरुमारेमुनि र डौँठेखोला माथि पहिरोले सडक अवरुद्ध भएको छ । त्यस्तै च्यास्मिटारको जोरसिमल नजिक बयक्तमा पहिरो जाँदा यातायात अवरुद्ध भएको गिरीले बताए । ‘दुवै ठाउँमा राति ११ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको छ,’ गिरीले भने, ‘खुलाउनका लागि नगरपालिकाले दुईतिरबाट गरी दुई वटा डोजर पठाएको छ । पुगेपछि खुलाउने काम सुरु हुन्छ ।’
खोटाङमा रहेको सडक विभाग र मध्यपहाडी लोकमार्ग डोजर सिन्धुली लगिएकाले सडक खुलाउन ढिला भएको गिरीले बताए । सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराईबाट आएका गाडी डौँठे खोलामा र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसीमा रोकिएको गिरीले बताए ।
