फिदिममा आकर्षक 'स्काइडोम'

श्रावण २६, २०८१

लक्ष्मी गौतम

Attractive 'Skydome' in Phidim

पाॅचथर — यहाॅ उत्पादित चियाको बजारीकरणसॅगै  पर्यटनको प्रवर्द्धन गर्न आकर्षक स्काइ डोम निर्माण गरिएको छ । लामो समयदेखि जैविक चिया उत्पादन गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पठाउँदै आएको  कञ्चनजंघा टि-स्टेट एण्ड रिसर्च सेन्टर र टि-कलेक्टिभिटीले फिदिम-१ मा यस्ता डोम निर्माण गरेका हुन् ।

१ करोड रुपैयाँ लगानी गरेर ५ वटा स्काइ डोम निर्माण गरिएको  निर्माणकर्ताको भनाइ छ । भुइँमा सिमेन्ट र माथि सिसा राखेर निर्माण गरिएका डोम आकर्षक छन् । डोमभित्र बाहिरको मनोरम बातावरणको दृश्यपानसँगै आकाश नियाल्न सकिन्छ ।

यहाँका प्रत्येक डोममा २ जनाका दरले जम्मा १० जना पर्यटक अटाउने कञ्चनजंघा टि स्टेटका प्रबन्ध निर्देशक निरानन्द आचार्यले बताए । स्काइ डोम चिया बगानका माझमा निर्माण गरिएको छ । यसरी निर्माण गरिएका डोम हेर्नमा पनि आकर्षक छन् । डोम फिदिम नगरपालिका-१ कञ्चनजंघा टि स्टेटदेखि १० मिनेट पैदल दुरी यात्रापछि पुगिने एकान्त स्थलमा छन् ।

यहाँ प्रायः बाह्य पर्यटक घुमफिरमा आइरहन्छन् । पर्यटकहरु एकान्त, शान्त र मनोरम दृश्यमा रमाउने भएकाले स्काइ डोमको परिकल्पना गरिएको पनि आचार्यको भनाई छ । आकाश नियाल्दै सुत्न, बाहिरको हरियाली भित्रबाटै नियाल्न मात्रै एकान्त स्थलमा भएकाले अध्ययन अनुसन्धान गर्नेका लागि पनि डोम निर्माण गरिएको क्षेत्र उपयुक्त रहेको उनले बताए । 

डोम क्षेत्रमा वायु र ध्वनि प्रदुषण नहुने भएकाले ध्यान, योग र साधना गर्नेहरुका लागि पनि उपयुक्त हुने बताइएको छ । डोम गत चैत महिनादेखि सञ्चालनमा ल्याइएको हो । कञ्चनजंघा टि स्टेटले झण्डै चार दशकदेखि जैविक चिया उत्पादन गर्दै आएको छ ।

यहाँ उत्पादन भएको चिया, जापान, जर्मन र अमेरिकासहित विभिन्न मुलुकमा जान्छ । कञ्चनजंघामा चियाको अध्ययन, अनुसन्धान र परीक्षणका लागि देश विदेशबाट पर्यटक र अध्येताहरु आइपुग्छन् ।यसरी आउने विदेशी पर्यटक र अध्येतालाई लक्षित गर्दै स्काइ डोम निर्माण गरिएको उनीहरुले जनाएका छन् । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully