विराटनगर — पूर्वमन्त्री राजेन्द्र महतोले कोशी प्रदेशको नामकरण पहिचानका आधारमा हुनु पर्ने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महतोले ‘कोशी’ नामकरण गलत भएको दाबी गर्दै तत्काल सच्चाउन माग गरे । उनले थपे, ‘यसले पहिचानवादीहरुमाथि चरम अन्याय गरेको छ ।’
‘कोशी नामप्रति हाम्रो आपत्ति छ’, राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियानका संयोजक महतोले भने, ‘लिम्बुवान, खम्बुवान, किरातका जनताले ऐतिहासिकताका आधारमा आफ्नो पहिचान मागेका थिए, तर एकल नश्लीय सोच भएको सत्ताले कोशी थमाइदियो ।’ महतोले कोशी प्रदेश नामकरणको विरोध र राज्यको पुनर्संरचनाको माग गर्दै शनिबार पूर्वीकमाण्ड विराटनगरमा बृहत् विरोध कार्यक्रम आयोजना गरिएको जनाए । उनले भने, ‘हाम्रो कार्यक्रमको मुख्य माग भनेकै कोशी प्रदेशका नाम खारेजी र राज्यको पुनर्संरचना रहेको छ । प्रदेशको संरचनाप्रति पनि आपत्ति जनाएका महतोले कोशीको बदला कुन नाम राख्ने भन्नेबारे भने सोचिनसकेको बताए । ‘पहिला यो खारेज गरौं न अनि पछि नाम सोचौंला’, महतोले भने ।
महतोले १०४ वर्षे राणाशासन, २ सय ४० वर्षे राजतन्त्रजस्तै गणतन्त्रमा पनि नेपाल ‘एक पहिचान एक देश’को सिद्धान्तअनुसार चलिरहेको उल्लेख गर्दै भने, ‘बहुपहिचान एक देशको सिद्धान्त अनुसार नेपाल बनेको हो ।’ उनले एकल जात, एक राष्ट्रको चिन्तनबाट नेपाल शासित भइरहेको जिकिर गर्दै महतोले जसका कारण देश र संविधान नै असफलको दिशातिर अग्रसर बनेको दाबी गरे ।
अभियानका नेता बुद्ध छिरिङ मोक्तानले एकल जातीय र नश्लीय सोचका साथ देश संचालन भइरहेको र यसले बहुल राष्ट्रवादका पक्षपातीहरुलाई समस्या भइरहेको जनाए । ‘राज्यका अंगहरुमा पनि एकल जातीय सोच हाबी छ’, मोक्तानले थपे, 'एकल जातीय वर्चश्वले देश बर्बादीको दिशातिर अग्रसर देखिन्छ ।’
