आदिरा : स्वैरकल्पनाको शक्तिशाली संसार

प्रत्येक पन्नाबाट निर्मित खण्डहरूले तपाईंलाई कल्पनामा बुनिएको यस्तो संसारमा पुर्‍याउनेछ, जहाँ सबैको स्वैरकल्पना पुग्न सक्दैन ।

वैशाख १९, २०८३

विप्लव प्रतीक

Adira: A powerful world of imagination

What you should know

मैले भर्खरै 'आदिरा' पढेर सिध्याएँ । यसबारे केही लेख्ने मनसुवाले मलाई लखेट्यो, जसबाट उम्किन मलाई मन भएन । र, जहाँबाट म सुरु गर्दै छु त्यो असान्दर्भिक लाग्न सक्छ ।

अध्यापन अर्थात् पढाउने कुराबाट आफ्नो कुरा सुरु गर्छु । अध्यापन याने कि टिचिङ– ‘टिचिङ इज लर्निङ’ ।

सुन्दा साधारण लाग्न सक्छ, तर लर्निङ भनेको कुन खालको साधना हो त्यो बुझ्यो भने निकै गहिरो कुरा हो ।

सिक्नु भनेको आफ्नो अहंलाई पखाल्नु हो, निहुरिनु हो, जुन मानिसको आधारभूत चरित्रभित्र पर्दैन, र हत्तपत्त गर्न चाहँदैन । सिक्नु भनेको विनीत हुनु पनि हो, जसलाई अधिकांश मानिसले बिर्सिएर बाँच्ने संस्कार अंगीकार गरिसकेका छन् । अध्यापन गर्दा सिक्ने चाहनाको दैलो जुन शिक्षकले खुल्ला राखेको छ, ऊ अरुप्रति स्नेह, करुणा राख्छ र ऊ आफूप्रति होइन, अरूप्रति संवेदनशील छ भन्ने थाहा पाइन्छ । टिचिङ इज लर्निङ पछि म त्यसमा थप्न चाहन्छु– ‘राइटिङ इज थिन्किङ’ । 

यसै प्रसंगमा एउटा कुरा भन्छु है त !

सलीमजावेद सन् सत्तरीको दशकमा हिन्दी सिने संसारमा प्रसिद्ध पटकथाकारमध्ये एक थिए । सलमान खानका पिता सलीम र फरहान अख्तरका पिता जावेद । शिखरमा रहेका बेला एकपल्ट सलीमजीलाई कुनै पत्रकारले सोधे, 'तपाईंहरू दुईमध्ये लेख्छचाहिँ कसले ?'

सलीमजीले जवाफ दिएछन्, 'कसले लेख्छ भन्ने गौण हो, नसोध्नुस्, बरु कसले सोच्छ भनेर सोध्नुस् । सोचेको कुरा लेख्न त हामीले तलब दिएर लेखनदास राखेका छौं ।'

झट्ट सुन्दा, सोच्नु कुनचाहिँ ठूलो कुरा भयो भन्ने पनि लाग्न सक्छ । ठूलो हो कि स्यानो त्यो त म पनि भन्न सक्दिनँ । तर, महत्वपूर्ण र अर्थपूर्णचाहिँ हो । मानिसले कसरी सोच्छ ? विज्ञानका अनुसार सोच्नका लागि लाखौं तन्तुहरुले एकसाथ काम गर्नुपर्ने हुन्छ ।

यो त भयो शरीरविज्ञानको कुरा ।

प्रमुख कुरा भनेको सोच्नु या कुनै विषयमा चिन्तन गर्नु साधारण कुरा होइन । त्यसको पिँधमा ज्ञान आवश्यक छ । ज्ञानको स्रोत असीमित छ । ज्ञान नभई सोचको जन्म हुँदैन, सोच नभई चिन्तनको जन्म हुँदैन र चिन्तन लेखकको पूर्वाधार हो, उसका विभिन्न औजारमध्ये एक हो ।

कुनकुन दर्शनको सत्संग गर्ने, विज्ञानका केके कुरासँग सान्निध्य राख्ने, कस्ता साहित्यसँग संसर्ग गर्ने र इतिहासको भीमकाय वृक्षको कुन छायामुनि बस्ने भन्ने कुरा त्यो ‘राइटिङ’ का निम्ति ‘थिन्किङ’ गर्ने लेखकको छनोटको कुरा हो । 

सोच्नु र लेख्नु सजिलो सफर होइन, लेखनको लक्ष्यमा पुग्नु सहज छैन । र, रातारात कसैले पनि आफ्नो लेखनको परिणाम हासिल गर्न सक्दैन । हाम्रो जस्तो समाजमा त्यो झन् कठिन छ महिलाका लागि । पुरुषभन्दा ज्यादा खटिनुपर्ने महिलाका लागि लेखन कति कठिन छ भन्ने कुरा आम मान्छेको कल्पनाबाहिरको कुरा हो । हरेक कुरालाई सहज रुपमा लिने हाम्रो समाजले, लेखकले भोग्नुपरेको कठिनाइलाई कत्तिको सम्मान गर्छ र त्यसको मर्म बुझ्छ त्यो छुट्टै बहसको सामग्री हुन सक्छ ।

मैले दोहोर्‍याएँ, लेखक हुनु कठिन काम हो । दुनियाभरका आइलाग्ने झन्झटलाई झेलेर, घर–समाजसाग ‘डिल’ गरेर बचेखुचेको समयमा स्वेच्छाले एकान्तको हिरासतमा गएर हातमा कलमकापी वा ल्यापटप/डेस्कटपको सामु केही सोच्दै, मेट्दै, थप्दै नछोइएको र नभेटिएको संसारमा विचरण गर्नु सहज कुरा होइन । त्यो संसारमा घुम्दाघुम्दै नभनिएको र कल्पना नगरिएको प्लट, मोड, आरोह–अवरोहको विशाल इमेज रोचक ढंगले बुन्नु अर्को कठिन काम हो ।

यही कठिन कामको अद्भुत परिणाम हो– आदिरा ।

मैले पत्ता लगाएअनुसार आदिराको अर्थ हो– बलिष्ठ, शक्तिशाली, तागतवान् र कुलीन । यदि यो सत्य हो भने उपन्यासको नाम मात्र होइन आदिरा, म उपन्यासकार अनिता खरेललाई आदिरा नाउँले पुकार्न चाहन्छु । 

यो स्वैरकाल्पनिक उपन्यास हो, या मार्खेजको ‘हन्ड्रेड एअर्स अफ सलिच्युड’ झैं ‘म्याजिकल रियलिज्म’ हो वा काफ्काको ‘मेटामर्फसिस’ झैं ‘लिटररी मोर्डनिजम’ अथवा ‘एब्सर्डिस्ट फिक्सन’ हो भनेर आदिरालाई कुनै पनि चौघेरामा राख्न चाहन्न । तर, स्वैरकाल्पनिक नै लेखकको दाबी हो भने म यसलाई त्यही घेराभित्र राखिदिन्छु ।

पाठकवृन्द, यस उपन्यासलाई अहिलेकालागि स्वैरकाल्पनिक नै मानूँ । स्वैरकल्पनाबारे मेरो निजी धारणा छ । मलाई यो जगत्, यो ब्रह्माण्ड, जीवनको रचना र सारा प्राणी नै स्वैरकाल्पनिक लाग्छन् । त्यसमाथि स्वैरकाल्पनिक लेखन किन चाहियो, यही सोच्छु म कहिलेकाहीँ । तर, जब म कुनै अन्तर्राष्ट्रिय स्वैरकाल्पनिक कृति पढ्छु, मैले सोचेका कुरा बिर्सिन पुग्छु ।

यो जगत् र हामी यथार्थ हौं भन्ने भ्रम मेरो मगजबाट कुनै चरीझैं उडेर जान्छ र स्वैरकल्पनाको आवश्यकता छ भन्ने अर्को चरीले मेरो मनमा गुँड लगाउँछ । तर, स्वैरकल्पनाको अस्तित्व त्यतिखेर सार्थक हुन्छ, जब स्वैरकल्पना हामी बाँचिरहेको समाजसँग जोडिन्छ । हाम्रा सुखदुःख, समस्या, सपना र सम्बन्धसँग जब त्यो जोडिन्छ, स्वैरकल्पना सार्थक हुन्छ ।

हाम्रा वास्तविक लिमिटेसन, विकनेस, स्ट्रेन्थ र अनक्स्प्लोर्ड पावरसँग जब मिसिन्छ, तब स्वैरकल्पना सार्थक हुन्छ । हामी चाहे वेस्टका स्वैरकाल्पनिक रचना पढौं या दालीका स्वैरकाल्पनिक पेन्टिङ अध्ययन गरौं, ती सब समाज र जीवनसँग जोडिएका छन् । यस अर्थमा कृति आदिरा मेरो चेतना र चिन्तनले निर्माण गरेको न्यारेटिभसँग नितान्त नजिक बनेको छ । यो मेरो लागि अविस्मरणीय संयोगमध्ये एक हो । 

स्वैरकल्पनाको शक्ति के होला ? कल्पनाको असीमित सम्भावना नाघेर विम्ब र स्वरचित संसारको चित्र कोर्दै हाम्रा फरकफरक अनुभव, भावना, अनुभूति र जीवनदर्शनको जब नजिक पुग्छ स्वैरकल्पना । सम्भवतः त्यो नै यसको शक्ति हो । यथार्थको क्यानभासमा कैद नभईकन असलको जित, नैतिकताको वकालत, करुणा र दयाको वकालत गर्न सघाउँछ स्वैरकल्पनाले । यसले आशाको किरण छर्छ र मानव जीवनको सौन्दर्यमा प्रकाश पोत्दछ । आदिराको संसारमा पुग्दा पाठकले यिनै शक्तिको साम्राज्यमा विचरण गर्नेछन् ।  

आदिराको अर्को विशेष पक्ष भनेको यसको शैली हो । उपन्यासकारले उनीलाई आवश्यक लागेको ठाउँमा उपन्यासका घटनालाई कुशलतापूर्वक चित्रात्मक वर्णन गरेकी छिन्, जसले पाठकलाई आआफ्नै तरिकाले छवि निर्माण गर्न सहज बनोस् । पढ्दापढ्दै आफैले दृश्य परिकल्पना गर्न पाउने कारणले गर्दा पाठकले आदिरा पढ्नुको पृथक आस्वाद लिन पाउनेछन् । यो मेरो विश्वास हो । पाठकहरुलाई यदि आदिराको सारांश पढ्न मन थियो भने, त्यो मैले पूरा नगर्ने निर्णय जानीबुझीकन नगरेको हुँ । मैले त्यसो गरेँ भने उपन्यासको सयर गर्ने तपाईंहरुको चाहलाई मैले गुमराह गरेको ठहरिनेछ र तपाईं एवं लेखक दुवैलाई अन्याय हुनेछ ।       

अघि टिचिङ इज लर्निङ र राइटिङ इज थिन्किङ भनेको थिएँ, यसपछि आउँछ ‘रिडिङ’ को पालो ।

‘रिडिङ इज एक्स्प्लोरिङ अ हिडन वर्ल्ड क्रिएटेड बाई दि अथर’ । कुनै पूर्वधारणा राखेर किताब पढ्नु आफू र आफूले खर्च गर्ने समयप्रति अन्याय गर्नु हो । यो कसैप्रति मेरो चेतावनी होइन, यो विनम्र सुझाव हो ।

आदिरा बजारमा उपलब्ध छ । उपन्यासकारले निर्माण गरेको संसारमा गोता लगाउन तपाईंहरुलाई निम्तो गर्दछु । प्रत्येक पन्नाबाट निर्मित खण्डहरुले तपाईंलाई कल्पनामा बुनिएको यस्तो संसारमा पुर्‍याउनेछ जहाँ सबैको स्वैरकल्पना पुग्न सक्दैन । तपाईंहरुको सपना, चाहनालाई रंगीन बनाउन र चुनौतीलाई परास्त गर्न चाहने कामना आदिरामार्फत पूरा भएको लाग्यो भने त्यो उपन्यासकारका निम्ति अर्थपूर्ण उपलब्धि हुनेछ ।

आदिरा पढेर साहित्यको उत्सव मनाउनुहोला– प्रिय पाठकहरुलाई मेरो एकदमै धेरै शुभेच्छा  ।

विप्लव

Link copied successfully