उपन्यास 'परिधि' जति अगाडि बढ्छ, त्यत्तिकै पाठकमा कुतुहलता पैदा हुँदै जान्छ । यसपछि अब कस्तो विसंगतपूर्ण पात्रको प्रवेश हुन्छ भन्ने जिज्ञासाले पाठकलाई बाँधिरहन्छ ।
What you should know
काठमाडौँ — निर्विवाद रूपमा साहित्यमा आजको समय फिक्सनकै हो । तर फिक्सन हो चाहिँ के ? आरम्भदेखि नै पश्चिमा साहित्यमा अत्यन्त काल्पनिक वा फेन्टास्टिक हिसाबले प्रस्तुत भएको कृतिलाई फिक्सनको रुपमा चित्रित गरियो । त्यसैले रचनात्मक कल्पनाको चरम बिन्दुमा फिक्सन रह्यो ।
यता पूर्वीय साहित्यमा पनि त हाम्रा पूर्वजले भनी आएकै थिए– जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्दछन् कवि । जेजे सुकै भए पनि साहित्यमा भव्यतम् कल्पनाशीलताको विषयलाई सबैले अङ्गीकार गरेकै छन् ।
तर साहित्य कसैको परिभाषाभित्रै सिमित भएर भने रहँदैन । जो कसैले गरे पनि साहित्यको आयातनलाई परिभाषित गर्न वा सीमाङ्कन गर्न आजको समयमा गाह्रै छ । जेजेसुकै भने पनि कला, कल्पना र विचारको त्रिवेणी साहित्य हो भन्ने विन्दुमा कुनै न कुनै कोणबाट साहित्यकारहरू आइपुगिहाल्छन् ।
उमा सुवेदी नेपाली आख्यानमा चिरपरिचित हस्ताक्षर हुँदै हुन् । सत्तरीको दशकको पूर्वाद्र्धबाट उनको आख्यानको यात्राले उचाइ पाउन थालेको देखिन्छ । यिनै उमा सुवेदीको नवीनतम फिक्सन कृति 'परिधि' स्वैरकाल्पनिक ढङ्गमा प्रस्तुत भएको देखिन्छ ।
कृतिमा उनले मुख्य नारी पात्रलाई उभ्याएर वर्तमान समयका मानिसको भ्रमभूर्ण मानसिकता र विषादको उत्कृष्ट चित्रण गरेकी छिन् । नाट्यकर्मी आर्या र न्यायाधीस अस्मिताको उबडखाबड पूर्ण जीवन र मनोविज्ञानलाई प्रस्तुत गर्दै उनले वर्तमानका मानिसहरू कसरी परिस्थितिजन्य जञ्जालमा परेर अपराधको सिकार बन्न पुग्दछन् भन्ने कुरालाई कलात्मक रूपमा प्रस्तुत गरेकी छिन् ।
हरेक उपकथाहरू उत्तिकै बलशाली देखिन्छन् । यी उपकथाहरू कहीँ पनि जर्बजस्ती प्रस्तुत गरिएको जस्तो लाग्दैन ।उपन्यासको आरम्भ नै बढो बिम्बात्मक ढङ्गबाट गरिएको छ । पाठकलाई पहिलो परिच्छेदबाटै उनले चरम रहस्यात्मक यात्रामा डोहोर्याउन सफल भएकी छिन् । जासुसी उपन्यासको जस्तो झल्को दिने गरी उपन्यास अगाडि बढ्छ । आरम्भमै मुखुण्डो लगाएको पात्रहरूलाई कथामा प्रवेश गराएर उनले कथानकलाई रोमाञ्चतर्फ मोडेकी छिन् । सुरुमै उपस्थित भएकी पात्र अस्मिताको आत्महत्याको अजिबोगरिब मनोविज्ञानलाई प्रस्तुत गर्दै उनले उपन्यासको कथानकलाई एकाएक चरमोत्कर्षमा पुर्याउन सफल भएकी छिन् ।
उपन्यास जति अगाडि बढ्दै जान्छ, उतिउति असामान्य मनोविज्ञान भएका पात्रहरूको प्रवेश हुँदै जान्छ । यसले गर्दा सुरुका दुई परिच्छेदमा कहीँकहीँ पाठकहरू अल्मलिने सम्भवना पनि देखा पर्छ । तर कथा अगाडि बढ्दै जाँदा उपन्यासको कथाले पाठकलाई रोमाञ्चका साथ बाँधेर लान सफल देखिन्छ । रङ्गमञ्चकी आर्या र न्यायाधीस अस्मिताको सन्दर्भ प्रस्तुत गर्दै उनले एकपछि अर्का पात्रहरू खडा गर्दै उनीहरूमार्फत् जीवनका अनेकानेक गोलचक्करमा परेका, विविध समस्या विभेद र उत्पीडनमा परेका व्यक्तिहरू र उनीहरू गाँसिन पुगेका अपराधका शृङ्खलाहरूको उपकथाहरू प्रस्तुत गरेकी छिन् । हरेक उपकथाहरू उत्तिकै बलशाली देखिन्छन् । यी उपकथाहरू कहीँ पनि जर्बजस्ती प्रस्तुत गरिएको जस्तो लाग्दैन । यी हरेकले हरेक स्थानमा आफैलाई उत्तिकै रूपमा प्रमाणित गरेका छन् ।
उपन्यास जति अगाडि बढ्छ, त्यत्तिकै पाठकमा कुतुहलता पैदा हुँदै जान्छ । यसपछि अब के हुन्छ र कस्तो विसङ्गतपूर्ण पात्रको प्रवेश हुन्छ भन्ने जिज्ञासाले पाठकलाई बाँधिरहन उनी सफल देखिन्छिन् । प्रत्येक पात्रका समस्यापूर्ण कथाहरू देखिन्छन् । त्यही कथाहरूको जञ्जालमा रुमल्लिएका पात्रहरू विषादपूर्ण मानसिकता बोकेर हिँडिरहेछन् । यस्तो लाग्छ, ती पात्रहरू व्यक्ति होइनन्, बुख्याँचा हुन् । तिनीहरूलाई कसै न कसैले नचाइरहेको जस्तो आभाष हुन्छ । यस्तो लागछ, तिनीहरू कुनै विसङ्गतिपूर्ण नाटकका केवल पात्र हुन् र नेपथ्यमा कुनै न कुनै गम्भीर मनोदशाले ग्रसित निर्देशक छ, जो यस नाटकको कथा र पटकथा पनि स्वयम् लेखिरहेछ ।
पुरुषहरूको ढोँगी मनोविज्ञान र औचित्यहीन पौरुषको मनोविज्ञानको आवरण कति तुच्छ र कपटपूर्ण छ भन्ने विषयलाई पनि उपन्यासले उजागर गरेको छ । अँ त नाटककी प्रमुख पात्र आर्या जीवनकै अन्तिम नाटकको निर्देशन गरिरहेको सन्दर्भ उपन्यासमा आइपुग्छ । पाठकलाई लाग्छ, उपन्यासको गोप्य रहस्य अब खुला हुन्छ । तर कथानक पाठकको सोचाइअनुसार अगाडि बढ्दैन । बरु त्यसले कथामा अर्कै ट्विस्ट थपिदिन्छ । लेखिका सुवेदी कथानकलाई आफ्नो लेखकीय कलात्मकताले बाँध्दै बाँध्दै उपन्यासको केन्द्रीय कथ्यलाई रहस्यात्मक बनाइरहन सफल देखिन्छिन् । र पाठकलाई लाग्छ, उपन्यासको लेखिका कुनै सुन्दर क्यानभासमा आफू खुसी रङ विन्यास गरिरहेकी छिन् ।
परिधि उपन्यासमा लेखिका सुवेदीको औपन्यासिक कलात्मकताको आयतन फराकिलो देखिन्छ । रङ्गमञ्चको विषयबाट उपन्यासको आरम्भ भएर पनि होला, उनले उपन्यासमा रङसँग खुब खेलेकी छिन् । उपन्यास पढ्दै जाँदा लाग्छ, उनी नाट्यकर्मी हुन् र उनको नाट्यकर्मसँग लामो सम्बन्ध रहिआएकै छ ।
साहित्यको विसङ्गतिपूर्ण चलन घोस्ट राइटिङलाई बिम्बात्मक रूपमा प्रस्तुत गर्दै सुवेदीले पुरुषको आडम्बरपूर्ण पुरुषत्वमाथि शालीन र कुटिलतापूर्वक हमला गरेकी छिन् । अभयसुन्दर नामक पात्रलाई उपन्यासमा प्रस्तुत गर्दै उनले यसै पात्रमार्फत् पुरुष सत्ताको हेजेमोनी माथि सानदार ढङ्गले प्रश्न उठाएकी छिन् । जो आफैँ यौनिक, र शारीरिक सुन्दरताको कोणबाट पूर्ण असक्षम छ, उसले समाजमा आफूलाई कति नक्कली र कृत्रिम ढङ्गबाट प्रस्तुत गर्न सक्छ भन्ने कुरालाई स्पष्टसँग मुखरित गरेकी छिन् ।
वाहियात आडम्बर र खोक्रो पुरुषभिमानको बोक्रा कति खतरनाक हुन्छ भन्ने सन्दर्भ पनि यहाँ प्रस्तुत गरिएको छ । पुरुषहरूको ढोँगी मनोविज्ञान र औचित्यहीन पौरुषको मनोविज्ञानको आवरण कति तुच्छ, घिनलाग्दो र कपटपूर्ण छ भन्ने विषयलाई पनि उनले उजागर गरेकी छिन् ।
उपन्यासमा जेजति पात्रहरू आएका छन् तिनीहरू कुनै न कुनै विसङ्गतपूर्ण जीवन बाँच्न अभिशप्त छन् । नेपाली साहित्य लेखनमा त्यति धेरै प्रयोगमा नआएको पूर्व प्रसिद्ध कृतिको पात्रको पुर्नप्रयोग परिधिको अर्को उल्लेख्य पक्ष हो । पूर्व पसिद्ध पात्रलाई जसरी अघिल्लो कृतिमा कुशलतापूर्वक प्रस्तुत गरिएको छ, अर्को कृतिमा त्यसलाई सोही अनुरुप अवतरित गर्दै कथानक र पात्रको भूमिकालाई शिखरोन्मुख बनाउनु चानचुने काम पटक्कै होइन । यो लेखकीय चुनौतीलाई स्वीकार गर्दै लेखिकाले उपन्यासमा आफ्नो लेखनीलाई थप मजबुत र सशक्त बनाएको देखिन्छ ।
पारिजातले शिरिषको फूलमा जीवन्त रूपमा उतारेको पुरुष पात्र सुयोगवीरलाई उपन्यासमा बिम्बात्मक रूपमा प्रस्तुत गर्दै उनले सुयोगवीरलाई उपन्यासमा पुनर्जीवित गरेकी छिन् । उपन्यासमा तुलनात्मक रूपमा प्रेमिल देखिएको सुयोगवीर पात्रको इन्ट्री निकै रहस्यात्मक देखिन्छ । प्रमुख पात्र आर्याको प्रेमीको रूपमा देखिएको सुयोगवीर उपन्यासमा निकै भावुक र सुझबुझपूर्ण रूपमा देखा परेको छ । यसले उनले प्रचलित कृतिका पात्रको चरित्रचित्रणलाई पुनः कलात्मक रूपमा, फरक कलेवरका साथ तर उत्तिकै न्यायोचित र अर्थपूर्ण हिसाबले प्रस्तुत गर्न सफल भएकी देखिन्छन् ।
उपन्यासमा जेजति पात्रहरू आएका छन् तिनीहरू कुनै न कुनै विसङ्गतपूर्ण जीवन बाँच्न अभिशप्त छन् । उपन्यास पढ्दै जाँदा पाठकको मनमा एउटा प्रश्न भने आउन सक्छन्, के सबै मानिस यस्तै विसङ्तपूर्ण जीवन बाँचिरहेका हुन्छन् त ? अथवा के कारणले मानिस यस्तो अभिशप्त जीवन बाँच्न विवश छन् ? अथवा मान्छेलाई केले यस्तो जीवन बाँच्न विवश बनाइदिन्छ ? तर उपन्यासको पयो खुल्दै जाँदा यस्ता पाठकका यस्ता अनेकन प्रश्नहरूको उत्तर पनि आउँदै जान्छ । र उपन्यासले पाठकलाई एउटा स्वैरकाल्पनिक आख्यानको आनन्दानुभूति हुँदै जान्छ ।
मानिसको आन्तरिक मनोदशाको भित्री तहलाई निकै संवेगात्मक रूपमा प्रस्तुत गरिएको परिधि उपन्यास समग्रमा वर्तमान समयको मानवीय विसङ्गत जीवनको कलात्मक अव्यिञ्जना हो ।
