प्रेम, प्रकृति र प्रतिरोधका कविता

अस्मिता विष्टका कविताले युवा प्रेम, समाजका पीडा, पुरुष तथा नारी संवेदना र नेपाली संस्कृतिका विविध आयामलाई प्रस्तुत गरेका छन् ।

फाल्गुन ३०, २०८२

सुभाषचन्द्र न्यौपाने

Poems of love, nature and resistance

What you should know

कवि अस्मिता विष्ट 'ब्ल्याकहोलमा गीतहरू' कवितासंग्रहमार्फत नेपाली कविताका क्षेत्रमा उदाएकी छन् । बिम्वपरक कविताहरूले उनलाई छुट्टै विशेषताका रूपमा स्थापित गरेको छ ।

जम्मा ४५ फुटकर गद्य कविताको सँगालोमा जीवनमा विविध सन्दर्भ छन् । कुनै पनि विषयलाई गहिरिएर त्यसलाई बिम्वपरक भाषाका माध्यमबाट छोटो र सूत्रात्मक रूपमा प्रस्तुत गर्नु कवि विष्टका कविताको विशेषता हो । खासगरी यस सङ्ग्रहमा युवा अवस्थाका प्रेमिल अभिव्यक्ति निकै ओजपूर्ण रूपमा आएका छन् ।

समसामयिक जीवन भोगाइका तिता अनुभवलाई पनि कविले शब्दका बुट्टाभरि सजाएर प्रस्तुत गरेकी छन् । 'तिम्रो आगमन' शीर्षकको कवितामा नेपालीहरूको ठूलो पर्व होलीको आगमनमा प्रकृति र मानव मनमा पलाउने उमंग, उत्साह र जोस, जाँगरको अभिव्यक्ति छ । उक्त कवितामा रङको पर्व होली र तराईको संस्कृतिको अत्यन्त सरल, सजीव र मनमोहक चित्रण गरिएको छ।

तिम्रो सामीप्यको

कामना गर्छन् मैले जस्तै

मायालु जोडीहरु

आफ्ना लाग्ने स्पर्श

जसले छोऊन्

हृदयका तीव्र ढुकढुकी

फोरुन् प्रेमको घडा

र पोखून् उमङ्गको मक्खन

देहको कुना कुनामा । (पृ. ११)

'सम्झनाको धागोमा उनेर' कवितामा प्रेमको प्रतीक्षाको बिम्वका माध्यमबाट युगौंयुगसम्म मानिसले जीवन यापनका क्रमका सुखको लालसमा भोगेका दीर्घ सुखको कामना र सुखद भविष्यको चाहना प्रकट भएको छ । प्रेमको प्रतीक्षामा कसरी आफ्नो अस्तित्वका लागि लागि एक्लो पर्खाइमा बाँच्न मानव विवश हुन्छ भन्ने कुरालाई कविले यसरी सुन्दर रूपमा प्रस्तुत गरेकी छन् ।

एक तमासले चहार्छु

तिमिले कुल्चिगएका पाइलातका डोब

ओठमा सजाउँछु तिम्रै गीतको भाका

हेरिबस्छु तिम्रो प्रिय जून 

छाता ओडेर छेक्छु 

तिमीलाई झर्को लाउने बर्षे झरी

तिम्रो अनुपस्थितिमा

म तिम्रो अस्तित्व बाँच्छु । (पृ. १४) 

'प्रेम वर्षामा रुझिरहेका हामी' कवितामा प्रेमको उत्कर्ष अवस्थामा हृदयले गर्ने सुखानुभूतिको कलात्मक चित्रण गरिएको छ भने चौथो कविता 'ह्वाट्सएपमा अश्वत्थामाको मेसेज' कवितामा पौराणिक सभ्यताको त्याग र समर्पणलाई बिर्सिएका वर्तमान मानवका निरिहता प्रकट गरिएको छ । त्यो वैभवशाली त्याग र बलिदानको कुनै मूल्य नभएकामा वर्तमान मानव सभ्यता र विगतको सभ्यतामा के कस्तो अन्तर थियो भन्ने कुरा प्रस्तुत गरिएको छ ।

युगौँ पछि

मानव सभ्यता सुरु भएकै वर्षगाँठमा

खोल ओढेर सुन्दरताको

– चम्किला चिप्सका रित्ता खोलहरुझैँ

– रङ्गी–बिरङ्गी प्लास्टिकका बोतलहरुझैँ

– बासी खाना प्याक गरिएका दुर्गन्धित फोयलहरुझैँ

आए बोकेर बिन्तीपत्र र पारे ठप्प चेतना तिम्रो

– फेसबुकको भित्तामा फ्रेन्ड रिक्वेस्ट बनेर

– ह्वाट्सएपमा गुड मर्निङ्गको म्यासेज बनेर

अनि तिमी

– तिनैले बुनेको जालोमा बेरिइरह्यो

– तिनैले खनेको मोहनी कुण्डमा लगाइरह्यौ डुबुल्की

– तिनैले बनाएको पातालमा भास्सिइरह्यौ अनवरत ( पृ. १८)

'बैंस फुलेको साँझ', 'नीरमायाहरू', कवितामा प्रेमका विभिन्न स्वरूपको अभिव्यक्तिमा केन्द्रित छन् भने 'गलैँचाको फूल' कविता मायाको बदला घृणा र तिरस्कार दिने व्यक्तिप्रतिको सम्बोधनमा केन्द्रित छ । 'यौवनका चराहरू’ कविताले युवाको ऊर्जा, चाहना र स्वप्नलाई चित्रित गर्छ । यस कविताले युवाको श्रम, सङ्घर्ष र राष्ट्र निर्माणमा तिनको भूमिकाको सम्मान गर्छ ।

'नियतिको धारमा रेटिएकी तिमी’ कविताले वर्षौँदेखि सामाजिक, आर्थिक वा मनोवैज्ञानिक रूपमा शोषित र पीडित बनेका पुरुष वर्गको सामूहिक वेदना र अन्तर्द्वन्द्वलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। उक्त कविताले पितृसत्तात्मक संरचनाले केवल नारीलाई मात्र होइन, पुरुषलाई पनि मानसिक र सामाजिक दबाबको गहिरो गर्तमा धकेलेको यथार्थ उजागर गर्छ। यसले पुरुषलाई सधैँ कठोर, शक्तिशाली र भावनाहीन देख्ने परम्परागत सोचलाई चुनौती दिँदै पुरुषप्रति नयाँ मानवीय दृष्टिकोण प्रस्तुत गर्छ।

कविले पुरुषमा कोमलता र करुणा विकसित हुनुपर्छ भन्ने जिकिर गर्दै ‘पुरुष’ र ‘पितृसत्ता’ एउटै कुरा होइनन्, बरु फरक संरचना र पहिचान हुन् भन्ने सन्देश दिन खोजेकी छन्। पुरुष शोषणको शृङ्खलाबाटै युद्धको शृङ्खला पनि सुरु भएको सन्दर्भलाई कविले यसरी प्रस्तुत गरेकी छन्-

हजारौं वर्षअघि

निगालोको टुप्पोझैं धारिलो हतियार हृदयमा सजाएर

रगतको तातो आहालमा डुबुल्की लगाउँदै

लेखे तिमीजस्तै देखिने पुरुषहरूले

उभिएर अहम्को चुचुरोमा

ग्रन्थ अनि गीतहरू

रचे युद्ध अनि सङ्गीत

र गरे सुरुवात

सिलिसला तिम्रो शोषणको । (पृ.२८)  

उनका कवितामा जीवनका बाल्यकालीन सुखद क्षणहरूको सम्झना कतै गरिएको छ भने प्रायः कवितामा यौवनका अनन्त चाहना र आकाङ्क्षाहरूको अभिव्यक्ति छ । उनका कविताको रसास्वादनका लागि पाठकले केही जटिल बौद्धिक बिम्व र प्रतीकहरूको बोध गर्न सक्नुपर्छ । कवितामा पूर्वापर शृङ्खलाको अभाव जस्तो पनि कतै देखिन्छ तर कविताका ती प्रत्येक पङ्क्तिहरूले जीवनको गहिरो मर्म बोकेका छन् ।

उनका कविताहरूले  जीवनका बाध्यताहरू र कारुणिकतालाई अँगालेका छन् । कतै कवितामा प्रकृतिको सुन्दर रूपको कलात्मक वर्णन गरिएको पाइन्छ भने कतै प्रकृतिका कठोरताहरूको पनि चित्रण गरिएको पाइन्छ । मानिसका जीवनमा प्रकृतिले पार्ने प्रभाव र प्रकृतिसँगको साक्षात मानवीय सम्बन्धको चित्रण कवि विष्टका कविताहरूमा गरिएको पाइन्छ । 

'कलियुगको कृष्ण' अर्को महत्त्वपूर्ण सन्देश बोकेको कविता हो । जहाँ पौराणिक पात्र कृष्णको विनिर्माण गरिएको छ । कृष्णलाई महान् मानेर उसैको गुनगान मात्र गाउने तर उसका कमीकमजोरीहरूलाई भने ढाकछोप गर्ने नेपाली धार्मिक अन्धविश्वासको पर्दा उतार्ने काम यस कवितामा गरिएको छ ।

कृष्णले वृन्दावनमा गाई चराउँदा होस् वा अन्य गाउँलेहरूका घरदघरमा गएर होस्, तत्कालीन समयका युवतीहरूमाथि गरेको यौन हिंसाको कुरूप पक्षलाई यस कवितामा उतारिएको छ । सयौं युवतीहरूको अस्तित्व लुटेर प्रेमका नाममा नारी शोषण गर्ने कृष्णको खलनायकीय चरित्रलाई यस कवितामा देखाइएको छ ।

आनन्द पनि त आउँदो हो

भिन्नाभिन्नै स्वरूपका 

भिन्नाभिन्नै आकारका

एकअर्काको अस्तित्वसँग बेखबर

अनेकौं ग्रहहरूलाई

म केवल तिम्रो सूर्य हुँ भन्दै

प्रत्येक सेकेन्ड, मिनेट, घण्टा,

हरेक दिन, रात अनि ऋतुहरूमा

आफ्नै वरिपरि फनफनी घुमाउन । (पृ. ५२) 

कवि विष्टका कवितामा विषयवस्तुको स्थूल प्रस्तुति नभएर सूक्ष्म अभिव्यञ्जना मात्र पाइन्छ । कवितामा अति मसिना पक्षहरूलाई पस्कने प्रयास गरेकाले सामान्य पाठकका लागि यी विषय कुन क्षेत्रसँग सम्बन्धित हुन् भनेर ठम्याउने निकै कठिन हुन्छ । कविताको संरचनात्मक स्वरूप हेर्दा उनका कविताहरू प्रयोगवादी ढाँचाका अर्थिनु र नअर्थिनुका दोसाँधका रचना जस्ता देखिन्छन् तर उनका सबै कवितामा त्यस प्रयोगशील दुरुहता भने छैन । केही कविताहरूले अत्यन्त सहज र सरल रूपमा विषयलाई उजागर गरेका छन् भने केही कविताहरूको प्रस्तुति अमूर्त बनेको पाइन्छ । अमूर्त कवितामा पाठकलाई अर्थमाथि लेख्ने अवसर प्राप्त हुन्छ र उसले जे अर्थ लगाए पनि त्यो त्यही अर्थमा परिभाषित हुन पुग्छ । अस्मिताका धेरै कविताहरूले त्यही अमूर्तपनालाई आत्मसात गरेका छन् ।    

'बग्न देउ' कवितामा मानव सभ्यताको निरन्तरता मात्र होइन, सृष्टिकै निरन्तरताको सन्दर्भलाई प्रस्तुत गरिएको छ । पानी, रगत, असिना, हिउँ आदिको पग्नले क्रियाका माध्यमबाट यो सृष्टिको निरन्तरताका लागि पग्लनु नै उसको स्वाभाविक गुण भएकाले पग्लन दिनुपर्छ । यदि कुनै पनि वस्तु पग्लन पाएर भने जम्छ र जमेपछि त्यसको गतिशीलता समाप्त हुन्छ भन्ने कुरा अत्यन्त गहन रूपमा प्रस्तुत गरिएको छ । पग्लन छाडेर नदी रोकिएमा, पग्लन छाडेर नारीको रजस्वला रोकिएमा यो सृष्टिको निरन्तरता नभई समाप्त हुने हुनाले पग्लनु सृष्टिको धर्म हो भने नारीको पनि धर्म हो । त्यही पग्लाइमा जीवन छ, सृष्टि छ र गतिशीलता छ भन्ने विचार यस कवितामा प्रस्तुत गरिएको छ ।

बग्न छोड्यो हरेक महिना योनीबाट रगत भने

बगेन सूर्यबाट किरण र चन्द्रमाबाट शीतलता भने

बग्दै बगेनन् आमाको हृदयमा वात्सल्यको बतास

बाबाको मस्तिष्कमा करुणाको बेग भने 

बग्न बन्द भयो प्रेमिल मनभित्र प्रेमको ज्वालाभाटा भने 

बग्न छोड्नेछन् सृष्टि

सकिने छ जीवन

तुहिने छ प्रेम गर्भमा नै । (पृ. ८५) 

विष्टका कवितामा यस देशको सुन्दर भविष्यको चाहना प्रकट गरिएको पाइन्छ । वीर पुर्खाहरूको इतिहास बिर्सिएर हामी आज निरिह भएका छौँ । हामीले पुनः क्रान्तिको दियो सल्काउनुछ । देशमा भएका अराजकता र अतिवादलाई समाप्त पार्नुछ । यो देशमा एउटा सक्षम नेतृत्वको खाँचो छ । एउटा असल पथप्रदर्शकको खाँचो छ । अब आफैँले यस देशका लागि केही गर्नुपर्छ भन्ने प्रण गर्ने समय आएको छ भन्ने विचार 'रच्नु छ फेरि एउटा इतिहास' कवितामा अभिव्यक्त भएको छ ।

कुनै पनि देशका क्रूर शासकहरूको हुङ्कार र विलासी जीवनको चित्रण पनि अस्मिताका कवितामा गरिएको छ । स्वच्छन्द रूपमा शासन चलाउनेहरू आफू नाङ्गो भएको थाहा पाउँदैनन् । उसका आसेपासेहरू ऊ नाङ्गो हुँदासम्म तपाईँलाई यस लुगाले कति सुहाएको छ भनेर चाकडी गरिरहन्छन् तर जब एउटा बालकले बादशाह नाङ्गै छ भन्छ त्यसपछि मात्र बादशाहलाई आफ्ना भरौटेहरूले झुट बोलिरहेका रहेछन् भन्ने विषयको बोध हुन्छ । त्यसैले बादशाहहरूलाई नाङ्गो बनाउने र उनीहरूको नाङ्गो रूपमा नै देवत्व देख्ने समाजको दास मनोवृत्तिको समेत अत्यन्न सुन्दर रूपमा चित्रण गरिएको छ ।  

विष्टका आगामी कविता अझ ओजपूर्ण, वस्तुनिष्ठ, प्रभावकारी र देश र जनताका पीडा र व्यथा मात्र होइन देश निर्माणका सङ्कल्पसहित आउनेछन् भन्ने शुभेच्छा ।

सुभाषचन्द्र

Link copied successfully