'बगावतना'मा विद्रोह, प्रेम, संवेदना लगायतका यावत् विषयको संयोजन भएको उत्कृष्ट क्यानभास हो ।
What you should know
धेरै समय भइसक्यो कविताले विद्रोही आवाज बुलन्द पार्न थालेको । २००० सालमै गोपालप्रसाद रिमालले आमाको सपना कवितामा आफ्नो विद्रोही स्वरलाई बुलन्द परेर आफ्नो अलग्गै मार्गको अन्वेषण गरेका थिए ।
कविताले बुलन्द विचारलाई आत्मसाथ गर्न सक्नुपर्दछ भन्ने सोचलाई आधुनिक कवितामा रिमालले नै सायद प्रथमपटक प्रस्तुत गरेका थिए । परम्परागत धारमा हिँडिरहेको नेपाली कविताको यो नवीन र नुतन मार्गमा हिँड्न सायदै उनलाई आरम्भमा सजिलो भएको थियो होला ।
कविताको शास्त्रीयतावादी मार्ग र प्रयोगवादी मार्गका बारेमा विभिन्न मतमतान्तर रहिआएकै थिए । कवितामा के लेख्ने, कसरी लेख्ने भन्ने विषयमा पनि पछिल्ला कालखण्डमा अनेक बहस र पैरवीहरू हुँदै आइरहेकै थिए । बहस गर्नेहरू गरिराखेकै थिए र लेख्नेहरू लेखिरहेकै थिए ।
संस्कृत साहित्यमा अभीष्ट अर्थले युक्त पदावली काव्य हो भन्दै दण्डी काव्यलाई बुझाउँदै थिए भने पाश्चात्य साहित्यमा कविता जीवनको आलोचना हो भनिरहेका थिए म्याथ्यु आर्नोल्ड । देवकोटा कविले चराजस्तै बोल्नुपर्ने हो भन्दै गर्दा भारतीय कवि रामचन्द्र शुक्ल हृदयको मुक्तिको समाधानका निम्ति मनुष्यको वाणीबाट ध्वनित हुने विषय नै कविता हो भनिरहेका थिए ।
यस्ता अनेकन विचारका पथगामी छँदै थिए, जुन स्वभाविक पनि हो । जे होस् नेपाली कवितामा रिमालले खनेको गद्यको नयाँ पथमा धेरै कविहरूले आफूलाई पथगामी बनाए । विचारलाई पहिलो प्राथमिकतामा राखे । कवितामार्फत् विद्रोह बोले । आगो ओकले । यही पथलाई अङ्गीकार गर्दै सामाजिक न्यायको पक्षमा वकालत गरे । विद्रोहको दुन्दुभि बजाए । समानताको पक्षमा दृढताका साथ आफ्नो कलम नचाए ।
रिमा केसी पछिल्लो समय यही पथगामी बनेर देखा परेकी छिन् । सत्तरीको दशकको पूर्वाधबाट कवितालेखनमा आएकी उनी कवितालाई विचार सम्प्रेषणको माध्यम बनाउँछिन् । सबाल्टर्नका पक्षमा बढ्ता मुखरित देखिने उनको काव्य साधनाले प्रतिरोधी आवाजलाई दृश्यमान बनाएको देखिन्छ । उनले कविताको यो यात्रामा सामाजिक न्यायका साथसाथमा नारी स्वतन्त्रतादेखि सामाजिक र राजनीतिक विकृति विसङ्गतिसम्मका विषयहरूलाई स्थान दिँदै आफूलाई एक सचेत विद्रोही कविका रूपमा उभ्याएकी छिन् ।
कोर्न खोज्दै छु क्यानभासमा
–बलात्कारको पीडा
– बहिष्करणको दर्द
– विभेदको रङ
आँसुको समुद्रबाट निस्केको उज्यालो
टेकाउन खोज्दै छु धरतीको सगरमाथा
एक पाइला आइमाईको अस्तित्व
फर्काउन खोज्दै छु । (अनुहार)
समाजमा सदियौँदेखि हेपिए महिलाहरू । पुरुषहरूबाट हेपिए । पुरुषप्रधान समाजबाट हेपिए । यही पुरुषप्रधान समाजले ग्रुमिङ गरेको राज्यसत्ताबाट हेपिए । कहिले माया र ममताको नाममा हेपिए । प्रेमको नाटकमा परेर कतिले आफ्नो अस्तित्वलाई तिलाञ्जली दिए । कवि केसी आफ्ना कवितामा यी र यस्तै स्वरलाई मुखरित गर्न रुचाउँछिन् । नारी भएकै कारण पुरुष सत्ताले कुनै न कुनै नाममा गरिरएको अत्याचार र शोषणलाई कवितामा प्रस्तुत गर्दै उनी आफू सदैव हेपिएका महिलाहरूको पक्षमा वाचाल रहिरहने दृढता पनि व्यक्त गर्छिन् ।
मालिक,
म त्यही साँइली दमिनी हुँ हजुर
त्यही अछुत मानिएकी दमिनी
जसको घरमा कुनै बेला
लाग्ने गथ्र्यो भतेर
क्रान्ति गर्नेहरूका लागि
मेटेर गएका थिए सबै छुतहरूले
भोक र प्यास यही थलोमा
यही दमिनीको हातबाट
परिवर्तन र समानताको डङ्का पिट्दै
मेरो अनुहार हेर्नुस् साहेब
छैन अब पहिलेजस्तो रङ र जवानी
के तपाईं पढ्न सक्नुहुन्छ मेरो अनुहारका
उत्पीडन र दमनका कोरा अक्षरहरू ?
जातीय विभेदको फलामे साङ्लोमा समाज शदियौँदेखि जकडिएको छँदै छ । राज्यसत्तामा वर्षैँदेखि कथित् उपल्ला जातिको शाषकीय हैकम चलिआएकै छ । शाषकीय संरचनमा उनीहरूको एकल हालिमुहाली चलिरहेकै छ । यो सत्ताले दलितको नाममा वा अछुतको नाममा कमजोर वर्गलाई कहिल्यै समाजको डिलसम्म पनि आउन दिएको छैन । कवि केसीको कवितामा यिनी शोषित, पिडित र राज्यले जबर्जस्ती दलित भनेर हेपेका वर्गप्रतिको संवेदना पोखिएको भेटिन्छ ।
कमजोरका मुद्दा बोकेर क्रान्ति गरेका भनिएकाहरू शक्तिमा पुगेसँगै उनीहरूले क्रान्तिको मूल मर्म बिर्सिएका र पिछडिएका वर्गहरूको अवस्था ज्यूँका त्यूँ रहेको भन्दै उनले कवितामार्फत् शालिन विद्रोह गरेकी छिन् । सम्भ्रान्त वर्गले क्रान्तिको नाममा आफूलाई थप शक्तिशाली बनाएपश्चात् दलित र अल्पसङ्ख्यकको मुद्दा बिर्सिएको विषय उनका कवितामा प्रस्तुत भएको पाइन्छ ।
चलिरहेछन् निरन्तर महाभारत
आदिमकालदेखि नै
शकुनिको पासोमा
थापिएकी छे द्रौपदी
तर पनि
भिरिरहेकै छन् सत्यवादीको पगरी
आधुनिक युधिष्ठिरहरूले ।
शास्तीयताको दुहाइ दिनेहरूले पनि शास्त्रीयतको एकतर्फी विषयलाई मात्रै उजागर गरेको विषयतर्फ पनि उनले प्रतिरोधी आवाज उठाएकी छिन् । सत्यका नाममा होस् कि धर्मउका नाममा जसले, जहिल्यै महिलालाई अगाडि सारेर उनीहरूलाई थप कमजोर बनाउने कोसिस गरेको भन्दै उनले पुरुष सत्ताले निर्धारण गरेको मानक जस्तो महिलाहरू कमजोर नभएको तर्फ सङ्केत गरेकी छिन् ।
कवि केसीले आफ्नो कविता सङ्ग्रहलाई विषयगत विविधताका हिसाबले फराकिलो बनाएकी छिन् । कुनै एउटा विषयमा धेरै केन्दि्रत हुनुको सिमालाई उनले बुझेृको आभाष हुन्छ । कवितामा केसीले कविताको कथा पक्षलाई भन्दा विचार पक्षलाई बढ्दा जोड दिएको आभाष भने कतिपय कवितामा भेटिन्छ । विद्रोहका व्यङ्ग्य प्रतीकहरूलाई कवितामा सुन्दर ढङ्गले संयोजन गरिएको छ ।
केसीका कविता बगावतनामामा चार उपशीर्षकहरूमा कवितालाई विभाजन गरी छुट्याइएको छ । पाठकले आफ्नो रूचि अनुसारका कविता छनौट गरी पढ्न सक्नै सुविधालाई पनि मध्यनजर गरिएको जस्तो महसुस हुन्छ । मुना कविता उपशीर्षक अन्तर्गत नौवटा कविता राखिएको छ । यहाँ कविले छोटा कविताहरूलाई स्थान दिएकी छिन् । यसभित्र विषयगत विविधता भए पनि धेरैजसो मानवीय जीवनका प्रेम र प्रेमसँग सम्बन्धित विषयवस्तुहरूलाई प्रस्तुत गरिएको छ । जीवनमा प्रेम गरेकै कारण भोग्नुपरेका मानसिक पिर, व्यथा र भावनात्मक संवेगहरू यहाँ कविताको विषय बनेर आएका देखिन्छन् । कविले यहाँ प्रेमी हुनुको कारण भोग्नुपरेका मनमस्तिष्कका निस्सार भावनालाई प्रस्तुत गरेकी छिन् ।
त्यस्तै दृश्य परिदृश्य उपशीर्षक अन्तर्गत पाँचवटा कविताहरू राखिएका छन् । यहाँ कुनै चित्र वा फोटोहरू हेरेर मनमा आएका विविध भावहरूलाई कवितामा प्रस्तुत गरिएको छ ।
प्रेमाङ्कुरण उपशीर्षक अन्तर्गत छवटा कविता राखिएको छ । यस कवितामा कविले स्वयमंको भावानुभूतिलाई केन्द्रमा राखी प्रस्तुत गरेकी छिन् । आफू हुनुको भावाबोधलाई कलात्मक रूपमा प्रस्तुत गर्दै कविले निजत्वलाई केन्द्रमा राखी प्रस्तुत गरेकी छिन् ।
अन्तिममा विद्रोहको रङ उपशीर्षक अन्तर्गत बिसओटा कविताहरू राखिएको छ । जसमा विभिन्न विषयमा लेखिएका कविताहरूलाई सङ्ग्रहीत गरिएको छ । नीजत्वको गहिराइसम्म पुगेर उनले आत्मिक स्पर्श गरेको हिसाबले प्रस्तुत गरेकी छिन् । अन्तरहृदयबाट निसृत भएको जस्तो देखिने कवि केसीका कविताले मानवीय जीवनका अनेकानेक रङहरूलाई कवितामा प्रस्तुत गरेकी छिन् ।
बगावतनामा विद्रोह, प्रेम, संवेदना लगायतका यावत् विषयहरूको संयोजन भएको उत्कृष्ट क्यानभास हो ।
