[कविता] फेरि एक पैदल यात्रा- ‘डालस टु डीसी’

ओ ! दुर्लभ यात्री/ जाऊ, धर्तीको पल्लो किनारसम्म/ युद्धले भुटेको मुटु छुँदैछुँदै/ र, जोड यतिन्जेल भूगोलले जोडेको पृथ्वीलाई/ तिम्रो भावनाको नरम भुवाले/ जोड आँसु र करुणाले/ जोड मानवता र प्रेमले

फाल्गुन ८, २०८२

भूपाल राई

[Poetry] Another walking tour - 'Dallas to DC'

छब्बिस सय वर्षपछाडि 

फेरि एकचोटि 

अर्को गोलार्ध लुम्बिनी खोज्दैखोज्दै 

टेक्सासको नांगो र फराकिलो सडकबाट 

चुपचाप निस्किएका छन्- बुद्ध  


 

कति हजार पाइला हिँडेपछि

जोडिन्छ 'डालस टु वासिङ्टन डीसी ?'

जोडिन्छ सैंतिस सय किलोमिटरको दुरी ?


न जवाफ छ सर्वज्ञ अमेरिकासँग

न छ ट्रम्प महोदयसँग


 

मध्यरातमा

चुपचाप दरबार छाडेर निस्किएझैं

खाली खुट्टा

खाली हात

भिरेर खाली आङमा एकसरो चीवर

निस्किएका छन् 

त्यही जवाफ दिँदैदिँदै

महाभिनिष्क्रमणमा बुद्ध


 

कि बुद्धले टेकेको

हरेक पाइला पृथ्वी- लुम्बिनी हो

हरेक पाइला लुम्बिनी- पृथ्वी हो

जो सुरु भएको छ

एउटा पैदल यात्रा

अर्को गोलार्ध लुम्बिनीबाट


 

यतिखेर उनलाई 

अठार भिक्षुहरुको मुट्ठीभरि

अठार पिटक मन्त्र फुकाएर

अठारै जोर पैदल खुट्टाहरू चाल्दै

छिचोल्नु छ

सैंतिस सय किलोमिटरको दुरी

र, जोड्नु छ 

अठार फन्को शान्तिको डोरोले

डालस टु वासिङ्टन डीसी


 

हिँड्दाहिँड्दै

टेकेर हिँड्नु छ 

असी वर्ष पुरानो भग्न हिरोसिमाको छाती

जहाँ मान्छे नामको महाख्यानबाट

पहिलोचोटि

मेटिएको थियो मानवताको बिउ अक्षर

र, मान्छेकै एक इसारामा

खरानी भएका थिए

एक लाख चालिस हजार निर्दोष मान्छेहरू


 

सम्झिँदै- त्यो पल

मानव सभ्यताले दिएको

संसारकै पहिलो परमाणु-उपहार

त्यो 'लिटिल ब्वाई'


 

पाइलैमुनि छ 

शीतयुद्धको बर्बरताले चुटेको भियतनाम

जसले अझै पनि चुकाइरहेछ

बीसौं लाख नरसंहारको मूल्य

सम्झिँदै

बीसौं वर्षसम्म रेड रिभरमा बगेको    

भियत्कङहरूको रगत

र, फान्सिपान पहाडझैं अटल- हो चि मिन्ह

 [Poetry] Another walking tour - 'Dallas to DC'

पाइलैपिच्छे ठोक्किरहेछन् 

हिउँका डल्लाझैं

खुट्टामा 'प्रोक्सी वार'का अनगिन्ती ठेसहरू

सदाबहार दुस्मन जन्माउने 

त्यो दुस्मन नस्लको इरान, अफगानिस्तान

त्यो मध्यपूर्व

क्रमश: अफ्रिका, ल्याटिन अमेरिका

युफ्रिटस नदीको एकछेउ

६ बट्टे १० को स्पाइडर टनेलमा 

लुकिरहेको सद्दाम हुसेन

क्यारेबियन सागरको बीचमा तैरिरहेको

सार्वकालिक दुस्मन 

फिडेल क्यास्ट्रोको देश


 

दोहोरिलट्ठ छन् ल्याम्पपोस्टहरू

तर, निभेको छ करुणाको उज्यालो

जसको छायामुनि 

गुञ्जिरहेछ दुनियाको आत्मा काँप्ने गरी

प्यालेस्टाइनी आमाहरूको चित्कार 

पोतिएको छ सडकभरि

अबोध बालबालिकाको रगताम्य अनुहार

भर्खरै चिलले झम्टेको चल्ला- भेनेजुएला

र, दुस्मन निकोलस मदुरो


 

हिँड्नु छ

यसरी- टेक्दैटेक्दै

सारा संसारको रगतले रंगिएको

'यूएस सिक्स्टी फोर' हाइवे

हाइवेको दुवै किनारमा जम्मा भएका छन् 

हात हल्लाउँदै

स्वागतार्थ हजारौं नरनारीहरू

जसले भनिरहेछन् 

पहिलोचोटि यो रक्तरञ्जित सडकमा 

हिँडिरहेछ मान्छेको आत्मा


ओ ! दुर्लभ यात्री

जाऊ, धर्तीको पल्लो किनारसम्म 

युद्धले भुटेको मुटु छुँदैछुँदै 

र, जोड यतिन्जेल भूगोलले जोडेको पृथ्वीलाई

तिम्रो भावनाको नरम भुवाले

जोड आँसु र करुणाले

जोड मानवता र प्रेमले


 

सँगै पर्खिरहेछन् कलिला नानीहरू

हातहातमा प्रार्थनाका फूलहरू लिएर

जसका आँखाले भनिरहेछन्

यी फूलजस्तै शान्त र सुन्दर पृथ्वी 

चाहिन्छ हामीलाई


 

ए ! नौला मान्छे

तिमीसँग मात्र छ त्यो उदार छाती

जसले हाम्रो कामना पूरा गर्न सक्छ


कृपया,

हामीलाई हाम्रो फूलजस्तै पृथ्वी फर्काइदेऊ 


तर सर्वज्ञ अमेरिकालाई थाहा छैन

निहत्था आँखाको पनि क्षेप्यास्त्र हुन्छ

आँसु र प्रेमको पनि परमाणु बम हुन्छ

जो बिनाहल्ला 

बिनाहिंसा र कोलाहल 

बिलकुल नानीहरूको प्रार्थनाजस्तै

निश्छल स्छल र नि:शब्द

जित्दै एकएक पाइला करुणाको क्षेत्रफल

विस्फोट हुन्छ मानिसको आत्मामा 


 

हेर ! 

ह्वाइट हाउसको गिदी थर्किने गरी

कस्तरी पड्किरहेछ 

यतिखेर- नि:शस्त्र पैदल यात्राको क्षेप्यास्त्र ! 

जसले गरिरहेछ एक मौन उद्घोष

इतिहासका जम्मै घाउहरूको विरुद्धमा

मल्हमको एक अर्को युद्ध 

एक प्रतियुद्ध

जहाँ हार्नुपर्नेछैन कसैले पनि

र, जसलाई भनिनेछ

'शान्तिको तेस्रो विश्वयुद्ध'


यात्राको ९०औं दिन

अठार भिक्षुहरू सोध्छन्- 'कुन ठाउँ हो यो ?'

कसैले जवाफ दिन्छ-

'यो तपाईंको प्रिय लुम्बिनी हो 

जो नर्थ क्यारोलाइनामा पर्छ'


छब्बिस सय वर्षपछाडि

यसरी- निस्किएका छन् 

चुपचाप पैदल यात्रामा- बुद्ध

जसलाई दिनु छ 

सैंतिस सय किलोमिटर पाइलाको जवाफ

र, टेक्दै पाँच सय चौंतिस वर्ष पुरानो

कोलम्बसको आततायी पाइला 


पत्ता लगाउनु छ

अमेरिकाभित्र अर्को नयाँ अमेरिका ।

-----

राई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति हुन् ।

भूपाल

Link copied successfully