महिला कप्तान इन्दु बर्माको नजरमा पुरुष विश्वकप

महिला टोलीकी कप्तान बर्मा भन्छिन्, ‘पुरुष टिमले विश्वकप खेल्न सक्छ भने महिलाले किन सक्दैन ? आखिर नेपाललाई टेस्ट राष्ट्र बनाउने सबैको लक्ष्य हो’

माघ २४, २०८२

विनयज्योति सापकोटा

Women's captain Indu Verma's eyes on the men's World Cup

What you should know

काठमाडौँ — पछिल्लो पटक मलेसिया जाँदा इन्दु बर्मालाई स्थानीय खेलाडीले सोधेका थिए, ‘बाहिर जाँदा तिमीहरूलाई मान्छेले चिन्छन् त ?’‘अँ, हामी त मास्क लगाएर बाहिर जान्छौं,’ महिला क्रिकेट टिमकी कप्तान इन्दुले जवाफ फर्काएकी थिइन् ।

नेपालमा सधैं चर्चामा रहने क्रिकेट खेलाडीप्रति समर्थकको अपार माया छ । विदेशी खेलाडीलाई पनि यो कुराले लालयित बनाउँदो हो । उसो त नेपाली क्रिकेट अहिलेसम्म भावनामै टिकेको छ । पुरुष क्रिकेटले गरिरहेको निरन्तर प्रगतिमा खुसी भएर महिला क्रिकेट अघि बढिरहेको छ । इन्दुले त्यसै भनेकी होइनन्, ‘पुरुष टिमले गर्दा महिला टिमले पनि चर्चा पाएको सत्य हो ।’

सानै कुराले पनि खुसी भइहाल्ने । ठूलो सपनाहरू चाहिँ सपनामै सीमित भइरहने । कहिले नेपाल क्रिकेट संघ (क्यान) सँग असन्तुष्ट देखिने । कहिलेकाहीँ खेलाडीको फिटनेस देख्दा समर्थक नै निराश बन्ने । यो प्रतियोगितामा चाहिँ फरक नतिजा देखिन्छ पक्कै भन्ने सबैलाई लागिरहन्छ । तर नयाँ अवसर, नयाँ निराशा । यो नेपाली महिला क्रिकेट टिमको पछिल्लो डेढ दशकको नियति हो । 

त्यसो त महिला क्रिकेटले डेढ दशकसम्म आईसीसी र एसीसीका कुनै प्रतियोगितामा ट्रफी जित्न सकेन । सन् २००७ को एसीसी कपको फाइनल पुगेपछि नेपाली टिम गत वर्ष  मात्रै महिला क्रिकेट विश्वकप एसिया छनोटको फाइनलमा पुगेको थियो । ट्रफीको कुरा त दूर, फाइनलमा पुग्नै १५ वर्ष लागेको थियो ।

‘हामीलाई लाग्थ्यो महिला क्रिकेट टिमले पुरुषले भन्दा पहिले विश्वकप खेल्नेछ । त्यो विश्वास थियो,’ गत मंगलबार काठमाडौंमा महिला क्रिकेट टिमको जर्सी अनावरण गरेपछि क्यानका सचिव पारस खड्काले भनेका थिए । अहिले पुरुष टिमले तेस्रो विश्वकप खेलिरहँदा महिला टिम भने पहिलो पटक ग्लोबल क्वालिफायरमा पुगेको थियो । अबचाहिँ क्यानले पनि दीर्घकालीन योजना बनाएर महिला टिमको रणनीतिक विकास सुरु गरेको सचिव खड्का सुनाउँछन् ।

विश्वकप छनोटमा महिला क्रिकेटको इतिहास

महिला ट्वान्टी–२० विश्वकपका सुरुका तीन संस्करणमा छनोट नै आयोजना भएन । २०१४ मा बंगलादेशमा चौथो संस्करणको महिला ट्वान्टी–२० विश्वकप आयोजना भयो । चौथो संस्करणको विश्वकपमा आएर मात्रै स्वतः छनोटसँगै केही स्थान आईसीसीले छनोट आयोजना गर्‍यो । एसिया क्षेत्रबाट भने एसीसी च्याम्पियनसिपलाई छनोटका रूपमा राखिएको देखिन्छ । किनभने यसको विजेता थाइल्यान्ड नै ग्लोबल क्वालिफायरमा सहभागी बनेको थियो । यता नेपाल भने सेमिफाइनलमा थाइल्यान्डसँग नै पराजित भएर बाहिरियो ।

सन् २०१६ को विश्वकप छनोट २०१५ मा भए पनि नेपाल सहभागी बनेन । २०१७ देखि मात्रै महिला टी–२० विश्वकपको एसिया छनोट आयोजना भएको थियो । त्यसपछि नेपाल  २०१७ मा सेमिफाइनलबाटै बाहिरियो । २०१९ र २०२१ मा भने लिग चरण नै पार गर्न नसक्दै बाहिरिएको थियो । 

‘फरक–फरक प्रशिक्षकको जहिल्यै फरक रणनीतिमा खेल्नुपर्दा कहिले के नमिल्ने, कहिले के बिग्रिन्थ्यो । क्रिकेटमा फाउन्डेसन हुनपर्छ भन्ने अवधारणा सुरु भएकै २०१९ देखि हो । तर हामीलाई विश्वकप छनोटमा सेमिफाइनलमा पुग्नै समस्या हुन्थ्यो, फर्किंदा विमानस्थलमा लाजै लाग्थ्यो नि ।’

Women's captain Indu Verma's eyes on the men's World Cupएउटा छनोटपछि त इन्दुलाई पनि लागेको थियो अब क्रिकेट नै खेल्दिनँ । भविष्य नै छैन यसमा । साह्रै चित्त दुखेको थियो ।त्यसपछि २०२३ मा भएको एसिया क्वालिफायरमा टिम सेमिफाइनल त पुग्यो । तर त्यहींबाटै बाहिरियो । २०२५ मा यस्तो पर्खाइ समाप्त भयो । जहाँ नेपाल सन् २००७ यता पहिलो पटक कुनै पनि प्रतियोगिताको फाइनल पुगेको हो । गत वर्षको मे महिनामा थाइल्यान्डमा आयोजना भएको एसिया छनोटको सेमिफाइनलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । त्यही प्रतियोगिताको फाइनलमा पुगेर नै नेपाल पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको हो । जुन गत साता काठमाडौंमा नै भए पनि नेपाल विश्वकपमा छनोट हुन सकेन ।

‘हामी सबैका आँखा रसाएका थिए । भावनात्मक रूपमा हामी टुक्रिएका थियौं । बलियो टिमविरुद्ध जित नजिक पुग्यौं भनेर थोरै चित्त बुझाउने बाटो थियो । तर फेरि दुई वर्षको पर्खाइ सम्झिँदा सहज थिएन,’ स्कटल्यान्डसँगको हारपछिको क्षण इन्दुले स्मरण गरिन् ।

आशा–निराशा

छनोट प्रतियोगिताका क्रममा इन्दुले आईसीसीले पहिलो पटक ग्लोबल क्वालिफायर नेपालमा आयोजना गर्दा यो छनोट नेपाली क्रिकेटको टर्निङ प्वाइन्ट हुने विश्वास व्यक्त गरेकी थिइन् । ‘१८ वर्षपछि प्राप्त अवसर सदुपयोग गर्न टिम तयार छ, यसले आउने पुस्तालाई प्लेटफर्म सेट गर्न सहयोगी हुनेछ,’ उनले भनेकी थिइन् । विश्वकपमा पुग्न पहिलो स्टेप सुपर सिक्समा पुग्नैपर्ने थियो । ‘जिम्बावेसँगको जितले मात्रै पनि टिमको माहोल धेरै फरक थियो । जित्दा कस्तो हुने रहेछ भनेर जिम्बावेलाई हराएपछि मात्रै थाहा पायौँ,’ इन्दु भन्छिन्, ‘सुपर सिक्समा पुगेको भए कथा फरक हुनेवाला थियो ।’

Women's captain Indu Verma's eyes on the men's World Cupचोटका कारण इन्दुले घरमै बसेर पुरुष ट्वान्टी–२० विश्वकप हेर्नेछिन् । महिला टिम एसिया कप राइजिङ स्टार्सका लागि थाइल्यान्ड जाँदै छ, त्यो खेल हेर्ने उनको जिम्मेवारी नै भयो । ‘भारत, पाकिस्तानजस्ता टिमविरुद्ध पूजा महतोले टिमको नेतृत्व गर्ने अवसर पाउँदा भविष्यलाई सहयोग हुन्छ,’ इन्दु भन्छिन्, ‘पूजा भारतमा क्रिकेट सिकेर खारिएकी खेलाडी हुन् । उनले त्यो अनुभव यहाँ प्रयोग गर्नेछिन् ।’

नयाँ खेलाडीको उत्साह

अहिले धेरै युवा खेलाडी आएका छन् । उमेर समूहमै एक्सपोजर पाएका खेलाडी उत्पादनसँगै प्रतिस्पर्धा बढेको छ । अहिले राष्ट्रिय टिममा आएका खेलाडीलाई आधारभूत कुरा सिकाउन नपर्दा कप्तान र प्रशिक्षकलाई केही सहज छ । 

युवा खेलाडी स्मार्ट छन् । उनीहरू ‘प्रिम्याच भिजुलाइजेसन’ का विज्ञ बनेर निस्किरहेका छन् । प्रशिक्षकले भनेका ‘ट्याक्टिस’ चाँडै सम्झिन्छन् । इन्दुले नयाँ खेलाडीबारे कुरा गरिरहँदा छेवैमा बसेकी पूजा मुस्कुराइरहेकी थिइन् । इन्दुको अनुपस्थितिमा पूजाले नेपाली टिमको कप्तानी जिम्मेवारी पाएकी छन् । उनकै नेतृत्वमा यू–१९ टिमले भने विश्वकप खेलिसकेको छ भने एसिया कपमा पाकिस्तानलाई नै हराएको छ । 

अब भारतको वानखेडे रंगशालामा पुरुष टिमले विश्वकप खेलिरहँदा पूजाको नेतृत्वमा नेपालले एसिया कप राइजिङ स्टार्समा भारत, पाकिस्तान, यूएईसँग खेलिरहेको हुनेछ । ‘विश्वकप खेल्ने सबैको सपना हुन्छ । त्यसमा पुरुष टिम सफल भएको छ । त्यो खेललाई हामीले समय दिएर हेर्नुपर्ने हो । हाम्रो आफ्नै खेल भए पनि पुरुष टिमलाई समर्थन गर्नेछौं,’ पूजाले विश्वकपबारे भनिन् ।

Women's captain Indu Verma's eyes on the men's World Cupउनलाई लागेको छ, यदि पुरुष टिमले सक्छ भने महिलाले किन सक्दैन ? आखिर नेपाललाई टेस्ट राष्ट्र बनाउने सबैको लक्ष्य हो । दुवै टिमले विश्वकप खेल्ने हो भने नेपाल चाँडै माथिल्लो स्तरमा पुग्नेछ । ‘मुख्य कुरा हामीले जित निकाल्न सक्नुपर्छ । विकास भइरहेको छ अब त्यसलाई लगातार भइराख्ने बाटोमा लैजानुपर्नेछ । विश्वकप छनोटमा हामीले जिम्बावेलाई हराएका थियौं । प्रशिक्षक हर्सल पाठक आएपछि टिमले अब तीन महिनामा नतिजा दिन थाल्छ भन्ने लाग्छ,’ पूजाले अलिकति महत्त्वाकांक्षी र अलिकति यथार्थवादी बन्दै आफ्नो टिमको भविष्यबारे आँकलन गरेकी छन् । नतिजा मात्रै सबैथोक होइन । राम्रो खेल देखाउन पनि सक्नुपर्छ, खेलाडीको मानसिकता र मैदानमा खेलाडीको हाउभाउलाई प्रशिक्षक हर्सलले केन्द्रमा राखेका छन् ।

‘पछिल्लो दुई महिनामा स्वभावमा जुन परिवर्तन भएको छ, त्यो ठूलो कुरा हो । यो सुविधामा पनि सकारात्मक सोच राखिरहेका छौं भने एउटा नतिजामा लैजान बाटो अहिले बनेको छ,’ इन्दुले आशावादी स्वरमा भनिन्, ‘अब फिल्डिङमा पनि काम गर्ने हो । ६ महिनामा एसोसिएट देशहरूमा उत्कृष्ट बलिङ टिम भएर निस्कने सोचले अघि बढिरहेका छौं ।’ अहिले महिला टिमको सबैभन्दा ठूलो शक्ति भनेको नै आफैं र एकअर्कालाई गर्ने विश्वास हो । इन्दुले अहिले सबैलाई आ–आफ्नो क्षमतामा विश्वास गर्न सिकाइरहेकी छन् ।  

आजबाट क्रिकेटका समर्थक आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको रोमाञ्चमा झुम्नेछन् । धेरै नेपाली क्रिकेट समर्थक आफ्नो टिमलाई साथ र समर्थन गर्न भारतको मुम्बई पुगिसकेका छन् । त्यहाँबाट नेपाली टिम, नेपालले खेल्ने मैदान र विपक्षी टिमको स्थितिबारे आइरहेका निरन्तर खबरले समर्थकलाई नयाँ ऊर्जा दिएको छ । तर अर्कोतर्फ घरेलु मैदानमा आयोजना भएको आईसीसी महिला टी–२० विश्वकपमा छनोट हुन नसकेको पश्चातापको घाउ नेपाली महिला टिममा ओभाएको छैन ।

‘पुरुष टिमले नतिजा दिइरहेका कारण महिला टिमलाई पनि समर्थकले नोटिस गर्न थालेका छन् । २–३ वर्ष अघिसम्म महिला क्रिकेट टिम पनि छ र भन्थे । केही दिनअघि विश्वकप छनोटमा पराजयपछि पनि समर्थकको सपोर्ट थियो । पुरुष टिमले लगातार विश्वकप खेल्दा समग्र क्रिकेट उपस्थिति बढेको छ,’ इन्दुले भनिन् । विगतमा महिला टिमले त धेरै चोट र आलोचना सहेर यहाँ आएको हो । ‘म २०१० मा क्रिकेटमा आउँदा केही सामग्री थिएन । आफ्नै बलबुताले सबै गर्नुपर्ने हुन्थ्यो, तर लाग्छ अबचाहिँ दिन आएको छ केही गरेर देखाउने,’ इन्दुले अर्को टी–२० विश्वकप चक्रल सम्झँदै बिट मारिन् ।

विनयज्योति सापकोटा

Link copied successfully