महिला टोलीकी कप्तान बर्मा भन्छिन्, ‘पुरुष टिमले विश्वकप खेल्न सक्छ भने महिलाले किन सक्दैन ? आखिर नेपाललाई टेस्ट राष्ट्र बनाउने सबैको लक्ष्य हो’
What you should know
काठमाडौँ — पछिल्लो पटक मलेसिया जाँदा इन्दु बर्मालाई स्थानीय खेलाडीले सोधेका थिए, ‘बाहिर जाँदा तिमीहरूलाई मान्छेले चिन्छन् त ?’‘अँ, हामी त मास्क लगाएर बाहिर जान्छौं,’ महिला क्रिकेट टिमकी कप्तान इन्दुले जवाफ फर्काएकी थिइन् ।
नेपालमा सधैं चर्चामा रहने क्रिकेट खेलाडीप्रति समर्थकको अपार माया छ । विदेशी खेलाडीलाई पनि यो कुराले लालयित बनाउँदो हो । उसो त नेपाली क्रिकेट अहिलेसम्म भावनामै टिकेको छ । पुरुष क्रिकेटले गरिरहेको निरन्तर प्रगतिमा खुसी भएर महिला क्रिकेट अघि बढिरहेको छ । इन्दुले त्यसै भनेकी होइनन्, ‘पुरुष टिमले गर्दा महिला टिमले पनि चर्चा पाएको सत्य हो ।’
सानै कुराले पनि खुसी भइहाल्ने । ठूलो सपनाहरू चाहिँ सपनामै सीमित भइरहने । कहिले नेपाल क्रिकेट संघ (क्यान) सँग असन्तुष्ट देखिने । कहिलेकाहीँ खेलाडीको फिटनेस देख्दा समर्थक नै निराश बन्ने । यो प्रतियोगितामा चाहिँ फरक नतिजा देखिन्छ पक्कै भन्ने सबैलाई लागिरहन्छ । तर नयाँ अवसर, नयाँ निराशा । यो नेपाली महिला क्रिकेट टिमको पछिल्लो डेढ दशकको नियति हो ।
त्यसो त महिला क्रिकेटले डेढ दशकसम्म आईसीसी र एसीसीका कुनै प्रतियोगितामा ट्रफी जित्न सकेन । सन् २००७ को एसीसी कपको फाइनल पुगेपछि नेपाली टिम गत वर्ष मात्रै महिला क्रिकेट विश्वकप एसिया छनोटको फाइनलमा पुगेको थियो । ट्रफीको कुरा त दूर, फाइनलमा पुग्नै १५ वर्ष लागेको थियो ।
‘हामीलाई लाग्थ्यो महिला क्रिकेट टिमले पुरुषले भन्दा पहिले विश्वकप खेल्नेछ । त्यो विश्वास थियो,’ गत मंगलबार काठमाडौंमा महिला क्रिकेट टिमको जर्सी अनावरण गरेपछि क्यानका सचिव पारस खड्काले भनेका थिए । अहिले पुरुष टिमले तेस्रो विश्वकप खेलिरहँदा महिला टिम भने पहिलो पटक ग्लोबल क्वालिफायरमा पुगेको थियो । अबचाहिँ क्यानले पनि दीर्घकालीन योजना बनाएर महिला टिमको रणनीतिक विकास सुरु गरेको सचिव खड्का सुनाउँछन् ।
विश्वकप छनोटमा महिला क्रिकेटको इतिहास
महिला ट्वान्टी–२० विश्वकपका सुरुका तीन संस्करणमा छनोट नै आयोजना भएन । २०१४ मा बंगलादेशमा चौथो संस्करणको महिला ट्वान्टी–२० विश्वकप आयोजना भयो । चौथो संस्करणको विश्वकपमा आएर मात्रै स्वतः छनोटसँगै केही स्थान आईसीसीले छनोट आयोजना गर्यो । एसिया क्षेत्रबाट भने एसीसी च्याम्पियनसिपलाई छनोटका रूपमा राखिएको देखिन्छ । किनभने यसको विजेता थाइल्यान्ड नै ग्लोबल क्वालिफायरमा सहभागी बनेको थियो । यता नेपाल भने सेमिफाइनलमा थाइल्यान्डसँग नै पराजित भएर बाहिरियो ।
सन् २०१६ को विश्वकप छनोट २०१५ मा भए पनि नेपाल सहभागी बनेन । २०१७ देखि मात्रै महिला टी–२० विश्वकपको एसिया छनोट आयोजना भएको थियो । त्यसपछि नेपाल २०१७ मा सेमिफाइनलबाटै बाहिरियो । २०१९ र २०२१ मा भने लिग चरण नै पार गर्न नसक्दै बाहिरिएको थियो ।
‘फरक–फरक प्रशिक्षकको जहिल्यै फरक रणनीतिमा खेल्नुपर्दा कहिले के नमिल्ने, कहिले के बिग्रिन्थ्यो । क्रिकेटमा फाउन्डेसन हुनपर्छ भन्ने अवधारणा सुरु भएकै २०१९ देखि हो । तर हामीलाई विश्वकप छनोटमा सेमिफाइनलमा पुग्नै समस्या हुन्थ्यो, फर्किंदा विमानस्थलमा लाजै लाग्थ्यो नि ।’
एउटा छनोटपछि त इन्दुलाई पनि लागेको थियो अब क्रिकेट नै खेल्दिनँ । भविष्य नै छैन यसमा । साह्रै चित्त दुखेको थियो ।त्यसपछि २०२३ मा भएको एसिया क्वालिफायरमा टिम सेमिफाइनल त पुग्यो । तर त्यहींबाटै बाहिरियो । २०२५ मा यस्तो पर्खाइ समाप्त भयो । जहाँ नेपाल सन् २००७ यता पहिलो पटक कुनै पनि प्रतियोगिताको फाइनल पुगेको हो । गत वर्षको मे महिनामा थाइल्यान्डमा आयोजना भएको एसिया छनोटको सेमिफाइनलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । त्यही प्रतियोगिताको फाइनलमा पुगेर नै नेपाल पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको हो । जुन गत साता काठमाडौंमा नै भए पनि नेपाल विश्वकपमा छनोट हुन सकेन ।
‘हामी सबैका आँखा रसाएका थिए । भावनात्मक रूपमा हामी टुक्रिएका थियौं । बलियो टिमविरुद्ध जित नजिक पुग्यौं भनेर थोरै चित्त बुझाउने बाटो थियो । तर फेरि दुई वर्षको पर्खाइ सम्झिँदा सहज थिएन,’ स्कटल्यान्डसँगको हारपछिको क्षण इन्दुले स्मरण गरिन् ।
आशा–निराशा
छनोट प्रतियोगिताका क्रममा इन्दुले आईसीसीले पहिलो पटक ग्लोबल क्वालिफायर नेपालमा आयोजना गर्दा यो छनोट नेपाली क्रिकेटको टर्निङ प्वाइन्ट हुने विश्वास व्यक्त गरेकी थिइन् । ‘१८ वर्षपछि प्राप्त अवसर सदुपयोग गर्न टिम तयार छ, यसले आउने पुस्तालाई प्लेटफर्म सेट गर्न सहयोगी हुनेछ,’ उनले भनेकी थिइन् । विश्वकपमा पुग्न पहिलो स्टेप सुपर सिक्समा पुग्नैपर्ने थियो । ‘जिम्बावेसँगको जितले मात्रै पनि टिमको माहोल धेरै फरक थियो । जित्दा कस्तो हुने रहेछ भनेर जिम्बावेलाई हराएपछि मात्रै थाहा पायौँ,’ इन्दु भन्छिन्, ‘सुपर सिक्समा पुगेको भए कथा फरक हुनेवाला थियो ।’
चोटका कारण इन्दुले घरमै बसेर पुरुष ट्वान्टी–२० विश्वकप हेर्नेछिन् । महिला टिम एसिया कप राइजिङ स्टार्सका लागि थाइल्यान्ड जाँदै छ, त्यो खेल हेर्ने उनको जिम्मेवारी नै भयो । ‘भारत, पाकिस्तानजस्ता टिमविरुद्ध पूजा महतोले टिमको नेतृत्व गर्ने अवसर पाउँदा भविष्यलाई सहयोग हुन्छ,’ इन्दु भन्छिन्, ‘पूजा भारतमा क्रिकेट सिकेर खारिएकी खेलाडी हुन् । उनले त्यो अनुभव यहाँ प्रयोग गर्नेछिन् ।’
नयाँ खेलाडीको उत्साह
अहिले धेरै युवा खेलाडी आएका छन् । उमेर समूहमै एक्सपोजर पाएका खेलाडी उत्पादनसँगै प्रतिस्पर्धा बढेको छ । अहिले राष्ट्रिय टिममा आएका खेलाडीलाई आधारभूत कुरा सिकाउन नपर्दा कप्तान र प्रशिक्षकलाई केही सहज छ ।
युवा खेलाडी स्मार्ट छन् । उनीहरू ‘प्रिम्याच भिजुलाइजेसन’ का विज्ञ बनेर निस्किरहेका छन् । प्रशिक्षकले भनेका ‘ट्याक्टिस’ चाँडै सम्झिन्छन् । इन्दुले नयाँ खेलाडीबारे कुरा गरिरहँदा छेवैमा बसेकी पूजा मुस्कुराइरहेकी थिइन् । इन्दुको अनुपस्थितिमा पूजाले नेपाली टिमको कप्तानी जिम्मेवारी पाएकी छन् । उनकै नेतृत्वमा यू–१९ टिमले भने विश्वकप खेलिसकेको छ भने एसिया कपमा पाकिस्तानलाई नै हराएको छ ।
अब भारतको वानखेडे रंगशालामा पुरुष टिमले विश्वकप खेलिरहँदा पूजाको नेतृत्वमा नेपालले एसिया कप राइजिङ स्टार्समा भारत, पाकिस्तान, यूएईसँग खेलिरहेको हुनेछ । ‘विश्वकप खेल्ने सबैको सपना हुन्छ । त्यसमा पुरुष टिम सफल भएको छ । त्यो खेललाई हामीले समय दिएर हेर्नुपर्ने हो । हाम्रो आफ्नै खेल भए पनि पुरुष टिमलाई समर्थन गर्नेछौं,’ पूजाले विश्वकपबारे भनिन् ।
उनलाई लागेको छ, यदि पुरुष टिमले सक्छ भने महिलाले किन सक्दैन ? आखिर नेपाललाई टेस्ट राष्ट्र बनाउने सबैको लक्ष्य हो । दुवै टिमले विश्वकप खेल्ने हो भने नेपाल चाँडै माथिल्लो स्तरमा पुग्नेछ । ‘मुख्य कुरा हामीले जित निकाल्न सक्नुपर्छ । विकास भइरहेको छ अब त्यसलाई लगातार भइराख्ने बाटोमा लैजानुपर्नेछ । विश्वकप छनोटमा हामीले जिम्बावेलाई हराएका थियौं । प्रशिक्षक हर्सल पाठक आएपछि टिमले अब तीन महिनामा नतिजा दिन थाल्छ भन्ने लाग्छ,’ पूजाले अलिकति महत्त्वाकांक्षी र अलिकति यथार्थवादी बन्दै आफ्नो टिमको भविष्यबारे आँकलन गरेकी छन् । नतिजा मात्रै सबैथोक होइन । राम्रो खेल देखाउन पनि सक्नुपर्छ, खेलाडीको मानसिकता र मैदानमा खेलाडीको हाउभाउलाई प्रशिक्षक हर्सलले केन्द्रमा राखेका छन् ।
‘पछिल्लो दुई महिनामा स्वभावमा जुन परिवर्तन भएको छ, त्यो ठूलो कुरा हो । यो सुविधामा पनि सकारात्मक सोच राखिरहेका छौं भने एउटा नतिजामा लैजान बाटो अहिले बनेको छ,’ इन्दुले आशावादी स्वरमा भनिन्, ‘अब फिल्डिङमा पनि काम गर्ने हो । ६ महिनामा एसोसिएट देशहरूमा उत्कृष्ट बलिङ टिम भएर निस्कने सोचले अघि बढिरहेका छौं ।’ अहिले महिला टिमको सबैभन्दा ठूलो शक्ति भनेको नै आफैं र एकअर्कालाई गर्ने विश्वास हो । इन्दुले अहिले सबैलाई आ–आफ्नो क्षमतामा विश्वास गर्न सिकाइरहेकी छन् ।
आजबाट क्रिकेटका समर्थक आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको रोमाञ्चमा झुम्नेछन् । धेरै नेपाली क्रिकेट समर्थक आफ्नो टिमलाई साथ र समर्थन गर्न भारतको मुम्बई पुगिसकेका छन् । त्यहाँबाट नेपाली टिम, नेपालले खेल्ने मैदान र विपक्षी टिमको स्थितिबारे आइरहेका निरन्तर खबरले समर्थकलाई नयाँ ऊर्जा दिएको छ । तर अर्कोतर्फ घरेलु मैदानमा आयोजना भएको आईसीसी महिला टी–२० विश्वकपमा छनोट हुन नसकेको पश्चातापको घाउ नेपाली महिला टिममा ओभाएको छैन ।
‘पुरुष टिमले नतिजा दिइरहेका कारण महिला टिमलाई पनि समर्थकले नोटिस गर्न थालेका छन् । २–३ वर्ष अघिसम्म महिला क्रिकेट टिम पनि छ र भन्थे । केही दिनअघि विश्वकप छनोटमा पराजयपछि पनि समर्थकको सपोर्ट थियो । पुरुष टिमले लगातार विश्वकप खेल्दा समग्र क्रिकेट उपस्थिति बढेको छ,’ इन्दुले भनिन् । विगतमा महिला टिमले त धेरै चोट र आलोचना सहेर यहाँ आएको हो । ‘म २०१० मा क्रिकेटमा आउँदा केही सामग्री थिएन । आफ्नै बलबुताले सबै गर्नुपर्ने हुन्थ्यो, तर लाग्छ अबचाहिँ दिन आएको छ केही गरेर देखाउने,’ इन्दुले अर्को टी–२० विश्वकप चक्रल सम्झँदै बिट मारिन् ।
