कूल २० टिम सम्मिलित प्रतियोगितामा नेपाल समूह ‘सी’ मा रहेको छ र नेपालले इंग्ल्यान्ड र वेस्ट इन्डिज जस्ता दिग्गज टिमविरुद्ध खेल्नेछ ।
What you should know
काठमाडौँ — अबको केही महिना हामी सबैको चर्चाको एउटा विषय हुनेछ, ट्वान्टी ट्वान्टी विश्वकप २०२६ । भारत र श्रीलंकामा हुने यो विश्वकपमा नेपाल पनि सहभागी हुँदैछ । नेपालले खेल्न लागेको यो तेस्रो विश्वकप हो ।
धेरै अर्थमा यो विश्वकप नेपाल सहभागी हुने नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो अवसर हुने छ । अचेल आम नेपाली खेल प्रेमी पनि क्रिकेटका पारखी हुनेछन्, त्यसैले स्वभाविक छ, चुनावबीच पनि क्रिकेट बहसको एउटा विषय हुनेछ ।
कूल २० टिम सम्मिलित प्रतियोगितामा नेपाल समूह ‘सी’ मा रहेको छ र नेपालले इंग्ल्यान्ड र वेस्ट इन्डिज जस्ता दिग्गज टिमविरुद्ध खेल्नेछ । नेपालले इटाली र स्कटल्यान्डविरुद्ध पनि खेल्नेछ । नेपालका सबै खेल मुम्बईको प्रसिद्ध वानखडे स्टेडियमा हुनेछ । यति बेला मुम्बईमा सानोतिनो नेपाली मेला चलेको जस्तै भएको छ, किनभने बाक्लै संख्यामा नेपाली क्रिकेट प्रेमी भारतको यो रंगीन जादुयी सहरमा छन् । उनीहरू चाहन्छन्, नेपालले राम्रो खेलोस ।
अनि नेपाली टिमका कप्तान रोहितकुमार पौडलले पनि वचन दिएका छन्, ‘टिमले सक्दो राम्रो गर्नेछ ।’ प्रतियोगितामा आयोजक भारत नै सबैभन्दा बलियो प्रत्यासी रहेको छ, उपाधिका लागि । सँगसँगै पारम्परिक शक्ति पनि छन्, जस्तो, इग्ल्यान्ड, अस्ट्रेलियादेखि दक्षिण अफ्रिका छन् । साँच्चै यो प्रतियोगिता कस्तो हुनेछ ? सहभागी टिम कस्ता छन् ? अनि ट्वान्टी ट्वान्टी क्रिकेट र विश्वकपको आफ्नै इतिहास कस्तो छ त ?
यिनै विषयमा केन्द्रित रहेर हामीले यसपल्ट कोसेली तयार पारेका छौं, एक दर्जन जति लेख समेटेर । यी लेखले प्रतियोगिताबारे धेरै जानकारी दिनेछ, अनि यी लेख पढेर प्रतियोगिता हेर्दा फरक स्वाद मिल्नेछ, यति कुरा पक्का छ । अनि यी लेखको मदतले तपाई आफैले पनि विश्लेषण गरे हुन्छ नि, यसपल्टको ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा के कस्तो अपेक्षा गर्न सक्छौं त ?
