ट्वान्टी–२० विश्वकप आजदेखि

कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच शनिबार उद्घाटन खेल सुरु हुनेछ

माघ २४, २०८२

कान्तिपुर संवाददाता

Twenty20 World Cup starts today

What you should know

मुम्बई — अलिकति विवाद । अलिकति अन्योल । दक्षिण एसियाको भूराजनीतिले पारेको गम्भीर प्रभावबीच ट्वान्टी–२० विश्वकप क्रिकेट शनिबार सुरु हुँदै । पाकिस्तानले भारतविरुद्ध कोलम्बोमा हुने खेल साँच्चै बहिष्कार गर्छ वा गर्दैन भन्ने अन्योल अझै कायम छ ।

पाकिस्तानी क्रिकेट बोर्डले अहिलेसम्म खेल्दैनौं पनि भनेको छैन । पाकिस्तानी सरकारले भनेको हो, आफ्नो टिमले खेल्दैन भनेर । श्रीलंका क्रिकेटले पाकिस्तानलाई आफ्नो बहिष्कारको घोषणा फेर्न अनुरोध गरिरहेको छ । 

त्यसअघि बंगलादेश प्रतियोगिताबाट बाहिरिएको थियो । सुरक्षाको कारण देखाएर भारतमा नखेल्ने भनेपछि विवाद त्यहींबाट सुरु भएको हो । जतिबेला कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच उद्घाटन खेल सुरु हुनेछ, त्यतिबेला भने प्रतियोगिताले औपचारिक सुरुआत पाउनेछ । प्रतियोगितामा उपाधिका लागि बलियो टिम फेरि एकपल्ट भारत नै छ, त्यसमाथि भारत डिफेन्डिङ च्याम्पियन हो । कप्तान सूर्यकुमार यादवले भनिसकेका छन्, आफ्नो टिम ‘विनिङ मेन्टालिटी’ ले भरिएको छ भनेर । 

उनले भनेका छन्, ‘पहिले र अहिलेको भारतीय टिम उही हो, सोच्ने तरिका मात्र फेरिएको छ । अचेल हामी जित्ने मानसिकताले खेल्छौं र त्यसलाई इन्डियन मेन्टालिटी भने हुन्छ ।’ समूह ‘ए’ बाट भारत सजिलै सुपर एट पुग्ने विश्वास गरिएको छ अनि उपाधि रक्षाका लागि बलियो प्रत्याशी पनि । यो समूहमा भारतसँगै पाकिस्तानलाई कुनै एक टिमले चुनौती दिन सक्छ भने त्यो अमेरिका हुनेछ । सन् २०२४ मा अमेरिकाले पाकिस्तानलाई हराएको कमैले मात्र बिर्सेका छन् । 

शनिबार नै भारत र अमेरिका पनि भिड्ने छन् । उपाधिका लागि दुई पूर्वविजेता अस्ट्रेलिया र इंग्ल्यान्ड पनि उपाधिका लागि उत्तिकै उपाधिका सम्भावित बलिया विजेता हुन् । भारतलाई लगातार दोस्रोपल्ट उपाधि जित्नबाट कसैले रोक्न सक्छ भने यिनै दुई टिम प्रतिद्वन्द्वी हुनेछन् । सन् २०२१ को विजेता अस्ट्रेलियालाई प्रतियोगिता अगाडि नै एउटा ठूलो धक्का भने लागेको छ । त्यो हो, ढाडको चोटका कारण तीव्र गतिका बलर प्याट कमिन्सलाई गुमाउनु । त्यति मात्र होइन, टिममा अर्का तीव्र बलर जोस हेजलउड हुने छैनन्, उनी पनि चोटग्रस्त छन् । 

यसपल्ट अस्ट्रेलिया मिचेल मार्सको कप्तानीमा खेल्दै छ । टिम समूह ‘बी’ मा छ । टोलीको पहिलो खेल आयरल्यान्डविरुद्ध हुनेछ । शनिबार नै कोलकातामा वेस्ट इन्डिज र स्कटल्यान्ड भिड्ने छन् । यो समूह ‘सी’ को पहिलो खेल हुनेछ । यो समूहमा बलियो टिम ह्यारी ब्रुक्स नेतृत्वको इंग्ल्यान्ड हो । यति बेला इंग्लिस मिडियामा ब्रुक्सको चर्को आलोचना भइरहेको छ ।

तर उनले यस्ता अखबारी पण्डित्याइँमा कुनै रुचि नभएको पनि बताएका छन् । यसै साता मात्र इंग्ल्यान्डले श्रीलंकाविरुद्ध ट्वान्टी–२० सिरिज ३–० ले जितेको छ । वेस्ट इन्डिज पनि पूर्वविजेता रहेको हुनाले यो समूहमा दुई पुराना च्याम्पियन छन् । वेस्ट इन्डिज पनि इंग्ल्यान्ड र भारतपछि ट्वान्टी–२० उपाधि दुईपल्ट जित्ने टिममा पर्छ । यो समूहमा नेपालसँगै इटाली र बंगलादेशको स्थानमा एकाएक मौका पाएको स्कटल्यान्ड छ । जोस बटलरले छाडेयता ब्रुक्सको नेतृत्वमा इंग्ल्यान्डले पहिलो ठूलो प्रतियोगिता खेलिरहेको छ । 

सन् २०२४ को उपविजेता दक्षिण अफ्रिकाले अहिलेसम्म सेतो बलले खेलिने कुनै पनि प्रतियोगिता जितेको छैन । दक्षिण अफ्रिकासामु एकदिवसीय वा ट्वान्टी–२० विश्वकप जित्ने अनेक अवसर पाए, तर त्यसको निकै नजिक पुगेर पनि यो टिम हारेको इतिहास छ । गत वर्ष टेस्ट च्याम्पियनसिप जितेको दक्षिण अफ्रिकाका अहिलेका कप्तान एडेन मारक्रमले प्रतियोगिताको पूर्वसन्ध्यामा भनेका छन्, यो विश्वकपमा कुनै पनि टिमले कसैलाई कुनै पनि बेला हराउन सक्छ । 

समूह ‘डी’ मा दक्षिण अफ्रिकालाई सक्दो अप्ठ्यारो पार्ने प्रयासमा हुनेछन्, न्युजिल्यान्ड र अफगानिस्तान । यो समूहको एउटा अर्को टिम यूएई छ । लिग चरणको समाप्तिमा प्रत्येक समूहबाट दुई टिम सुपर एट पुग्नेछन् । यी आठ टिमलाई दुई समूहमा विभाजन गरेर फेरि लिग खेल हुनेछ । त्यसमध्ये दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल पुग्नेछन् । 

आजका खेल

नेदरल्यान्ड्सविरुद्ध पाकिस्तान (कोलम्बो)

स्कटल्यान्डविरुद्ध वेस्ट इन्डिज (कोलकाता)

भारतविरुद्ध अमेरिका (मुम्बई) 

समूह “ए”समूह “बी”समूह “सी”समूह “डी”
भारतअस्ट्रेलियाइंग्ल्यान्डन्युजिल्यान्ड
पाकिस्तानश्रीलंकावेस्ट इन्डिजदक्षिण अफ्रिका
अमेरिका आयरल्यान्ड नेपालअफगानिस्तान
नेदरल्यान्ड्सजिम्बावेइटालीक्यानडा
नामिबियाओमानस्कटल्यान्डयूएई

कान्तिपुर संवाददाता

Link copied successfully