‘मलाई देखेर तपाईंहरू नथाक्नु किनभने म अहिलेसम्म थाकेको छैन, मलाई टेलिभिजनमा हेरेर थाकेको पनि भेटेको थिएँ, तर म कहिल्यै क्रिकेट खेल्न छोड्दिनँ’
What you should know
काठमाडौँ — लगातार तेस्रो पटक विश्वकप खेल्न निकै उत्साही छन् सोमपाल कामी । फेरि नेपालको प्रतिनिधित्व गर्दै विश्व क्रिकेटमा पुगेका छन् उनी । उनी अरू नेपाली क्रिकेटरभन्दा फरक छन् यसपालि । नेपालले खेलेका तीनै विश्वकप प्रतिस्पर्धामा ओर्लिने एक्लो नेपाली खेलाडीको कीर्तिमानसहित सोमपाल मैदान उत्रँदै छन् ।
नेपालले खेलेका सबै तीन विश्वकप खेल्ने कल्पना गरेका थिए त सोमपालले ? विश्वकप खेलिरहने धित अझै मरिनसकेको जनाउँदै भन्छन्, ‘अझै धेरै गर्न बाँकी छ । यो सुरुआत मात्र हो, भर्खर हामी लगालग दुई विश्वकप खेल्दै छौं । नेपालले अझै धेरै विश्वकप खेल्न बाँकी छ ।’
भारतबाट फर्किएको एक वर्षभित्रै सोमपाल नेपाली टोलीमा समेटिँदै बंगलादेशमा २०१४ को विश्वकप खेलेका थिए । त्यसपछि नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्न १० वर्ष लाग्यो । दुई वर्षअघि अमेरिका र वेस्ट इन्डिजमा खेल्दा नेपालले खेलेको पछिल्लो ट्वान्टी–२० विश्वकप खेल्ने सोमपालमात्र थिए । अहिले उनी नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् ।
‘२०१४ को विश्वकपले मलाई मात्र होइन, नेपाली क्रिकेटको पनि पहिचान दिएको थियो । मसहित सबैले त्यतिखेर ट्वान्टी–२० अन्तर्राष्ट्रियको डेब्यु क्याप नै पाएका थियौं । त्यहीँबाट मलाई गुल्मी एक्सप्रेस नाम दिइएको थियो,’ सोमपालले स्मरण गरे, ‘नेपाली क्रिकेट पनि त्यसपछि नै विकसित हुँदै गयो । त्यसपछि नै हो नेपाली समर्थक र विश्व क्रिकेटलाई पनि थाहा भयो, हामीले क्रिकेट खेल्छ भनेर । मैले नेपाली क्रिकेटलाई यहाँसम्म ल्याउन गरेको योगदानमा गर्व लाग्छ । मलाई पनि नेपाली क्रिकेटले धेरै दिएको छ । म नेपाल क्रिकेटबाट नखेलेको भए फरक व्यक्तित्व हुन्थें, मलाई जीवनमा जे चाहिएको थियो, त्योचाहिँ पाउँदैनथें । आजसम्म आइपुग्दा नेपाली क्रिकेटले मलाई सबै दिएको छ ।’
प्रशिक्षक पुबुदु दासानायके द्रुत गतिको तीव्र बलरको खोजीमा रहँदा सोमपाल नेपाली क्रिकेटसँग जोडिन पुगेका थिए । सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध प्रतिघण्टा १४० को स्पिडमा बलिङ गरेपछि उनको चर्चा झनै चुलिएको थियो । ‘त्यतिखेर मलाई त्यो गतिमा बलिङ गर्न सक्छु भन्ने थाहा पनि थिएन । १७–१८ वर्षको उमेरमा विश्वकपमा त्यो स्पिडमा बलिङ गर्दा फरक अनुभव भइरहेको थियो, जतिखेर म पूर्ण रूपमा बलर पनि थिइनँ । एउटा ब्याटरका रूपमा मैले क्रिकेट सुरु गरेको थिएँ र बलिङ पनि गर्थें,’ सोमपालले भने, ‘खेल सकेर बेलुका होटल पुगेपछि मात्र मैले १४० को स्पिडमा बलिङ फालेछु भनेर सामाजिक सञ्जालबाट थाहा भयो ।’ उनी यही लयमा अहिले बलिङ गरिरहन सकेकामा निकै खुसी छन् ।
त्यसको महत्त्व त्यतिखेर बिछट्टै थियो । १४० को स्पिडमा बलिङ गर्न, त्यसलाई निरन्तरता दिन र खेलिरहनु फरक विषय हुन् उनका लागि । यो गति बढाएर १५० को स्पिडमा पुर्याउन खोजेको भए अहिले ओछ्यानमा ढलिरहेको पनि हुन सक्थ्यो जस्तो लाग्छ उनलाई । आफ्नो शरीरलाई त्यहीअनुसार कायम राख्नु अझ फरक पक्ष हो भन्ने उनको बुझाइ छ । १४० को स्पिडमा फाल्नुभन्दा पनि लाइन र लेन्थ कायम राख्नुलाई सोमपाल उपलब्धि मान्छन् ।
सन् २०२४ को विश्वकप यात्रा नेपालका लागि निकै भावनात्मक रहेको सोमपाल सुनाउँछन् । पहिलो विश्वकप खेलेको १० वर्षपछि अर्को विश्वकप खेल्न हामीलाई १० वर्ष लागेको थियो, यसले पनि नेपाली टोलीलाई भावुक बनाएको सोमपालको भनाइ छ । नतिजा न त सोमपालले चाहे जस्तो आयो, न नेपालले सोचेजस्तो । सोमपाल यसमा पनि सकारात्मक पक्ष खोज्छन् ।
‘दक्षिण अफ्रिकासँगको खेलअघि बंगलादेशी टोलीले हामीलाई हेर्न पनि खोजेन, कुनै भाउ नै दिएन । हामी सबै एउटै होटलमा थियौं, गुड मर्निङभन्दा पनि बंगलादेशी खेलाडीको कुनै जवाफ आएको थिएन । अन्तिम एक ओभरमात्र हामी दक्षिण अफ्रिकासँग पराजित भएका हौं, बाँकी खेल हामीले जितका थियौं । होटलमा फर्किंदा बल्ल बंगलादेशले नेपाली टोलीसँग आएर बोल्न खोजेको थियो,’ त्यस दिन सोमपाललाई लाग्यो, ‘सम्मान पाउन जित्नैपर्छ भन्ने छैन ।’
‘त्यसका बावजुत बंगलादेशले नेपालसँग डोमिनेट गरेर खेल्छु भनेर अन्तर्वार्ता दिएको रहेछ । उनीहरूले पहिलो बलदेखि नै डोमिनेट गर्न खोजेका थिए । तर क्रिकेट त्यति सजिलो छैन, सोचेजस्तो वा बोले जस्तो हुँदैन । उनीहरूले जसरी खेल्न खोजे, हामी पनि फरक मनोविज्ञानका साथ खेल्न गइरहेका थियौं । ट्वान्टी–२० खेल भएकाले हामी पनि जित्न सक्छौं भन्नेमा थियौं । नतिजा ल्याउन नसके पनि हामीले त्यो खेल पनि निकै राम्रो खेलेका थियौं । अन्तिम २ ओभरले गर्दा नतिजा ल्याउन नसकेको हो जस्तो लाग्छ,’ सोमपालले बेलिविस्तार लगाए ।
दक्षिण अफ्रिकासँगको खेल नेपाल फर्किएपछि सोमपालको सपनामा आइरहन्थ्यो । १–२ महिनासम्म त आँखामा झलझली आइरह्यो । घरबाट पनि बाहिर निस्केका थिएनन् उनी । जीवनमा पहिलो पटक यस्तो भएको उनी सुनाउँछन् ।
‘बाहिर हिँड्दा मान्छेले हेर्दा मेरो नै गल्ती हो कि मैले अपराध नै गरेर आएँ कि जस्तो लाग्थ्यो । समय लाग्छ, यस्तो स्थितिबाट बाहिर आउन । हामीले त्यस्तो विजय नजिक पुगेको खेल हार्दा समर्थकलाई पीडा हुन्थ्यो, तर त्योभन्दा बढी पीडा हामीलाई भएको थियो,’ सोमपालले सुनाए, ‘यसका लागि हामीले यति धेरै मिहिनेत गरेका थियौं, अन्त्यमा त्यही नतिजा हामीबाट खोसिए जस्तो भएको थियो । यो स्विकार्न गाह्रो भएको थियो । क्रिकेटमा यस्तो अवस्थाबाट मुभअन हुन जरुरी छ ।’
मूलपानीमा सेमिफाइनलमा यूएईलाई पराजित गरेर नेपालले विश्वकप यात्रा तय गरेको थियो । तर नेपाल फाइनलमा ओमानसँग कीर्तिपुरमा पराजित भयो । त्यसैले यसपटक ओमान जाँदा सोमपालले गुलशन झालाई भनेका रहेछन्, ‘पछिल्लो पटक ओमानले हामीलाई घरैमा पराजित गरेर गएको थियो, यस पटक हामी ओमानलाई उनीहरूकै घरमा हराएर च्याम्पियन हुँदै जान्छौं ।’ मान्छेले यसलाई अहंकारका रूपमा लिन्छन् होला, तर यसलाई प्रेरणाको रूपमा लिनुपर्ने उनको तर्क छ । कुनै पनि टिमले उसलाई घरेलु मैदानमा पराजित गरेर जान्छ भने त्यसको पीडा अनुभव हुनु पनि जरुरी छ । त्यही भएर विश्वकप छनोट एसिया खेल्न जाँदा आफू फरक मनोविज्ञानमा ओमान पुगेको सोमपाल सुनाउँछन् । नेपालले ओमानमा भएको विश्वकप एसिया–प्यासिफिक छनोटमा ओमानसहितको सबै ६ खेल जितेर भारतको विश्वकपका लागि निश्चित भएको थियो ।
०१४ को विश्वकपले मलाई मात्र होइन, नेपाली क्रिकेटको पनि पहिचान दिएको थियो, मसहित सबैले त्यतिखेर ट्वान्टी–२० अन्तर्राष्ट्रियको डेब्यु क्याप नै पाएका थियौं, त्यहीँबाट मलाई गुल्मी एक्सप्रेस नाम दिइएको थियो, नेपाली क्रिकेट पनि त्यसपछि नै विकसित हुँदै गयो, त्यसपछि नै हो नेपाली समर्थक र विश्व क्रिकेटलाई पनि थाहा भयो सोमपालसहित २०२४ को विश्वकप खेलेको नेपाली टोलीमा १० जना छन् । यस्तो टोली बनाएकोमा सोमपाल भाग्यमानी सम्झन्छन् । ‘यो टिम बन्न ८–१० वर्ष लागेको छ, मान्छेले चाहिँ विश्वकप खेल्न १० वर्ष लागेको सम्झन्छन्,’ यसमा सोमपाल बुझाइमा फरक देख्छन् ‘टिमभित्र रहेका खेलाडीले एकअर्कालाई विश्वास देखाएका कारण नै यो टिम बन्न सकेको हो । टिम हार्दै जाँदा एकअर्कालाई बुझ्ने अवसर पाउँदा विश्वास बन्दै गएर यो टिम बनेको हो र लगातार दुई विश्वकप खेल्न सफल भएका हौं ।’
ओमानमा गएर उपाधि जित्ने विश्वास नेपाली टोलीमा कमै थियो । तर सोमपाललाई चाहिँ ट्रफी जित्न सकिन्छ भन्ने थियो । एक जनाले मात्र सकारात्मक सोच्ने हो भने त्यो सन्देश टिममा चारैतिर फिँजिएर जानेमा उनी विश्वास गर्छन् ।
गुल्मीमा जन्मिएका सोमपाल ३ वर्षको हुँदा उनको परिवार पञ्जाबमा पुगेको थियो । उनले क्रिकेटको कखरा त्यहीं सिके । १२ वर्षको उमेरमा पञ्जाबको यू–१४ प्रान्त टोलीबाट वानखेडेमा गएर खेलेका थिए, त्यो पनि एउटा ब्याटरको हिसाबमा । महाराष्ट्रविरुद्धको खेलमा ४५ रन बनाएर २ विकेट लिएको उनलाई अझै सम्झना छ । यो कुरा नेपालका प्रशिक्षक स्टुवार्ट लले सोमपाललाई सोधेका रहेछन् । जवाफमा सोमपालले यो धेरै वर्षअगाडिको प्रसङ्ग भएको सुनाएका थिए ।
पञ्जाबमा सोमपालसँगै खेल्थे कनवरपाल टाथगुर । अहिले उनी क्यानडाबाट विश्वकप खेल्न भारतमा आएका छन् । नेपालविरुद्ध चेन्नईमा भएको अभ्यास खेलमा कनवरपालले २४ बलमा २५ रन बनाए भने सोमपालले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए । यी दुईका लागि भारतमा भइरहेको ट्वान्टी–२० विश्वकप पुनर्मिलन बनेर आएको छ ।
बाआमा, दिदी र श्रीमतीलाई सोमपालले आफ्नो र नेपालको खेल हेर्न मुम्बई लिएर आएका छन् । ‘यो विशेष क्षण मलाई मात्र नभएर मेरो परिवारका लागि पनि हो । यो सपना मैले २ वर्षअघि देखेको थिएँ । मेरो परिवारले स्ट्यान्डबाट मलाई र नेपाली टोलीलाई समर्थन गरोस्,’ दुई वर्षअघि भिसाका कारण श्रीमतीलाई अमेरिका लैजान नसकेको सोमपालले सुनाए । करणको परिवार पनि सोमपालको परिवारसँगै हुनेछन् ।
सोमपालले हालै एक जना शुभचिन्तक भेटेका छन् । सोमपालले नेपालबाट ‘डेब्यु’ गर्दा उनी स्कुल पढ्दै थिए । तर सोमपाल अझै खेलिरहँदा उनले पढाइमा मास्टर सकाइसकेका छन् । १२ वर्षदेखि नेपाली टोलीबाट खेल्दै आएका सोमपाल ३० वर्ष लागिसकेका छन् । सोमपाल अझै कति खेल्छन् ?
‘मलाई देखेर तपाईंहरू नथाक्नु, किनभने म अहिलेसम्म थाकेको छैन । मलाई टेलिभिजनमा हेरेर थाकेको पनि भेटेको थिएँ, तर म कहिल्यै क्रिकेट खेल्न छोड्दिनँ । मलाई जीवनमा कहिले रोकिनु छैन । जतिसम्म शरीरले साथ दिन्छ, त्यतिखेरसम्म खेलिरहनेछु । नेपाल क्रिकेटलाई जहिलेसम्म मेरो आवश्यकता छ, तबसम्म खेलिरहने छु,’ सोमपाल आफ्नो भविष्यलाई लिएर स्पष्ट छन्, ‘मेरो फिटनेस र प्रदर्शनमा पनि भरपर्ला, म त्यसैमा लागिरहनेछु । नेपाली टोलीको प्रतिनिधित्व गर्ने चाहना थियो, यत्रो वर्ष खेलिरहँदा आफूलाई भाग्यमानी सम्झन्छु । १०–१२ वर्षसम्म राष्ट्रलाई प्रतिनिधित्व गर्ने यो मौका थोरैले मात्र पाउँछन् ।’
ट्वान्टी–२० मा नेपालले विश्वकप खेलिरहँदा एकदिवसीयमा भने नेपालको प्रदर्शन संकटमा छ । विश्वकप लिग २ को यात्रामा ओरालो लागेको नेपालले कतै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाउने
होइन भन्ने स्थिति छ । सोमपाल नेपाललाई एकदिवसीय विश्वकप खेलाएपछि अब कति खेल्ने हो भनेर सोच्ने सुनाउँछन् ।
