करणको यात्रा : चण्डीगढको गल्लीदेखि मुम्बईको विश्वकपसम्म

एक वर्षको हुँदा बागलुङबाट परिवारसहित चण्डीगढ पुगेका करणको त्यहीँबाट क्रिकेट यात्रा सुरुआत भयो । उनका क्रिकेट खेल्ने बालसखा यतिबेला करणको खेल मुम्बईमा हेर्न पाउने भएपछि निकै उत्साहित छन् ।

माघ २४, २०८२

विनोद पाण्डे

Karan's journey: From the streets of Chandigarh to the World Cup in Mumbai

What you should know

मुम्बई — अन्तर्राष्ट्रिय मात्र होइन, राष्ट्रिय प्रतियोगिता भए पनि खेल्नचाहिा छाड्ने होइन । मनभित्र जहिलेसम्म जोस हुन्छ, त्यति बेलासम्म खेल्ने हो, यतिसम्म खेल्ने भन्ने केही छैन । करण केसी दोस्रो पटक विश्वकप क्रिकेटमा खेल्दै छन् ।

तर भारतमा भएको विश्वकप खेल्नु नेपाल मात्र नभएर विश्वको जुनै देशलाई पनि ठूलो विषय भएको उनलाई लागेको छ । विश्व क्रिकेटको शक्तिशाली राष्ट्रमा गएर मेघा इभेन्टमा खेल्दा त्यसको प्रभाव पछिसम्म रहने बुझाइ उनको छ ।

साथै नेपाली क्रिकेट प्रशंसकलाई पनि यो ठूलो अवसर हो । एक त छोटो दूरीमा नेपालले विश्वकप खेल्ने स्थल मुम्बई पुगिनेछ भने दोस्रोमा भारतको जुन क्रिकेट क्रेज छ, त्यो नेपाली समर्थकका लागि एउटा छुट्टै अनुभव हुनेछ । त्यसैले करणको भनाइ छ, भारतमा गएर खेल्दा नेपालले गुमाउने केही छैन, अवसर जुराउने मात्र छ ।

दुई वर्षअघि अमेरिकामा खेल्दा बाक्लो संख्यामा दर्शक मैदान पुगेका थिए, आफ्नै घरेलु मैदानजस्तो अनुभव भएको थियो । भारतमा यो संख्या दोब्बर हुने करणलाई लागेको छ । नेपालीका लागि यो पर्वजस्तै हुनेछ । करणका लागि भारतमा आएर खेल्नु अझ विशेष हुनेछ ।

भारतको चण्डीगढमा दाजुभाइ सँगै क्रिकेट खेलेर हुर्किएका थिए उनी । व्यावसायिक हिसाबमा नभए पनि उनले त्यहीं सानै उमेरमा क्रिकेट खेल्ने तलतल मेटेका थिए । त्यहींबाट उनको क्रिकेट यात्रा सुरुआत भयो । उनको क्रिकेट खेल्ने बालसखा सबै भारतमै छन् । अहिले उनीहरूको खुसीको उन्माद छैन, करणको खेल हेर्न मुम्बई आउने भएका छन् । करण एक वर्ष हुँदा बागलुङबाट परिवारसहित चण्डीगढ पुगेका थिए । २२ वर्ष त्यहीं बसे ।

तर क्रिकेटमा उनी त्यही गल्ली क्रिकेटमै अल्झिएको बताउँछन् । स्कुलबाट क्रिकेट नखेलेको होइन । तर उनले आफ्नो क्रिकेटसँगको प्रेमलाई भने तोड्न सकेनन् । ड्युस बल नभए पनि साथीभाइसँग टेनिस बल खेलिरहन्थे । सन् २०१४ मा स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय टोलीसम्म पुग्न उनलाई एक वर्ष पनि लागेन । तर नेपाल आइरहँदा उनलाई नेपालमा क्रिकेट खेलिन्छ भन्ने नै थाहा थिएन । यो यही वर्ष हो, जहाँ नेपालले विश्व क्रिकेटमा आफ्नो पहिलो उपस्थिति जनाएको थियो ।

अझ बंगलादेशमा भएको २०१४ को विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गर्दै तहल्का मचाएको थियो । करणले टेलिभिजनमा हेर्दै यसको स्वाद लिएका थिए । भारतबाट आएको भर्खरै भएको समयमा नेपालको क्रिकेट टेलिभिजनमा उनले हेरेको त्यो पहिलो थियो, त्योभन्दा अघि उनलाई नेपाल क्रिकेटबारे केही थाहा थिएन ।

नेपाल पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दोरहेछ भनेर उनले त्यही टेलिभिजनमा हेरेर थाहा पाए । अवसर पाए खेलौंला भन्ने उनलाई पनि थियो तर त्यो अवसर कसरी आउँछ भनेर उनले केही मेसो पाउन सकेका थिएनन् । नेपालबाट खेलेमा क्रिकेट पुनः उनीमा फर्किएर आउँछ भन्नेमा उनी थिए ।

बागलुङमा उनकी बहिनी एउटा कलेजमा पढ्थिन् । उनीसँगै करण त्यहाँ कलेज घुम्न गएका थिए । कलेजमा क्रिकेट खेलिरहेको देखेर करणलाई पनि खेल्न मन लाग्यो । उनले बहिनीमार्फत त्यो टिममा आफू पनि खेल्न चाहेको सन्देश पुर्‍याएका थिए । करणको नेपाली त्यति राम्रो थिएन, त्यही भएर करण आफैंले ‘म पनि क्रिकेट खेल्छु’ भनेर सोध्ने आँट गरेनन् ।

त्यसपछि अग्लो उचाइ भएको ‘फास्ट बलर’ भेटिएको खबर गण्डकी क्षेत्रमा फैलिइसकेको थियो । पोखरेली क्रिकेटर दीपेश खत्रीको सम्पर्कमा पुगेपछि उनले माछापुच्छ्रे क्रिकेट क्लबबाट खेल्न लागे । कास्की जिल्ला क्रिकेटको छनोट हुन लागेको थियो । दीपेशले उनलाई जिल्ला छनोटमा लगे । सिमेन्ट विकेटको नेटमा बलिङ र ब्याटिङ गराइएको थियो । त्यो बेलामा करण जतिको तीव्र बलिङ त्यहाँ कसैको थिएन । प्रशिक्षक तुरुन्तै प्रभावित भइहाले । फिल्डिङ नगराएको फाइदा करणलाई भइहाल्यो ।

उनी कास्की हुँदै गण्डकी क्षेत्र (अहिलेको प्रदेश) को टोलीमा परिहाले । संयोगले राष्ट्रिय प्रतियोगिता पोखरामै भइरहेको थियो । तर नेपाली क्रिकेटभित्र खेलाडीको लडाइँ चलिरहेको थियो । राष्ट्रिय खेलाडीहरूले नेपाल क्रिकेट संघ (क्यान) सँगको लडाइँमा यो प्रतियोगिता बहिष्कार गरेका थिए । त्यही लडाइँमा करणको प्रतिभा फक्रिएको थियो । उनले ४–५ खेल खेल्दै ७–८ विकेट लिए । विकेटभन्दा पनि करणको बलिङमा जुन लय थियो, त्यसले धेरैलाई प्रभावित बनाएको थियो ।

लगत्तै विश्व क्रिकेट लिग डिभिजन ३ का लागि नेपाली टोलीको बन्द प्रशिक्षण काठमाडौंमा सुरु भयो । पोखरामा प्रशिक्षकहरू जगत टमाटा, मनोज कटुवालले करणको बलिङ देखेका थिए, त्यही कारण उनलाई बन्द प्रशिक्षणमा नेट बलरका रूपमा बोलाइएको थियो ।

Karan's journey: From the streets of Chandigarh to the World Cup in Mumbai

नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके थिए । करणले जिन्दगीमा कहिल्यै स्पाइक लगाएर बलिङ गरेका थिएनन् । उनले आफूसँग स्पाइक नभएको सुनाउँदै सामान्य स्पोर्ट्स सुजमा बलिङ गर्ने जनाए । स्पाइक लगाएर बलिङ गर्दा अझ सहज हुने पुबुदुले सुझाए । अर्को दिन पुबुदुले करणलाई स्पाइक नै किनेर ल्याइदिए । ‘अब यो लगाएर खेल्ने बानी बनाउनु, बलिङ पनि राम्रो हुन्छ,’ भनेर पुबुदुले भनेको करणले सम्झिए, ‘सुरुमा स्पाइक लगाएर खेल्न निकै गाह्रो भयो । नयाँ स्पाइक लगाउँदा बानी नपरेको भएर खुट्टा दुख्ने रहेछ, बिस्तारै बानी पर्दै गएपछि बलिङको लय पनि भेट्टाउन लाग्यो ।’

धनगढीमा भएको ५० ओभरको डीपीएलमा शरद भेषावकरको नेतृत्वमा रहेको पञ्चकन्या तेजले करणलाई लिएको थियो । यो प्रतियोगिता खेलेपछि उनी नेपाली टोलीको बन्द प्रशिक्षणमा नियमित हुन लागे । यही समयमा रोजगारीका लागि विदेश जान उनी भिसा पनि पर्खिरहेका थिए ।

२०१५ मा नामिबियामा भएको विश्व क्रिकेट लिग २ को छनोटमा उनी पहिलो पटक नेपाली टोलीमा परे । क्यानडाविरुद्धको पहिलो खेलमै उनले ५ विकेट लिए । क्यानडा उनका लागि सधैं प्रिय विपक्षी भइहाल्यो । उनले नामिबियामै २०१८ मा क्यानडाविरुद्ध नेपाली क्रिकेटको अविस्मरणीय इनिङ्स खेलेका थिए । उनकै त्यो इनिङ्सका कारण नेपाली क्रिकेट अहिले यो स्थितिमा छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी करणले लगाउन लागेको ११ वर्ष भइसकेको छ । यस क्रममा उनी ‘नेपाल एक्सप्रेस’ देखि ‘भ्यालेन्टाइन ब्वाई’ सम्म भइसकेका छन् । बलिङ उनको हतियार भए पनि ब्याटिङबाट उनले धेरै पटक ठोस इनिङ्स खेलेका छन् । करणले एकदिवसीय अन्तर्राष्ट्रियमा ६५ खेलमा ९३.८८ को स्ट्राइक रेटमा ६ सय २९ रन बनाएका छन् ।

१ सयभन्दा बढी रन बनाउने नेपाली खेलाडीमा करणको स्ट्राइक रेट सबैभन्दा उच्च छ । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पनि करणले १५१.४५ को स्ट्राइक रेटमा ४ सय ५८ रन बनाएका छन् । यहाँ पनि नेपालबाट सबैभन्दा बढी स्ट्राइक रेटमा रन बनाउने खेलाडी भइहाले । एकदिवसीय अन्तर्राष्ट्रियमा करणले ९१ विकेट लिइसकेका छन् । उनी नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन् । त्यस्तै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालबाट १ सय विकेट लिने दुई खेलाडीमध्ये एक हुन्, करण । उनले १ सय ६ विकेट लिइसकेका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा दुई वर्षअघि विश्वकप खेल्दा करण निकै उत्साही थिए तर व्यक्तिगत होस् वा टिमको या प्रदर्शनको हिसाबमा त्यस्तो राम्रो भएन । ‘कन्डिसन र विकेटभन्दा पनि धेरै खेलाडीको पहिलो विश्वकप थियो । कन्डिसनको हिसाबमा पनि नेपाल र बाहिर गएर खेलेकामा धेरै फरक हुन्छ, अमेरिकामा भएकाले विकेट पनि नयाँ थियो । त्यही भएर हामी सबैलाई दबाब थियो,’ उनी पछिल्लो विश्वकप स्मरण गर्छन् ।

नेपालबाट अहिले १० वर्षभन्दा बढी खेलेको सम्झिँदा उनी रोमाञ्चित हुन्छन् । करण अहिले ३४ वर्षका भइसके । अबको यात्रा कस्तो हुन्छ ? ‘मन भरिन्जेलसम्म त खेल्नै पर्‍यो । यो सबै आफूलाई कति माथि लैजान सकिन्छ भन्नेमा निर्भर हुन्छ । एउटा लयमा बसेर खेल्नुपर्ने हुन्छ । खेल्छु भनेर मात्र हुँदैन, प्रदर्शन पनि दिइरहनुपर्‍यो,’ करण भन्छन्, ‘त्यही भएर जतिसम्म प्रदर्शन गर्न सकिन्छ, त्यतिसम्म खेलिरहने हो । अन्तर्राष्ट्रिय मात्र होइन, राष्ट्रिय प्रतियोगिता भए पनि खेल्नचाहिँ छाड्ने होइन । मनभित्र जहिलेसम्म जोस हुन्छ, त्यति बेलासम्म खेल्ने हो, यतिसम्म खेल्ने भन्ने केही छैन ।’ चेन्नईबाट नेपाली टोली दुई अभ्यास खेल खेलेर करण र नेपाली टोली मुम्बई फर्किएको छ । विगत फर्केर हेर्दा उनीसामु चण्डीगढबाट सुरु भएको त्यो गल्ली क्रिकेट झलझली याद आउँछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully