२१ औं शताब्दीले ट्वान्टी–२० क्रिकेटको स्वरूपलाई तीव्र रूपमा अगाडि ल्यायो र यो छोटो समयमा नै लोकप्रिय बन्यो । २००३ मा पहिलो पटक व्यावसायिक रूपमा यो संरचनामा खेलिए पनि ट्वान्टी–२० विश्वकप हुन चार वर्ष लाग्यो र यसको प्रभाव तुरुन्तै देखियो ।
What you should know
काठमाडौँ — आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु भएको झन्डै दुई दशक पुग्न लागेको छ । सन् २००७ मा भारतले दक्षिण अफ्रिकामा पहिलो संस्करणको ट्वान्टी–२० विश्वकप निकै रोमाञ्चक ढंगले जितेको थियो ।
पहिलो संस्करणको विश्वकपमा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । शनिबारदेखि भारत र श्रीलंकामा दसौं संस्करणको आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुँदा यसमा विश्वका २० राष्ट्रले सहभागिता जनाउँदै छन् । विगतमा ६ फरक राष्ट्रले ट्वान्टी–२० विश्वकपको उपाधि जितेका छन् । जसमा वेस्ट इन्डिज, इंग्ल्यान्ड र डिफेन्डिङ च्याम्पियन भारतले २–२ पटक उपाधि उचाल्ने सौभाग्य पाएका छन् । नयाँ संस्करण सुरु हुनुअघि अतीतका केही स्मृतिका यात्राहरू यसरी अगाडि बढेका थिए ।
क्रिकेटको नयाँ स्वरूप
२१ औं शताब्दीले टी–२० क्रिकेटलाई सबैभन्दा तीव्र रूपमा अगाडि ल्यायो । यो स्वरूप धेरैको प्रिय बन्यो । जतिखेर इंग्लिस काउन्टी क्रिकेटमा यसलाई पहिलो पटक ल्याइएको थियो, त्यतिखेर यो संरचनालाई लिएर धेरै शंकाहरू उत्पन्न भएका थिए । सुरुआतमा मानिसहरूलाई खेलमा तान्न र खेललाई व्यापक दर्शकका लागि सरल बनाउने उपायका रूपमा देखियो ।
सन् २००३ मा पहिलो पटक व्यावसायिक रूपमा यो संरचनामा खेलिएपछि विश्वभर नै यसलाई अपनाइएको छ । २००७ मा ट्वान्टी–२० विश्वकपको जन्म भएदेखि नै यसलाई निकै उचाइमा पुर्यायो र यस प्रतियोगिताको प्रभाव तुरुन्तै देखियो । वेस्ट इन्डिजका महान् क्रिकेटर क्रिस गेलले ट्वान्टी–२० विश्वकपको पहिलो खेलको पहिलो बलमै चौका प्रहार गरे । यस खेलमा उनले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध १ सय १७ रन बनाएका थिए, जुन ट्वान्टी–२० अन्तर्राष्ट्रियकै पहिलो शतक पनि बन्यो ।
भारत र पाकिस्तानबीचको समूह चरणको खेलमा युवराज सिंहले इंग्ल्यान्डका बलर स्टुवार्ट ब्रोडलाई एकै ओभरमा प्रहार गरेका ६ छक्का र चिरप्रतिद्वन्द्वी भारतविरुद्धको फाइनलमा पाकिस्तानी कप्तान मिसवाह उल हकले प्रहार गरेको बिर्सनलायक स्कुप शटले पहिलो संस्करणको ट्वान्टी–२० विश्वकपलाई ऐतिहासिक बनाएको थियो ।
भारतले पाकिस्तानमाथि फाइनलमा आश्चर्यजनक विजयमा पहिलो संस्करणको अन्त्य गर्दै यसले आधुनिक संरचनाको दिशामात्र तय गरेन, आगामी दशकका ट्वान्टी–२० विश्वकपमा आउने उथलपुथलको सुरुआत पनि निर्धारण गरेको थियो ।
अविस्मरणीय क्षणहरू
पाकिस्तानले अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हारको बदला सन् २००९ को विश्वकपमा लियो । शाहिद अफ्रिदी यस्ता खेलाडी हुन्, जो ट्वान्टी–२० संरचनाका लागि जन्मिएका थिए । इंग्ल्यान्डमा उनले ब्याट र बल दुवैमा सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई उपाधि दिलाए । यो यही प्रतियोगिता थियो, जहाँ घरेलु टोली इंग्ल्यान्डलाई नेदरल्यान्ड्सले स्तब्ध पारेको थियो । यसलाई विश्वकपको सबैभन्दा अपत्यारिलो नतिजामध्ये एक मानिन्छ ।
एक वर्षपछि इंग्ल्यान्डले क्यारेबियन भूमिमा उपाधि जित्दै यसको जवाफ फर्काएको थियो । इंग्ल्यान्डले विश्वकपमा सफलता हात पारेको यो पहिलो थियो । केभिन पिटरसन ब्याटिङमा चम्किँदै ‘प्लेयर अफ द सिरिज’ बनेका थिए । २०१२ मा उपाधि जित्ने पालो वेस्ट इन्डिजको आयो । श्रीलंकामा वेस्ट इन्डिजले आफ्नो प्रभाव देखाएको थियो । श्रीलंकाविरुद्ध फाइनलमा मार्लोन सामुइल्सले ७८ रन बनाए भने सुनिल नारिनले ९ रन खर्चेर ३ विकेट लिँदै वेस्ट इन्डिजलाई उपाधि दिलाउन सहयोग गरे ।
श्रीलंकाले २०१४ मा पुनरागमन गर्यो । कुमार सांगाकारा र माहेला जयबर्द्धनेलाई सानदार ढंगले ट्वान्टी–२० बाट बिदा गर्नुअघि श्रीलंका च्याम्पियन बनेको थियो । २०१६ मा वेस्ट इन्डिज पुनः शीर्ष टोली बनेको थियो । यो सबै कार्लोस ब्रेथवेटका कारण सम्भव भएको थियो । उनले कोलकातामा भएको फाइनलको अन्तिम ओभरमा इंग्ल्यान्डका बेन स्टोक्सलाई लगातार ४ छक्का प्रहार गरेका थिए । यसलाई ‘नाम याद राख्नुहोस्’ भनेर कमेन्ट्रीमार्फत इयान विसपले अझै स्मरणीय बनाइदिए ।
पाँच वर्षको विश्रामपछि आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२१ मा पुनः सञ्चालनमा आएको थियो, जहाँ अस्ट्रेलिया पहिलो पटक विजेता बन्यो । डेबिड वार्नर र मिचेल मार्स न्युजिल्यान्डविरुद्धको फाइनलमा नायक बनेका थिए । एक वर्षपछि अस्ट्रेलियाली भूमिमा पुनः इंग्ल्यान्ड च्याम्पियन बन्यो । यस पटक नायक बन्ने पालो साम करनको थियो । उनी ‘प्लेयर अफ द फाइनल’ र ‘प्लेयर अफ द सिरिज’ दुवै बनेका थिए ।
बन्दै छ ग्लोबल
२०२४ मा प्रतिस्पर्धी टोली १६ बाट २० मा पुर्याइएको थियो । यही मौका छोपेर अमेरिका, क्यानडा र युगान्डाले पहिलो पटक विश्वकप खेल्ने मौका पाएका थिए । वेस्ट इन्डिजसहित अमेरिकाले आयोजना गरेको यो प्रतियोगितामा केही निकै अप्रत्याशित नतिजा आए । अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै सुपर ‘एट’ मा पुग्यो । अफगानिस्तानले पनि स्वर्णिम यात्रा तय गर्यो ।
भारतीय क्रिकेटर विराट कोहलीले आफ्नो उत्कृष्ट ‘फर्म’ फाइनलका लागि साँचेर राखेजस्तो भयो । उनले दक्षिण अफ्रिकाविरुद्ध उपाधि भिडन्तमा ७६ रन बनाए भने जसप्रित बुमराहले चामत्कारिक ‘स्पेल’ फालेपछि भारतले ७ रनको रोमाञ्चक विजय पायो । विगतका संस्करणमा कुमार सांगाकारा र माहेला जयबर्द्धनेले जस्तै आधुनिक क्रिकेटका महान् कोहली र भारतीय कप्तान रोहित शर्माले विश्वकप उपाधिसँगै आफ्नो अन्तर्राष्ट्रिय ट्वान्टी–२० करियर टुंग्याएका थिए । यसको मतलब २०२६ अर्थात् यस संस्करणमा पनि केही नयाँ अनुहार देखिनेछन् । प्रतिस्पर्धी टोलीमा इटाली पनि नयाँ हुनेछ ।
अविस्मरणीय क्षण
२००७ : युवराज सिंहको ६ छक्का
ट्वान्टी–२० विश्वकपको पहिलो संस्करणमै देब्रेहाते ब्याटर युवराज सिंहले स्टुवार्ट ब्रोर्डको एकै ओभरमा ६ छक्का प्रहार गरेर इतिहासमा आफ्नो नाम लेखाएका थिए । यस्तो सफलता पाउने उनी चौथो खेलाडी थिए । यसअघि ग्यारी सोबर्स, रवि शास्त्री र हर्स्चेल गिब्सले पनि एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । तर ट्वान्टी–२० क्रिकेटमा पहिलो पटक इतिहास लेखाउने कार्य युवराजले नै गरेका थिए ।
युवराजको आक्रामक ब्याटिङमा भारतले विशाल योगफल मात्र बनाएन, त्यतिखेर २५ वर्ष उमेरमा रहेका उनले १२ बलमै अर्धशतक पूरा गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो सबैभन्दा कम बलमा बनेको अर्धशतक थियो । जुन कीर्तिमान २०२३ सम्म रह्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले चीनमा भएको एसियाली खेलकुदमा ९ बलमै अर्धशतक बनाएर युवराजको कीर्तिमान मात्र तोडेनन्, कहिल्यै उछिन्न नसक्ने अजम्बरी कीर्तिमान स्थापित गरे ।
२००९ : अफ्रिदीको उत्कृष्ट प्रदर्शन
दुई वर्षअघि फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएर विक्षिप्त भएको पाकिस्तानलाई २००९ मा राहत दिलाउने काम शाहिद अफ्रिदीले गरेका थिए । २००७ मा अफ्रिदी ‘प्लेयर अफ द सिरिज’ नभएका होइनन्, तर पाकिस्तानले भारतलाई उपाधि सुम्पनुपरेको थियो । जतिबेला अफ्रिदीले अर्को जोसिलो प्रदर्शन गरेका थिए ।
दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा उनले असाधारण प्रदर्शन गरे । उनको महत्त्वपूर्ण अलराउन्ड प्रदर्शनमा पाकिस्तान लगातार दोस्रो पटक फाइनलमा पुगेको थियो । अफ्रिदीले ३४ बलमा ५१ रन बनाएपछि पाकिस्तानले पहिलो ब्याटिङ गर्दै १४९–४ को स्कोर बनायो भने बलिङमा ४ ओभरमा १६ रनमात्र खर्चेर हर्स्चेल गिब्स र एबी डी भिलियर्सको विकेट लिएपछि पाकिस्तानले ७ रनको रोमाञ्चक जित हात पारेको थियो ।
श्रीलंकाविरुद्ध लर्ड्समा भएको फाइनलमा पनि अफ्रिदीले अर्को सनसनीपूर्ण ब्याटिङ गरे । उनले ४० बलमा अविजित ५४ रन बनाएपछि पाकिस्तानले १ सय ३९ रनको लक्ष्य ८ बल अगाडि पूरा गरेको थियो । १९९२ मा इमरान खानको नेतृत्वमा एकदिवसीय विश्वकप जितेयता पाकिस्तानले पहिलो प्रमुख उपाधि जितेको थियो ।
२०१० : सेमिफाइनलमा हसीको जादु
क्यारेबियन आइल्यान्डको वेस्ट इन्डिजले २०१० को विश्वकप आयोजना गरेको थियो, जहाँ अस्ट्रेलियाका माइक हसीले ट्वान्टी–२० क्रिकेट इतिहासकै एक उत्कृष्ट इनिङ्स खेलेका थिए । उनले २४ बलमै ३ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६० रन बनाएपछि अस्ट्रेलियाले पाकिस्तानविरुद्धको सेमिफाइनलमा १ सय ९२ रनको लक्ष्य १ बलअघि १ सय ९७ रन बनाउँदै पूरा गरेको थियो ।
हसी सातौं नम्बरमा ब्याटिङमा आउँदा अस्ट्रेलियालाई जितका निम्ति ४५ बलमा ८७ रन आवश्यक थियो । हसीले आश्चर्यजनक ब्याटिङ गर्दै अस्ट्रेलियालाई सनसनी विजय दिलाएका हुन् । अन्तिम ओभरमा अस्ट्रेलियालाई जितका निम्ति १८ रन चाहिँदा हसीले सइद अजमालको बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए । हसीको यो प्रदर्शनका कारण पाकिस्तान लगातार तेस्रो पटक फाइनल पुग्नबाट चुकेको थियो ।
२०१२ : नारिनको बलिङमा वेस्ट इन्डिजको सफलता
सुनील नारिनले २०१२ को फाइनलमा बलिङको जादु देखाएपछि वेस्ट इन्डिजले पहिलो पटक ट्वान्टी–२० विश्वकप उपाधि जितेको थियो । जादुगरी स्पिनर नारिनले ३.४ ओभरमा ९ रन मात्र खर्चेर ३ विकेट लिएपछि १ सय ३८ रनको विजय लक्ष्य पाएको घरेलु टोली श्रीलंका १८.४ ओभरमा १ सय १ रनमै अलआउट भयो । नारिनले कप्तान माहेला जयबर्द्धनेको महत्त्वपूर्ण विकेटसहित अन्तिम ब्याटर लासिथ मालिङ्गालाई आउट गरी वेस्ट इन्डिजलाई नाटकीय जित दिलाएका थिए । नारिनको उत्कृष्ट बलिङपछि श्रीलंकाली टोली घरेलु समर्थकसामु निराश बनेको थियो ।
२०१४ : हेराथको चामत्कारिक बलिङ
श्रीलंका र न्युजिल्यान्डबीचको लिग चरणको खेल यस्तो थियो, जहाँ विजेता टोली सेमिफाइनल पुग्ने समीकरण थियो । रंगना हेराथले सानदार बलिङ गर्दै केवल ३ रन मात्र खर्चेर ५ विकेट लिएपछि श्रीलंकाले महत्त्वपूर्ण खेलमा विजय हात पारेको थियो ।
पहिला ब्याटिङ गरेको श्रीलंकालाई न्युजिल्यान्डले १ सय १९ रनमा अलआउट गरेको थियो । हेराथले माथिल्लो क्रमको ब्याटिङ भत्काइदिएपछि न्युजिल्यान्ड १५.३ ओभरमा ६० रनमा अलआउट भयो । न्युजिल्यान्डका दुवै ओपनर मार्टिन गप्टिल र केन विलियम्सनको रनआउटको कारक पनि हेराथ थिए । अर्थात् न्युजिल्यान्डले त्यो दिन हेराथलाई कतै पनि झेल्न सकेन ।
२०१६ : कार्लोस ब्रेथवेट, ‘नाम याद रहोस्’
कार्लोस ब्रेथवेट २०१६ को ट्वान्टी–२० विश्वकपको फाइनलमा लगातार चार छक्का प्रहार गरेर महान् खेलाडी बनेका थिए । अन्तिम ओभरमा जितका निम्ति १९ रन चाहिने अवस्थामा इंग्ल्यान्डसँग वेस्ट इन्डिज पराजय नजिक देखिएको थियो । तर, बेन स्टोक्सका अगाडि ब्रेथवेट उभिएका थिए । उनले अन्तिम ओभरको पहिलो चार बल नै दर्शकदीर्घामा पुर्याइदिएपछि विश्वकप ट्रफी पुनः एक पटक क्यारेबियन फर्किएको थियो । विशेष क्षण त्यतिबेला बन्यो जतिबेला इयान विसपले कमेन्ट्रीमा महान् वाणी यसरी फाले, ‘कार्लोस ब्रेथवेट, नाम याद राख्नुहोस् ।’
२०२१ : मार्सको शक्तिमा अस्ट्रेलिया च्याम्पियन
अस्ट्रेलियाका मिचेल मार्सले २०२१ को फाइनलमा न्युजिल्यान्डविरुद्ध विजयी इनिङ्स खेलेका थिए । मार्सले ५० बलमा अविजित ७७ रन बनाएपछि न्युजिल्यान्डले दिएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले ७ बलअघि नै पूरा गरेको थियो । कप्तान आरोन फिन्च सुरुमै आउट भएको अवस्थामा डेविड वार्नरसँग मिलेर मार्सले अस्ट्रेलियालाई विजय नजिक पुर्याएका थिए । मार्सले आफ्नो पावर हिटिङको भरपुर उपयोग गरे । अस्ट्रेलिया सजिलै ८ विकेटले विजयी खेलमा मार्स निर्विवाद ‘प्लेयर अफ द फाइनल’ बनेका थिए ।
२०२२ : स्टोक्सको पुनर्जन्म
यो इंग्ल्यान्डको ट्वान्टी–२० विश्वकप दोस्रो उपाधि मात्र थिएन, इंग्ल्यान्ड एकै समयमा ट्वान्टी–२० र एकदिवसीय विश्वकप एकसाथ जित्ने पहिलो राष्ट्र बनेको थियो । विशेष गरी स्टोक्स २०१६ मा लागेको कालो दाग मेटाउन सफल भए । फाइनलमा साम करनले १२ रन खर्चेर ३ विकेट लिएपछि इंग्ल्यान्डले पाकिस्तानलाई १३७–८ को स्कोरमा रोक्न सफल भएको थियो । जवाफमा इंग्ल्यान्डले ४५ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । स्टोक्सले ४९ बल खेल्दै ५ चौका र १ छक्कासहित अविजित ५२ रन बनाएपछि इंग्ल्यान्डले एक ओभरअघि लक्ष्य पूरा गर्दै विश्वकप विजेता बनेको थियो । स्टोक्स आफ्नो खलनायकको छविलाई नायक बनाउन सफल भए ।
२०२४ : कोहलीको गर्विलो छवि
स्टोक्सजस्तै आधुनिक क्रिकेटका अर्का महान् खेलाडी विराट कोहलीले २०२४ को फाइनलमा अनुभवी इनिङ्स खेलेका थिए । भारतीय इनिङ्समा कोहलीले ७६ रनको जिम्मेवारीपूर्ण इनिङ्स खेलेका थिए । कोहलीकै अगाडि भारत ३४–३ को स्थितिमा चिप्लिसकेको थियो । कोहलीको प्रयासमा भारतले १७६–७ को प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भयो ।
