विश्वकपलाई तयार ९ एसोसिएट राष्ट्र

बंगलादेशले विश्वकप नखेल्ने भएपछि उसको स्थानमा स्कटल्यान्डलाई ल्याइएसँगै एसोसिएटको संख्या ९ पुगेको हो । युरोपको छनोटमा नेदरल्यान्ड्स र इटालीले स्कटल्यान्डलाई उछिनेका थिए । तर बंगलादेश नखेल्ने भएपछि स्कटल्यान्डले विश्वकपमा अवसर पाएको हो । 

माघ २४, २०८२

कान्तिपुर संवाददाता

9 associate nations ready for World Cup

What you should know

काठमाडौँ — ट्वान्टी–२० त्रिकेट विश्वकपमा सहभागी २० टिममध्ये एसोसिएट राष्ट्रको संख्या ९ छ । बंगलादेशले विश्वकप नखेल्ने भएपछि उसको स्थानमा स्कटल्यान्डलाई ल्याइएसँगै एसोसिएटको संख्या ९ पुगेको हो ।

युरोपको छनोटमा नेदरल्यान्ड्स र इटालीले स्कटल्यान्डलाई उछिनेका थिए । तर बंगलादेश नखेल्ने भएपछि स्कटल्यान्डले विश्वकपमा अवसर पाएको हो । अमेरिका र वेस्ट इन्डिजमा भएको सन् २०२४ को ट्वान्टी–२० विश्वकपमा पनि ९ एसोसिएट राष्ट्र सहभागी थियो ।

त्यति बेला अफ्रिकीको छनोटमा नामिबिया र युगान्डाले टेस्ट राष्ट्र जिम्बावेलाई उछिनेपछि एसोसिएट राष्ट्रको संख्या बढेको थियो । युगान्डाको त्यो पहिलो विश्वकप पनि हो । कस्ता छन् त यसपालि विश्वकपमा सहभागी एसोसिएट राष्ट्र ?

इटाली

इटालियन क्रिकेटको यो नयाँ यात्रा हो । टोली पहिलो पटक आईसीसी ट्वान्टी–२० विश्वकप खेल्दै छ । युरोपको क्षेत्रीय छनोटबाट इटालीको यो यात्रा सुरु भएको थियो । फ्रान्स, आइसल अफ म्यान, लक्जेम्बर्ग र टर्कीलाई समूह चरणमा उछिनेको इटालीले घरेलु मैदानमा भएको फाइनलमा रोमानियालाई पराजित गरेको थियो । युरोपको मुख्य छनोट प्रतियोगितामा इटालीले स्कटल्यान्ड र नेदरल्यान्ड्समाथि निर्णायक जित हात पारेको थियो, जसका कारण टोली रनरेटमा जर्सीलाई उछिन्दै विश्वकपमा छनोट हुन सफल भयो । 

वायने म्याडसेनको कप्तानीमा रहने इटालीको टोलीबाट जेजे स्मुट्सले पनि खेल्नेछन् । दक्षिण अफ्रिकाबाट १९ खेल खेलेपछि उनी इटाली लागेका थिए । दुई साता अघिमात्र स्मुट्सले पहिलो पटक इटालीबाट खेलेका थिए । इटालीले समूह चरणमा इंग्ल्यान्डसहित नेपाल, स्कटल्यान्ड र वेस्ट इन्डिजसँग खेल्नेछ । 

क्यानडा

क्यानडाले २०२४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । टोलीले टेस्ट राष्ट्र आयरल्यान्डमाथि विजय हात पारेको थियो । अमेरिकी छनोटमा सबै ६ खेल जित्दै क्यानडा पुनः विश्वकपमा फर्किएको हो । क्यानडाले समूह चरणमा अफगानिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र यूएईसँग खेल्नेछ । 

शिवम् शर्माले अमेरिकी छनोटमा ११ विकेट लिएका थिए र उनी प्रतियोगिताको सर्वाधिक विकेटकर्ता थिए । उनीसहित २२ वर्षे कप्तान दिलप्रित बज्वा यस विश्वकपका हेर्न लायक खेलाडी हुनेछन् । विश्वकप सुरु हुनुअघि क्यानडाका प्रशिक्षक इङ्लेटन लिबुर्डले भनेका छन्, ‘खेलाडीहरूले छनोटका दौरान असाधारण प्रतिबद्धता र एकाग्रता देखाएका थिए । अब हामी माथिल्लो तहमा प्रतिस्पर्धा गर्न पूर्ण रूपमा केन्द्रित भएर तयारी गरिरहेका छौं ।’

नामिबिया

नामिबिया लगातार चौथो पटक ट्वान्टी–२० विश्वकप खेल्ने क्रममा छ । अफ्रिकी छनोटबाट जिम्बावे र नामिबियाले विश्वकपको यात्रा तय गरेका थिए । समूह चरणका ३ खेल जितेपछि जेजे स्मिटले तान्जानियाविरुद्धको सेमिफाइनलमा अलराउन्ड प्रदर्शन गरेका थिए । उनले पहिला ६१ रन बनाएका थिए भने बलिङमा १६ रन खर्चेर ३ विकेट लिएका थिए । 

फाइनलमा जिम्बावेसँग पराजित हुनुअघि नै नामिबियाले विश्वकपमा स्थान पक्का गरेको थियो । निडर कप्तान जेर्हार्ड इरसमसको कप्तानीमा नामिबियाले विश्वकपमा खेल्नेछ । नामिबियाको टोलीमा ९ जना दुई वर्ष अघिको विश्वकप खेलेकै खेलाडी छन् । छनोटमा यान निकोल लफ्टी इटन उत्कृष्ट लयमा देखिएका थिए । उनले ६.४० को औसतमा १० विकेट लिएका थिए । 

नेपाल

एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सबै खेल जितेर नेपाल विश्वकपमा प्रवेश गरेको हो । जापान र कुवेतलाई समूह चरणमा पराजित गरेको नेपाल त्यसपछि सुपर सिक्सका सबै खेल जितेर शीर्षस्थानमा रहेको थियो । 

साँघुरो अन्तरको जित–हार नेपालको नियमितता नै हो । छनोट चरणमा नेपालले यूएईलाई १ रन र कतारलाई ५ रनले पराजित गरेको थियो । रोहित पौडेल नेपालको कप्तान छन् भने दीपेन्द्रसिंह ऐरी उपकप्तान । विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो । टिमले यस पटक समूह चरणभन्दा माथि जाने आशा राखेको छ । 

नेदरल्यान्ड्स

नेदरल्यान्ड्सले युरोपको छनोट पार गरेको थियो । चार खेलमा ३ जित हात पारेर नेदरल्यान्ड्स टोली शीर्षस्थानमा रहँदै छनोट भएको थियो । डच टोलीले सातौं पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । 

यसअघि टोली दुई पटक समूह चरणभन्दा माथि बढेको थियो । स्कट इडवार्ड्सको कप्तानीमा नेदरल्यान्ड्स लगातार तेस्रो पटक विश्वकप खेल्ने तयारीमा छ । 

समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सले आयोजक भारतसहित पाकिस्तान, नामिबिया र अमेरिकाको सामना गर्नेछ । नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुकले भनेका छन्, ‘विगतका केही विश्वकप खेलेको अनुभव, हाम्रो समूहमा रहेका टोलीहरूसँग यसअघि नै खेलिसकेको आधार तथा पछिल्लो महिना श्रीलंका र भारतमा गरेको तयारीको हिसाबमा हामी आफ्नो तयारीमा विश्वस्त छौं ।’

ओमान

एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अंकतालिकामा नेपालभन्दा पछि दोस्रो स्थानमा थियो ओमान । यसले ओमानको चौथो पटक विश्वकपमा स्थान पक्का गरेको थियो । नदिम खान र जितेन रामानन्दीले छनोटमा समान ११ विकेट लिएका थिए ।

ओमानका लागि सर्वाधिक रन बनाएका जतिन्दर सिंहको कप्तानीमा ओमानले यस विश्वकपमा खेल्नेछ । 

ओमान विश्वकपमा छनोट भएपछि सिंहले भनेका थिए, ‘यो गर्विलो क्षण हो, खेलाडीहरू विश्वकप खेल्न लालयित छन् । यत्रो ठूलो प्रतियोगिता खेल्नका लागि टिममा अनुभव चाहिन्छ, छनोट चरणमा हामीले त्यो अनुभव देखाएका थियौं ।’ समूह ‘बी’ मा रहेको ओमानले सहआयोजक श्रीलंकासँगै अस्ट्रेलिया, आयरल्यान्ड र जिम्बावेसँग खेल्नेछ । 

स्कटल्यान्ड

स्कटल्यान्डलाई बंगलादेशको स्थानमा ल्याइएको हो । स्कटल्यान्ड छनोट हुन सकेको थिएन, तर छनोट नभएका टोलीहरूमा उच्च वरीयताको हिसाबमा विश्वकपमा स्थान दिइएको थियो । विश्वको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा स्कटल्यान्ड १४ औं स्थानमा छ । विश्वकप नै खेलिरहेका ७ टोलीभन्दा स्कटल्यान्डको यो वरीयता उच्च हो ।

स्कटल्यान्ड सातौं पटक ट्वान्टी–२० विश्वकप खेल्दै छ । ढिलो गरी विश्वकप खेल्ने निमन्त्रणा आए पनि आफ्नो टोली विश्वकप खेल्न तयार रहेको क्रिकेट स्कटल्यान्डका पर्फर्मेन्स हेड स्टिभ स्नेलले बताएका छन् । उनले भने, ‘कोचिङ स्टाफ, छनोटकर्ता र आफू छानिएका टिमलाई लिएर निकै उत्साही छौं ।’ 

यूएई 

एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अंकतालिकामा नेपाल र ओमानपछि तेस्रो स्थानमा रहेर यूएई तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएको थियो । कप्तान मोहम्मद वासिमको टोलीले नेपालसँग पराजित भएपछि २०२४ को विश्वकप गुमाएको थियो । तर अक्टोबरमा ओमानमा भएको छनोट चरणपछि यूएई विश्वकपमा फेरि छनोट भएको हो । 

छनोटको अन्तिम खेलमा जापानमाथि ८ विकेटको विजय हात पारेपछि यूएईले विश्वकपमा आफ्नो स्थान पक्का गरेको थियो । अलिशान सराफु छनोट चरणको सर्वाधिक रन स्कोरर थिए । उनले ५६.६० को औसत र १४३.६५ को स्ट्राइक रेटमा २ सय ८३ रन बनाएका थिए । 

अमेरिका

अमेरिकाले यस पटक छनोट चरणमा उत्रनुपरेन । २०२४ मा आफ्नै भूमिमा गरेको ऐतिहासिक प्रदर्शनपछि टोलीले विश्वकपमा सोझै प्रवेश पाएको थियो । समूह चरणमा पाकिस्तानमाथि सुपर ओभरमा विजय हात पार्दै अमेरिका दुई वर्षअघि ‘सुपर एट’ मा पुगेको थियो, जहाँ टोलीले दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्यान्डसँग पराजय भोग्नुपरेको थियो । तर दोस्रो चरणमा पुगेर नै अमेरिकाले अर्को सिजनको विश्वकपमा स्थान पक्का गरेको थियो । 

दुई वर्षअघि अमेरिकामा गरेको प्रदर्शन दोहोर्‍याउने प्रयासमा रहेको बताउँदै टोलीका प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘विश्वकप खेल्ने टोली बलियो र सन्तुलित छ । सबै क्षेत्रमा प्रभाव देखाउन तयार छ । हामीलाई आफ्नो टोलीको क्षमतामा पूरा विश्वास छ ।’

कान्तिपुर

Link copied successfully