एउटा कलात्मक विद्रोह : शान्त शर्वरी

विद्रोही चेत, सामाजिक आलोचना र भाषिक लालित्यले भरिएको ‘शान्त शर्वरी’ मा कवि अलंकारले नेपाली साहित्यमा नयाँ काव्यिक स्वाद थपेका छन् ।

माघ १७, २०८२

शैलेन्द्र अधिकारी

An Artistic Rebellion: Shanta Sharvari

What you should know

नेपाली कविताको प्रारम्भिक पहिचान शास्त्रीय कविताबाटै भएको थियो । संस्कृत साहित्यमा स्थापित र मानक भइसकेका छन्द र लयलाई आधार बनाएर प्रारम्भमा कविता लेखिन्थ्यो ।

स्वभाविकै हो, नीतिनियम बुझ्न गाह्रो छ । बुझेर त्यसलाई पालना गर्न गाह्रो हुने नै भयो । यो कुरा आम जनजीवनमा त लागू हुन्छ भने साधनाको क्षेत्रमा नहुने कुरै भएन । काव्यिक क्षेत्रमा पनि यसले राम्रै असर गर्‍यो । अर्थात् समयक्रममा गद्य शैलीका कविताहरू लेखिँदै र पढिँदै आए । 

कुनै पनि नियमको बन्धनमा नबाँधिएको कारण गद्य कविता बढी लेखिन थालियो । फलतः त्यसले चाँडै लोकप्रियताको शिखरमा आफूलाई पुर्‍यायो । बिस्तारै शास्त्रीय छन्दमा कविता कम लेखिन थालियो । र, कविहरूको रुझान छन्द कवितातिर कम हुन थाल्यो ।

काव्यिक साधना एक दिन, एक महिना वा एक वर्षमा हुने विषय पक्कै होइन । यसका लागि ज्ञान, अठोट र जन्मजात प्रतिभा हुनु अनिवार्य छ । यसैको त्रिवेणीले नै कविलाई उत्कृष्टताको सोपानतिर डोहोर्‍याउँछ ।  

समय बजारको छ । साहित्यमा पनि वैश्य युग चलिरहेकै छ । जो बिक्यो, त्यो राम्रो हो भन्ने जर्बजस्ती मानकहरू स्थापित गरिँदै छन् । पुरस्कारले कृति र लेखकको गुणवत्ताको मुल्यांकन गरिँदै छ । तर मलाई लाग्छ, वास्तविक कवि बजारिया खपतका लागि लेख्दैन । आफ्नो ब्रहृमले देखेको, बुझेको विषयलाई काव्यिक हिसाबले प्रस्तुत गर्दछ । 

रूपक अलंकार बजारिया खपतभन्दा बाहिर रहेर साधना गर्ने कवि हुन् । वेदमा आचार्य गरेका अलंकारको यसभन्दा अगाडि 'विश्रान्त' महाकाव्य प्रकाशित छ । उनले कविता-सङ्ग्रहभन्दा अगाडि नै  महाकाव्य प्रकाशन गरेर आफ्नो क्षमता र साधनाको परिचय दिइसकेका छन् । यतिबेला पाठकमाझ उनको नयाँ कवितासङ्ग्रह 'शान्त शर्वरी' आइपुगेको छ । 

शान्त शर्वरी विषयगत शीर्षक हो, त्यसैले यसै शीर्षकमा कुनै कविता सङ्ग्रहभित्र छैन । प्रतीकात्मक रूपमा हावाहुरी झरीवर्षा आदि प्राकृतिक हिसाबले अशान्त नभएको, झैझगडा, चोरीडकैती, मेलापर्व आदि सामाजिक हिसाबले अशान्त नभएको, नागरिक अधिकारको हनन, अत्याचार, धरपकड आदि राजनीतिक हिसाबले अशान्त नभएको रातलाई शान्त शर्वरी भनिन्छ भने दार्शनिक दृष्टिमा शर्वरी वा रात भनेको अज्ञान हो ।

काम, क्रोध, लोभ, मोह, अहंकारजस्ता अविद्याग्रस्त अवस्था नै शर्वरी हो । त्यस्तो शर्वरी चेतनाको दियो बलेर जब हट्छ त्यो नै शान्त शर्वरी हो । रातरूपी अज्ञान शान्त हुनु वा हट्नु नै शान्त शर्वरी हो । कवितासङ्ग्रहको शीर्षकले यही दर्शनिक अर्थलाई वहन गरेको छ । अन्धकार शर्वरी कविताको वर्ण्य हो भने शान्त शर्वरी उद्देश्य हो । 

शास्त्रीय गजल लेखनबाट साहित्यिक यात्रा आरम्भ गरेका अलंकार आफ्ना कवितामा तत्सम र झर्रा नेपाली शब्दको समिश्रण गरेर प्रस्तुत गर्नमा सिपालु छन् । यसले उनको काव्यिकतालाई सरल, सहज र थप ग्रहणयोग्य बनाएको देखिन्छ । उनको यो गुण चैतन्यको बहना शीर्षकको कवितामा यसरी छचल्किएको छ :

यसै देख्छु तिमी गुलाबजस्तो

समुद्रको शान्त स्वभाव जस्तो

चैतन्यको यो बहना चलाऊ

जाऊ तिमी पारि चढेर नाउ ।

यसरी ग्राम्य जीवनका चलनचल्तीका शब्दलाई तत्सम शब्दसाग कुशलतापूर्वक संयोजन गर्दै कुशल शब्द र शिल्पकर्मीका रूपमा अलंकार देखिएका छन् । कविता पढ्दै जाँदा यस्तो लाग्छ, उनी काव्य साधनाका नदी हुन्, जसलाई बग्नु छ । तर त्यो बगाई शान्त छ । त्यहाँ कतै हतरपतर भेटिँदैन । कुनै आलस्य छैन । आफ्नै गतिमा शान्त बगिरहेको नदीजस्तै अलंकारका कविता देखिन्छन्, प्राकृतिक र मनमोहक । लालित्यपूर्ण भाषालाई उनले आफ्ना चमत्कारिक शिल्पद्वारा सजाएर उत्कृष्टताको सोपान चढाएका छन् ।

पूर्ण हिसाबले शास्त्रीय मान्यतालाई अनुशरण गरेका कविले गण मिलाउनैका लागि कृत्रिमता देखाएका छैनन् । छन्दका कारण भावलाई अन्याय पनि गरेका छैनन् । यो देश भूस्वर्ग बनाउने छु शीर्षकको कवितामा उनको व्यङ्ग्यचेत उपजाति छन्दको बुई चढेर प्रस्तुत भएको छ : 

हिमाल चाटेर नदी पिएर

ढुङ्गा गिटी काठ सबै निलेर

अगस्तिको नाम मिटाउने छु 

यो देश भूस्वर्ग बनाउने छु ।

समसामयिक विकृतिमाथि तिखो व्यङ्ग्य मार्न खप्पिस अलंकार पञ्चचामरमा उतारचढावमा यसरी बगेका छन् :

म देख्छु आज वायुमा विषाक्त राग व्याप्त छ

र ज्यानमा निधारमा चिलाउने पराग छ 

उठ्यो कन्याउँदै सधै सधैं कन्याउँदै सुत्यो

स्वरोजगार छन् सबै जता नि काउसो फल्यो ।

कवि अलंकार कवितामार्फत शालीन व्यङ्ग्य गर्न माहिर छन् । उनका व्यङ्ग्यमा कतै पनि अभद्रता र अशिष्टताको आभास भेटिँदैन । चरम वक्रोक्ति चेत भएका उनी सामाजिक परम्परा, कुरीतिका साथसाथै शाषकीय विद्रुपताप्रति पनि कवितामार्फ व्यङ्ग्य गरिरहेका भेटिन्छन् । व्यक्तिभन्दा प्रवृत्तिलाई उनी व्यङ्ग्य गर्न सिपालु छन् । उनका कविता पढ्दै जाँदा लाग्छ, उनका कवितामा वक्रोक्ति चेत पानीमा नुन मिसिएको झैं मिसिएको हुन्छ ।

पछिल्ला समयका कविताहरूमा देशको मूल नेतृत्व र राजनीतिक क्रियाकलापप्रति व्यङ्ग्य र विद्रोहको स्वर सबैभन्दा धेरै पढिआएकै हो । रूपक अलंकारका कवितामा यसका अलावा मानवीय प्रवृत्ति र सामाजिक व्यवहारमाथि पनि व्यङ्ग्य गरिएको छ । खासमा भन्नुपर्दा उनले व्यङ्ग्यमा पनि विविधता पस्किरहेका छन्, जुन पछिल्ला समयका कविहरूमा बिरलै भेटिन्छ भन्न सकिन्छ ।   

न्यायको सत्यको निम्ति यो गर्जिने

किन्तु अन्यायका ढाडमा बज्रिने

देशको गीत हो हैन यो फत्फत

गाउने बाघ हो गर्नुहोस् स्वागत ।

वर्तमान नेपाली समाजको चेत र राजनीतिक घटनाक्रमप्रति कविले कवितामार्फत गम्भीर असहमति प्रकट गरेका छन् । जनताका नाममा गरिने राजनीतिले जनता नै पीडित भएको तर्फ संकेत गर्दै ठूलालाई चैन, सानालाई ऐन भन्ने आहान वर्तमानमा पनि चरितार्थ भइरहेको भन्दै उनी जनता र देशको पक्षमा नहुने र नलाग्ने शाषक र शासकीय प्रवृत्तिप्रति पनि आलोचनात्मक दृष्टिकोण राख्दछन् । 

अलंकारका कविता पढ्दै जाँदा लाग्छ, उनी विद्रोह बोलिरहेका छन् । सामाजिक अव्यवस्थाप्रति असहमति ओकलिरहेका छन् । समतामूलक समाजको सपना देखिरहेका छन् । तर उनलाई लागिरहेको छ, यस्तो सपना केवल सपना मात्रै हो त ?

कवि लेखकहरू जन्मजात सत्ताका प्रतिपक्षी हुन्छन् भन्ने एउटा मान्यता रहिआएकै छ । उनका कवितामा यही मान्यता प्रतिबिम्बित भइरहेको महसुस हुन्छ । उनले कुनै राजनीतिक आस्थालाई केन्द्रमा राखेर कविताको नाममा नारा लगाउनेभन्दा माथि उठेर कलात्मक विद्रोहको बोली बोलेका छन् । शास्त्रीयताको परिधिमा रहेर माझिएको शिल्पले उनले आफ्ना विचारका तरंगहरूले आम पाठकको मथिंगलमा एउटा गम्भीर विमर्श जन्माइदिएका छन् । 

शान्त शर्वरी सङ्ग्रहमा अलंकारले विषयगत विविधतामा पनि उत्तिकै ध्यान पुर्‍याएको देखिन्छ । कान्तिपुर गाथा शीर्षकको दोस्रो कवितामा उनले आफ्ना जादुयी कलमलाई खुब नचाएका छन् । त्यहाँबाट कविता अगाडि बढ्दै जाँदा राजनीतिक-सामाजिक विषय, प्राकृतिक सुन्दरता, नीति र शास्त्रका विषयका अलावा वैदिक सूक्तहरूसम्मलाई पनि कवितामा प्रस्तुत गरेका छन् । हरेक विषयमा उनको काव्यिक शिल्पमा चमत्कृति महसुस हुन्छ । समग्रमा शान्त शर्वरी पछिल्लो समयमा आएको पठनीय र सङ्ग्रहणीय कृति हो ।     

शैलेन्द्र

Link copied successfully