जनआन्दोलनका सहयात्री कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी रहेको ०४८ सालको संसदीय चुनावमा कांग्रेसले पुँजी र उपयुक्त प्रविधिको प्रयोग सँगसँगै जनता र जनशक्तिलाई संगठित र सञ्चालित गर्ने एजेन्डालाई प्राथमिकतामा राखेको थियो ।
What you should know
काठमाडौँ — २०१५ सालको पहिलो आम निर्वाचनको ३२ वर्षपछि देशमा दलहरूको सहभागितामा निर्वाचन हुन गइरहेको थियो । २०४६ को जनआन्दोलनको सफलताले निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएसँगै राजनीतिक दलहरू अत्यधिक उत्साहित थिए ।
अर्कोतिर, आमजनतामा पनि बहुदलीय व्यवस्थाप्रति आशा जागृत भएको थियो । दल र नेतामा केही गर्ने हुटहुटी तथा जनताको ठूलो आशाका बीचमा चुनाव हुँदै थियो । जनआन्दोलनका सहयात्री कांग्रेस र कम्युनिस्ट पार्टी चुनावमा मुख्य प्रतिस्पर्धी थिए । पञ्चायत व्यवस्थाका पक्षधर भने प्रजातन्त्रले दिएको स्वतन्त्रताको लाभ उठाएर दल खोल्दै चुनावी मैदानमा उत्रिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी खोलेर उनीहरू प्रजातन्त्रवादी शक्तिलाई चुनौती दिन खोजिरहेका थिए ।
पञ्चायतकालभरि आवाज दमित भएको, अधिकारविहीन राखिएको, देशभित्रै दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिएको भन्दै मधेशको आवाजलाई नेपाल सद्भावना पार्टीमार्फत एकीकृत गर्ने प्रयास भएको थियो । जनतालाई आफूतर्फ लोभ्याउन चुनावको मुखमा दलका तर्फबाट योजना र प्रतिबद्धता जनतामाझ घोषणापत्रमार्फत ल्याएका थिए । नेपाल अधिराज्यको संविधान, २०४७ प्रारम्भ भएपछि देशैभर प्रतिनिधिसभाका लागि २ सय ५ वटा निर्वाचन क्षेत्र बनाइयो ।
२९ वैशाख २०४८ मा आम निर्वाचन भएको थियो । २० राजनीतिक दल र स्वतन्त्रबाट १ हजार ३ सय ४५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । कुल मतदाता संख्या १ करोड ११ लाख ९१ हजार ७ सय ७७ थियो । जसमा ७२ लाख ९१ हजार ८४ मत खसेको थियो ।
२०५१ सालको मध्यावधिमा एमालेले भने कांग्रेसका नीतिहरूको विरोध गर्दै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई घोषणापत्रमा समेटेको थियो । त्यसमा ६९ लाख ६९ हजार ६१ मत सदर र ३ लाख २२ हजार २३ मत बदर भएको थियो । चुनावमा कांग्रेसले बहुमत सिट जितेको थियो । कांग्रेसले ११०, एमालेले ६९, संयुक्त जनमोर्चा नेपालले ९, नेपाल सद्भावना पार्टीले ६, राप्रपाले २, नेपाल कम्युनिस्ट पार्टी (प्रजातन्त्रवादी) ले २ र राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) ले १ तथा स्वतन्त्रले ३ स्थान जितेका थिए ।
कांग्रेसले आगामी १५ वर्षभित्र आममानिसलाई आधारभूत आवश्यकता पूरा गर्न सक्ने जीवनयापनको अवस्थामा पुर्याउने लक्ष्य त्यसै बेलामा लिएको थियो । कांग्रेसले २०४८ को घोषणापत्रमा सबै मानिसलाई आफ्नो घर, शिक्षा, दीक्षा, खाने, लाउने सुविधा, औषधिमूलो यथोचित मनोरञ्जन प्राप्त गर्न सक्ने कमाइको स्थितिमा पुर्याउने संकल्प गरेको थियो । देशबाट रोग, भोक, अशिक्षाको समाप्ति, शान्ति, स्थिरता, सुव्यवस्था र विकासको नारा दिएर कांग्रेसले जनतासँग मत मागेको थियो ।
२०४८ को चुनावमा होमिनुपूर्व मतदातालाई आफूतर्फ आकर्षित गर्न एमालेले विभिन्न लोकप्रिय नाराहरू अघि सारेको थियो । अन्तरिम संविधानप्रति नै उसको असन्तुष्टि थियो । संवैधानिक राजतन्त्रका वैधानिक प्रावधानविपरीत अनेकन् अधिकार राजाको हातमा राखिएकामा एमालेले विरोध जनाएको थियो ।
सेना, प्रहरी र प्रशासनमाथि दरबारको विशेष हैसियत कायम गरिएको भन्दै त्यसलाई प्रजातन्त्रका निम्ति खतरा भनेको थियो । प्रजातन्त्रलाई खतरामा पर्न नदिन आफूलाई साथ दिन एमालेले घोषणापत्रमा आह्वान गरेको थियो । ०४८ को चुनावमा एमालेले वामपन्थी शक्ति नै साँचो प्रजातान्त्रिक शक्ति रहेको दाबीसहित ‘प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रता एमालेको नारा हो, सूर्य चिह्नलाई विजयी बनाउनु जनताको अभिभारा हो’ भनेको थियो ।
एमालेले घोषणापत्रमा उम्मेदवारका लागि जारी गरेको आचारसंहितामा सादा जीवन र कठोर संघर्षको सर्वहारावादी कम्युनिस्ट शैली अपनाउने भनिएको थियो । पार्टीले आवश्यक ठानी आदेश दिए पहिलो आदेशमै संसद्बाट राजीनामा दिनुपर्ने, उच्च नैतिकता र दृढ आर्थिक अनुशासन कायम राख्नुपर्ने उम्मेदवारलाई निर्देशन थियो । पार्टी कोषमा निजी वा सहयोग रकम जम्मा गरी चुनावमा पार्टीको तजबिजमा मात्रै खर्च गरिनुपर्ने थियो ।
गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीको चुनावी नारा भेदभावविरुद्ध थियो । मधेशी समुदायलाई गरिएको भेदभावलाई पार्टीले चुनावी मुद्दा बनाएको थियो । अधिकांश पूर्वपञ्च सम्मिलित राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) २०४८ को चुनावमा होमिएका थिए । उनीहरूलाई तत्कालीन राजदरबारको पनि समर्थन थियो । दुवै पार्टीले संवैधानिक राजतन्त्रको स्थायित्वलाई प्रमुख मुद्दा बनाएका थिए । राजसंस्थाको मर्यादा, गरिमा र उच्चतालाई पार्टीले सधैं सम्मान गर्ने घोषणापत्रको प्रमुख राजनीतिक विषय थियो ।
कांग्रेसको सरकारले ५ वर्षको कार्यकाल पूरा गर्न सकेन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पार्टीभित्रैबाट समस्यामा परे । सरकारको नीति तथा कार्यक्रम आफ्नै पार्टीका सांसदहरूको असहयोगले पारित हुन सकेन । कोइरालाले संसद् विघटन गरिदिए । २९ कात्तिक २०५१ मा मध्यावधि निर्वाचनको घोषणा गरियो । २४ राजनीतिक दल चुनावी मैदानमा उत्रिए । एमाले ८८ सिट ल्याएर पहिलो दल बन्यो । कांग्रेस ८३, राप्रपा २०, नेमकिपा ४ र सद्भावनाले ३ सिट ल्याएका थिए ।
कांग्रेसले आफ्नो घोषणापत्रमै ‘मध्यावधि निर्वाचन किन ? भन्ने नारा अघि सारेको थियो । एमालेले भने घोषणापत्रको नारा नै ‘सर्वसत्तावादी कांग्रेसलाई हराऔं, राष्ट्र र प्रजातन्त्रका लागि एमालेलाई जिताऔं’ लिएको थियो । २०५१ को एमालेको घोषणापत्रमा कांग्रेस सरकारका जनविरोधी काम भन्दै १७ वटा बुँदा राखिएको थियो । सामाजिक सुरक्षाका कार्यक्रमलाई एमालेले घोषणापत्रमा प्राथमिकता दिएको थियो ।
निर्वाचनमा कसैको बहुमत आएन । ठूलो दलको हैसियतमा एमालेले सरकार बनायो । तर मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार ९ महिनामै ढल्न पुग्यो । त्यसपछि सरकार बन्ने र गिराउने क्रम संसद्को अवधिभर कायम रह्यो । त्यही समयमा विभिन्न विकृति नेपालको संसदीय राजनीतिमा भित्रियो । एमाले त्यही अवधिमा विभाजित हुन पुग्यो । पूर्वपञ्चहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले पालैपालो प्रधानमन्त्री हुने अवसर पाए ।
२०५६ को चुनावमा दलहरूले स्थायित्वको नारा अघि सारेका थिए । कांग्रेसले नै कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । राजनीतिक अस्थिरता समाप्तिका लागि बहुमतको सरकार निर्माणको विषयलाई कांग्रेसले निर्वाचनको मुख्य मुद्दा बनाएको थियो ।
एमालेले घोषणापत्रमा स्थिरता, सुशासन र विकासलाई मुख्य मुद्दा बनाएको थियो । प्रजातन्त्र पुनःस्थापनापछि एमाले नेतृत्वमा बनेको ९ महिनाको सरकारले गरेका कामकारबाहीबारे उल्लेख थियो । ‘आफ्नो गाउँ आफैं बनाऔं’ तथा सामाजिक सुरक्षा भत्ता ल्याएको विषयलाई एमालेले जनतामाझ लगेको थियो । प्रजातन्त्र पुनःस्थापनाको ९ वर्षमा ९ महिना मात्रै सरकारको नेतृत्व गरेको भन्दै एमालेले अन्य दलले राष्ट्रलाई अघि नबढाएको भन्दै आम निर्वाचनमा बहुमत माग्ने अधिकार आफूलाई मात्रै रहेको भनेको थियो ।
सद्भावना पार्टीको घोषणापत्रमा पहिचान, अधिकार तथा सम्मानका नारा यथावत् थिए । राप्रपाले भने पूर्ववत् ःराजसंस्थाको सम्मानसहितको संवैधानिक राजतन्त्रको राजनीतिक मुद्दालाई बल दिएको थियो । निर्वाचनमा कांग्रेसले १११, एमालेले ७१ सिटमा जित हात पारेका थिए । राप्रपाले ११, नेपाल सद्भावना पार्टीले ५ सिट प्राप्त गरेका थिए ।
राष्ट्रिय जनमोर्चाले ५, संयुक्त जनमोर्चाले १ र नेपाल मजदुर किसान पार्टीले १ सिट ल्याएका थिए । राजनीतिक स्थिरताको नारा दिएर कांग्रेसले बहुमत ल्याए पनि उक्त संसद् पनि पूरा कार्यकाल जान सकेन । पार्टीभित्रकै विवादका कारण तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ८ जेठ २०५९ मा प्रतिनिधिसभा विघटन गरेका थिए ।
२०४८ को घोषणापत्र निर्माणमा संलग्न कांग्रेस नेता पूर्वअर्थमन्त्री महेश आचार्य ठूलो राजनीतिक परिवर्तन पछाडि परम्परागत ढाँचालाई बदलेर खुला समाजको निर्माण गर्ने उद्देश्य त्यतिबेलाको घोषणापत्रले बोकेको बताउँछन् । ‘हरेक नेपालीलाई १५ वर्षभित्र आर्थिक रूपमा मध्यम वर्गीय हैसियतमा पुर्याऔं भन्ने सपना थियो, त्यो बीपीकै परिकल्पना थियो,’ उनले सुनाए, ‘हरेक नेपालीसँग एउटा घर होस्, छोराछोरी विद्यालय जाऊन्, औषधिमूलो गर्न सकिने मध्यम आय होस् भन्ने परिकल्पना थियो ।’ उनका अनुसार राज्य नियन्त्रित आर्थिक गतिविधिलाई खुला गर्ने, निजी क्षेत्रको सहभागिता बढाएर आर्थिक क्षेत्रमा खुलापनको चिन्तन घोषणापत्रले लिएको थियो ।
‘त्यसअनुसार अर्थतन्त्रमा गुणात्मक परिवर्तनको प्रारम्भ भएको थियो । गरिबीको संख्या लगातार घट्दै गयो । औसत आयु बढेको छ । बाल मृत्युदर र मातृ मृत्युदर घट्यो । माध्यमिक शिक्षा निःशुल्क भएको छ । स्वास्थ्यमा आम मानिसको पहुँच भएको छ,’ पूर्वअर्थमन्त्री आचार्यले भने, ‘०४८ सालबाटै सुधारको प्रक्रिया प्रारम्भ भएको थियो । तर, साढे ३ वर्षमै रोकियो । सरकार पूरा कार्यकाल चलेको भए पनि ठूलो परिवर्तन आउँथ्यो । त्यसपछि त, राजनीतिक अस्थिरता र माओवादी द्वन्द्व सुरु भइसकेको थियो ।’
अर्थविद् केशव आचार्य त्यति बेला कांग्रेस र कम्युनिस्टहरू एकदमै चुनौती महसुस गरेको अवस्थामा रहेको सम्झिन्छन् । ‘एमालेले त झन् अप्ठ्यारो महसुस गरेको थियो । कम्युनिस्ट भएकाले पश्चिमाको साथ हुँदैन । छिमेकीहरूकै साथ सहयोग रहँदैन । देशभित्रै ठूला उद्योगी व्यवसायीको साथ नरहने शंकामा थियो,’ उनले भने, ‘एमालेमा आत्मविश्वासभन्दा पनि अलिकति त्रास र आशासहितको दोसाँधको मानसिकता थियो ।’ उनका अनुसार आम जनतालाई आफूतिर आकर्षित गर्न सामाजिक कल्याणका कार्यक्रम गर्नुपर्छ भन्ने एमालेमा थियो ।
