लुम्बिनीका धेरै पहाडी जिल्ला र स्थानमा मगरहरूको भाषा झल्किने नाम छन् । भूगोल विशेषका नाममा खसआर्यले पनि पहिचान जोडेको देखिन्छ । पुर्खाले स्थान र संस्कृतिको पहिचान दिने नामकरण कसरी गरे ? आखिर नाममा के छ ?
What you should know
बुटवल — लुम्बिनी पहाड र तराईका जिल्ला मिलेर बनेको प्रदेश हो । यहाँ खाम मगर समुदायको बाहुल्य छ । खस र आर्य पनि छन् । थारू समुदायको पनि उत्तिकै बसोबास छ । लुम्बिनीका धेरै पहाडी जिल्ला र स्थानमा मगरहरूको भाषा झल्किने नाम छन् ।
गोल विशेषका नाममा खसआर्यले पनि पहिचान जोडेको देखिन्छ । बुटवलसहित लुम्बिनीका केही जिल्लाको इतिहास सेन र शाह वंशीय राजादेखि जंगबहादुर राणाको परिवारसँग पनि जोडिएको छ । बुद्धको जन्मस्थल लुम्बिनीसँगै प्रदेशका विभिन्न जिल्ला र त्यहाँभित्रका गाउँ र स्थानका नामबाट सामूहिक भावना र संस्कृति झल्किन्छ । पुर्खाले स्थान र संस्कृतिको पहिचान दिने नामकरण कसरी गरे ? आखिर नाममा के छ ?
पहिला बुटवलमा प्रवेश गरौं । बुद्धवल्ली, बटौली, खस्यौलीबाट अहिले रूपान्तरित नाम हो बुटवल । बुटवल नामबारे भिन्नभिन्न धारणा र जनश्रुति छन् । विगतमा यसलाई कहिले बटौली, कहिले खस्यौली र फाट्टफुट्ट बुद्धवल्लीका नामले पनि उच्चारण गरेको पाइन्छ । इतिहासअनुसार गौतम बुद्धकी आमा मायादेवीको माइती हालको बुटवलबाट पूर्वतर्फ रहेको देवदहमा थियो ।
योगी नरहरिनाथको ‘हाम्रो देश दर्शन’ पुस्तकले बुटवलको इतिहासलाई द्वापर युगदेखि बुद्धकालसम्मको प्रसंगमा व्याख्या गरेको छ । चीनको तिब्बत र भारतको गोरखपुरको व्यापारिक थलोको विश्राम नाका, पहाडको फेदी र मधेशको सिरान नै बटौली थियो । बुटवललाई रामदेखि बुद्धसम्म जोडेर इतिहास लेखिएका छन् । हिन्दु धर्मका भगवान् राम बटौली (तिनाउ पश्चिम) हुँदै गण्डकी नुहाउन गुल्मीको रिडी, पाल्पा रामपुरको रामनदी हुँदै गण्डकको भ्रमण गरी खस्यौली (तिनाउ पूर्व) हुँदै अयोध्या पुगेका प्रसंगहरू पनि विभिन्न पुस्तकमा लेखिएका छन् ।
बुटवल बाल्यकालमा बुद्ध खेल्ने स्थान हो । बुद्धलाई खेल्नका लागि वरिपरि पर्खाल बनाइएको थियो । त्यस पर्खाललाई वल्ली भनिन्थ्यो । त्यही चार पर्खालभित्रको बुद्ध खेल्ने क्षेत्रलाई बुद्धवल्ली भनियो । त्यसलाई अहिले जितगढी पनि भनिन्छ । योगी नरहरिनाथकै पुस्तकमा लेखिएका केही हरफ उद्धृत गर्दै टीकाराम पन्थीले लेखेका छन्, ‘बुद्धवल्ली भन्ने शब्दबाटै बुटवल नामको उत्पत्ति भएको हो ।’ उनका अनुसार बुद्धको मावली नजिकको स्थानमा पर्ने र बुद्ध खेल्ने गरेको हुँदा बुद्धवल्ली अपभ्रंश भई बटौली हुँदै बुटवल भन्न थालिएको हो ।
बुटवलको इतिहास त्यतिमै सीमित छैन । अर्को जनश्रुतिअनुसार सन् १८७२ तिर जितगढी किल्लामा आक्रमण गर्न ब्रिटिस सेना आएको थियो । जनरल उडले पहाडको बाटो घनघोर वनजंगल (चुरे पहाड) देखेपछि आफ्ना सैनिकलाई त्यहाँ के छ बुझेर आउनु भनेर आदेश दिए । सैनिकले खोजबिन र अध्ययन गरे तर, केही फेला परेन । त्यसपछि ती सैनिकले ‘देयर इज नोथिङ, बट वाल’ (त्यहाँ पर्खाल मात्रै छ) भन्ने जवाफ दिएकाले त्यो ‘बटवाल’ हुँदै बुटवल भयो भन्ने पनि पुस्तकहरूमा उल्लेख भएको बुटवलका पुराना व्यवसायी रामगोपाल लाकौल बताउँछन् ।
अर्को जनधारणाअनुसार बुटवल वरपरका पहाडी र तराईका जिल्लाहरूबाट मानिस आएर आफूलाई आवश्यक नुन, तेल, लत्ताकपडा र विभिन्न मालसामान खरिद गरी संकलन गर्ने भएकाले यसलाई ‘बटुल्ने’ ठाउँ भन्न थालियो । बिस्तारै बटुल्ने शब्द अपभ्रंश भई बटौली हुँदै बुटवल हुन पुग्यो । बुटवल उपमहानगरपालिकाका पूर्वउपप्रमुख एवं इतिहासका जानकार विमलबहादुर शाक्यले पनि ठाउँठाउँबाट मान्छे बटुलिएर बटौली बनेको हो भन्ने धारणा पाइने गरेको बताए ।
अर्काथरीका अनुसार खस राज्यका सेना काठमाडौं आक्रमण गर्न जाँदा र फर्कंदा बुटवल वरपर बसी आराम गर्ने गर्थे । यसरी खसहरू बेलाबेला आइबस्ने गरेकाले बटौलीलाई खस्यौली पनि भनियो । तर पाल्पाका इतिहासकार झपेन्द्र जीसीले पश्चिमबाट ‘बुटोला’ जातिका व्यापारी आएर हालको पारि बुटवलमा बसेको हुनाले बटौली हुँदै बुटवल नामकरण भएको र हालको वारि बुटवलस्थित गोलपार्क आसपास पहाडिया खस आई बसोबास गर्न सुरु गरेकाले यसलाई खस्यौली भन्न थालिएको बताए ।
‘बटौली अहिलेको होइन, उ बेलाको बजार हो,’ उनले भने, ‘अमरसिंह थापा पश्चिम एकीकरणमा जाँदा बटौलीमै बसेको इतिहास छ ।’ इतिहासका अनुसार बडाकाजी उपमा पाएका अमरसिंह थापाले सन् १८०४ मा पश्चिम एकीकरणको आदेश पाएका थिए ।
दाङको भालुबाङदेखि रोल्पाको थबाङ
लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको राप्ती गाउँपालिकाको केन्द्र भालुबाङ हो । चुरे पहाडको जंगल र राप्ती नदीको किनार जोड्ने थलो पनि हो भालुबाङ । खाम भाषामा ‘बाङ’ भनेको पहाडसँग जोडिएको वा पहाडको काखमा रहेको खुला चौर हो । त्यसैले चुरे क्षेत्रको जंगलमा हुने भालु आहाराको खोजी र विचरणका लागि नदी किनारमा आउने थलो भएकाले परापूर्वकालदेखि नै त्यसलाई ‘भालुबाङ’ नामकरण गरेको भन्ने गरिन्छ ।
अहिलेको भालुबाङ नाम पहिलाको ‘बालुङबाङ’ बाट अपभ्रंश भएर कायम भएको तर्क पनि एक थरीको छ । खाम मगर शब्द, बोली र लोककथाका लेखक टेकबहादुर खाम मगरका अनुसार खाम भाषामा ‘बा’ भनेको चरा र ‘लुङ’ भनेको ढुंगा हो । जंगल नजिकैको चौरमा चराजस्तै ढुंगा भएकाले बालुङबाङ भनिएको जनश्रुति रहेको उनी बताउँछन् ।
दाङको भालुबाङदेखि झन्डै १ सय ३० किलोमिटरको दूरीमा पहाडी जिल्ला रोल्पा छ । रोल्पा खाम मगरहरूको बाहुल्य रहेको जिल्ला हो । यस जिल्लामा थबाङ, लिबाङ, खबाङ चालाबाङ, मान्डीबाङ लगायतका ‘बाङ’ शब्द जोडिएका गाउँबस्ती छन् । रोल्पाको थबाङ जातीय, भाषिक, धार्मिक रूपमा विविधता बोकेको गाउँ हो । यहाँ पूरै खाम मगरहरूको बस्ती छ । अहिले त्यस क्षेत्रका बाङ जोडिएका धेरै गाउँबस्ती समेटिएर थबाङ गाउँपालिका नै बनेको छ ।
खाम मगर भाषामा ‘थ’ भनेको मुस्किलले अडिएको जमिन हो, ‘बाङ’ भनेको सम्म परेको चौर । तीनतिर खोला भएर बीचमा अडिएको जमिनमा बस्ती बसेकाले त्यसलाई थबाङ भनिएको हो । थबाङको नाम खाम मगर समुदायको भाषा र संस्कृतिबाटै रहन गएको रोल्पाका सामाजिक अभियन्ता बलबहादुर घर्ती बताउँछन् । उनले मगर संस्कृतिको विषयमा पुस्तक पनि प्रकाशन गरेका छन् । ‘रोल्पा र रुकुमका ६० प्रतिशत बढी स्थानको नाममा अगाडि वा पछाडि बाङ जोडिएका छन्,’ उनी भन्छन्, ‘त्यसमा खाम मगरहरूको पहिचान पनि जोडिएको छ ।’
रोल्पासँगै रहेको रुकुमका अधिकांश बस्ती हुकाम, मैकोट, लुकाम, चुनबाङ लगायतका स्थानको नाम पनि मगर संस्कृति र स्थानीय भूगोलसँग जोडिएको घर्तीले बताए । उनका अनुसार ‘हु’ भनेको भिरालो वा खोंच हो । ‘काम’ भनेको खेती किसानी हो । भिरालो र खोंचमा बस्ने मानिस र उनीहरूले गर्ने कामका आधारमा यस्ता शब्दहरूबाट ठाउँको नामकरण भएको उनले जनाए ।
अर्घा, खाँची र गुल्मी
अर्घाखाँचीको नाम तत्कालीन ठकुरी वंशका राजाहरूसँग जोडिएको छ । जंगबहादुर राणा अहिलेको अर्घाखाँचीको बल्कोटमा सन् १८७४ मा जन्मिएको इतिहास छ । अर्घाखाँची र गुल्मी २०१८ सालअघिसम्म एउटै जिल्लामा थिए । अर्घाखाँचीमा अर्घा र खाँची दुई राज्य थिए । १४ औं शताब्दीको अन्त्यतिर शाह वंशीय राजाहरूले अर्घा र खाँचीमा राज्य गरेका थिए ।
अर्घाखाँचीका इतिहास तथा संस्कृतिविद् राजेन्द्र आचार्यका अनुसार पश्चिमी क्षेत्रमा ससाना २४ राज्य थिए । राजाहरू सुरक्षा र लडाइका लागि अग्लो स्थान रोजेर बस्ने गर्थे । तिनै अग्ला स्थान राजाले छोडेपछि अहिले मन्दिर बनेर ‘कोट’ का नामले परिचित छन् । दाङ, रोल्पा, प्यूठान, पाल्पा, रूपन्देहीमा पनि ससाना राज्य थिए । पाल्पामा बल्ढेङगढी, माथागढी, नुवाकोटगढी राज्य बनाएर कुनै समय सेन राजाहरू बसेको आचार्यले बताए । अर्घा, खाँचीसहितका सबै कोट अहिले पनि ऐतिहासिक महत्त्वका सम्पदाका रूपमा संरक्षित रहेको उनले जानकारी दिए ।
अर्घा शब्दको उत्पत्ति भगवतीको मन्दिरमा अर्घले दही चढाउँदा देवी निस्किएकाले र खाँची शब्द भने सरकारले कर असुल गर्ने ठाउँमा खजाञ्ची रहने भएकाले त्यसैबाट अपभ्रंश भई खाँची हुन गएको मान्यता पनि छ । गुल्मी छुट्टिएसँगै अर्घा र खाँचीलाई जोडेर अर्घाखाँची बनेको थियो ।
रुरु कन्याबाट रुरु क्षेत्र
गुल्मीको प्रमुख धार्मिक स्थलका रूपमा रहेको रुरु क्षेत्र (रिडी) को नामकरणबारे धेरै मतभेद देखिन्छ । गुल्मीको ऐतिहासिक झलक पुस्तकका लेखक राजाराम सुवेदीले रुरु अर्थात् मृगले देवदत्त ऋषिकी पुत्रीलाई स्तनपान गराई हुर्काएको र तिनलाई रुरु कन्या नामकरण गरिएकाले त्यसकै नामबाट पछि रुरु क्षेत्र भएको उल्लेख गरेका छन् । ‘ती रुरु कन्याले रिडीमा बसेर कठोर तपस्या गरी मुक्ति पाएकाले यो ठाउँ उनै कन्याको नामबाट रुरु क्षेत्रका रूपमा चिनिन थाल्यो,’ उनले उल्लेख गरेका छन्, ‘पछि त्यही रुरु क्षेत्रबाट रिडी भन्न थालेको पाइन्छ ।’
अहिले पालिकाको नाम नै रुरु क्षेत्र गाउँपालिका बनाइएको छ । धार्मिक मान्यताअनुसार मानिस जन्मँदै तीन वटा ऋण ‘देव ऋण, पितृ ऋण र ऋषि ऋण’ लिएर आएको हुन्छ । जो व्यक्ति हिमालयदेखि बग्दै आएको कालीगण्डकीको संगम अर्थात् दोभान, जुन रुरु क्षेत्रमा पर्छ, त्यहीं स्नान गर्छ, उसको पाप पखालिन्छ भन्ने मान्यता रहेकाले यस स्थानलाई ऋणी भनिन थालियो र पछि ऋणी भन्ने शब्द अपभ्रंश भई ‘रिडी’ बन्न गएको भन्ने जनधारणा पनि छ ।
अर्को मान्यताअनुसार ‘रिडी’ शब्द मगर भाषाबाट आएको हो । मगर भाषामा ‘री’ ले कालो वा धमिलो तथा ‘डी’ ले पानी भन्ने अर्थ लाग्छ । अर्थात् धमिलो पानी बग्ने क्षेत्र कालीगण्डकी भएकाले यसलाई रिडी भनिएको हो भन्ने तर्क पनि रहेको यस क्षेत्रमा रहेका चाडपर्व, भाषा, संस्कृतिका विषयमा विद्यावारिधि गरिरहेका गुल्मीका गणेश श्रीपालीले बताए ।
टानसिङबाट तानसेन
पाल्पा पनि मगरहरूको बस्ती रहेको जिल्ला हो । यसको सदरमुकाम तानसेनको नामकरण मगर भाषासँगै जोडिएर भएको पाइन्छ । पाल्पाको इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार ‘टान’ सल्लाको एक प्रजाति हो । मगर भाषामा ‘सिङ’ भनेको जंगल क्षेत्र हो । टान प्रजातिको सल्लाको काठलाई कपडा बुन्ने तान बनाउन प्रयोग गरिन्छ । अहिले तानसेन रहेको क्षेत्रमा टान प्रजातिको जंगल नै थियो । यहाँका रैथाने मगरहरूले पहिलेदेखि नै आफैंले बुनेका कपडा लगाउँथे । जसलाई ‘घरबुना’ कपडा भन्ने गरिन्थ्यो ।
‘त्यही तान बनाउन प्रयोगमा आउने यस प्रजातिको सल्ला प्रशस्त पाइने हुनाले यस ठाउँको नाम टानसिङ रहेको हो,’ श्रेष्ठले भने, ‘मगर संस्कृतिसँग जोडिएको टानसिङ समयको अन्तरालसँगै अपभ्रंश भएर तानसिङबाट अहिलेको तानसेन रहन गएको देखिन्छ ।’
अहिलेको तानसेन नगरपालिका–७ प्रभासस्थित शिवालयमा रहेको वि.सं. १५४९ मिति उल्लेख भएको शिलालेखमा राजा रुद्रसेनको नामसहित ‘उभय शिवाय मनुमिन्द्र गते कि १४१४ शाक उदैई सूत्रा दाधर्मै णरुद्री विर सेन राजा ये’ भनी उल्लेख हुनुले सेनवंशीय राजा रुद्रसेन वि.सं. १५५० देखि १५७५ सम्म पाल्पाका राजा भएको र उनले पाल्पा राज्यलाई व्यवस्थित बनाउन यस क्षेत्रमा रहेको सल्लाको घना जंगललाई फडानी गरी ‘तानसेन’ को बस्ती बसाएको इतिहास रहेको पनि श्रेष्ठले जानकारी दिए ।
