समय–दाँतीका ‘लोकेसन’ हरूमा नवीन कथा जन्मिरहन्छन् । स्थानहरू पढ्न–बुझ्न शताब्दीयौं पुराना किंवदन्ती र कथाका पानामा प्रवेश गर्नुपर्छ, जहाँका आत्मामा इतिहास र किस्साहरू बसोबास गर्छन् । स्थान–नाम मान्छेकै अस्तित्व र अनस्तित्वको समयातीत कथा हो, जसले आफ्नै इतिहास, संस्कृति, सभ्यता र मानव–समाजबारे वृत्तान्त भन्छ ।
What you should know
काठमाडौँ — कुनै मस्तमग्न कथावाचकले झैं स्थान–नामहरूले पनि आफू बाँचिआएको समयको कथा भन्छन्— अ लङ लङ टाइम एगो...। असलमा स्थान–नाम हुन्— हाम्रा अभौतिक सम्पदा, जहाँ भाषा, संस्कृति, इतिहास र समग्र ज्ञान प्रणाली संरक्षित छन् । सामूहिक पहिचानको पनि प्रतिनिधित्व गर्ने स्थान–नामहरूका उद्भव–कथा र परिवर्तित स्वरूपका आफ्नै लयकारी छन् ।
सांस्कृतिक–ऐतिहासिक लेन्सबाट स्थान–नामहरूका गौरवगाथा र अन्तरकथा रहस्यले भरिएका देखिन्छन् । स्थान अर्थात् ‘लोक’ का कथा, किवंदन्ती र मिथक बिनाटिपोटका ती सम्झना हुन्, जो बितिगएका दिनका मर्मस्पर्शी आख्यान बनेर स्मृति–अंकित हुन्छन् । स्थानहरूको यात्रा पनि मान्छेको जिन्दगीझैं उज्यालो, अँध्यारो, गुलजार अनि घाटझैं सुनसान हुन्छ । यिनीहरू समयको अनौठो कालखण्डमा जिउँदा रहन्छन् ।
समय–दाँतीका ‘लोकेसन’ हरूमा नवीन कथा जन्मिरहन्छन् । स्थानहरू पढ्न–बुझ्न शताब्दीयौं पुराना किंवदन्ती र कथाका पानामा प्रवेश गर्नुपर्छ, जहाँका आत्मामा इतिहास र किस्साहरू बसोबास गर्छन् । र, स्थान–नाम मान्छेकै अस्तित्व र अनस्तित्वको समयातीत कथा हो, जसले आफ्नै इतिहास, संस्कृति, सभ्यता र मानव–समाजबारे वृत्तान्त भन्छ ।
नामका विषयमा मान्छेहरू सदा आश्चर्यहरूले भरिन्छन् । ती भनिरहन्छन्– नाममा के नै छ र ? असलमा नाममै छ सबैथोक— संस्कृतिदेखि सहअस्तित्वसम्म । स्थान–नाम मान्छेको पदचिह्नसँग प्रतिपल गाँसिन्छ । यससँगै मान्छेले विकास गरेका सभ्यता पनि यात्रारत हुन्छन् । त्यसैले स्थान–नाम व्युत्पत्तिको कथामा मान्छेको कला, संस्कृति, भाषा, भूगोल, ज्ञान र इतिहास टंकण हुन्छ ।
प्रत्येक ठाउँका प्रत्येक नामसँग त्यसको ऐतिहासिक, सांस्कृतिक पहिचान अभिन्न जोडिन्छ । त्यसैले स्थान हो— सामाजिक, राजनीतिक निर्माण शक्ति अनि इतिहास, पहिचान र संस्कृति–थलो ।
पृथ्वीका सबै विन्दु अर्थात् स्थानहरूका आफ्नै अस्तित्व–आख्यान हुन्छन् । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ स्थान–नाम र तिनका अस्तित्वमाथि गुनिबस्छन् । ‘उत्तरी ध्रुव एक स्थान हो र दक्षिणी ध्रुव अर्को । सगरमाथाको शिखर पनि एक स्थान हो,’ तीर्थबहादुरले लेखेका छन्, ‘भूतलमा मात्रै होइन, पृथ्वीतलका प्रत्येक विन्दुलाई वैज्ञानिकले अक्षांश र देशान्तरको गणितीय मानमा ठम्याएका छन् ।’
तर, स्थानको नाम निर्माण हुन मानव सभ्यताको लामो चक्र घटित हुनैपर्छ । ‘प्रत्येक स्थानको आफ्नै अक्षांश र देशान्तरको गणित हुन्छ, तर प्रत्येक स्थानको नाम भने हुँदैन,’ तीर्थबहादुर भन्छन् ।
स्थान–नामहरूमाथि वृत्तान्त विमर्श गरिएको एक किताब छ— कृष्णप्रकाश श्रेष्ठको ‘स्थाननामकोश’, जसले नेपाली संस्कृति र इतिहासको आलोकमा हाम्रा डाँडाकाँडा, पहाड–हिमाल, थुम्का–थुम्की, नदीनाला, तालतलैया, हिमशृंखला, वन–उपवन, गाउँबस्ती, नगर–देवस्थलका एक हजारभन्दा बढी स्थानका वास्तुकलादेखि सांस्कृतिक स्मारकसम्मका नालीबेली भन्छ । किताबका स्थान–नामहरूले तत्–तत् स्थानका रैथाने जनजातिको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, नृवंशात्मक, सामाजिक तथ्यमाथि प्रकाश पार्छ ।
किताबअनुसार, स्थान–नामहरू विभिन्न युगमा विभिन्न जनभाषाबाट प्रादुर्भाव हुन्छन् । कृष्णप्रकाश लेख्छन्, ‘कालक्रमअनुसार उच्चारण भेदले पनि स्थान–नामहरू नचिनिने किसिमबाट अपभ्रंश हुँदै जान्छन् र तिनको व्युत्पत्तिको भेउसमेत पाउन मुस्किल पर्छ ।’
किताबले ‘स्थान–नामको विश्लेषण–व्याख्या भाषिक आधारमै गर्नु जरुरी हुन्छ’ भन्छ । कृष्णप्रकाश स्थान–नामलाई स्मृतिबोध, भाषिक, धार्मिक, सामाजिक–ऐतिहासिक, नृवंशात्मक आदिका आधारमा विश्लेषण गर्छन् । ‘नेपालका स्थान–नामहरूको स्रोतलाई मुख्यतया दुई भागमा विभाजित गर्न सकिन्छ । देशको उत्तरी भेकतिर तिब्बत–बर्मेली भाषा परिवारसित सम्बद्ध स्थान–नामहरू बहुसंख्यामा पाइन्छन् भने दक्षिणी भेकतिर भारोपेली भाषा परिवारसित सम्बद्ध स्थान–नामहरूको प्राचुर्य छ ।’
०००
संस्कृति अध्येता भोगीराज चाम्लिङ स्थान–नामलाई मानवबस्तीको ‘अर्काइभ’ मान्छन् । कसरी ? जस्तो कि काठमाडौं र वरिपरिका स्थान–नामको अन्तिममा ‘ङ’ अक्षर आउने नाम छन्– च्यासिङ (काभ्रे), लाङटाङ (रसुवा), बुङटाङ (नुवाकोट), छालिङ (काठमाडौं), खाङसाङ (दोलखा), सेलाङ (सिन्धुपाल्चोक), तुम्लिङ
(संखुवासभा), लेटाङ (मोरङ), सोताङ (सोलुखुम्बु), होम्ताङ (भोजपुर), बझाङ (बझाङ) । यस्ता स्थान–नाम अनगिन्ती छन् र यी आद्य किरातसँग सम्बन्धित छन् । ‘यी क्षेत्र सर्वप्रथम किरातले आवाद गरेका थिए, त्यो समय इतिहासकालभन्दा धेरै पहिला प्राग्इतिहासकालको हो । यो निचोडमा पुग्न यस्ता स्थान–नाम ज्यादै महत्त्वपूर्ण प्रमाण हुन्,’ भोगीराज भन्छन् ।
भोगीराजको अध्ययन छ— स्थान–नाम मान्छेको बसाइँसराइ र इतिहाससम्बन्धी कथाहरूको ‘अर्काइभ’ पनि हो । कसरी ? जस्तो कि ‘कटुन्जे’ र ‘गोल्मा’ । कटुन्जे सिन्धुपाल्चोक र धादिङमा छ । र, कटुन्जे ओखलढुंगा र उदयपुरमा पनि छ । ओखलढुंगाको कटुन्जेलाई थुलुङ राईहरूले आफ्ना मृत पुर्खाहरूको आत्मा बस्ने स्थान मान्छन् । थुलुङ राई भन्छन्– काठमाडौंबाट पूर्वतर्फ लाग्दा उनीहरूका थुप्रै पुर्खाको निधन यस स्थानमा भएको थियो । त्यसैको स्मृतिमा उनीहरूले दिवंगत आत्मा राख्ने स्थानका रूपमा कटुन्जेलाई पवित्र मानेका हुन् । ‘सिन्धुपाल्चोक, धादिङ र ओखलढुंगामा कटुन्जे नामहरू हुनुको अर्थ हो– किरात राईहरू काठमाडौंबाट पूर्वी नेपालतर्फ इतिहासको कुनै कालखण्डमा बसाइँ सरेका थिए,’ भोगीराज भन्छन् ।
किरात राईको मुन्दुममा मिनापोङ्खा हलकम्बु, नियामा, वासेप्खा वामाखा जस्ता थप्रै स्थानबाट पुर्खाहरू बसाइँ सर्दै नेपाल र पूर्वी नेपालको हालको स्थानमा आएर आवाद गरेको वर्णन पाइन्छ । भोगीराजलाई लाग्छ, ती स्थान नेपालको भूगोलभन्दा बाहिर सम्भवतः चीन र साइबेरियासम्मका भूगोल हुन् । ‘जेनेटिक साइन्स, पुरातत्त्व, मानवशास्त्रीय र भाषाशास्त्रीय अध्ययनले मानव पुर्खाहरू विश्वमा फैलिएकोबारे जे भनिरहेको छ, त्यससँग लगभग मिल्दोजुल्दो देखिन्छ यी मुन्दुमी स्थान–नामहरू,’ भोगीराज भन्छन् ।
०००
स्थान–नामहरू कालबोधक (जस्तै– नयाँबजार), सतहबोधक (जस्तै– तल्लो स्वराड), आकारबोधक (जस्तै– सानोठिमी), रंगबोधक (जस्तै– कालीगण्डकी), संख्याबोधक (जस्तै– तेह्रथुम) हुन्छन् । जल, वनस्पति, इतिहास, धर्म, राजनीतिक अवस्थितिले पनि स्थान–नामहरू स्थापित हुन्छन् ।
स्थान उही हो, तर तिनलाई समयका अनेकन् कालखण्डमा फरक–फरक नामले पुकारिन्छ । जस्तो ‘पनौती’ माथि एकैछिन विमर्श गरिहेरौं । यो विशिष्ट धार्मिक नगरको नामको अर्थ हिन्दीमा अनर्थ लाग्छ— अशुभ, दुर्भाग्य, अपशकुन । महाभारत पर्वत शृंखलाको उत्तरी काखको पनौतीलाई विभिन्न कालमा विभिन्न नामले पुकारियो– ‘पूर्णमती’, ‘अश्मपुर’, ‘पूर्णवती’, ‘पुण्यवती’, ‘पानवती’, ‘पाञ्चाल’, ‘पाञ्चाल देश’, पुण्यावतीपुरी’, ‘पलाँती’, ‘पनाती’, ‘पनौती ग्राम’, ‘पनौती’ । किंवदन्ती भन्छन्– राजकुमार महासत्वको पाञ्चाल देश नै पुण्यवती हो र यसैको अपभ्रंश भएर पनौती नाम रहेको हो । महासत्वले आफ्नो शरीरको रगत–मासु खुवाएर एक भोकी बघिनी र उसको डमरुको प्राणरक्षा गरेको आख्यान छ बौद्ध–साहित्यमा ।
तिब्बती भाषाको झोमोलुङ्मा (चोमोलुङमा) नेपालीमा ‘सगरमाथा’ बन्यो र २० औं शताब्दीमा अंग्रेजीमा ‘एभरेस्ट’ । एकै स्थानलाई फरक भाषामा फरक नामले बोलाइयो । जस्तो ‘काठमाडौं’ नेवाःमा ‘यें’ भयो, पाटन ‘यल’ र बनेपा ‘भोत’ । संस्कृतको श्रीखण्डपुर नेपालीमा ‘खड्पु’ बन्यो, रोषमती ‘रोसी’ । जस्तो नेपाल भाषाको ‘ठम्बहिल’ अपभ्रंशित हुँदै ठमेल भयो ।
लेखक वसन्त थापा सोचिबस्छन्— अन्जानमै, थाहा नभइकन वा अज्ञानतामै मान्छेले सद्धे नामलाई विसद्धे बनाउँछ र गलत मनसाय नभए पनि त्यही नाम प्रचलनमा आउँछ । ‘डर के भने आजकाल जानाजान गलत मनसायले नै नाम बिगार्ने काम भइरहेको छ, डोमिनेन्ट कल्चरले नाममाथि छ्यानबिन नगरिकनै नाम बिगार्छ,’ वसन्त भन्छन्, ‘नामलाई आफ्नै किसिमले व्याख्या गर्नु बदनियत हो ।’
स्थान–नामले केवल ‘नाम’ होइन, आफ्नो ‘इतिहास’ पनि भन्छ । काठमाडौं उपत्यकामा कुनै स्थानको नामकरण सांस्कृतिक–धार्मिक महत्त्वले मात्रै होइन, त्यसको भौगोलिक अवस्थितिको आधारमा पनि गरिन्छ ।
घुमिरहेको समयको चक्रमा सहरका धेरै स्थानका नाम कालान्तरमा अपभ्रंशित भइगए, तर संस्कृतिविद् सुरेश किरणलाई लाग्छ, स्थानको भौगोलिक स्वरूप कालान्तरमा परिवर्तन हुँदै गए पनि त्यसको नामले पुरानो स्वरूपलाई जीवित राख्छ, ‘भौगोलिक स्वरूपसँगै नाम पनि परिवर्तन भइदिनाले स्थानको इतिहास र पहिचान पनि लोप हुने डर हुन्छ ।’
केही उदाहरण–कथामा पसिहेरौं । स्थान–नामैले पुरानो भौगोलिक स्वरूप पहिचान गर्न सकिने प्रसिद्ध स्थान हो— हालको ‘न्युरोड’ । यसको पुरानो नाम हो– पाको, पुखुलद्याङ् । ‘पुखुलद्याङ्’ अर्थात् पोखरीको डिल ! नेपालभाषा (नेवाः) मा ‘पा’ अर्थात् भिरालो बुझिन्छ, ‘को’ अर्थात् ‘मुनि’ । ‘पाको’ भन्नाले भिरालो मुनि रहेको स्थान । उक्त भिरालोमा फर्सी फल्ने बारी थियो, जसलाई ‘फसिक्यब (फर्सीबारी)’ भनियो । तत्कालीन रञ्जना हलसँगैको टोललाई अहिले पनि फसिक्यब भनिन्छ । ‘पाको’ टोलमा कुनै बेला पोखरी पनि थियो, त्यसैको डिलमा रहेको स्थान भएकाले त्यसलाई ‘पुखुलद्याङ्’ भनियो । अहिले पोखरी छैन, त्यसमाथि ठडिएको छ– नेपाल बैंक लिमिटेडको भवन ।
स्वयम्भूमुनिको सशस्त्र प्रहरीको मुख्यालय रहेको स्थानलाई हाल हल्चोक भनिन्छ । तर, असलमा त्यो कुनै चोक होइन, ‘होल्च्व’ हो । टुप्पो अर्थ जनाउने ‘च्व’ लाई अहिले जताततै ‘चोक’ बनाइएको छ ।
इन्द्रचोकको पुरानो नाम ‘वंगः’ हो । कसैले ‘वंघः’ पनि भन्छन् । पुरातत्त्वविद्हरूको अनुमान छ— कुनै बेला यो ठाउँ बागमती र विष्णुमती दुई नदी जोडिने दोभान थियो । दोभानलाई नेवार भाषामा ‘ह्वंगः’ भनिन्छ । ‘ह्वंगः’ शब्द नै पछि अपभ्रंश भई ‘वंगः’ हुन गएको हो । भाषाविज्ञानको नियमअनुसार, ‘ग’ अक्षर नै पछि स्वर थपिएर ‘घ’ हुन जाने हो । अतः ‘वंगः’ पनि पछि ‘वंघः’ हुन गएको हुनुपर्छ । तर, यसलाई वंगः वा वंघः नभनी हाल ‘इन्द्रचोक’ भन्न थालिएको छ जब कि यहाँ इन्द्रको न कुनै मूर्ति छ, न मन्दिर ! ‘वंगः’ शब्दले यसको पुरानो स्वरूपसमेत बताउँछ ।
माइतीघर मण्डलको पुरानो नाम हो– ‘फिब्व ख्यः’ । मण्डलबाट नेपाली सेनाको मुख्यालय जाने बाटोमा अजिमाको मन्दिर छ, जसलाई ‘फिब्व अजिमा’ भनिन्छ । त्यही अजिमाको चौरलाई ‘फिब्व ख्यः’ भनियो । हाल फिब्व अजिमा सेनाको किल्लाभित्र छ । अजिमाको चौर पनि मासेर त्यस ठाउँलाई ‘माइतीघर’ भनियो ।
काठमाडौं र ललितपुर जोड्ने किनारको प्रचलित टोल हो— ‘शंखमूल’ । त्यो खोला किनारमा पहिले धेरै पानीका मूल थिए । धेरै मूल भएकाले यो स्थानलाई ‘असंख्य मूल’ भनिन्थ्यो । ‘असंख्य मूल’ ‘संख्य मूल’ बन्यो र ‘संख्य मूल’ ‘शंखमूल’, जहाँ सिमेन्टको शंख–प्रतिमा पनि निर्माण गरिएको छ । स्थान–नामका हिसाबले यो हास्यास्पद कथा हो ।
काठमाडौंको दक्षिणमा अवस्थित ‘चोभार’ को शुद्ध नाम ‘च्वबहाल’ हो । ‘च्व’ अर्थात् ‘डाँडा’ अर्थात् ‘डाँडामा रहेको बहाल’ । तर, अहिले ‘च्वबहाल’ लाई बिनाअर्थको ‘चोभार’ बनाइयो ।
‘अग्ला पहाडलाई पवित्र स्थल मान्ने परम्परा नेपाल मात्रै होइन, विदेशमा पनि धेरै ठाउँमा पाइन्छ । काठमाडौं उपत्यकाका प्रमुख चार पर्वतहरू हुन्– फूच्व, धिलाच्व, सिपूच्व र जामाःच्व । ‘च्व’ को अर्थ हुन्छ– टुप्पो । ती ठाउँमा कुनै धार्मिक–सांस्कृतिक सम्प्रदाय आउनुअघि नै भौगोलिक आकारका हिसाबले ती नामहरू रहन गएका हुन्,’ सुरेश किरण भन्छन्, ‘तर अहिले फूच्वलाई ‘फुल्चोकी’, सिपूच्वलाई ‘शिवपुरी’, जामाःच्वलाई ‘नागार्जुन’ र धिलाच्वलाई ‘चम्पादेवी’ नामकरण गरिएको छ ।’
‘हाँडीगाउँ’ को नाम फेरेर ‘हरिग्राम’ बनाउन केही मानिसले अभियान चलाएका थिए । ती भन्थे— हरिग्रामको नाम अपभ्रंश भएरै हाँडीगाउँ बनेको हो । तर, त्यो अभियानले मूर्तरूप पाउन सकेन । वास्तुविद् सुदर्शनराज तिवारीको किताब ‘हाँडीगाउँ प्राचीन नेपालको राजधानी’ ले भन्छ— लिच्छविकालीन बस्ती हाँडीगाउँको प्राचीन नाम थियो– अण्डीपृङ्ग, जुन अण्डीग्राम हुँदै हाँडीगाउँमा बदलियो ।
उस्तै–उस्तै सुनिने नामहरू पनि विविध अर्थसहित उपस्थित रहन्छन् । जस्तो काठमाडौंको टुकुचा र मुस्ताङको टुकुचेको नाम समान लाग्छ । ‘तर, नेवारी भाषा र थकाली भाषाको मौजुदा भेदले ती दुई स्थान–नामको अर्थमा ठूलो भिन्नता रहेको खुल्न आउँछ,’ श्रेष्ठ भन्छन्, ‘टुकुचाले सानो उखुखोला अर्थ्याउँछ भने टुकुचेले नुन र अन्नको सटही व्यापार हुने चउरको अर्थ बोकेको छ ।’
अब एकैछिन मधेशका स्थान–नाममाथि विमर्श गरिहेरौं । लेखक चन्द्रकिशोरलाई लाग्छ, मधेशमा गाउँहरूको नाम केवल भौगोलिक पहिचान होइन— इतिहास, समाजशास्त्र, सत्ता–संरचना, स्मृति र संस्कृतिको संक्षिप्त दस्तावेज हो । उनी भन्छन्, ‘मधेशमा जाति, गोत्र र पेसामा आधारित नाम पनि छन्, जसले यहाँको जातीय संरचना झल्किन्छ । प्रवास, विस्थापन र पुनर्वाससँग जोडिएका नाम पनि छन् ।’ केही नाम छन्, जसले व्यक्ति, वंश, राजा, राणा, बिर्तावाल, जमिन्दार याद दिलाउँछन् । जस्तो चन्द्रनिगाहपुर, महेन्द्रनगर, त्रिभुवन नगर...। धार्मिक र पौराणिक नाम पनि छन्— शिवपुर, विष्णुपुर, रामनगर, देवपुर, महादेव पट्टी...।
मानवशास्त्री सुरेश ढकालका विचारमा स्थानको नाम केवल भौगोलिक परिचय होइन, तिनले विशिष्ट सामाजिक–राजनीतिक–सांस्कृतिक अर्थ पनि निर्माण गर्छन् । ‘जब म पूर्विपाल्पा (हाल पूर्वी नवलपरासीको एक पहाडी घना मगर गाउँ) पुगें । त्यसपछि खुल्दुली भयो– त्यस वरपरका ठाउँका मगर नामहरू कसरी खसभाषकरण गरियो ?’
सुरेशको अध्ययनले पत्ता लगायो— मगरको ‘आरे भञ्न्याङ’ लाई ‘आर्य भञ्ज्याङ’ भनिन थालिएको थियो र ‘आरुङ खोला’ लाई ‘अरुण खोला’ । मगर भाषामा पानीलाई ‘डी’ भनिन्थ्यो तसर्थ मगरात क्षेत्रका नदीहरूका नामपछाडि ‘डी’ हुन्थ्यो– जस्तै ‘मर्स्याङडी’, तर पछि अपभ्रंश गरेर ‘मर्स्याङ्दी’ भनिन/लेखिन थालियो ।
‘यसरी नाम मात्रै परिवर्तन हुँदैनथ्यो, उनीहरूको त्यस क्षेत्रसँगको ऐतिहासिक सम्बन्ध र पहिचान (इतिहास) पनि क्रमशः लोप हुँदै जान्थ्यो । काठमाडौं उपत्यकाको नेवार संस्कृति, पहिचान र इतिहासका कतिपय महत्त्वपूर्ण र रुचिकर तथ्य धूमिल हुँदै गएका छन्, यहाँका ठाउँका नामहरू फेरिँदै जाँदा । ठाउँका नामहरू यसर्थ ऐतिहासिक स्मृतिका स्रोत पनि हुन्,’ सुरेश भन्छन् ।
समय बहनुसँगै स्थानहरू पुरानिन्छन्, जसरी मान्छे पनि पुरानो हुनेछ । समयक्रममा मूल्य, जीवनशैली, कला, शिल्प सबै पुराना हुन्छन् । यो बदलावमा स्थानको नयाँ ढुकढुकी सुनिन्छ । स्थानहरूमा कतै अड्किएरै बसिरहन्छ– सन्त्रास, विभ्रम, अत्यास, दुःख, यान्त्रिकता, ऐकान्तिकता...। स्थानहरू बदलिन्छन् र ती बन्छन्– आफ्नै बदलावको साक्षी ।
