सुदूरपश्चिमका गढी, कोट र मान्डौं

मान्डौं, कोट र गढी कतै भग्नावशेष, कतै नाममा मात्र त कतै स्मृतिमा मात्र जीवित छन्, जसले सुदूरपश्चिमको राजनीतिक, ऐतिहासिक, सामरिक, प्रशासनिक र सांस्कृतिक इतिहास बोल्छन्

माघ १०, २०८२

अर्जुन शाह

Forts, forts and forts of the Far West

What you should know

धनगढी — सुदूरपश्चिम पहाडका विभिन्न ठाउँमा अहिले पनि इतिहासका मौन साक्षी झैं उभिएका छन्— मान्डौं, कोट र गढी । यी मान्डौं, कोट र गढी कतै भग्नावशेष, कतै नाममा मात्र त कतै स्मृतिमा मात्र जीवित छन् । जसले सुदूरपश्चिमको राजनीतिक, ऐतिहासिक, सामरिक, प्रशासनिक र सांस्कृतिक इतिहास बोल्छन् ।

डडेलधुरामा रहेका प्रख्यात अमरगढी, अजयमेरु कोट होस् या गन्यापधुरामा पर्ने कैलपालमान्डौं । बैतडीको सदरमुकाम चिनिने गढी होस् या देहीमान्डौं गढी र मान्डौंका नामले इतिहासदेखि परिचित छ । डोटीका विभिन्न ठाउँले पनि गढी, कोट र माण्डौंको विरासत बोकेका छन् । शिलगढी होस् या डुम्राकोट, भैरवकोट, धुर्कोट, काँडामान्डौं, दुर्गामान्डौं, बिजौडामान्डौं ऐतिहासिक ठाउँ हुन् ।

अछाम, बाजुरा र बझाङलाई त कोट र मान्डौंहरूको जिल्लाभन्दा पनि अतिशयोक्ति नहोला । अछाममा मष्टामान्डौं, बेतालमान्डौं, बिमकोट, घुघुरकोटलगायत चिनिएका ठाउँ हुन् । बाजुरामा बार्जुकोट, काँडाकोट, कुडीकोट, जुकोट, जुगाडीकोटलगायत कोटका नामले परिचित स्थान हुन् । यस्तै कैलाशमान्डौं, कुल्देवमान्डौं, ज्युलेखमान्डौं यहाँ मान्डौं जोडिएका ठाउँ हुन् ।

डडेलधुरा सदरमुकामकै नामकरण नै अमरगढीबाट भएको अमरगढी किल्ला संरक्षण समितिका अध्यक्ष प्रविन जैरुको भनाइ छ । अमरगढी पश्चिम नेपालको गौरव हो । नेपाल एकीकरणको समयमा निर्माण गरिएको अमरगढी किल्लाले ऐतिहासिक गौरव र सौर्यको इतिहास कायम गरेको छ । पुर्खाहरूको वीरता झल्काउने थलो पनि हो अमरगढी ।

रणबहादुर शाहको नेतृत्वमा सञ्चालित नेपाल एकीकरणका क्रममा गोरखाली सेनासँग वि.सं. १८४७ मा डोटेली सैनिकबाट नारिदाङमा पराजित भएपछि डोटी राज्य नेपाल अधिराज्यमा गाभियो । त्यस क्रममा प्रशासकका रूपमा अमरसिंह थापाले अमरगढी किल्लालाई आधार केन्द्र बनाएर अमरगढी किल्लाको निर्माण गरिएको इतिहास छ ।

अमरसिंह थापापछि काजी जगतजित पाण्डे, गौलैया, रणवीर खत्रीलगायत सैनिक कमान्डरले अमरगढी किल्लालाई आधार बनाएर विभिन्न राज्य र महाकालीपारि भारतका विभिन्न ठाउँमा आक्रमण गरेका थिए । अमरसिंह थापाले अल्मोडामा पनि किल्ला निर्माण गरेको समितिका अध्यक्ष प्रवीन जैरुको भनाइ छ ।

डडेलधुराकै अजयमेरु कोट पनि ऐतिहासिक स्थान हो । यसको नामकरणबारे आधिकारिक अभिलेख भेटिन्न । तत्कालीन डोटी राज्यका राजा नागी मल्लले ग्रीष्मकालीन समयमा बस्न अजयमेरु निर्माण गराएको इतिहास छ । त्यहाँ मल्ल राजाको दरबार, रानीले रानीताल नुहाउन जाने गुफा, घोडा राख्ने तबेला, नौला, देवलहरूको संरचना भग्नावशेषका रूपमा रहेका स्थानीय बताउँछन् ।

Forts, forts and forts of the Far West

डोटीमा डुम्राकोट, भैरवकोट, धुर्कोट लगायतका ऐतिहासिक राजनीतिका केन्द्र छन् । यी स्थानबाट तत्कालीन समयमा विभिन्न राजा रजौटाले शासन तथा रजवारी सञ्चालन गरेको इतिहास छ । देवस्थलका रूपमा रहेका डोटीस्थित हाल पूर्वीचौकी गाउँपालिकाको काँडामान्डौं, केआईसिंह गाउँपालिकाको दुर्गामान्डौं र शिखर नगरपालिकामा बिजौडामान्डौं छन् । देवदेवस्थलका रूपमा रहेका यी स्थान परापूर्वकालदेखि मान्डौंका नामले परिचित छन् ।

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा पर्ने कैलपालमान्डौंको पनि आफ्नै इतिहास छ । तत्कालीन डोटी राज्यका राजा नागी मल्ल जयराजसँग ब्राह्मण जयराज पनेरु बस्ने गरेको स्थानीय बताउँछन् । एक सन्दर्भमा राजा मल्लले पनेरुलाई के चाहिन्छ उपहार माग भनेर सोधेछन् । पनेरुले जैसेरा फाँट रोजेपछि त्यो ठाउँ उपहार पाए ।

उनीहरूको देउता कैलपाल थियो । जैसेराबाट पूजाआजाका लागि कैलपालमा आवतजावत गर्न कठिनाइ हुने भएपछि पनेरुलाई कैलपाल देवताले जुन ठाउँमा बस्छौं त्यही पुज्नु भनेर घण्टसहित दिए । त्यसपछि साविक गाविसको नाम पनि कैलपालमान्डौं राखिएको स्थानीयको भनाइ ।

भागेश्वर गाउँपालिका–३ मा बोगटा कोट पनि डडेलधुराको अर्को कोट हो । त्यहाँ बोगटा जातिको बसोबास र राज्य थियो । पछि शाही थरका मान्छे आएर राज्य कब्जा गरे र आफ्नो राज्य चलाए । पछिल्लो समयमा शाही कोट पनि भन्छन् । परशुराम नगरपालिका मलासमा पिपलकोट छ ।

सुदूरपश्चिममा देवी देउताको बासस्थल नै मान्डौं हुन् । यिनै मान्डौंका नामबाट विभिन्न ठाउँको नाम रहन गएको बूढापाकाहरूको भनाइ छ । अछाममा हालको साँफेबगर नगरपालिकाअन्तर्गत पर्ने मष्टामान्डौं, बेतालमान्डौं, खापरमान्डौं यहाँका प्रमुख मान्डौं हुन् । यस्तै बिमकोट, घुघुरकोट अछामका राज्य हुन् ।

बाजुरामा बाजुरेली राजाले राज्य सञ्चालन बार्जुकोटबाट गरेका हुन् । बझाङका सिंह र बाजुरा ठकुरीहरू भाइ भाइ रहेको इतिहासका अध्येता जहरसिंह थापा बताउँछन् । बाजुराका ठकुरीहरू बझाङबाट आएका हुन् । डुगरसिंह बझाङबाट आएर बार्जुकोटबाट बजुरेली राज्यहरूले राजकाज सुरु गरेका थिए । पछि उनका सन्तानले पनि राज्य सञ्चालनलाई निरन्तरता दिएका थिए ।

बाजुराको नामकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाण भेटिँदैनन् । त्यसैले नामकरणका सन्दर्भमा इतिहासकारका मत पृथक्पृथक् छन् । अभय मल्लको ताम्रपत्रमा ‘बार्जु’ शब्दको उल्लेख तथा ‘सुदूर पश्चिमाञ्चल विकास क्षेत्र मेचीदेखि महाकाली’ पुस्तकमा ‘बाज्र’ शब्दको अपभ्रंशबाट बाजुरा हुन आएको हो भन्ने भनाइ पनि छ ।

अन्य किंवदन्तीअनुसार बाजुराको नामकरण झुर्रा बाजको अपभ्रंश हुँदै बाज झुर्रा र बाज झुर्राबाट बाजुरा रहन गएको र बाजुराको शासन बार्जुकोटबाट सञ्चालन भएको बताइन्छ । बार्जुकोटको पुरानो नाम ढिक्याथर्पु भएको बाजुरेली इतिहासका अध्येता जहरसिंह थापाले जनाए । कुडी र काडामा बसेर राजकाज गरेका हुन् । रजबारीका रूपमा मान्यता दिए । जुगाडामा पनि कोट छ । पुण्य मल्लका पालामा जुगाडा कोट पुरानो नामा पियुथर्पु हो । जुगाडी पण्डितहरूले कर उठाउने लगायतका अधिकार पाएको ब्राह्मण राज्य सञ्चालन गरेका थिए । बाजुराका अन्य कोट कोल्टी, छातिकोट जुकोट कुडी काडा, एक तहका हुन् ।

बाजुरामै पोरखेगढी छ । बाजुराका दुई क्षेत्रलाई भौगोलिक रूपमा विभाजन यही पोरखेगढीले गर्दछ । डोटी स्वतन्त्र भएपछि जुम्ला खस साम्राज्यका राजाहरूले पोरखेमा अस्थायी गढी बनाएर बसे । सामारिक दृष्टिले यो ठाउँ महत्त्वको थियो ।

Forts, forts and forts of the Far West

बाजुराका माण्डौंहरू पनि देवदेवस्थलका नामबाट बनेका हुन् । अध्येता थापाका अनुसार बाजुरामा पाँच भाइ देवता मान्डौंका रूपमा स्थापित भएका थिए । कैलाशमान्डौं, डुगरको कैलाश, जरणीको कैलाश आदि । यस्तै, भट्टेचौरमा तत्कालीन राजाहरूले कुलदेवी स्थापना गरेका थिए । त्यही कुलदेवीबाट कुल्देवमान्डौं नाम रहन गएको इतिहास छ ।

बैतडीमा सदरमुकाम रहेको ठाउँमा गढी छ । देहीमान्डौं पनि बैतडीको देवस्थल हो । बझाङमा कोटैकोट छन् । बझाङी राजाहरूले सुनिकोटबाट शासन गरेको इतिहासका अध्येता विष्णभक्त जोशी शास्त्री बताउँछन् । सुनी एउटा दरा (क्षेत्र) थियो । त्यही दराको केन्द्र भागमा राजाले दरबार बनाएपछि सुनिकोट नाम रहन गएको उनले जनाए ।

जोशीका अनुसार सिरु बम्म सुनिकोटका पहिलो राजा हुन् । बझाङका तीन राज्य जेठा राजमल बम्म डुंग्राकोटका राजा भए, माइला जयती बम्म छबीसका राजा भए । कान्छा सिरु बम्म सुनिकोटका राजा भएका थिए । मष्टा गापामा पर्ने डुंग्राकोट जुम्लाका राजा अभय मल्लका पालामा स्थापना भएको हो । हालको डुंग्राकोटलाई त्यसबेला उधम्बरपुरी भनिन्थ्यो । जाडोमा उधमपुरीमा आउँथे अभय मल्ल । राजमल बम्मले राजकाज गरेका थिए । त्यस बेलाका राजा डुंगरबाट डुंग्राकोट रहन गएको किंवदन्ती छ । यस्तै अर्को मुख्य कोट तल्कोट हो । ताल परेको ठाउँ नजिक भएकाले तल्कोट नाम रहन गएको इतिहासका जानकार जोशीको भनाइ छ ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully