कपिलवस्तुमा जताततै हवा छन्— मैनिहवा, पिपरहवा, मुरण्डीहवा, कचरिहवा, निविहवा, पट्खहवा, बेलहवा, सेमरहवा, कडजहवा, कजरहवा...। रूपन्देहीमा पनि ‘हवा’ खुब चल्छ— पक्लिहवा, कोटिहवा, कोइलिहवा...। सबै स्थान हुन्– पुरातात्त्विक र ऐतिहासिक स्थल ।
What you should know
कपिलवस्तु — रूपन्देहीको सदरमुकाम बेथरीबाट भैरहवा सारिएको अझै सय वर्ष पुगेको छैन । तर, पश्चिम नेपालको पुरानो सहर भैरहवाको नामकरण उत्खनन कसरी भयो ? त्यो जान्न करिब साढे ४ सयअघिको समयमा पुग्नुपर्छ ।
मणिमुकुन्दले सन् १५८२ देखि तीन वर्षमा तीन पटक काठमाडौं उपत्यकामा आक्रमण गरेका थिए । तेस्रो आक्रमणमा उनले आफूलाई कर नदिनेको क्षेत्रबाट भैरव भगवान्का पाँच वटा मूर्ति लुटेर ल्याए । त्योमध्ये मुख्य मूर्ति पाल्पाको भैरवस्थानको रहेको इतिहासविद् विजयसागर श्रेष्ठ बताउँछन् ।
बाँकी चारवटा पनि तानसेन र बुटवल आसपास छन् । पाल्पाको भैरवस्थान मन्दिरले त्यसबेला भैरहवा गाउँमा भैरव भगवान्को पूजाआजा गर्न गुठी स्थापना गर्यो । गुठी स्थापना गरी भैरवको पूजाआजा सुरु भएपछि भैरहवाको नाम ‘भैरव’ राखिएको इतिहासविद् श्रेष्ठले बताए ।
भैरव नामकरणपछि उतिखेर ठाउँपछाडिको शब्दमा ‘ह’ र ‘वा’ को मात्रा जोडेर उच्चारण गर्ने स्थानीय चल्नचल्ती रहेकाले उच्चारण गर्दागर्दै ‘भैरहवा’ भएको उनले बताए । तर, वयर–वयरैको झाडी र रुख प्रशस्तै हुँदा वैरहवा भन्दाभन्दै भैरहवा हुन गएको पनि सुनिने इतिहासविद् श्रेष्ठले बताए ।
भैरहवा मात्रै हाइन, पश्चिम नेपालका कपिलवस्तु र रूपन्देहीका धेरै ठाउँका नाम पछाडि हवा शब्द जोडिएको छ । अझ दुई जिल्लाका सदरमुकामको नामका पछि हवा नै जोडिएको छ । त्यस्तै सीमावर्ती भारत क्षेत्रमा पनि ठाउँविशेषका नाममा ‘हवा’ जोडिएको छ । किन हवा शब्द जोडियो ?
हवाले स्थान विशेषलाई पहिचान गराउने विशेषज्ञ बताउँछन् । स्थानीय मन्दिर, पहिचान, परम्परा, संस्कृति र घटना जोगाइराख्न पनि ठाउँ विशेषका पछि हवा शब्द जोड्ने चलन रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्र निर्देशक प्रा. डा. गिरी गिरीले बताए । जातीय पहिचान र सभ्यता स्थापित गर्न पनि जातका पछि हवा राखेर नाम राख्ने गरिएको छ ।
पश्चिम नेपालको अर्को महत्त्वपूर्ण ऐतिहासिक सहर तौलिहवाको नामपछाडि पनि हवा शब्द लागेको छ । मध्यबजारको प्रसिद्ध तौलेश्वरनाथ मन्दिरको नामबाट तौलिहवा भएको अवधि लोककला विशेषज्ञ पशुपतिमणि त्रिपाठीले बताए । बाबा तौलेश्वरनाथ महादेवको स्थान विशेषमा बस्ती जनाउने तौलिमा हवा जोडिएर तौलिहवा भएको उनले बताए ।
पुरातात्त्विक स्थल क्रकुछन्द बुद्धको जन्मस्थान तथा भारतीय सम्राट अशोकले स्तम्भ निर्माण गरेको ठाउँ गोटिहवाका पछाडि पनि हवा शब्द लागेको छ । धेरै वर्षअघि माटोमुनि पुरिएको स्तम्भमाथि आगो लाग्दा स्तम्भ तीन टुक्रा (गोटा) मा विभाजन भएको थियो । स्तम्भ फुटेर गोटागोटामा विभाजन भएपछि गोटापछि हवा शब्द लागेर गोटिहवा भएको वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले बताए । अवधि भाषामा हवा भनेको सानो बस्ती बुझिन्छ । त्यसैले सानो बस्ती रहेको ठाउँलाई गोटिहवा भन्न थालिएको जनश्रुति छ ।
अर्को महत्त्वपूर्ण पुरातात्त्विक स्थल कनकमुनि बुद्धको जन्मस्थान तथा भारतीय सम्राट् अशोकले स्तम्भ निर्माण गरेको ठाउँ निग्लिहवामा पहिले निगालो बाँसको प्रजाति धेरै पाइन्थ्यो । निगालो धेरै पाइने हुँदा ठाउँविशेषको विशेषता जनाउन पछि हवा शब्द जोडिएको हो । निगलोहवा भन्दाभन्दै अपभ्रंश भएर निग्लिहवा भएको बताइन्छ ।
त्यस्तै कपिलवस्तु नगरपालिका–९ मा अर्को महत्त्वपूर्ण पुरातात्त्विक स्थल सगरहवा छ । मगध नरेश बिडुडबले शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तुमा आक्रमण गर्दा सगरहवामा ९ हजार ९ सय ९० जना शाक्यहरूको नरसंहार गरिएको चिनियाँ पैदल यात्री ह्वेङसाङले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका छन् । सगरहवामा संग्राम (लडाइँ) भएको हुँदा संग्राम शब्द अपभ्रंश हुँदा सगर भई त्यसमा हवा शब्द जोडेर सगरहवा भन्न थालिएको वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले बताए ।
शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) नजिकै धमनिहवा स्तूप रहेको छ । धमनिहवा स्तूप पनि धम्म स्तूपबाट अपभ्रंश हुँदै धमनिहवा भएको हो । मधेशी समुदायको बाहुल्य रहेको ती क्षेत्रमा बोल्ने स्थानीय भाषाका कारण ‘हवा’ शब्द जोडिन आएको संस्कृतिसम्बन्धी जानकार साहित्यकार हरिराज शर्माले बताए ।
तिलौराकोट नजिकै दक्षिणपट्टि डढेका, पाकेका इँटका टुक्रा छरपस्ट पाइन्छन् । त्यो बुद्ध कालमा औद्योगिक र हातहतियार बनाउने कलकारखाना रहेको क्षेत्रमा रूपमा रहेको पुरातत्त्वविद्हरू बताउँछन् । त्यहाँ अवधि भाषामा मुर्चा (खिया) लागेका इँटहरू पाइन्छन् । मुर्चा लागेका इँटा पाइने हुँदा स्थानीयले त्यसलाई मुर्चमा हवा शब्द जोडेर मुर्चहवा कोट भन्ने गरेको पाइन्छ ।
त्यस्तै कपिलवस्तु नगरपालिका २ मा पर्ने बर्दहवा गाउँको नामकरण भने रोचक छ । बर्दहवामा धेरै पहिले एउटा गोरुले बालीनाली नष्ट गरेर कृषकलाई ठूलो क्षति पुर्याउँदै आएको थियो । त्यसैले एक गैर हिन्दुले उक्त गोरुको टाउको छिनाएर मारे । त्यसपछि रातिराति अदृश्य शक्तिले गाउँमा निक्कै दुःख दिन थाल्यो ।
गाउँलेहरूले अत्तालिएर गाउँनजिकै पिपलको रुखमुनि थान स्थापना गरी टाउको नभएको गोरुको मूर्ति चढाए, सुख शान्तिको कामना गरे । गोरुलाई अवधि भाषामा बर्द भनिन्छ । बर्दले दुःख दिएको ठाउँ हुँदा हवा शब्द थपेर ठाउँको नाम बर्दहवा राखेको बूढापाका बताउँछन् ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा हर्दिहवा ठाउँ छ । उचो भागको उक्त ठाउँमा प्रशस्त बेसार खेती गरिन्थ्यो । बेसारलाई अवधि भाषामा हर्दी भनिन्छ । त्यही भएर उक्त ठाउँको नाम हर्दिमा हवा शब्द जोडेर हर्दिहवा राखिएको पाइन्छ ।
रूपन्देहीमा लुम्बिनी नजिकै गैडहवा ताल छ । सय वर्षअघि पहिले तालमा गैंडा–बाघलगायत वन्यजन्तु आहाल खेल्न आउँथे । स्थानीयको वन्यजन्तुसँग जम्काभेट हुन्थ्यो । ताललाई अवधि भाषामा गडहा भनिन्थ्यो । गैंडाहरू गड्हामा रमाउने हुँदा स्थानीयले उक्त ठाउँलाई गैंडामा हवा शब्द थपेर गैंडहवा भन्न थालेको स्थानीय सन्दीप गुप्ताले बताए ।
गैंडहवा गाउँपालिकामा लोन्डिहवा गाउँ छ । लुम्बिनी–फयारलाइन सडक खण्डमा पर्ने उक्त गाउँमा लोनिया जातिको बहुल संख्या थियो । पेसाले तरकारी खेती गर्ने लोनिया बस्ने हुँदा आफ्नो जातीय पहिचान सहितको नाम राख्न उनीहरूले लोनिहवा राखे ।
रूपन्देहीको भैरहवा बजार नजिकै दक्षिणमा मेउडिहवा गाउँ छ । सिद्धार्थनगर नगरपालिका–२ मा पर्ने यो ठाउँमा विजयको झन्डा गाडिएकाले झन्डीबजार पनि भनिन्छ । नेपालमा १०४ वर्षसम्म शासन सञ्चालन गरेका राणाहरूको अन्त्य गर्ने सिलसिलामा गोपालशमशेरको परामर्श तथा केआई सिंहको नेतृत्वमा २००७ मा मोर्चाबन्दी गरिएको ऐतिहासिक स्थल हो मेउडिहवा ।
कपिलवस्तुमा मैनिहवा, पिपरहवा, मुरन्डीहवा, कचरिहवा, निविहवा, पट्खहवा, बेलहवा, सेमरहवा, कडजहवा र कजरहवा लगायतको ठाउँ नामकरण गरिएका छन् । अधिकांश ठाउँ पुरातात्त्विक तथा ऐतिहासिक स्थल हुन् । रूपन्देहीमा पक्लिहवा, कोटिहवा र कोइलिहवा नामकरण लगायतका ठाउँ छन् । त्यस्तै भारतको सीमावर्ती क्षेत्रमा कक्रहवा, पकडिहवा र पिपरहवा नाम गरेका ठाउँ छन् ।
भैरहवा सहरको नाम बढी चल्तीमा रहे पनि अहिले प्रशासनिक कामहरू भने सिद्धार्थनगर नगरपालिकाको नामले हुने गर्छ । सिद्धार्थनगरको नामकरणको सन्दर्भ गौतम बुद्धसँग जोडिएको छ । सिद्धार्थनगरलाई पहिले ‘भैरव’ भन्ने गरिन्थ्यो । तर, पछि गौतमबुद्धको नाम सिद्धार्थ भएको र यसै क्षेत्रमा जन्मिएको हुँदा ‘भैरव’ नामलाई रूपान्तरण गरेर सिद्धार्थनगर राखिएको स्वतन्त्र विश्व कोष विकिपिडियामा उल्लेख छ ।
रूपन्देहीको तत्कालीन मुजौली, बगाहा र पडसरी गाउँ पञ्चायतको आंशिक भाग र पक्लिहवा गाउँ पञ्चायतको सम्पूर्ण क्षेत्रलाई मिलाएर वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत घोषणा गरिएको थियो ।
साहित्यकार तथा समाजसेवी कोमलदत्त तिवारीको प्रयासमा नगरको नाम ‘सिद्धार्थनगर’ नामकरणको प्रस्ताव नगर पञ्चायतबाट सिफारिस गरी जिल्ला पञ्चायतबाट पारित भएको थियो । त्यसपछि तत्कालीन सरकारद्वारा २०३३ चैत २९ मा लागू हुने गरी लालमोहर लागेपछि तत्कालीन भैरहवाको नाम सिद्धार्थनगर कायम गरिएको थियो । सरकारी कामकाजमा सिद्धार्थनगर नाम प्रयोगमा रहे पनि सर्वसाधारणले यसलाई भैरहवा भनेर जान्दछन् ।
त्यस्तै तौलिहवाका नाम सबैले जाने पनि प्रशासनिक काम भने कपिलवस्तु नगरपालिकाकाको नामबाट हुने गर्छ । २०३९ मा बरगदवा, मालपारा, पिपरी, कपिलवस्तु आदर्श गाउँ पञ्चायत र तिलौराकोट, गोटिहवा र गोबरी गाउँ पञ्चायतको केही भागलाई मिलाएर तौलिहवा नगर पञ्चायत बनाइएको थियो । सरकारले २७ फागुन २०७३ मा स्थानीय तहलाई पुनःसंरचना गरेको थियो ।
धर्मपनिया, दोहनी, जहदी, निग्लिहवा र सौराहा गाविस मिलाएर साविकको तौलिहवा नगरपालिकाको नामलाई कपिलवस्तु नगरपालिकामा परिवर्तन गरिएको थियो । सरकारी कामकाजमा कपिलवस्तु नाम रहे पनि जनमानसले यसलाई तौलिहवा नै भनेर चिन्छन् ।
