मखन, पाको, झोछेँ : काठमाडौंका ‘कोर’

भक्तपुर र थिमितिर अझै ऐतिहासिक रैथाने नामै कायम छन् । कीर्तिपुर र छेउछाउतिरका ठाउँका नामबारे पनि यही तथ्य लागू हुन्छ ।

माघ १०, २०८२

हिमेश

Butter, Pako, Jhochhe: The 'core' of Kathmandu

What you should know

काठमाडौँ — भित्री काठमाडौंको मखन टोल । काठमाडौं दरबार क्षेत्रको नजिकैको टोल । आफू हुर्केर बढेको ठाउँ । यसको नाम कसरी रह्यो भन्ने कौतूहलता त छँदै थियो । यसलाई मखं भनिन्छ, नेपाल भाषामा । त्यसको सिधा सिधा अर्थ हुन्छ, देखिनं । हनुमानढोका दरबार क्षेत्रकै तलेजु निर्माण हुँदा त्यसै छेउका बासिन्दाले त्यसलाई देखेनन् ।

जति बेला निर्माण पूरा भयो, त्यसलाई एकाएक देखेर आश्चर्य माने । त्यसैले टोलकै नाम मखं रह्यो । सुन्नमा त रमाइलै छ, तर यो नै टोलको नाम रहनुमा खास कारण होइन । भन्नेले भन्छन्, नाममा के छ ? तर होइन, नाममा सबै छ । नामले इतिहास, संस्कृति, रहनसहन सबथोक भनिरहेको हुन्छ । यस्तोमा प्रश्न हो, मखन नामचाहिँ कसरी बस्यो होला ?

त्यही तलेजु छेउमै मखनमण्डप भन्ने स्थान रहेछ, लिच्छविकालमै । जस्तो काष्ठमण्डप । मखनमण्डपकै कारण अन्ततः यसको नाम जुरेको रहेछ । मखनमण्डपसँगै भद्रकाली नाच देखाउने परम्परा अझै जीवित छ । मखनसँगै इन्द्रचोक पनि छ । यसलाई वंग भनिन्छ । यहीं आकाश भैरव पनि छ ।

वंकत्वस्थान कालान्तरमा वंग भएको रहेछ । अब मखन हुँदै इन्द्रचोकबाटै धेरै नजिकको असनकै कुरा । यसलाई असं भनिन्छ । यो भयो अशोकमण्डपको अपभ्रंश । यहीं असंभुलु अजिमा पनि रहेको छ, त्यो भनेको अन्नपूर्ण हो । हनुमानढोका दरबार क्षेत्रको नजिकै अनेक नाम चलेका ऐतिहासिक सहर छन् । इन्द्रचोकको छेउमै वटु पनि रहेको छ ।

त्यहाँ पाइएको एउटा अभिलेखमा श्रीवंतुतोलक लेखिएको छ र त्यसैबाट सुरुमा वतुं भनियो, पछि वटु । यसलाई गुच्चा टोल पनि भनिन्छ । यो स्थानबारे ऐतिहासिक जानकारी खोज्नु किन पनि महत्त्वपूर्ण छ भने यहीं नेपालकै पहिलो चर्च रहेको मानिन्छ । एउटा तथ्य के निश्चित छ भने मल्ल राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा क्रिस्टियन पादरीलाई बस्न सुरुमा दिएको स्थान यही हो ।

असनकै छेउमा कमलाक्षी पनि पर्छ । यसलाई नेपाल भाषामा कःमिलाछि भनिन्छ । अभिलेखमा यो स्थानलाई क्रमिलाछ पनि भनिएको छ । यही त्यःर टोल पनि पर्छ । अभिलेखमा यसलाई किटान गरेरै त्यवद्यत्वार उल्लेख गरिएको छ, पछि यो नै त्यःर बन्यो ।

थँहिति त यहाँनिर छुटाउनकै नहुने टोल भयो । यसैबाट ठमेल नाम बसेको हो । यहाँ रहेको लुँहितिलाई छापेर ठूलै स्तूप बनाइएको मानिन्छ । अझै पनि यस स्तूपमा कान थाप्दा पानीको आवाज सुन्न सकिने जनविश्वास छ । यहाँ ऐतिहासिक विहार थियो र यसको नाम क्वाठ विहार रहेको मानिन्छ । यो ऐतिहासिक ठकुरी राजाहरूको कुल पनि हो ।

इन्द्रचोक छेउमै केल त्वाः पनि छ । अहिले केलटोल पनि भनिन्छ, अनि जनबहाल पनि । यो त काठमाडौंकै सबैभन्दा प्राचीन बस्तीमध्ये एक मानिन्छ । नयाँ सडककै छेउमा एउटा अर्को प्रसिद्ध टोल पनि छ र यो हो, खिचापुखू । अचेल खिचापोखरी भनिन्छ यसलाई । खासमा यो खेचापुखू हो । यसलाई केहीले पाको पनि भन्छन् ।

तेबहालको शिलालेखमा यसलाई खिरा पुखुरी भनिएको छ । यही पछि खेचापुखूमा परिणत भएको हो भन्दा हुन्छ । हनुमानढोका दरबार क्षेत्रसँगै ग्वाचेमुगः गल्ली छ । केही अभिलेखमा यसलाई ग्वाछे मुगल भनिएको छ । चिकंमुगः अर्को टोल भयो, यससँग जोडिएको । चैत्रमगुटोलबाट पछि यसको नाम पनि चिकंमुगः हुन गएको मानिन्छ । झोछेँ अर्को प्रसिद्ध टोल भयो ।

नेपालमा विदेशी पयर्टक आउन थालेयता सबैभन्दा बढी चिनिएको ठाउँ हो, यो । यहाँ लहरै घर भएको हुनाले झोछेँ भनियो पनि भनिन्छ । झोको अर्थ लहरै भयो, छेँ त घर नै भयो । तर, यो मात्रै पनि यो ठाउँको नाम जुर्नुमा प्रमुख कारण रहनेछ । यो पनि प्राचीन बस्ती थियो र यसलाई सुरु सुरुमा झोराछेँ र झोलछेँ पनि भनियो ।

यसै छेउछाउ नरदेवी टोल पनि छ । यसको खास नाम ङ्त हो । यहाँ ङ्त अजिमा छ । यसको निर्माण गुणकामदेवले गरेको मानिन्छ । यसले कम्तीमा प्रस्ट पार्छ, यो ङ्त अजिमाको मन्दिर र यो टोल आफैंमा कति धेरै पुरानो हुँदो हो ।

अब काठमाडौंको ‘कोर’बाट बाहिर निस्कौं । बानेश्वर–चर्चा गरौं । सुरुका दिनमा बानेश्वर निकै ठूलो क्षेत्रफल आगटेको ठाउँ थियो । तर, खासै बस्ती बसेको थिएन । जति ठाउँमा बस्ती बसेको थियो, तिनीहरूको केही नाम थियो– गुन्थु, नांगा, चागा, गजबु, बालमोजा, नागलडोल, यतपौं आदि । शंखमूल फाँटलाई यतपौ भनिन्थ्यो । यहाँबाट ललितपुरतिर जाने हो भने पाटन दरबार क्षेत्रलाई नेपाल भाषामा मंगः भनिन्छ ।

प्राचीन समयमा यो स्थानको नाम थियो, मणिगल । यससँग ललितपुरका अनेक प्रसिद्ध टोल जानिन्छ, जस्तो, हःखा, हौगः, महापाः, पट्को, स्वथः । मल्ल राजाको पालामै यी स्थान अनेक कारणले महत्त्वपूर्ण थियो । जाउलाखेल भनेको नेपाल भाषामा भात छर्ने चौरबाट जुरेको नाम हो । जा ह्वला ख्यःबाटै अन्ततः जाउलाखेल नाम बसेको हो नै ।

भक्तपुर र थिमितिर अझै ऐतिहासिक रैथाने नामै कायम छन् । छैन भने पनि त्यसलाई पुनर्उत्थान गर्ने काम भइरहेकै छ । कीर्तिपुर र त्यसको छेउछाउतिरका ठाउँका नामबारे पनि यही तथ्य लागू होला ।

धेरै वर्षअघि जाने हो भने ज्ञानेश्वरमा रहेको शिलालेखमा काठमाडौं उपत्यका र त्यससँग जोडिएका नजिकका स्थानलाई नेपालमण्डल भनिएको छ । ‘नेपाल महात्म्य’ किताबमा नेपालमण्डलको क्षेत्र कति भनेर उल्लेख गरिएको छ । पछि यसैबाट देशको नाम नै नेपाल रहन गएको पनि मानिन्छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जोडेर भने स्वनिगः बन्छ । पछिल्लो समय जुन स्थानको नाम प्राचीन ढंगले रैथाने उपलब्ध छ, त्यसको नाम त्यही हुनुपर्छ भन्ने आवाज धेरै सुनिएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर नगरपालिकाले यससम्बन्धी प्रयास सुरु गरेको समाचार पनि आए । यसले सार्थकता पाउने हो भने यो कामले ऐतिहासिक र सांस्कृतिक रूपमा न्याय पाएको पनि मान्न सकिनेछ । हो, यसका लागि प्रशस्त अनुसन्धान र बहस भने आवश्यक छ ।

हिमेश

Link copied successfully