वीरगन्जमा विद्यालय स्थापना गर्न स्थानीय व्यापारी दाजुभाइ रघुवीर राम र महावीर प्रसादले तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरलाई पटक–पटक बिन्ती चढाएपछि अन्ततः १९९४ मा त्रिजुद्ध मावि खोल्न अनुमति पाएका थिए
What you should know
पर्सा — देशकै पहिलो शिक्षालयका रूपमा काठमाडौंमा दरबार हाईस्कुल खुलिसकेको थियो । वीरगन्जमा पनि विद्यालय स्थापना गर्न हौसिएका स्थानीय व्यापारी दाजुभाइ रघुवीर राम र महावीर प्रसादले तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरलाई पटक–पटक बिन्ती चढाएर अनुमति लिए ।
अनि १९९४ मा ‘नेपाल गभर्नमेन्ट हाई इंग्लिस स्कुल वीरगन्ज’ खुल्यो । त्यसपछि नाम परिवर्तन हुँदै हाल त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा छ ।
उतिबेला राणा प्रधानमन्त्री जुद्धशमशेरको नामसँग तत्कालीन राजा त्रिभुवनको नाम पनि जोडेर विद्यालयको नामकरण गरी सन्तुलन मिलाउन खोजिएको थियो । वीरगन्जमा उतिबेला शैक्षिक योग्यता पुगेका व्यक्ति नभेटिएपछि भारत कोलकाताका वनमाली भट्टाचार्यलाई विद्यालयको पहिलो प्रधानाध्यापक नियुक्त गरिएको थियो । वर्तमान नवीनकुमार मिश्र १४ औं प्रअ हुन् ।
वीरगन्जको बिर्तामा रहेको यो विद्यालयको पहिलो भवन १९९७ मा दाताले निर्माण गरिदिएका हुन् । २०६७ मा उच्च मावि बनेको यस विद्यालयमा २०७३ देखि प्राविधिक सिभिल इन्जिनियरिङको पनि अध्ययन अध्यापन थालिएको छ । यस विद्यालयबाट एसएलसीमा बोर्ड प्रथमदेखि उत्कृष्ट १० मा पर्ने विद्यार्थीको सूची लामै छ ।
यस विद्यालयबाट २००४ को एसएलसीमा रामेश्वरप्रसाद उपाध्याय, २००५ का दामोदरप्रसाद क्याल, २००७ का नन्दकिशोर प्रसाद, २००८ का महावीरप्रसाद अग्रवाल र २००९ का बाबुलाल अग्रवाल, २०२९ का राजेन्द्र कावरा, २०३१ का सुमनकुमारी खनाल (छात्रातर्फ) ‘बोर्ड फर्स्ट’ भएका थिए । तीन बिघा क्षेत्रफलमा फैलिएको विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म चार हजार विद्यार्थी अध्ययनरत छन् । १ सय १५ शिक्षक र एक दर्जन कर्मचारी कार्यरत छन् ।
स्थापनाकालदेखि २०२८ सम्म अंग्रेजी माध्यम सञ्चालित यो विद्यालय त्यसपछि नयाँ शिक्षा लागू भएपछि नेपाली माध्यम विद्यालयमा रूपान्तरित हुन पुगेको हो । २०७२ देखि पुनः पूर्ण रूपमा अंग्रेजी माध्यममा अध्ययन अध्यापन हुन थालेको छ । अहिले कक्षा ११ र १२ मा मात्रै वाणिज्य र विज्ञान संकायमा गरी १ हजार १ सय विद्यार्थी अध्ययनरत छन् ।
दृष्टिविहीनले अध्ययन गर्ने विशेष कक्षामा आवासीय सुविधासहित १५ विद्यार्थी छन् । प्राविधिकतर्फ कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङमा १ सय ७५ विद्यार्थी छन् । चार हजार विद्यार्थीको सुविधालाई मध्यनजर गर्दै विद्यालयले बिहानी र दिवा गरी दुई सत्रमा अध्ययन अध्यापन गर्दै आएको छ ।
विद्यालयमा छात्र र छात्राका लागि छुट्टै क्यान्टिन छ । पुस्तकालय, स्मार्ट कक्षा, ठूलो अडिटोरियमजस्ता सुविधा र पूर्वाधार पनि छन् । विज्ञान प्रयोगशाला हाल निर्माणाधीन छ । कक्षा १० सम्म निःशुल्क छ । कक्षा ११ र १२ का विद्यार्थीले सहयोगस्वरूप मासिक ५ सय रुपैयाँ शुल्क दिन्छन् ।
निजी स्कुलसँग प्रतिस्पर्धा गरिरहेको त्रिजुद्ध माविले अंग्रेजी माध्यममा पढाउन थालेपछि अभिभावकको आकर्षण देखिएको छ । ‘मलाई त्रिजुद्धमा अंग्रेजी माध्यम आएपछि छोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्छ भन्ने सोच आयो,’ अभिभावक दीपेन्द्र शर्मा भन्छन्, ‘अहिले म सन्तानको पढाइ निजीमा भन्दा राम्रो भएपछि सन्तुष्ट छु ।’
अर्का अभिभावक अली महम्मद मन्सुरी गुणस्तरीय शिक्षाका साथै अनुशासन पनि सिकाइने भएकाले त्रिजुद्ध उत्कृष्ट बनेको बताउँछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रूपेशमान िंसंह वीरगन्जका अभिभावकले आफ्नो विद्यालयप्रति गरेको विश्वासलाई खेर जान नदिन पूर्ण प्रतिबद्धताका साथ लागिपरेको बताउँछन् । ‘हामी विद्यालयको शैक्षिक गुणस्तरलाई अझै उकास्न सक्दो प्रयास गरिरहेका छौं,’ उनले भने, ‘साथै विद्यालयको पूर्वाधार विकासमा पनि ध्यान केन्द्रित गरेका छौं ।’
