तीन साताअघि विद्यालयको स्वर्ण जयन्तीमा पूर्वविद्यार्थीबाट स्वास्थ्य परीक्षणका लागि क्याम्प, सञ्चालन गर्दा ८ डाक्टरसहितको मेडिकल टिम नै सत्यवतीको उत्पादन थियो
What you should know
तनहुँ — २०२८ सम्म दमौली बजार क्षेत्रमा एक मात्र बालमन्दिर विद्यालय सञ्चालनमा थियो । त्यस मा बालबालिकालाई अक्षरसम्म चिन्न सक्ने बनाइन्थ्यो । प्राथमिक तहको पढाइका लागि बुल्दी खोला तरेर भादगाउँस्थित जलदेवी प्राथमिक र निर्मल मावि जानुपर्ने बाध्यता थियो । साना बालबालिकालाई खोला पार गर्नुपर्ने बाध्यता अन्त्य गराउन सत्यवती विद्यालय खोलिएको थियो ।
व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख ताराप्रसाद श्रेष्ठका अनुसार स्थानीयको सक्रियतामा २०२९ मा व्यास–१ भादगाउँस्थित जलदेवी प्राथमिक विद्यालयको शाखाका रूपमा व्यास–२ दमौलीमा सत्यवती प्राथमिक विद्यालय स्थापना गरिएको थियो ।
विद्यालयको पहिलो प्रधानाध्यापक श्रीबहादुर गिरी थिए । ‘बुल्दी खोलामा पुल थिएन । वर्षायाममा खोलामा पानीको बहाव बढी हुँदा मानिस बग्ने गरेका थिए । त्यसैले दमौली क्षेत्रमै विद्यालय खोल्ने निर्णय गरिएको थियो,’ श्रेष्ठले सुनाए ।
८ पुस २०३४ मा सत्यवती प्राथमिक विद्यालयका रूपमा औपचारिक स्वीकृति प्राप्त भयो । ‘दमौलीका बासिन्दासँग चन्दा उठाएर विद्यालय सञ्चालन गर्न थालियो,’ श्रेष्ठ सम्झन्छन् । शिक्षकहरू घरघर पुगेर विद्यार्थी भर्ना गर्न आग्रह गर्थे ।
हाल विद्यालयमा पूर्ण रूपमा अंग्रेजी माध्यममा पठनपाठन थालेपछि विद्यार्थी संख्या ह्वात्तै बढेको विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल बताउँछन् । ‘विद्यालयले २०५७, २०६६, २०६७ र २०७० मा पश्चिमाञ्चल विकासक्षेत्रमा एसएलसी नतिजाका आधारमा प्रथम स्थान हासिल गर्दै पुरस्कार जित्यो,’ उनले भने ।
सत्यवतीले २०६४ मा उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी कक्षा ११ र १२ मा शिक्षा तथा व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ । २०६८ देखि विज्ञान समूह र २०७० देखि कक्षा ९–१२ सम्म प्राविधिक तथा व्यावसायिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन भइरहेको छ ।
शिक्षा मन्त्रालयले २५ असार २०७४ मा गरेको निर्णयअनुसार सत्यवती नमुना विद्यालय विकास तथा सञ्चालनका लागि छनोट भएको पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालयले ब्रिटिस काउन्सिलबाट २०२०–२०२३ का लागि इन्टरनेसनल स्कुल अवार्ड (आईएसए) र आईसीटी अवार्ड प्राप्त गरेको छ ।
हाल १ हजार ३ सय ५२ छात्रा र १ हजार २ सय ९२ छात्र गरी २ हजार ६ सय ४४ विद्यार्थी अध्ययनरत छन् । हरेक शैक्षिक सत्रको सुरुवातमा भर्नाका लागि इन्ट्रान्स परीक्षा दिनुपर्ने अवस्था छ । स्थायी शिक्षक ३६ जना छन् । अस्थायी, राहत, अनुदान शिक्षक तथा कर्मचारी १८ जना छन् । यस्तै विद्यालय स्रोतमा कार्यरत शिक्षक तथा कर्मचारी ४२ जना छन् ।
विद्यालयका अनुसार २०८१ मा कक्षा ८ को औसत जीपीए ३.१० रहँदा सत्यवतीकी सुरभी जोशीले ४ जीपीए ल्याएकी थिइन् । २०८२ को कक्षा १२ मा विपिन श्रेष्ठ र कृष्टिना पन्थले ३.९६ जीपीए ल्याए । प्रधानाध्यापक पौडेल भन्छन्, ‘कक्षा १२ को यो नतिजा नेपालमै उत्कृष्ट हो ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरी विगतमा उत्कृष्ट नतिजा ल्याई गुणस्तरीय शिक्षा प्रदान गरेका कारण विद्यार्थीेको आकर्षण बढ्दै गएको बताउँछन् ।
विद्यार्थी, अभिभावक र शिक्षकसँग छलफल गरी गुणस्तरीय शिक्षालाई नै प्राथमिकता दिइएको व्यवस्था समिति अध्यक्ष गिरीले बताए । ‘यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थी राम्रो ठाउँमा पुगेका छन् । डाक्टर, इन्जिनियर, बैंकर, शिक्षक भएका छन्,’ उनले भने, ‘अहिले पनि ७ विद्यार्थी पूर्ण छात्रवृत्तिमा डाक्टर, इन्जिनियरका लागि उच्च शिक्षा हासिल गर्दै छन् ।’ विद्यालयमा करिब १६ लाख रुपैयाँको विभिन्न छात्रवृत्ति कोष सञ्चालनमा छ ।
विद्यालयका नाममा ४ रोपनी १४ आना जग्गा र थप १४ रोपनी भोगचलनमा भए पनि आफ्नै खेल मैदान छैन । चार भवनमा ७२ कोठा छन्, जसमध्ये ४४ कक्षाकोठा छन् । विद्यार्थी संख्या धेरै भएकाले ठाउँ साँघुरो भएको विद्यार्थीहरूको गुनासो छ । कक्षा ७ मा अध्ययनरत छात्रा सोनिका गजमेर खेल मैदानको व्यवस्था भइदिए अझै राम्रो हुने बताउँछिन् ।
‘शिक्षकहरूले पनि पठनपाठनमा सहयोग गर्नुहुन्छ, प्रोत्साहन गर्नुहुन्छ । तर अतिरिक्त क्रियाकलापका लागि नगरपालिकाको खेल मैदानमा जानुपर्छ । हाम्रै विद्यालय प्रांगणमा एउटा खेल मैदान भइदिए हामीलाई सहज हुने थियो ।’
कक्षा ११ मा अध्ययनरत व्यास–४ की आशिका श्रेष्ठले आफ्नै घरआँगनमै गुणस्तरीय शिक्षा लिन पाएको बताइन् । ‘एसईई पनि यही विद्यालयबाट पास गरें, अहिले विज्ञान संकायमा कक्षा ११ पढ्दै छु,’ उनले भनिन्, ‘जिल्लाबाहिर गएर पढ्नुपरेको भए सहज हुँदैन थियो ।’
विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका बन्दीपुर अस्पतालका प्रमुख डा. अनिल गिरी सत्यवती माध्यमिक विद्यालय सर्वसाधारणका लागि उच्च शिक्षा सहज रूपमा हासिल गर्ने थलो बनेको बताउँछन् । व्यास–५ पाटनका डा. गिरीले माध्यमिक तहको शिक्षा यसै विद्यालयबाट उत्तीर्ण गरी एमबीबीएस अध्ययन गरेका थिए । अहिले आफ्नै जिल्लामा आएर सेवा गर्न पाउँदा खुसी लागेको उनी बताउँछन् ।
डा. गिरीका अनुसार सत्यवतीमा अध्ययन गरेका करिब १५ जना एमबीबीएस डाक्टर भएर सेवामा छन् । ‘तीन साताअघि विद्यालयको स्वर्ण जयन्तीमा पूर्वविद्यार्थीबाट अहिलेका विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि क्याम्प राखेका थियौं । त्यसमा ८ जना डाक्टरसहितका मेडिकल टिम नै सत्यवतीका उत्पादन थियौं,’ उनले भने, ‘मिहिनेत गरे सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनि राम्रो गर्न सक्छन् भन्ने उदाहरण सत्यवती विद्यालयका विद्यार्थी हुन् ।’
व्यास–३ दमौलीका चन्द्र कायस्थ सत्यवती विद्यालय शैक्षिक इतिहास मात्र नभएर सामूहिक चेतना, जनसहभागिता र निरन्तर संघर्षको कथा रहेको बताउँछन् । उनले भने, ‘अब चुनौती भनेको संख्या मात्र होइन, गुणस्तर, नवप्रवर्तन र भविष्यका प्रतिस्पर्धी क्षमतामा ध्यान केन्द्रित गर्नु हो । सत्यवतीले विगत जोगाउँदै भविष्य निर्माणका लागि सामुदायिक शिक्षाको उज्यालो दीप बनेर बलिरहनुपर्छ ।’
