विद्यालयले सरकारको सहयोगमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको छ
कञ्चनपुर — चारैतिर ठूल्ठूला भवन । ठूलो मैदान । वरिपरि सिजनअनुसारको खेतीपाती । यो दृश्य महेन्द्रनगर बजारमा रहेको महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) को हो । एक दशकअघिसम्म दयनीय अवस्थामा पुगेको यो विद्यालय अहिले यस क्षेत्रकै नमुना बनेको छ ।
विद्यार्थी संख्यादेखि शैक्षिक गुणस्तर, नतिजा, पठनपाठनमा प्रविधिको प्रयोगले नै यो विद्यालय नमुना विद्यालय निर्माणका लागि २०७५ मा छानिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) उत्कृष्ट विद्यालयलाई छनोट गरेर नमुना कार्यक्रम सुरु गरेको हो ।
२०७० सम्म पनि यो विद्यालयमा तीन/साढे तीन सय हाराहारी विद्यार्थी थिए । १२ कक्षासम्म अध्ययन हुने भए पनि शिक्षकहरूको तलब खुवाउन धौधौ थियो । अहिले विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म २ हजार ९ सय ६ जना विद्यार्थी छन् ।
नर्सरीदेखि नै अंग्रेजी माध्यममा पठनपाठन हुन्छ । नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा गरिन्छ । प्रवेश परीक्षामा पास भएका विद्यार्थीलाई मात्रै भर्ना गरिँदै आएको छ । साधारण स्कुलका प्रधानाध्यापक देवराज भट्टले भने, ‘हरेक वर्ष तीन/चार सय नयाँ विद्यार्थी थपिने गरेका छन् ।’ अहिले नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा र ११ र १२ कक्षामा अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ भइरहेको छ ।
विद्यालयले कक्षा ८, एसईई र कक्षा १२ मा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । एसईईमा पनि २०७९ मा ९७ दशमलव ९० प्रतिशत, २०८० मा ९ दशमलव ३ प्रतिशत र २०८१ मा ९७ दशमलव २७ प्रतिशत नतिजा ल्याएको छ । कक्षा १२ मा २०७९ मा ५१ दशमलव १८ प्रतिशत, २०८० मा ५२ दशमलव ३८ र २०८१ मा ६२ प्रतिशत नतिजा ल्याएको छ ।
‘राम्रो पढाइ भएकै कारण मैले बोर्डिङबाट छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गरें, बोर्डिङको भन्दा यहीं राम्रो पढाइ छ,’ भीमदत्त नगरपालिका १५ गोबरियाकी संगीता बोहराले भनिन्, ‘छोरा र छोरी दुवै जनाको पढाइ राम्रो छ ।’
२०७५ मा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विद्यालय बनाउनका लागि महेन्द्रनगर माविलाई छनोट गरेपछि यस विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा अझै सुधार भएको छ । ‘हरेक कक्षाकोठामा प्रोजेक्टरबाट पढाइ हुन्छ, दस वटा स्मार्ट बोर्ड पनि हामीले राखेका छौं,’ प्रधानाध्यापक भट्टले भने, ‘सूचना प्रविधिको प्रयोग गरेर पठनपाठन गरिरहेका छौं ।’
पहाडी जिल्लासँगै टाढाबाट आउने विद्यार्थीका लागि छात्रावाससमेत सञ्चालनमा छ । केन्द्रले विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) अन्तर्गत नमुना विद्यालय निर्माणका लागि यो विद्यालय छनोट भएपछि ५ वर्षको अवधिमा साढे ७ कारेड हाराहारी अनुदान पाएको छ ।
‘नमुना विद्यालय निर्माणको कार्यक्रम सकिएको छ, हामीले सक्दो मिहिनेत गरेर धेरै सुधार गरेका छौं,’ व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले भने ।
महेन्द्रनगर माविमा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र कानुनसँगै प्राविधिक धारतर्फका कक्षासमेत सञ्चालनमा छन् । ओभरसियर, कृषि, सब–ओभरसियर र २४ महिने औद्योगिक प्रशिक्षणलगायत कार्यक्रम पनि विद्यालयले चलाइरहेको अध्यक्ष विष्टले जनाए ।
विद्यालयले केन्द्रको सहयोगमा पढ्दै कमाउँदै र शिक्षा विकास निर्देशनालय दिपायलको सहयोगमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
पढ्दै कमाउँदैअन्तर्गत ४० जना विद्यार्थीले माछा उत्पादन, नर्सरीमा तरकारीका बेर्ना उत्पादन, च्याउ उत्पादन गरेर आम्दानी गरिरहेका छन् । एक सिजनमा एक जना विद्यार्थीले १५/२० हजारसम्म आम्दानी गरिरहेका छन् ।
यसैगरी सिक्दै कमाउँदै कायक्रमअन्तर्गत फूल र फूलदानी उत्पादन गरेर बिक्री गरिरहेका छन् । सिजनअनुसार तरकारीका बेर्ना उत्पादन पनि गरिरहेका छन् । अहिले तराईमा उत्पादन हुने स्याउ खेतीका लागि पनि काम भइरहेको अध्यक्ष विष्टले बताए ।
