विद्यार्थीको चाप थेग्न नसकेपछि २०७३ सालबाट प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरिँदै, यो वर्ष कक्षा ६, ७, ८ र ९ मा ५५ जनाका दरले २ सय २० विद्यार्थी भर्नाका लागि आह्वान गर्दा २ हजार ५ सय आवेदन
What you should know
सुर्खेत — वीरेन्द्रनगरस्थित जन–नमुना माध्यमिक विद्यालयले यो वर्ष कक्षा ६, ७, ८ र ९ मा ५५ जनाका दरले २ सय २० विद्यार्थी भर्नाका लागि आवेदन आह्वान गर्यो । तर झन्डै २ हजार ५ सय विद्यार्थीले आवेदन दिए ।
‘नयाँ भर्नाको समयमा आउने फोनको दबाब थेग्नै मुस्किल पर्छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले भन्छन्, ‘भर्नाको समयमा झन्डै दुई साता त व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूले फोन नै स्विच अफ गर्छौं ।’
जन–नमुना माविले विद्यार्थी भर्नाको चाप थेग्न दुई वर्षभित्र ५ हजार विद्यार्थीले अध्ययन गर्ने गरी पूर्वाधार तयार गर्न लागेको छ । ‘हाम्रा छोराछोरीले फलानो बोर्डिङमा पढ्छन् भन्दा पनि जनमाविमा पढ्छन् भन्नु गर्वको विषय छ,’ स्थानीय अभिभावक वेदप्रसाद देवकोटाले भने, ‘विद्यालयको शैक्षिक वातावरण, पूर्वाधार, नतिजा र पठनपाठनको शैलीले कर्णालीको सबैभन्दा आकर्षक विद्यालय बनेको छ ।’ उनका दुई छोरा कमल र सुयोग विद्यालयमै अध्ययनरत छन् ।
२००८ सालमा सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडामा स्थापना भएको विद्यालय २०२२ मा वीरेन्द्रनगर–६ मा स्थानान्तरण भएको थियो । अहिले विद्यालयमा कक्षा १० सम्म १ हजार ६ सय, कक्षा ११ र १२ मा १ हजार ५ सय ७५ गरी ३ हजार १ सय ७५ विद्यार्थी अध्ययनरत छन् ।
वीरेन्द्रनगरका अरू विद्यालयमा ४ बजेसम्म पढाइ हुँदा जनमाविमा साँझ ६ बजेसम्म पढाइ हुन्छ । ‘बेलुका थप उपचारात्मक (अतिरिक्त) कक्षा सञ्चालन गर्दै आएका छौं,’ प्रधानाध्यापक यामबहादुर श्रेष्ठले भने, ‘त्यसरी पढेबापत विद्यार्थीले थप शुल्क तिर्नुपर्दैन, हामीले भने शिक्षकलाई अतिरिक्त सुविधा दिइरहेका छौं ।’
प्रत्येक शनिबार सुधारात्मक परीक्षा लिने गरिएको छ । ‘विद्यार्थीलाई नम्बर दिनेभन्दा पनि कुन–कुन विषयमा कुन–कुन पाठमा सुधार गर्नुपर्ने छ भन्ने जानकारी हुन्छ,’ उनले भने, ‘उक्त परीक्षाको उत्तरपुस्तिका पृष्ठपोषणसहित विद्यार्थीलाई नै फिर्ता गरिदिन्छौं ।’ विद्यार्थीलाई अन्य परीक्षाको भयबाट मुक्त राख्ने प्रयास गरिएको उनको भनाइ छ ।
विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । बाल विकासदेखि कक्षा ५ सम्म स्मार्ट बोर्डमार्फत पढाइ हुन्छ भने त्यसमाथिका कक्षा मल्टिमिडियामार्फत सञ्चालन हुन्छन् । प्रत्येक शिक्षकलाई ल्यापटप उपलब्ध गराइएको छ । प्रत्येक कक्षाकोठामा विद्यार्थीको आचारसंहिता, डस्टबिन, भित्ते घडी, शैक्षिक क्यालेन्डर र डिस्पेन्सरसहितको खानेपानीको जार राखिएको छ । छात्राका लागि निःशुल्क सेनेटरी प्याडको सुविधा छ ।
विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म एक/एक वटा र कक्षा ६ मा ४, कक्षा ७–८ मा ५/५ तथा ९ र १० मा ६/६ वटा सेक्सन छन् । कक्षा ६ भन्दामाथि विद्यार्थीको चाप बढ्दै गएपछि धेरै सेक्सन बनाउनुपरेको प्रधानाध्यापक श्रेष्ठले बताए । उनका अनुसार नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुन्छ ।
२०७४ यता उत्तीर्ण प्रतिशत क्रमशः बढिरहे पनि परीक्षा प्रणाली र विद्यार्थी संख्याका आधारमा तालमेल नमिलेको प्रधानाध्यापक श्रेष्ठको गुनासो छ । उनका अनुसार एसईई परीक्षामा विद्यालयबाट सहभागीमध्ये २०७९ मा ७२, २०८० मा ७६ तथा गत वर्ष ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत वर्ष विद्यालयले कक्षा ८ को पालिकस्तरीय परीक्षामा सबैभन्दा राम्रो ८०.७३ प्रतिशत उत्तीर्णको नतिजा ल्याएको थियो ।
२०७३ सालबाट प्रवेश परीक्षा लिएर विद्यार्थी छनोट गर्न थालेको विद्यालय सोही वर्षको एसईईमा मध्यपश्चिमका सामुदायिक तथा संस्थागत तहका विद्यालयतर्फ उत्कृष्ट भएको थियो । २०७४ सालमा विद्यालयका दुई विद्यार्थी प्रदीप राना क्षेत्री र गणेश भण्डारीले ४ जीपीए ल्याएका थिए ।
गत वर्षको कक्षा १२ को परीक्षामा पनि विद्यालय प्रदेशमा प्रथम भएको थियो । ‘शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरसम्बन्धले पनि शैक्षिक नतिजा सुधार्न सहयोग गरिरहेको छ,’ व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले भने, ‘शिक्षण सिकाइ क्रियाकलाप पनि विद्यार्थीमैत्री बनाइरहेका छौं, जसको प्रभाव नतिजामा देखिएको छ ।’
तीन बिघा पौने सात कट्ठा क्षेत्रफलमा फैलिएको विद्यालयको जग्गामा १२ वटा ब्लक छन् । एउटा छुट्टै सभाकक्ष छ । पुस्तकालय, ल्याब र संगीत कक्षा छुट्टाछुट्टै भवनमा सञ्चालनमा छन् । फराकिलो खेल मैदान, फूलबारी र बगैंचासहितको विद्यालयमा ५ वटा विज्ञान प्रयोगशाला र ३ वटा कम्प्युटर ल्याब सञ्चालित छन् ।
गणित, सामाजिक र संगीत ल्याब पनि विद्यालयमा खोलिएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए । विद्यालयका सबै भवनमा ५४ कक्षाकोठा छन् । ती कोठा विद्यार्थीको चापअनुसार भने पर्याप्त नभएको उनी बताउँछन् ।
अहिले विद्यालयले एउटा बस सञ्चालनमा ल्याएको छ भने सुरक्षाका लागि झन्डै ५ दर्जन ठाउँमा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । २०६९ सालदेखि विद्यालयको प्रधानाध्यापक रहेका श्रेष्ठ गत वर्ष उत्कृष्ट प्रधानाध्यापक अवार्डबाट समेत सम्मानित भएका थिए ।
विद्यालयमा ३२ स्थायी, अस्थायी ६ तथा आंशिक र करारका ५८ शिक्षक कार्यरत छन् भने कर्मचारीको संख्या २३ छ । विद्यालयको जग्गामा बनेका झन्डै ७० वटा सटरको भाडाबापत प्राप्त आम्दानीबाट निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई पनि सरकारी स्केलसरहको पारिश्रमिक दिइएको प्रधानाध्यापक श्रेष्ठले बताए । ‘भाडाबाट वार्षिक झन्डै ४५ लाख उठ्छ, त्यसले जसोतसो शिक्षक–कर्मचारीको पारिश्रमिक व्यहोर्न सकेका छौं,’ उनले भने, ‘विद्यार्थी संख्याअनुसार दरबन्दी नहुँदा शैक्षिक क्रियाकलाप सञ्चालनमा अप्ठ्यारो भइरहेको छ ।’
विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा, कानुन र तीनवर्षे सिभिल सब–इन्जिनियरिङ पढाइ हुन्छ । यी विषय पढ्न करिब ३० जिल्लाका विद्यार्थी आएको व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले बताए । विद्यालयले विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ, जसका लागि विद्यालयमा झन्डै एक करोड ११ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको उनले जानकारी दिए । अध्यक्ष कोइरालाका अनुसार विद्यालय सञ्चालनमा समस्या भएपछि अभिभावकबाट वार्षिक रूपमा ‘आर्थिक सहयोग’ संकलन गर्ने गरिएको छ ।
