६२ जना दृष्टिविहीन तथा अपांगता भएका विद्यार्थीसहित २ हजार ६ सय विद्यार्थी अध्ययनरत गुरुजजुर माविमा कमजोर विद्यार्थीका लागि नियमित सहायता कक्षाको व्यवस्था गरिएको छ ।
What you should know
दाङ — अपांगता भएका विद्यार्थीहरू पढ्ने विद्यालयका रूपमा परिचित गुरुजजुर मावि यस क्षेत्रको सामुदायिक विद्यालयमा अग्रणी मानिन्छ । तुलसीपुर उपमहानगरपालिका–४, रक्षाचौरमा रहेको यस विद्यालयमा अहिले ६२ जना दृष्टिविहीन र शारीरिक अपांगता भएकाहरू पढ्छन् ।
कुनै समय बहिरा तथा सुस्त श्रवण, दृष्टिविहीनलगायतका विद्यार्थी यहाँ पढ्थे । केही वर्ष अघिदेखि बहिरा तथा सुस्त श्रवण भएका विद्यार्थीलाई तुलसीपुरकै मावि अश्वारामा पढाउन थालिएपछि दृष्टिविहीन र शारीरिक अपांगता भएकाहरू गुरुजजुरमै पढ्दै आएका छन् ।
यहाँ हाल २ हजार ६ सय ८ विद्यार्थी छन् । जसमा १ हजार ३ सय ५९ छात्रा र १ हजार २ सय ४९ छात्र छन् । विद्यालयमा बालविकासदेखि १२ कक्षासम्म पढाइ हुन्छ । ११ र १२ कक्षामा विज्ञान, मानविकी, शिक्षा र व्यवस्थापन संकायको पढाइ भइरहेको छ । तीनवर्षे डिप्लोमा तहको बालविज्ञान पनि पढाइ भइरहेको छ । विद्यालयमा ४२ वटा सेक्सन सञ्चालित छन् । जसका लागि ६४ शिक्षक र ११ कर्मचारी छन् ।
२०६१ देखि २०६८ सम्म गुरुजजुर माविबाट आठ जनाले एसएलसीमा जिल्ला प्रथम स्थान हासिल गरिसकेका छन् । २०८० मा सामुदायिक विद्यालयतर्फ एसईईमा जिल्लामा सबैभन्दा बढी ३५ जनाले ए प्लस नतिजा प्राप्त गरेका थिए । उक्त वर्ष विद्यालय देशभरमै उत्कृष्ट छैटौं स्थानमा परेको थियो । यहाँ दाङ, रुकुम, रोल्पा, सल्यान, प्यूठान, बाँके, बर्दिया, जुम्ला, डोल्पा, बाजुरालगायतका जिल्लाबाट विद्यार्थीहरू पढ्ने गर्छन् ।
यस विद्यालयको मुख्य भरोसा नै अभिभावक हुन् । उनीहरूको विद्यालयप्रतिको चासो, चिन्ता र नियमित निगरानीले विद्यालयलाई प्रगति पथमा लम्काएको छ । दाङबाट मात्रै होइन, अन्य जिल्लाबाट समेत अभिभावकहरू गुरुजजुरलाई खोज्दै आउँछन् ।
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६, मग्माकी राधा बस्यालले यसै वर्ष यहाँ छोरा लक्ष्मणलाई ८ कक्षा र छोरी अनुलाई ४ कक्षामा भर्ना गरिन् । ‘धेरै स्कुल बुझ्दा गुरुजजुर नै राम्रो लाग्यो,’ उनले भनिन्, ‘विद्यालयको प्रांगण, वातावरण, शिक्षण, व्यवस्थापन सबै राम्रो देखें । पढाइको गुणस्तर पनि राम्रो छ ।’ अभिभावकलाई खोज्ने, विद्यालयका क्रियाकलापमा सहभागी गराउने, अभिभावकका कुरा सुन्ने, सुझाव लिने पद्दतिले विद्यालयका सकारात्मक पक्ष रहेको बस्यालले बताइन् ।
तुलसीपुर–४, रक्षाचौरकी सरस्वती रिजालले पनि निजी विद्यालयबाट छुटाएर छोराछोरीलाई गुरुजजुरमा पढाएकी छन् । ‘पहिले निजी विद्यालयमा पढायौं तर गुरुजजुर राम्रो लागेपछि त्यता छुटाएर यहाँ भर्ना गरायौं,’ उनले भनिन्, ‘विद्यालय राम्रो भएकाले सन्तानको पढाइमा पनि सुधार भएको छ । पहिले गृहकार्य मात्रै हुन्थ्यो, अहिले बाहिरी ज्ञान र लेख्ने सीपको विकास भएको छ ।’ नतिजा हेर्न अभिभावकलाई अनिवार्य बोलाउने र बालमैत्री वातावरणमा पढाउने भएकाले पढाइको स्तर राम्रो भएको उनले बताइन् ।
शैक्षिक गुणस्तरका लागि नयाँ काम
सिर्जनशील र रचनात्मक कामबाट नै हरेक वर्ष विद्यालयले नतिजा सुधार गर्दै लगिरहेको छ । शैक्षिक गुणस्तर बढाउन अभिभावक, विद्यार्थी र शिक्षकको सहभागितामा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेले बताए ।
गुणस्तरीय, सर्वसुलभ, समयसापेक्ष र प्राविधिक तथा व्यावसायिक शिक्षालाई मूल मन्त्र बनाई शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । प्रशासनिक र शैक्षिक बोझ कम गर्न दुई सहायक प्रधानाध्यापकको व्यवस्था गरिएको छ । तहगत संयोजकहरू तोकिएका छन् । नमुना विद्यालय विकास योजना, विज्ञान प्रवर्द्धनका लागि विद्यालय विकास योजना र शिक्षाको गुणस्तर सुधार योजना लागू गरिरहेको उनले जानकारी दिए ।
विद्यालयका गतिविधि निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन छुट्टै विनियमावली बनाई कार्यान्वयन गरिएको छ । वर्षे बिदामा समेत नियमित पठनपाठन हुने गरेको छ । कमजोर विद्यार्थीका लागि नियमित सहायता कक्षा, १० र १२ कक्षा उत्तीर्ण हुने विद्यार्थीलाई भावी शिक्षा र रोजगारीबारे परामर्श, नियमित रोजगार प्रवर्द्धनका लागि रोजगार सूचना केन्द्र स्थापनाजस्ता नमुना कामहरू विद्यालयमा भएका छन् ।
बाली विज्ञान पढ्ने विद्यार्थीले आधुनिक प्रविधि जडित ‘ग्रिन हाउस’ बनाएर तरकारीका बेर्ना उत्पादन र खेती गरिरहेका छन् । जसबाट स्थानीयलाई समेत बेर्ना दिने गरिन्छ । बाली विज्ञानको व्यावहारिक अभ्यासले विद्यार्थीको क्षमता विकासमा टेवा पुगेको न्यौपानेले बताए ।
यसका साथै त्रैमासिक रूपमा अभिभावक, व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ र शिक्षकबीच नतिजा विश्लेषण तथा अन्तरक्रिया हुने गरेको शिक्षक प्रतिनिधि गोपाल बुढाथोकीले बताए । विद्यालयप्रति अभिभावकको चासो र चिन्ता बढाउन अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको उनले बताए । यस्तै विद्यालय सेवा क्षेत्रभित्रका अन्य विद्यालयको गुणस्तर बढाउन शिक्षक तालिम र गुणस्तर वृद्धिमा सहयोग गर्ने गरिएको छ ।
कक्षागत आचारसंहिता निर्माण गरी विद्यार्थी र शिक्षकहरूलाई अनुशासनमा राख्ने काम गरेको विद्यालयकी प्रधानाध्यापक विष्णुकुमारी केसीले बताइन् । ‘विद्यालयको शैक्षिक विकासका लागि अभिभावकले आर्थिक सहयोग गर्छन्,’ उनले भनिन्, ‘सामुदायिक वनले भवन निर्माण, फर्निचर निर्माण र कृषि बाली विज्ञान कार्यक्रमका लागि जग्गा र वनस्पति उपलब्ध गराएको छ ।’
यस्तै छात्रवृत्तिका लागि २३ वटा पुरस्कार कोष स्थापना गरिएको छ । शिक्षकहरूलाई उचित वातावरण बनाइदिने, पठनपाठनमा सहकार्य गर्ने, अभिभावकसँग छलफल र बालबालिकाको नतिजा समीक्षा र बालबालिकको समस्या सुन्ने काम गरेकाले नतिजा राम्रो ल्याउन मद्दत पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताए । व्यवस्थापकीय पक्ष राम्रो भएका कारण नै विद्यालयको गुणस्तर राम्रो हुँदै गएको शिक्षक–अभिभावक संघका अध्यक्ष लोकमणि पन्थीले बताए ।
विद्यालयका १० वटा भवन छन् जसमा ४३ कक्षाकोठा छन् । बालिकाहरूका लागि ‘चेन्जिङ रुम’, महिला कर्मचारी, शिक्षकका लागि स्तनपान कक्ष, चार विज्ञान प्रयोगशाला, १ कम्प्युटर प्रयोगशाला, १ कृषि प्रयोगशाला, १ ई–पुस्तकालय, १ दृष्टिविहीन छात्रावास र एउटा खेल मैदान छ ।
तुलसीपुर बजारदेखि तीन किलोमिटर उत्तरमा तुलसीपुर–सल्यान सडक छेउमै रहेको यस विद्यालयको स्थापना ११ फागुन २०११ मा भएको थियो । तुलसीपुर–३ अम्बास प्रतापकोटमा २०१९ मा गुरुजजुर मिडिल स्कुलको नामबाट अर्को विद्यालय स्थापना भयो ।
दाङमा औलो उन्मूलनका कारण पहाडतिरका बस्तीहरू क्रमशः दाङतर्फ बसाइँसराइ गर्ने क्रममा त्यस भेगका अधिकांश जनतासमेत दाङमै झरे । जसका कारण विद्यार्थी अभाव भई २०२६ मंसिरमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा गाभी यस विद्यालयको नाम गुरुजजुर मिडिल स्कुल राखियो । एक निर्वाचन क्षेत्रमा एउटा सुविधा सम्पन्न नमुना विद्यालयको अवधारणाअनुसार २०७३/७४ देखि नमुना विद्यालयका रूपमा छनोट भई मापदण्डअनुसारका पूर्वाधारका कामहरू भइरहेका छन् ।
