बुटवलका कालिका र कान्ति तथा मणिग्रामको शान्ति माविले देशकै अब्बल विद्यालयका रूपमा छवि बनाएका छन् । बुटवलकै नवीन औद्योगिक कदरबहादुर रीता माविले ब्रिटिस काउन्सिलद्वारा इन्टरनेसनल स्कुल अवार्ड २०१७–२०२० र २०२१–२०२४ प्राप्त गरेको थियो ।
बुटवल — बुटवलको कालिकानगरस्थित कालिका मानवज्ञान मावि शिक्षण सिकाइको असल अभ्यास र सञ्चालनको तौरतरिकामा निरन्तर अब्बल बन्दै देशकै उत्कृष्ट सामुदायिक विद्यालयको उपमा पाएको छ । कालिका मानवज्ञानले अवलम्बन गरेको असल अभ्यास देशका धेरै सामुदायिक विद्यालयको सिकाइका लागि पनि राम्रो उदाहरण बनिरहेको छ ।
कालिका मानवज्ञान गरिब वर्गदेखि सम्भ्रान्त वर्गसम्म र कमजोरदेखि प्रतिभाशाली विद्यार्थीसम्मको रोजाइको केन्द्र पनि बन्दै आएको छ । २०७१ देखि निरन्तर उत्कृष्ट बन्दै आइरहेको यस विद्यालयको नेतृत्व, सामूहिकतामा विश्वास गर्ने शिक्षक, विद्यालयको नेतृत्वलाई सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक र समुदायबीचको प्रभावकारी समन्वयले नै उत्कृष्टताको मानक हो ।
कालिका मानवज्ञानको सफलताको मुख्य शक्ति शिक्षकको ‘टिमवर्क’ अनि मिहिनेत र विद्यार्थीमा भविष्यप्रतिको लगाब नै हो । प्रधानाध्यापक दिनेश थापा पनि यसमा स्पष्ट छन् । विद्यालयको आफ्नो शैक्षिक दैनिकी, विद्यार्थीप्रति समर्पित प्रशासन, पेसाप्रति लगनशील शिक्षक, अनुशासित र मिहिनेती विद्यार्थीको कसिलो सम्बन्धका कारण यस मावि निरन्तर सफलता बनिरहेको उनले बताए । ‘जहाँ शिक्षक सकारात्मक ऊर्जाका साथ कक्षाकोठा प्रवेश गर्छन् र विद्यार्थी रमाउँछन्, त्यही नै विद्यालयको सफलता हो,’ प्राधानाध्यापक थापाले भने ।
बुटवल–१० कालिकानगरमा रहेको यस माविमा लुम्बिनी प्रदेशका १२ सहित देशका झन्डै ७० जिल्लाका ७ हजार ९ सय ३५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भौतिक पूर्वाधार विकास पनि उत्तिकै लोभलाग्दो छ । प्राविधिकतर्फ २०७० देखि २०७५ सम्म निरन्तर देशकै पहिलो भएको विद्यालयले २०७३ मा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय स्कुल अवार्ड पाएको थियो ।
यहाँ साधारणतर्फ ७ हजार ७ सय ४३ र प्राविधिक धारतर्फ १ सय ९२ जना अध्ययनरत छन् । विद्यार्थीका लागि १२ वटा भवन ब्लक, १ सय ५७ कक्षाकोठा, ६ वटा अतिरिक्त कक्षाकोठा, २ वटा खेलमैदान, एक बाल उद्यान, ८ वटा विज्ञान प्रयोगशाला, ६ वटा कम्प्युटर ल्याब, ललितकला ल्याब, डिजिटल ल्याब र इलेक्ट्रिक ल्याब, २ वटा पुस्तकालय, वाचनालय, एक कार्यक्रम र सभा हल, शौचालय ८२ वटा, ५१ वटा प्रोजेक्टर र आवश्यकताअनुसारका स्मार्ट बोर्डको व्यवस्था गरेको छ ।
पूर्वविद्यार्थीसमेत रहेका बुटवल–१० का वडा अध्यक्ष बलबहादुर पुनले यस विद्यालयले पढाइमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि फरक पहिचान स्थापित गरेको बताए । ‘यसले पछिल्लो १० वर्षमा फड्को मारेर राष्ट्रियस्तरमै नमुना विद्यालय बनेको छ,’ उनले भने ।
कक्षा ११ र १२ मा यसका उत्पादनहरू स्नातक तहमा इन्जिनियरिङ, चिकित्सा र व्यवस्थापन संकायमा छात्रवृत्तिमा नाम निकाल्नेहरू धेरै छन् । प्रधानाध्यापक थापाका अनुसार एमबीबीएसमा मात्र २० जना, इन्जिनियरिङमा २४ जनासहित अहिले ९५ जनाले पूर्ण छात्रवृत्तिमा पढिरहेका छन् ।
विद्यालयको इतिहास
२०१८ मा बुटवलको योगीकुटीमा विश्वशान्ति नेपाल राष्ट्रिय प्राविका नाममा स्थापित विद्यालय २०२९ मा कालिका स्कुलमा परिणत भयो । २०३२ मा माविको स्वीकृति, २०६५ मा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ र १२ को स्वीकृति, २०६७ मा सोही तहमा विज्ञान विषय थप, २०७० मा कम्प्युटर इन्जिनियरिङ र २०७३ मा कानुन विषय थप गरेको थियो । कालिका मावि र २०४१ मा बुटवलकै रामनगरमा स्थापित मानवज्ञान मावि २०७५ मा एकआपसमा गाभिएपछि कालिका मानवज्ञान माविमा रूपान्तरित भयो ।
‘सामूहिक योजना : सामूहिक कार्यान्वयन’ भन्ने मूलमन्त्रका साथ अघि बढेको विद्यालयमा अहिले ३ सय ५० शिक्षक–कर्मचारी छन् । असल अभ्यास र शैक्षिक उपलब्धिको लागि विद्यालयले २ सहायक प्रधानाध्यापक, १२ जना सचिवालय प्रमुख, ३८ जनाको अनुगमन समिति बनाएर वार्षिक योजना कार्यान्वयन गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले बताए ।
‘शिक्षक खुसी भए, विद्यार्थी खुसी हुन्छन् भन्ने मन्त्रलाई हामीले आत्मसात् गरेका छौं,’ उनले भने, ‘शिक्षक र कर्मचारीको कार्यक्षमता, वैयक्तिक क्षमताजस्ता तत्त्वहरूलाई आधार बनाएर प्रोत्साहन र पुरस्कारको व्यवस्था गरेका छौं ।’
सबै तहका शिक्षकमा समान तरिकाबाट सुविधा दिइएको छ । विद्यालयमा निजी र स्थायी शिक्षक भन्ने भेद नरहेको उनले बताए । विद्यार्थीलाई पनि समस्याको समाधान आफैं खोज्न सिकाइने गरिएको उनको भनाइ छ । त्यो कार्यले विद्यार्थी नै बढी जिम्मेवार हुने गरेको अनुभव विद्यालयसँग छ ।
पछ्याउँदै तिलोत्तमाको शान्ति नमुना
कालिकाकै पदचापमा अघि बढिरहेको छ रूपन्देहीकै अर्को सामुदायिक विद्यालय शान्ति नमुना मावि । तिलोत्तमा नगरपालिका–५ मणिग्राममा रहेको शान्ति नमुना माविले यस वर्षको एसईई नतिजामा आफूलाई नमुनाकै रूपमा प्रस्तुत गर्यो । ४ जीपीए ल्याउने विद्यार्थी देशभरै धेरै उत्तीर्ण गरायो । गत वर्षको एसईई परीक्षामा ६ सय ९ जना विद्यार्थी सहभागी भएकामध्ये १८ जनाले ‘४ जीपीए’ र ५४ जनाले ३.६ देखि ३.९९ जीपीए ल्याए ।
यसपछि देशभर शान्ति नमुनाको चर्चा चुलियो । राम्रो नतिजा आउनुको पछाडि शान्ति नमुनामा पनि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय सरकारको योगदान छ । शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समितिदेखि स्थानीय सरकारसम्मको समन्वयले विद्यालय उत्कृष्ट बनेको प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए ।
‘विद्यार्थीलाई ४ जीपीए ल्याउनैपर्छ भनेर कहिल्यै दबाब दिएनौं,’ उनले भने, ‘हामीले विद्यार्थीको मनोभावनाअनुसार सिकाइका लागि वातावरण मिलायौं । सानो–ठूलो, धनी–गरिब भनेर कहिल्यै विभेद गरेनौं । विद्यार्थीलाई घरभन्दा विद्यालय प्यारो भन्ने आभास गराएपछि नतिजा पनि उत्कृष्ट आयो ।’
विद्यालयभित्रै बसिरहौं, खेलिरहौं लाग्ने खालको बालबालिकामैत्री वातावरण पनि शान्ति माविको अर्को आकर्षक पक्ष हो । सामूहिक रूपमा योजना कार्यान्वयन गर्ने विद्यालयको नेतृत्वले पनि सफलताका लागि सहयोग गरिरहेको छ । त्यसले हरेक वर्ष विद्यार्थी संख्या बढाउँदै लगेको छ । विद्यालयको कुशल प्रशासन र नेतृत्व नै हरेक सफलताको ‘जग’का रूपमा अडिएको उनले बताए ।
२०१६ मा खुलेको शान्ति नमुनामा देशभरका २९ जिल्लाबाट विद्यार्थी पढ्नका लागि शान्तिमा आएका छन् । २ हजार ५ सयभन्दा बढी विद्यार्थी रूपन्देहीभन्दा बाहिरी जिल्लाका छन् । हाल विद्यालयमा शिक्षक, कर्मचारी गरी २ सय २९ जना कार्यरत छन् ।
शान्ति नुमना मेकानिकल (टीएसएलसी) विषयमा पढाइ हुने नेपालकै एकमात्र विद्यालय हो । २०५८ देखि एनेक्स कार्यक्रमअन्तर्गत प्राविधिकतर्फ उक्त विषयको पढाइ हुँदै आएको छ । तीनवर्षे होटल म्यानेजमेन्ट विषयमा पनि पढाइ हुन्छ । शान्तिमा अक्षरको सिकाइ मात्र हुँदैन । कृषि विषयमार्फत जीवनोपयोगी सीप पनि दिने गरिएको छ । विद्यार्थीले च्याउ उमार्छन्, अचार साँध्छन्, गड्यौला खेती गर्छन् ।
मुला, रायोको साग खेती हुन्छ । विद्यार्थीले नै सिन्की बनाउँछन् । मौसमअनुसार बनाइएको लप्सी, अमला, आँपको अचार त विद्यालयबाटै बिक्री हुन्छ । त्यति मात्र होइन, विद्यार्थीले नौमती, पञ्चेबाजा, मादल बजाउँछन् । भजन टोली पनि छ । कक्षा ६ देखि १० सम्मका १२ जना विद्यार्थीको समूह भजनका लागि तिलोत्तमाका विभिन्न टोल र मन्दिरहरूमा हुने पूजापाठ, विवाह, व्रतजस्ता कार्यक्रममा पुग्ने गर्छन् ।
खाना पकाउने, प्लम्बिङ र वायरिङ गर्ने काम पनि सिकाइन्छ । विद्यालयका शिक्षक एवं सांस्कृतिक संयोजक रञ्जित भण्डारीले विद्यार्थीले दुई घण्टा बाजा बजाएर १३ हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताए ।
त्यसमध्ये तीन हजार विद्यालयको कोषमा जम्मा गर्छन् । जुन कोषबाट बाजा मर्मत गर्न खर्च हुन्छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले उब्जाएको तरकारी विद्यालयमै खपत हुने प्रधानाध्यापक लामिछानेले बताए । २०४५ देखि दृष्टिविहीन स्रोत कक्षा सञ्चालनमा छ । ४७ बालबालिका अध्ययनरत छन् । श्रवणशक्ति गुमाएका र दृष्टिविहीन १३ जनाले २०७७ देखि अध्ययन गरिरहेका छन् । तीन वर्षदेखि ३३ जना अटिजम भएका बालबालिकाले पनि पढिरहेका छन् ।
शान्ति नमुनालाई नगरपालिकाकै गौरवका रूपमा अघि बढाउने गरी काम भइरहेको नगरप्रमुख रामकृष्ण खाणले बताए । ‘तिलोत्तमालाई शैक्षिक हवका रूपमा विकास गर्ने हाम्रो प्रयास छ,’ भने, ‘शान्ति नमुना जस्ता उत्कृष्ट विद्यालयसँगै स्थानीय सरकार रहेको छ ।’ पालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारसहितका कार्यक्रमका लागि वार्षिक ५ करोड विनियोजन गर्ने गरेको छ । तिलोत्तमाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गरेर समानताको संस्कार सिकाएको पनि उनले बताए ।
विज्ञानमा आशा जगाउँदै कान्ति
लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालयमध्येमा पर्छ, बुटवलको कान्ति मावि । यहाँ पाँच हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । बुटवल–४ मा २००८ मा स्थापित गणेश विद्या भवन प्राइमरी स्कुल र जनता विद्या भवन प्राइमरी स्कुलको एकीकरण गरी २ पुस २०१० देखि ‘गणेश जनता विद्या भवन’ प्राथमिक विद्यालयको नामबाट सुरु भएको कान्ति माविले २०१६ मा मिडिल स्कुल, २०२६ मा हाइस्कुल हुँदै २०६४ देखि कक्षा ११–१२ को कक्षा पनि सञ्चालन गर्दै आएको छ ।
विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाका विभिन्न विषयहरूको अध्यापन भइरहेको छ । विद्यालयमा ४ हजार भन्दा बढी विद्यार्थी र १ सय १५ शिक्षक, कर्मचारी रहेको प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए ।
कान्तिले २०६५ देखि खुल्ला विद्यालयको कक्षा ८ र १० का कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ । विद्यालयमा बर्सेनि नियमित विद्यालयको पहुँचभन्दा बाहिर रहेका सयौं विद्यार्थीलाई खोजेर भर्ना गर्ने गरिएको ज्ञवालीले बताए ।
‘२०७१ को एसएलसी परीक्षामा पश्चिमाञ्चल प्रथम र २०७३ को एसईईमा लुम्बिनी प्रदेश प्रथम तथा २०७६ को कक्षा ११ को नतिजामा सामुदायिक विद्यालयतर्फ नेपाल प्रथम बन्न सफल भएका छौं,’ ज्ञवालीले भने, ‘विद्यालयले कक्षा ११ र १२ को बोर्ड परीक्षामा पनि राष्ट्रिय रूपमै उत्कृष्ट नतिजा प्राप्त गरिरहेको छ ।’
कक्षा ११ र १२ मा कानुन र विज्ञान विषयमा आकर्षण रहेको विद्यालयमा २२ जिल्लाका विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयमा अहिले विज्ञान विषयको अध्ययनलाई प्रयोगात्मक रूपमा थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि काठमाडौं र पोखरापछि विद्यालय तथा क्याम्पसहरूमा पहिलो पटक तारामण्डल (प्लानेटोरियम ल्याब) उपलब्ध छ । यस प्रयोगशालाबाट विद्यार्थीहरूले ग्रह, उपग्रह, सूर्य, पृथ्वी, आकाशीय पिण्डहरूका बारेमा अवलोकन, अध्ययन तथा अनुसन्धान गर्न सक्ने उनले बताए ।
प्राविधिकमा नवीन औद्योगिक
प्राविधिक क्षेत्रको पढाइलाई प्राथमिकतामा राखेर अध्यापन गराइरहेको बुटवलकै नवीन औद्योगिक कदरबहादुर रिता माविमा ५ हजार ६४ विद्यार्थी छन् । विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ सिभिल इन्जिनियरिङको पढाइ हुन्छ । कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा पनि अध्यापन हुँदै आएको छ ।
२०३३ मा बुटवल–११ देवीनगरमा स्थापना भएको विद्यालयमा ५८ जिल्लाका विद्यार्थी छन् । विद्यालयमा १ सय ८४ शिक्षक–कर्मचारी छन् । यहाँ कक्षा ११ र १२ मा व्यवस्थापन, सिभिल इन्जिनिरिङ, विज्ञान, होटल म्यानेजमेन्ट, कानुन र शिक्षा समूहमा अध्यापन हुन्छ । विद्यालयले ब्रिटिस काउन्सिलद्वारा इन्टरनेसनल स्कुल अवार्ड २०१७–२०२० र २०२१–२०२४ प्राप्त गरेको थियो ।
