होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ब्युटिसियन एन्ड हेयर ड्रेसिङलगायतका सीपयुक्त प्राविधिक कार्यक्रम सञ्चालन गरेर विद्यालयले आफूलाई नमुना बनाएको छ
What you should know
धरान — सामुदायिक विद्यालय भन्नाले धेरैले सोच्छन्, सीमित स्रोत, चुनौतीपूर्ण वातावरण र सामान्य नतिजा । तर धरान पब्लिक हाईस्कुलले यी सबै पूर्वाग्रहलाई चुनौती दिँदै आफूलाई सामुदायिक विद्यालयमा नम्बर १ बनाएको छ ।
यहाँ पढाइ केवल ज्ञान आर्जन मात्र होइन, जीवनका लागि तयारी, संस्कार र सीप सिकाउने माध्यम बनेको छ । यो विद्यालय नमुना विद्यालयका रूपमा छनोट हुनु, ठूला स्कुलहरूको सूचीमा पर्नु, विज्ञान विषय प्रवर्द्धन गर्ने विद्यालयका रूपमा रहनु र प्राविधिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम सञ्चालन हुनु जस्ता विषयले विद्यालय दिनानुदिन सफलताको मार्गमा अघि बढिरहेको देखिन्छ ।
तर यो सफलता अचानक आएको होइन । यसको जरा निकै गहिरो छ । धरान उपमहानगरपालिका–१२ चतरा लाइनमा अवस्थित यो स्कुलको स्थापना २३ साउन २००३ मा भएको थियो । राणा शासनको कठोर सामाजिक संरचनाबीच पहिलो प्रधानाध्यापक दीर्घराज कोइरालाले सानो भवन, केही शिक्षक र सीमित विद्यार्थी समूहबाट यात्रा सुरु गरेका थिए । त्यतिबेला शिक्षा केवल विशेष वर्गको अधिकार थियो, तर पब्लिक हाईस्कुलले शिक्षा सबैका लागि हुनुपर्छ भन्ने विश्वासलाई अघि बढायो र आज यहाँसम्म आइपुगेको छ ।
दुई बिघा जग्गामा रहेको यो विद्यालय नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालनमा छ । नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ हुँदै आएको छ । यस विद्यालयमा ४ हजार ३ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्दै छन् । विद्यार्थी संख्या मात्र होइन, उनीहरूको सामाजिक पृष्ठभूमि नै विद्यालयको वास्तविक शक्ति हो । मजदुर, किसान, साना व्यापारी, सरकारी कर्मचारी, न्यून आय भएका परिवारदेखि मध्यमवर्गसम्मका बालबालिका एउटै कक्षामा बसेर एउटै सपना बुन्छन् । यही विविधताले विद्यालयलाई धरानको सानो समाज बनाएको छ ।
विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा विषयसहित सीपयुक्त प्राविधिक कार्यक्रम होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ब्युटिसियन एन्ड हेयर ड्रेसिङ विषयका साथै कक्षा ९ मा ऐच्छिक विज्ञान विषय पठनपाठन गर्ने एक मात्र सामुदायिक विद्यालयका रूपमा रहेको यसले हिजोको साखलाई पुनःस्थापना गर्न सफल भएको छ ।
२०६५ सालमा विद्यालयका प्रधानाध्यापक भएका लेखनाथ भट्टराईले ६ वर्ष विद्यालयको नेतृत्व गरे । ‘बदलिँदो वातावरण र समयअनुसार विद्यालयको गुणस्तर कसरी बढाउने भन्ने विषयमा शिक्षक र व्यवस्थापन समितिबीच बृहत् छलफल भयो,’ उनले भने । छलफलपछि डा. इन्द्रमोहन झा २०७१ सालमा विद्यालय प्रमुख नियुक्त भए ।
विद्यालयको हितका लागि प्रधानाध्यापकबाट पछाडि हटेका उनी अहिले विद्यालयको उप–प्रधानाध्यापक छन् । ‘बोर्डिङ स्कुल चलाएर आएको अनुभवले विद्यालयलाई बोर्डिङ स्कुल जस्तो गुणस्तर दिन सहयोग पुर्याउनुहुन्छ भन्ने थियो,’ भट्टराईले भने, ‘आज स्कुल यहाँसम्म आइपुग्नुमा उहाँको ठूलो हात छ ।’
अहिले विद्यालयमा १ सय ९० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्, जसमा १ सय २५ जना फुल–टाइम र बाँकी पार्ट–टाइम हुन् । तर ४० जना मात्र सरकारी दरबन्दीमा छन् । बाँकी शिक्षक विद्यालय व्यवस्थापन समिति, अभिभावक सहयोग र आन्तरिक स्रोतमा भर परेको भट्टराईले बताए ।
यस्तो संरचनामा पनि शैक्षिक गुणस्तर कायम राख्नु चुनौतीपूर्ण काम हो । तर पब्लिक हाईस्कुलले चुनौतीलाई अवसरमा बदल्दै उदाहरणीय प्रदर्शन गरेको छ । २०८२ मा प्रकाशित एसईईको नतिजामा विद्यालयले ९१.९१ प्रतिशत उत्तीर्ण दर हासिल गरी सुनसरीमा पहिलो स्थान प्राप्त गर्यो ।
विद्यालयले साधारण धारसँगै प्राविधिक धारमा इलेक्ट्रिकल इन्जिनियरिङ पनि सञ्चालन गरेको छ । प्राविधिक शिक्षामा उत्कृष्ट परिणामले विद्यालयलाई समयअनुकूल बनाएको देखिन्छ । कक्षा १२ मा ७४.५६ प्रतिशत नियमित उत्तीर्ण दरले विद्यालय अब माध्यमिक तहमा सीमित नभई उच्च शिक्षाको बलियो आधार बन्ने संकेत दिन्छ ।
धरान पब्लिक हाईस्कुलले केवल शैक्षिक उपलब्धि मात्र होइन, सामाजिक रूपान्तरणमा पनि योगदान पुर्याएको छ । यहाँका विद्यार्थी देश–विदेशमा फैलिएका छन्, तर साझा पहिचान एउटै छ— पब्लिक हाईस्कुलले सिकाएको संस्कार, सीप र सामाजिक जिम्मेवारी । गायक दीप श्रेष्ठ, दीपक लिम्बू जस्ता चर्चित गायक, नेपाल सरकारका सचिवबाट सेवानिवृत्त चन्द्रकुमार घिमिरे, खेलाडी राजुकाजी शाक्य, डा. भोला रिजाल जस्ता सफल पूर्वविद्यार्थी यही विद्यालयबाट निस्केका छन् ।
विद्यालयको शिक्षा दर्शन परीक्षा केन्द्रित मात्र छैन, यहाँ विद्यार्थीलाई अंकको प्रतिस्पर्धामा मात्र होइन, जीवनको तयारीमा उतार्ने प्रयास गरिन खोजिएको छ । फाइनल परीक्षाको तयारीका लागि कक्षा ८ र १० का विद्यार्थीका लागि बुस्टर कक्षा, कक्षा ६ देखि १० का विद्यार्थीहरूका लागि नेपाली तथा अंग्रेजी सुधार कक्षा, साइन्स तथा इलेक्ट्रिकल कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि बुस्टअप परीक्षा चलाउँदै आएको छ ।
पठन संस्कृतिमा विद्यालयले विशेष ध्यान दिएको छ । सातामा एक घण्टा अनिवार्य पुस्तकालय कक्षा सञ्चालन गरिएको छ । व्यावहारिक शिक्षामा पनि पब्लिक हाईस्कुल उदाहरणीय बनेको छ । प्लस टुका विद्यार्थीहरूलाई होटल म्यानेजमेन्टअन्तर्गत प्राक्टिकल शिक्षा दिइन्छ— रेस्टुरेन्टमा आतिथ्य व्यवस्थापन, ब्युटिसियन कोर्स, कम्प्युटर र इलेक्ट्रिकल ल्याबमा प्राक्टिकल, इलेक्ट्रिकल धारका विद्यार्थीहरूलाई नेपाल विद्युत् प्राधिकरणमा अन–द–जब–ट्रेनिङ र फिल्ड भिजिटको व्यवस्था गरिएको छ । यसले विद्यार्थीलाई पढाइपछि के गर्ने भन्ने प्रश्नको जवाफ विद्यालयमै दिने अवसर दिएको छ ।
विद्यालयमा हरेक स्तरमा विशेष इन्चार्जको व्यवस्था गरिएको छ । कक्षा ४, ५, ६ र १० का लागि विषयगत इन्चार्ज, प्राथमिक तहका लागि एकेडेमिक इन्चार्ज, साइन्स र इलेक्ट्रिकल डिपार्टमेन्ट इन्चार्ज, डिसिप्लिन इन्चार्ज, स्कुल बस इन्चार्ज र सेक्युरिटी गार्ड इन्चार्ज तोकिएको साइन्स तथा इलेक्ट्रिकल डिपार्टमेन्ट इन्चार्ज मोहन श्रेष्ठले बताए ।
यसका अतिरिक्त विद्यालयले मोटिभेसनल कक्षा, मेडिटेसन कक्षा, डान्स कक्षा, खेलकुद र रोबोटिक्स तालिम, उद्घोषण कला, भाषण कला, सुन्दर हस्तलेखन तालिमलगायतका कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपाल स्काउटसँगको सहकार्यमा विभिन्न तालिम पनि सञ्चालन हुन्छ । साइन्स तथा इलेक्ट्रिकलका विद्यार्थीहरूका लागि भिजिटिङ प्रोफेसरको व्यवस्था पनि गरिएको छ ।
सुरक्षा, स्वास्थ्य र मानसिक पक्षलाई पनि विद्यालयले प्राथमिकतामा राखेको भट्टराईले बताए । लागूऔषध दुर्व्यसन, मानसिक समस्या, तनाव व्यवस्थापन, मेमोरी म्यानेजमेन्टलगायत विषयमा विशेष सचेतना गोष्ठी सञ्चालन हुन्छन् । यसले विद्यार्थीलाई केवल पढाइमै सीमित नराखी जीवनका लागि तयार पार्ने दृष्टिकोणलाई बलियो बनाउने उनको भनाइ छ ।
तर उपलब्धिसँगै चुनौती पनि रहेको प्रधानाध्यापक डा. इन्द्रमोहन झाले बताए । सबै विद्यार्थी अट्ने छात्रावासको अभाव, खेलमैदान व्यवस्थापनमा कमी, विज्ञान र प्राविधिक शिक्षाका लागि थप ल्याब, स्मार्ट बोर्ड, इन्टरनेट र डिजिटल सामग्रीको आवश्यकता बढ्दै गएको उनले जनाए । ‘सीमित बजेटमा आधुनिक शिक्षाको माग पूरा गर्नु सजिलो छैन,’ उनले भने ।
