१ सय १९ वर्षअघि खुलेको बझाङको सत्यवादी

सर्वसाधारणलाई शिक्षा दिने उद्देश्यले १९६३ सालमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहले सत्यवादी पाठशाला स्थापना गरेका हुन् ।

पुस २६, २०८२

वसन्तप्रताप सिंह

Bajhang's Satyawadi, which opened 119 years ago

What you should know

बझाङ — नेपालको मानचित्रको पश्चिम कुनामा छ, बझाङ । चीनको तिब्बतसँग सिमाना छोएको यो सुदूर भूगोललाई अहिलेसम्म पनि राज्यले विकट र दुर्गमको दर्जामा राखेको छ । सत्यवादी १ सय १९ वर्षअघि त्यही भूमिमा बलेको दीपक हो, जसले शताब्दीअघिदेखि पश्चिम नेपालमा शिक्षाको अखण्ड ज्योति फैलाइरहेको छ ।

राजा–महाराजाका छोराछोरी मात्रै पढ्न पाउने दरबार हाईस्कुललाई छाड्ने हो भने यो नेपालको दोस्रो सार्वजनिक स्कुल हो । यसअघि भोजपुरको दिङलामा बालागुरु षडानन्दले १९३२ सालमा स्थापना गरेको संस्कृत पाठशालामा मात्र सर्वसाधारणका छोराछोरीले पढ्न पाउँथे । सर्वसाधारणलाई शिक्षा दिने उद्देश्यले १९६३ सालमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहले सत्यवादी पाठशाला स्थापना गरेका हुन् ।

काठमाडौंको नक्सालस्थित आफ्नै निवासमा खोलेको यस विद्यालयमा उनी आफैं हेडमास्टर भएर जनताका छोराछोरीलाई निःशुल्क शिक्षा दिन थाले । जनता शिक्षित भए आफ्नो शासनमा धक्का पुग्ने ठानेका राणा शासकहरूले पाठशाला बन्द गराउन खोजेपछि काठमाडौंबाट झन्डै हजार किलोमिटर टाढा बझाङको जयपृथ्वीनगरमा १९६९ सालमा जयपृथ्वीले यो विद्यालय सारेका थिए ।

जहाँ तत्कालीन शासकहरूको दबदबा निकै कम थियो । त्यसको एक वर्षपछि मात्रै चैनपुर नजिकै सेती नदीको किनारमा अवस्थित भोपुर गाउँमा सत्यवादी सारिएको थियो ।

जयपृथ्वी बझाङका न्यायप्रेमी शासक थिए । राणाहरूसँग जोखिम उठाएर उनले स्थापना गरेको विद्यालयले राणाकालीन अन्धकारमा पनि शिक्षाको उज्यालो फैलायो । गाउँगाउँबाट विद्यार्थीहरू ल्याई छात्रावासमा राखेर पढाउने प्रबन्ध जयपृथ्वीले मिलाएका थिए । उनले भारत निर्वासनमा रहेका बेला विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी आफ्ना भाइ अमरबहादुर सिंहलाई दिएका थिए ।

स्कुलनजिकै नेपाली हाते कागज उद्योग थियो । विद्यार्थीहरू आफूलाई चाहिने कागज उत्पादन गर्थे । त्यो उद्योग पछि (२०२० साल) सम्म सञ्चालनमा रहेको बझाङको इतिहासका अध्येता विष्णुभक्त शास्त्रीले बताए । ‘विद्यार्थीले बिहान ४ बजेर उठेर सेती नदीमा स्नान गर्ने, दाउरा खोज्ने, खाना पकाउने, कक्षामा पढ्ने, गृहकार्य गर्नेलगायत कडा अनुशासनमा रहेर पढ्नुपर्थ्यो,’ उनले भने । 

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अमरबहादुर सिंहपछि प्रधानाध्यापक भएका भारतको पिथौरागढ अस्कोटका नागरिक रामदत्त अवस्थीको ठूलो भूमिका थियो । ‘जयपृथ्वीको मानवतावादी दर्शनबाट प्रभावित अवस्थी उहाँकै निर्देशन मानेर जीवनभर यो विद्यालयमा सेवा गर्नुभयो । विद्यालयलाई घर र विद्यार्थीलाई छोराछोरी जस्तो व्यवहार गर्ने त्यस्ता शिक्षक नभएको भए सायद सत्यवादी यो अवस्थामा रहने थिएन होला,’ शास्त्रीले भने । अवस्थीले ३० वर्ष बझाङमा रहेर सत्यवादीमा अध्यापन गराएका थिए ।

त्यो बेला बझाङ मात्रै होइन, सुदूरपश्चिम र मध्यपश्चिम नेपालका थुप्रै जिल्लाका मानिस शिक्षा लिन सत्यवादी पुग्थे, जसका कारण सत्यवादी पश्चिम नेपालकै शैक्षिक केन्द्र बनेको थियो । ‘बाजुरा, अछाम, बैतडी, दार्चुला मात्रै होइन, हुम्ला, जुम्ला, कालिकोटसम्मका मानिस पनि सत्यवादीमा आएर पढेको इतिहास छ,’ ३८ वर्षदेखि शिक्षकका रूपमा कार्यरत लक्ष्मण उपाध्याय भन्छन् । 

१९६८ मा स्थापना भएको भए पनि यो विद्यालयले २००८ सालमा मात्रै हाईस्कुल (माध्यमिक तह) अनुमति पाएको थियो । सत्यवादी हाईस्कुल बनाउँदाको कहानी पनि निकै रोचक छ । ‘स्कुलका भवन संरचना बनाउन बाजुरादेखि जुम्लासम्म चन्दा संकलन गरिएको लिखतहरू अहिले पनि छन्,’ सत्यवादीकै अर्का शिक्षक राजेन्द्रप्रसाद जोशी भन्छन्, ‘चन्दा उठाएको रकम अपुग भएपछि चैनपुरका देवी साहु (एक जना नेवार व्यापारी) कहाँ तत्कालीन बझाङी राजा रामजङले आफ्नो श्रीपेच धरौटी राखेर रकम जुटाएपछि मात्रै हाईस्कुल खोल्न सम्भव भएको थियो ।’ 

आफ्ना हजुरबुवा जयपृथ्वीले स्थापना गरेको स्कुललाई थप समृद्ध बनाउन उनका सन्ततिले गरेको योगदान निकै प्रशंसायोग्य रहेको जोशीले बताए । राजाले श्रीपेच धरौटी राखेर सत्यवादी हाईस्कुल बनाउन कस्सिएको थाहा पाएपछि बझाङ माइती भएकी बबरशमशेर राणाकी धर्मपत्नी वेदभक्तलक्ष्मी राणाले मोरु १० हजार दिएपछि त्यो रकमले दुई सयभन्दा बढी विद्यार्थीलाई बस्न मिल्ने तीनतले छात्रावास निर्माण गरिएको विद्यालयको रेकर्डमा उल्लेख छ ।

सत्यवादीका विद्यार्थी, जहाँ गए त्यहीं चम्किए 

स्थापनाकालदेखि पश्चिम नेपालमा अब्बल कहलिएको विद्यालयको शैक्षिक गुणस्तर र साख अहिलेसम्म पनि कायम छ । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी स्वास्थ्य, शिक्षा, चिकित्सा, न्याय, इन्जिनियरिङ, उड्डयनदेखि राजनीतिसम्म र देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो पेसामा चम्किरहेका छन् ।

नेपाल सरकारका पूर्वसचिवहरू विष्णुप्रसाद खत्री, धनराज रताला, नास्टका पूर्ववैज्ञानिक तथा नेपालका पहिलो टनेल इन्जिनियर अक्कलबहादुर सिंह, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंह, पूर्वसचिव अर्जुनबहादुर सिहं, स्वास्थ्य विभागका पूर्वनिर्देशक अमिर खाती, मदन पुरस्कार विजेता स्थिरजंगबहादुर सिंहलगायत थुप्रै पूर्वविद्यार्थीले सरकारी सेवामा आफूलाई अब्बल सावित गरिसकेका छन् । नेपाली सेनाकी कर्णेल कान्तिप्रभा 

गिरी, २०३८ सालमै राष्ट्रिय वाणिज्य बैंककी प्रबन्धक जाम्बवती जोशीदेखि बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्य जोशी र उपसचिव पंकजा जोशी, सविता जोशीलगायत थुप्रै पूर्वविद्यार्थी विभिन्न सरकारी कार्यालयको नेतृत्व गरिरहेका छन् ।

मानापाथीको हिसाबदेखि कृषि र विज्ञानसम्म 

सत्यवादी पाठशाला स्थापनाताका यहाँको पाठ्यक्रममा बाह्रखरी पढाइन्थ्यो । मानापाथी, नाली, धुर र रोपनीको हिसाब सिकाइन्थ्यो । देवनागरी अक्षर, गणित, नापतौल, ऋतु (मौसम) को ज्ञान दिनु, विद्यार्थीलाई मानवता र सामाजिक शिक्षाका कुरा पठाइन्थ्यो ।

यसका लागि अक्षरांकन शिक्षा, तत्त्वबोध, व्यहारमाला जस्ता पुस्तक जयपृथ्वी आफैंले लेखेका थिए । यही शिक्षा लिएको भरमा सत्यवादी पढेको विद्यार्थी त्यो बेला समाजको सम्पत्ति कहलाउँथ्यो । समाजमा हाईस्कुल पढ्ने विद्यार्थीको सान र मान छुट्टै हुन्थ्यो ।

सत्यवादीमा अहिले पूर्वप्राथमिकदेखि १० जोड २ सम्मका विद्यार्थी पढ्छन् । विद्यालयले २०६४ देखि १० जोड २ तहमा विज्ञान, कृषि विज्ञान, वाणिज्य र शिक्षा विषय अध्यापन गराइरहेको छ । सीटीईभीटीको सम्बन्धन लिएर कक्षा नौदेखि डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) र जेटीए प्लान्ट साइन्स जस्ता व्यावसायिक विषय पनि यहाँ पढाइ हुन्छ । जसले सस्तो शुल्कमा बझाङीलाई व्यावसायिक र प्राविधिक शिक्षाको अवसर जिल्लामै दिएको छ । विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा निःशुल्क शिक्षा आर्जन गर्ने अवसर पनि दिएको छ ।

पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति र प्रविधि

रंगीचंगी फूलका गमलाहरूले सजिएका भव्य र आधुनिक भवनमा अहिले ८ सय १० जना छात्रा र ८ सय ६१ जना छात्र गरी एक हजार ६ सय ७१ जना विद्यार्थी पढ्छन् । सत्यवादी विद्यार्थी संख्याका हिसाबले पनि बझाङकै ठूलो विद्यालय हो । ३६ हजार ३४५ वर्गमिटर क्षेत्रफलमा फैलिएको विद्यालयमा १० वटा सुविधायुक्त भवन, पुस्तकालय, फराकिला खेलकुद मैदान छन् । 

फिजिक्स, रसायनशास्त्र र जीवविज्ञानका छुट्टाछुट्टै प्रयोगशाला छन् । ६० थान कम्प्युटरसहितको कम्प्युटर ल्याब छ । १३ वटा स्मार्ट बोर्डमार्फत श्रव्यदृश्य माध्यमबाट शिक्षण हुने यो विद्यालय आधुनिक शैलीमा पठनपाठन गराउनेमा पनि अग्रणी स्थानमा छ । कृषि पढ्ने विद्यार्थीका लागि अभ्यास गर्न विद्यालयको आफ्नै जग्गा र ग्रिन हाउसलगायत आधुनिक कृषि पूर्वाधार छन् । 

१५ जना महिला र ३४ जना पुरुष गरी ४९ जना विभिन्न विषयका शिक्षक र कर्मचारीले पाठ्यक्रम मात्रै नभएर योग, नृत्य, संगीतलगायतका जीवनोपयोगी विषयमा विद्यार्थीलाई प्रशिक्षण दिँदै आएका छन् । पर्याप्त खेल सामग्री, नियमित हुने खेलकुदको अभ्यासका कारण विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा पनि पनि सत्यवादी अग्रस्थानमा रहँदै आएको छ ।

विद्यालयको आफ्नै स्रोत, विद्यालयका पूर्वविद्यार्थी, विभिन्न व्यक्ति र संस्थाले स्थापना गरेका विभिन्न छात्रवृत्ति कोषमा करिब तीन करोड रकम छ । यो रकमबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष १ सय ५० भन्दा बढी गरिब, जेहेन्दार र विपन्न विद्यार्थीलाई विज्ञान, कृषि विज्ञान, वाणिज्यशास्त्र अध्ययनका लागि विद्यालयले छात्रवृत्ति दिँदै आएको प्रधानाध्यापक खगेन्द्रप्रसाद जोशीले जनाए । छात्रवृत्ति कोषलाई अझ बढाउने र धेरै विद्यार्थीलाई समेट्ने प्रयासमा विद्यालय लागिपरेको उनको भनाइ छ । 

विद्यार्थीहरूलाई भविष्यको अध्ययन र पेसा छनोटमा सहयोग गर्ने उद्देश्यले विद्यालयमा करिअर ल्याब स्थापना गरिएको छ । यसमार्फत विद्यार्थीले आफ्नो रुचि, क्षमता र चाहनाअनुसार विषय छनोट गर्न मार्गदर्शन पाउँछन् । सत्यवादी विद्यालय मात्रै नभएर बझाङको गर्विलो इतिहास भएकाले यसको गरिमा बढाउन सबैको हातेमालो आवश्यक रहेको जोशीको भनाइ छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully