बालविकास केन्द्रदेखि १२ कक्षासम्म ९ सय ६० विद्यार्थी पढ्छन् । छात्रा ५ सय ३७ र छात्र ४ सय २३ छन् भने दलित बालबालिकाको संख्या २ सय ३५ छ ।
What you should know
रास्कोट, कालीकोट — जिल्लाकै जेठो विद्यालय बडिमालिका माविले पुस पहिलो साता धुमधामसँग स्थापना दिवस मनायो । गुणस्तरीय पढाइ खोज्दै सहर चहार्ने अभिभावक र विद्यार्थीका लागि विद्यालयले रुचिअनुसार शिक्षा दिन थालेको प्रधानाध्यापक पुष्पराज बरालले बताए ।
बालविकास केन्द्रदेखि १२ कक्षासम्म ९ सय ६० विद्यार्थी पढ्छन् । छात्रा ५ सय ३७ र छात्र ४ सय २३ छन् भने दलित बालबालिकाको संख्या २ सय ३५ छ ।
स्थानीय रास्कोट नगरपालिकाले सामुदायिक विद्यालय सुधार गर्ने नीति बनाएपछि बसाइँसराइ नै रोकिएको नगर प्रमुख धर्मराज शाहीले बताए । ‘गाउँ खाली हुने अवस्था आयो,’ उनले भने, ‘बडिमालिका माविबाट अंग्रेजी माध्यममा पनि पठनपाठन थाल्यौं । विद्यार्थी यतै भर्ना हुन थालेका छन् ।’
नगर शिक्षा शाखा प्रमुख खेमराज शाहीका अनुसार नगरले सामुदायिक सुधारका लागि अनुदानसमेत दिने गरेको छ ।
तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य धर्मदत्त उपाध्यायको अगुवाइमा २०३२ मा मावि स्वीकृत भएको विद्यालय २०१३ अघि गौतुकोटमा गुरुकुलका रूपमा थियो । नेपाल राष्ट्रिय प्राविका रूपमा रहेर २०१८ देखि शम्भुनाथ मिडिल स्कुल सिमसेरामा सञ्चालन गरियो ।
शिक्षाप्रेमी एवं राजनीतिज्ञ उपाध्यायसहित स्थानीय समाजसेवी जगतबहादुर शाही, पृथ्वीबहादुर शाही र गिरिराज शाहीले जग्गा दान गरे । श्रमदान, मुठीदान र चन्दा दिएर विद्यालय सञ्चालन गरेको विद्यालय सञ्चालनमा सक्रियमध्येका ८१ वर्षीय सत्यबहादुर शाहीले बताए । उनका अनुसार विद्यालयमा पढ्न अछाम, बाजुरा, मुगु, कालीकोटबाट सामल (दाल, चामल, पिठो, नुन, तेल) बोकेर विद्यार्थी शिक्षा लिन रास्कोट आउँथे । पिठ्यूँमा भारी बोकेर तीन/चार दिन हिँड्नुपर्थ्यो ।
अहिले भवन, खानेपानी, शौचालय, महिनावारी आराम कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, खेल मैदान सबै हिसाबमा नमुना बन्दै गएको व्यवस्थापन समिति अध्यक्ष कमलविक्रम शाहीले बताए । विद्यालय शान्ति क्षेत्र अवधारणाअनुसार विद्यालयमा राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ ।
बडिमालिकामा अपांगता भएका बालबालिकाका लागि स्रोत कक्षा पनि छ । २०६२ देखि कक्षा ११ र १२ सञ्चालन भएको विद्यालयले २०६८ देखि सीटीईभीटीबाट कृषि विषय पढाइ गर्दै आएको पूर्वप्रधानाध्यापक तथा नगर उपप्रमुख मनिराज बरालले बताए । एसईईका विद्यार्थीका लागि आवासीय पढाइ सञ्चालन छ ।
जिल्लामै विद्यार्थी संख्या धेरै भएको स्कुल रास्कोट भएको गत महिना अनुगमनका क्रममा रास्कोट पुगेका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्षप्रसाद चौलागाईंले बताए । एसईई नतिजामा पनि बडिमालिका मावि अन्य विद्यालयको तुलनामा अब्बल देखिन्छ ।
