राणा शासक चन्द्रशमशेरविरुद्ध विद्रोह गरेपछि १९७६ सालमा भारत निर्वासित कृष्णप्रसाद कोइराला परिवारसहित बिहारको सहर्सा पुगे, निर्वासनको त्यो कठिन समय उनले निराशामा होइन, शिक्षामा रूपान्तरण गरे, त्यही छाप्रो नै आजको आदर्श माध्यमिक विद्यालयको जग थियो
What you should know
विराटगनर — देशका धेरै सामुदायिक विद्यालय अस्तित्वको संकटमा छन् । कक्षाकोठा छन्, शिक्षक छन् तर विद्यार्थी छैनन् । कतिपय विद्यालय मर्जको सूचीमा छन्, कतिपय बन्द हुने अवस्थामा ।
तर, यही निराशाजनक राष्ट्रिय चित्रको बीचमा विराटनगरका दुई सामुदायिक विद्यालय— आदर्श माध्यमिक विद्यालय र पोखरिया माध्यमिक विद्यालय— यस्ता उदाहरण बनेका छन्, जसले सार्वजनिक शिक्षा कमजोर हुन्छ भन्ने स्थापित भ्रमलाई प्रश्न गरिरहेका छन् ।
यी दुई विद्यालयको कथा फरक–फरक समयमा सुरु हुन्छ । तर, दुवैको गन्तव्य एउटै छ— विश्वास, भिजन र समुदायको सहकार्यबाट सामुदायिक विद्यालय पनि बोर्डिङभन्दा कम हुँदैन भन्ने प्रमाण ।
कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–७ मा फैलिएको भव्य विद्यालय परिसर हेर्दा सायदै कसैले अनुमान गर्न सक्छ— यसको सुरुवात एक राजनीतिक निर्वासन, एक छाप्रो र केही दर्जन बालबालिकाबाट भएको थियो । राणा शासक चन्द्रशमशेरविरुद्ध विद्रोह गरेपछि १९७६ सालमा भारत निर्वासित कृष्णप्रसाद कोइराला परिवारसहित बिहारको सहर्सा पुगे । निर्वासनको त्यो कठिन समय उनले निराशामा होइन, शिक्षामा रूपान्तरण गरे ।
त्यही छाप्रो नै आजको आदर्श माध्यमिक विद्यालयको जग थियो । ‘यो विद्यालय कुनै भवनबाट होइन, विचारबाट सुरु भएको हो,’ विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल भन्छन्, ‘त्यसैले होला, गम्भीर संकटका बेला पनि यो विद्यालय सतिसालझैं उभिइरह्यो ।’
समयसँगै आदर्श विद्यालय विराटनगरकै शैक्षिक केन्द्र बन्यो । पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी यही विद्यालयका पूर्वविद्यार्थी हुन् । १९९६ मा ‘श्री ३ जुद्ध हाईस्कुल’ नाममा औपचारिक रूपमा उद्घाटन भए पनि २००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि पुनः ‘आदर्श’ नाममै फर्कियो ।
तर २०४६ पछिको परिवर्तनले आदर्शलाई पनि छोयो । निजी विद्यालयको बाढी आयो । हुनेखाने परिवार बोर्डिङतिर लागे । आदर्शमा भने श्रमिक र विपन्न परिवारका बालबालिका मात्रै बाँकी रहे ।
एक समय विद्यार्थी संख्या दुई सयमा झर्यो । भव्य भवन भए पनि कक्षाकोठा रित्तै थिए । दातासमेत निराश भए । ‘त्यतिबेला धेरैले आदर्शको भविष्य सकियो भन्थे,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुली भन्छन्, ‘तर विद्यालयसँग इतिहास थियो, त्यो इतिहासले हामीलाई हार्न दिएन ।’
०७२ साल आदर्शका लागि टर्निङ प्वाइन्ट बन्यो । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न विद्यालयले कक्षा १ देखि अंग्रेजी माध्यम सुरु गर्यो । सुरुमा अविश्वास, व्यंग्य र आलोचना खेप्नुपर्यो । एसईईमा लगातार उच्च जीपीए, जिल्ला टप र बोर्डिङ छाडेर आउने विद्यार्थीहरूको लर्को । एक समय ‘गरिबको स्कुल’ भनेर चिनिएको आदर्शमा अहिले भर्ना गराउन मन्त्री र पहुँचवालासम्मको फोन आउँछ ।
‘हामीले अंग्रेजी माध्यम मात्रै होइन, आत्मविश्वास पढायौं,’ प्रधानाध्यापक पोखरेल भन्छन्, ‘अभिभावकले त्यो बुझ्न थालेपछि सबथोक बदलियो ।’ आदर्श विद्यालय अंग्रेजी माध्यमकै कारण मात्रै सफल भएको भने होइन । कारण अर्को पनि छ । समावेशी सार्वजनिक शिक्षाको मोडेल । अंग्रेजी र नेपाली दुवै माध्यम छन् । प्राविधिक शिक्षा छ ।
अपांगता भएका विद्यार्थीका लागि स्पिच थेरापिस्ट र अपांगमैत्री बस छ । सरकारी, राहत र निजी स्रोतका गरी करिब १ सय १२ शिक्षक कार्यरत छन् । कर्मचारी १५ जना र विद्यार्थी ३ हजार ६ सयभन्दा बढी छन् । उनीहरूका छोराछोरी पनि यहीं पढ्छन् ।
गत वर्ष आदर्श सामुदायिकले एसईईमा कोशीमै उत्कृष्ट नतिजा ल्यायो । २ सय ९९ विद्यार्थी राम्रो जीपीएका साथ पास भए । यो वर्ष ३ सयभन्दा बढी एसईईको तयारीमा छन् । ‘यस पटक पनि अघिल्लो वर्षको सफलता दोहोर्याउने हाम्रो लक्ष्य छ,’ प्रधानाध्यापक पोखरेल थप्छन् ।
विद्यालय करिब १ बिघा १७ कट्ठा जमीनमा फैलिएको छ । १८ बिघा जमिन मोरङकै धनपाल गाउँपालिकामा लिजमा दिइएको छ । यहाँ ८० भन्दा बढी स्मार्ट कक्षा छन् । अर्को १२ कोठे भवन निर्माणाधीन छ । विराटनगर–१ मा रहेको पोखरिया माध्यमिक विद्यालयको कथा पनि कुनै समय आदर्शकै जस्तो थियो ।
२०१६ सालमा स्थानीय अभिभावक शंकरप्रसाद गौतम, खुवलाल चौधरी, डिल्लीप्रसाद ज्ञवालीलगायतको पहलमा साँघुरो क्षेत्रफलमा पोखरिया स्कुल जन्मियो । अहिले यही स्कूलले देशकै चर्चित शैक्षिक संस्थाको पहिचान बनाएको छ ।
सुरुमा प्राविका रूपमा स्थापित भएको यो स्कुल २०३० पछि निम्न मावि बन्यो । बहुदलपछि २०५१ मा मावि स्वीकृत भयो । त्योबेला देशभरका ९ सयभन्दा बढी स्कुलले मावि स्वीकृति पाएका थिए । २०६६ सालमा १० जोड २ पनि सुरु भयो । विद्यालय राम्रै चल्दै थियो । विद्यार्थीहरू पनि पर्याप्त नै थिए । तर, अचानक विद्यार्थी स्कुल छाड्दै बोर्डिङ भर्ती हुन थाले ।
२०६७/६८ सालसम्म आइपुग्दा विद्यार्थी संख्या ३ सय ५० मा झर्यो । विद्यालय मर्ज गर्ने कुरा चल्न थाल्यो । त्यहींबाट सुरु भयो पोखरियाको पुनर्जन्म । २०६८ सालमा प्रधानाध्यापक बनेका खेमराज भट्टराईले पोखरियालाई बचाउने होइन, बदल्ने निर्णय गरे । भट्टराईले अंग्रेजी माध्यमलाई हतियार बनाएपछि त बोर्डिङ स्कुल छाड्दै विद्यार्थी फेरि आउन थाले ।
‘विद्यार्थी तान्ने उपाय भनेकै अंग्रेजी माध्यम हो भन्ने लाग्यो,’ भट्टराई सम्झन्छन्, ‘२०७० बाट अंग्रेजी माध्यम सुरु गरेपछि त विद्यार्थी थेग्नै गाह्रो भइहाल्यो ।’ १० वर्षभित्र पोखरिया पूर्ण अंग्रेजी माध्यममा रूपान्तरण भयो । २०७१ सालको एसएलसीमा ४२ जनामध्ये १६ जनाले विशिष्ट श्रेणी ल्याएपछि पोखरिया एकाएक देशभर चिनियो । त्यही वर्षबाट विद्यालयले प्रवेश परीक्षा अनिवार्य गर्यो । ‘नतिजाले समग्र अभिभावकको धारणा बदलिदियो,’ अभिभावक राजन दाहाल भन्छन्, ‘आज पोखरिया रोजाइमा पर्नुको कारण यही हो ।’
आज पोखरिया माविमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म ३ हजार ७ सयभन्दा बढी विद्यार्थी छन् । सरकारी दरबन्दीले यो संख्या धान्न सक्दैन । त्यसैले विद्यालयमा १ सय २६ जना शिक्षक/कर्मचारी छन् । यसमध्ये अधिकांश निजी स्रोतबाट छन् ।
अर्थात् अभिभावकको स्वैच्छिक सहयोगबाट शिक्षकहरूले पारिश्रमिक पाउँछन् । कक्षा ८ को नजिता शतप्रतिशत उत्कृष्ट छ । १२ को नतिजा ७३ बाट बढेर ९२ प्रतिशतमा उक्लिएको छ । एसईईको नतिजा पनि करिब शतप्रतिशत नै छ । गत वर्ष ४ सय ६२ जनाले परीक्षा दिँदा ५ जना मात्रै ग्रेड वृद्धिमा परेका थिए ।
२०७० सालसम्म १५ कोठा मात्रै भएको विद्यालयमा ९० भन्दा बढी कक्षाकोठा छन् । त्यो पनि स्मार्ट कक्षाकोठा । ३ कक्षासम्मका विद्यार्थीका लागि छुट्टै भवन भाडामा लिइएको छ । ९९ वर्षका लागि भाडामा लिएको जग्गामा १२ र १४ कोठे दुई नयाँ भवन निर्माणाधीन छन् । पुस्तकालय छ । कम्प्युटर र विज्ञान प्रयोगशाला छ ।
आदर्श र पोखरिया दुवै स्कुलको यात्रा फरक छ । तर, निष्कर्ष एउटै । आज आदर्श विद्यालय छाप्रोबाट स्मार्ट कक्षासम्म आइपुगेको छ । पोखरिया मावि मर्जको सूचीबाट मोडेल स्कुल बनेको छ । यी दुई विद्यालयले प्रमाणित गरेका छन्, गुणस्तरीय शिक्षा निजीको बन्धक होइन । नेतृत्व स्पष्ट भयो, शिक्षक प्रतिबद्ध भए र अभिभावक जोडिए भने सामुदायिक विद्यालय पनि रोजाइको विद्यालय बन्न सक्छ ।
यही हो, छाप्रोबाट उठेको आदर्श र मर्जबाट फर्किएको पोखरियाको साझा यात्रा । ‘यी विद्यालयले सामुदायिक विद्यालय कमजोर हुँदैनन् भन्ने सन्देश देशभर प्रवाह गरेका छन् । जुन शिक्षा क्षेत्रका लागि सकारात्मक पाटो हो,’ आदर्शका पूर्वविद्यार्थी तथा राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलले भने ।
