काभ्रेमा पैसा फलाउने कफी र जडीबुटी

महाभारत गाउँपालिकाको नारा छ– जसले रोप्छ कफीको बोट, उसलाई २० रुपैयाँको नोट । कफी केवल बाली होइन, ग्रामीण विकासको माध्यम बनेको छ ।

पुस १९, २०८२

ज्योती श्रेष्ठ

Coffee and herbs that make money in Kavre

What you should know

काभ्रे — मकै, कोदोजस्ता मुख्य बालीबाट जीविकोपार्जन गर्दै आएका महाभारत गाउँपालिका वडा नं १, किङ्ग टोलका ४० वर्षीय मेखबहादुर थिङ अहिले कफी खेतीमा आकर्षित भएका छन् । उनले ६ सय कफीको बोट लगाएका छन् ।

२० वर्षअघि १५/२० बोटबाट कफी लगाउन सुरु गरेका उनले त्यसलाई बिस्तार गर्दै ५ सय बोटसम्म पुर्‍याएका थिए । महाभारत गाउँपालिकाका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गरेपछि उनले एक सय थप गरी ६ सय बोट पुर्‍याएका छन् । पालिकाले एकातिर निःशुल्क बिरुवा वितरण गर्ने, अर्कोतिर बिरुवा रोप्ने किसानलाई अनुदानमा पैसा पनि दिने हुँदा किसानलाई दोब्बर फाइदा मिलेको उनले बताए ।

मकैभन्दा कफीबाट राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने उनको अनुभव छ । ‘पहिले मकै लगाउँदा एक मुरी जति फल्थ्यो,’ उनले भने, ‘त्यति मकै आफू खान र बस्तुलाई खुवाउन मात्रै ठिक्क हुन्थ्यो, अहिले कफीबाट वर्षमा करिब १ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।’ उनका अनुसार, पालिकाले १ सय बोट अनुदान दिएको कफीबाट बिस्तारै उत्पादन लिने अपेक्षा छ । यस वर्ष १२० केजी कफीबाट १ लाखभन्दा बढी आम्दानी लिने उनले अनुमान गरेका छन् । उनका अनुसार, केही कफीका बोटबाट भर्खरै मात्र उत्पादन सुरु भएको छ ।

०००

२८ वर्षअघिदेखि सुरु गरिएको कफी खेतीलाई महाभारत गाउँपालिका वडा नं ६ स्थित लामा टोलका ३० वर्षीय युगान्त थिङले निरन्तरता दिँदै आएका छन् । उनको बगैँचामा अहिले अरेबिका र बोरबेन जातका १२ सय कफीको बोट छ । उनका अनुसार, वार्षिक ५/६ हजार चेरी उत्पादन हुने र त्यसलाई प्रशोधन गरेपश्चात् २/३ हजार केजी कफी बिक्री गरिन्छ, जसबाट वार्षिक रूपमा १५ देखि २० लाख रुपैयाँ आम्दानी हुन्छ । उनले कफीसँगै कफीको बिरुवा पनि उत्पादन गर्दै आएका छन् । पालिकाले कफी प्रवर्द्धन गर्न किसानलाई बिरुवा वितरण गर्दै आएको कार्यक्रममा उनले पनि सघाउँदै आएका छन् । कफीको बिरुवा वितरणदेखि कफी लगाउने तौरतरिकाबारे पनि किसानलाई जानकारी गराउँदै आएका छन् । उनका अनुसार, कफीबाट राम्रो उत्पादन लिन सकिन्छ । ‘रोपेको २/३ वर्ष अलिकति मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि राम्रो स्याहार गर्न सकिए मनग्गे आम्दानी लिन सकिन्छ ।’

Coffee and herbs that make money in Kavre

कफी खेती प्रोत्साहन गर्न गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसलाई २० रुपैयाँको नोट’ कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । कार्यक्रम प्रक्रियाबारे उनले भने, ‘कृषकलाई कार्यक्रमबारे जानकारी गराइएअनुसार किसानहरूले कफीको बिरुवा रोप्नुभएको थियो, कृषि प्राविधिकले बिरुवा रोपेको प्रमाणित गरेपछि मात्रै किसानलाई अनुदान दिइन्छ ।’

गाउँपालिकालाई नै कफीमा पकेट क्षेत्र बनाउन यो विशेष अभियान सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले बताए । उनका अनुसार, पालिकाले २०८१/०८२ मै नीति तथा कार्यक्रममा उल्लेख गरेर कृषि शाखाबाट स्वीकृत गरेको कार्यक्रम हो यो । उक्त कार्यक्रमका लागि पालिकाले २० लाख बजेट विनियोजन गरेको छ । सो कार्यक्रम कार्यान्वयन गर्न पालिकाले कार्यविधि बनाएको छ ।

यो कार्यक्रमबाट महाभारत गाउँपालिकाका ४ सय ४३ किसान लाभान्वित भएको पालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख खिमबहादुर डाँगीका अनुसार, उक्त कार्यक्रमका लागि ४९ हजार ९ सय कफीको बोट वितरण गरिएको थियो । पालिकाभरि बढीमा ६ सय बोट बिरुवा रोप्ने किसानसमेत रहेका छन् । यो कार्यक्रमका लागि विनियोजन भएको २० लाखमध्ये ७ लाख ९८ हजार रुपैयाँ ‘२० रुपैयाँ’ अनुदानअन्तर्गत किसानलाई वितरण गरिएको उनले बताए ।

कृषि शाखाका अनुसार, गाउँपालिकाको वडा नं ५ कफी उत्पादनको मुख्य केन्द्र बनिसकेको छ भने २, ३ र ४ वडामा पनि सम्भावना रहेको भन्दै गाउँपालिकाले यी क्षेत्रलाई ‘कफी पकेट’ घोषणा गरेको छ । महाभारत क्षेत्रमा उत्पादन भएको कफीको बजार अहिले नेदरल्यान्ड र जापान रहेको पालिकाले जनाएको छ । कफी किन्न स्वदेशी तथा विदेशी व्यापारी किसानको बारीमै पुग्ने पालिका अध्यक्ष जिम्बाको भनाइ छ ।

उनका अनुसार, पछिल्लो समय बजारमा कफीको माग र बजार दुवै छ । ‘अहिले प्रतिकेजी ९ सयदेखि १ हजार रुपैयाँसम्ममा कफी बिक्री हुने गरेको छ,’ उनले भने, ‘किसानको कफी खरिद गर्न अहिले व्यापारीबीच प्रतिस्पर्धै हुने गरेको छ ।’ यहाँ राम्रो उत्पादन गर्ने किसानले कफीबाटै वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । पालिकाभर वार्षिक रूपमा ६० टन कफी उत्पादन हुने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

जसको उत्पादन, उसैलाई अनुदान

काभ्रेको डाँडापारि क्षेत्र अब कफी उत्पादनको सम्भावनाले उज्यालोतर्फ उन्मुख हुँदै गएको छ । महाभारत गाउँपालिकासँगै खानीखोला गाउँपालिकाले पनि कफी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई आकर्षित गर्न विभिन्न कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले तीन वर्षयता ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम लागू गर्दै कफी खेतीमा किसानको सक्रिय सहभागिता बढाउने लक्ष्य लिएको छ ।

यस कार्यक्रमअन्तर्गत किसानले आफैँ उत्पादन गरेका कफीको आधारमा प्रत्यक्ष रूपमा अनुदान पाउने गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार, अनुदान वितरण प्रक्रिया सरल, पारदर्शी र किसानमैत्री बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । खानीखोला गाउँपालिकाले हाल कफी खेतीको सम्भावना भएका क्षेत्रमा बिरुवा वितरण, सिँचाइ सुविधा, प्रविधि हस्तान्तरण, तालिम र उपकरण सहयोगका माध्यमबाट किसानलाई प्रोत्साहन गरिरहेको उनले बताए ।

महाभारत गाउँपालिकाजस्तै खानीखोलाले पनि कफीलाई ‘पकेट क्रप’ अर्थात् विशेष प्राथमिकतासहित विकास गर्ने बालीका रूपमा समेटेको छ । हाल प्रदेश सरकारको ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत पालिकाले कफी उत्पादन, प्रशोधन र बजारीकरणलाई प्राथमिकतामा राखेको छ ।

Coffee and herbs that make money in Kavre

कफीको अन्तर्राष्ट्रिय बजारमा माग बढिरहेकाले किसान यो खेतीतर्फ केन्द्रित हुन थालेका पालिका अध्यक्ष थिङले बताए । उनका अनुसार, केही किसानहरू विदेशबाट फर्केर नेपालमै बसेर कफी खेती गर्न थालेका छन् ।

कफी खेतीमा आकर्षण बढेसँगै पालिकाले बजार व्यवस्थापन र ब्रान्डिङको दिशामा पनि काम सुरु गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष थिङको भनाइ छ । काभ्रेको कफीलाई गुणस्तरीय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन स्थानीय तहदेखि प्रदेश तहसम्मको सहकार्यमा कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । कफी खेती केवल बाली होइन, ग्रामीण विकासको माध्यम बनेको छ । उत्पादनमा आधारित अनुदान र प्रविधिमैत्री खेती प्रणालीले कृषकहरूको आत्मविश्वास बढाएको छ । काभ्रेको खानीखोला र महाभारत गाउँपालिका अब कफीको अब बन्दै अन्तर्राष्ट्रियस्तरमा यसले छुट्टै पहिचान बनाउने विश्वास गरिएको छ ।

बेथानचोक गाउँपालिकाले स्थानीय किसानलाई उद्यमशील र व्यावसायिक बनाउने उद्देश्यसहित सहुलियत कर्जा कार्यक्रम सुरु गरेको छ । कृषि व्यवसाय सञ्चालन गर्ने किसानलाई लक्षित गर्दै गाउँपालिकाले कर्जाको ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराएको हो ।

यसका लागि बेथानचोक गाउँपालिका र जिल्लाको सहकारीबीच सम्झौता भएको छ । पालिकाभित्रका बासिन्दाले कृषि तथा सम्बन्धित व्यवसाय सञ्चालनका लागि प्रतिघरधुरी अधिकतम २० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । कर्जाको अवधि बढीमा पाँच वर्षसम्म हुनेछ । कुल ब्याजदरमध्ये ५ प्रतिशत ब्याज गाउँपालिकाले अनुदानका रूपमा व्यहोर्नेछ भने कर्जा लिने उद्यमीले मात्र ४ प्रतिशत ब्याज तिर्नुपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार, बेथानचोक गाउँपालिका वडा नं २ का भरत तिमिल्सनाले पालिकाबाट कर्जा लिएर पशुपालन व्यवसाय बिस्तार गरेका छन् ।

उनले सञ्चालन गरेको आरती कृषि तथा पशुपालन फार्ममा ३ वटा भैँसी र २ वटा गाई छन् । पालिकाबाट १५ लाख रुपैयाँ कर्जा लिएर १ भैँसी र १ गाई थप गरेर फार्मलाई पनि व्यवस्थित बनाएका छन् ।

बेथानचोकलाई कृषिमा आत्मनिर्भर पालिकाका रूपमा स्थापित गर्ने लक्ष्यसहित पालिकाको यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । यो कार्यक्रमका लागि पालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए ।

भुम्लुमा जडीबुटी प्रशोधन केन्द्र

भुम्लु गाउँपालिकाको वडा नं ८ स्थित डुम्रेमा सुरु गरिएको जडीबुटी प्रशोधन अभ्यासले स्थानीयस्तरमै आम्दानी र रोजगारीको नयाँ सम्भावना देखाएको छ । गाउँपालिकाले जडीबुटीलाई व्यावसायिक रूपमा उत्पादन र प्रशोधन गर्दै किसानको आय वृद्धि गर्ने उद्देश्यसहित प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पहिलो चरणमा औषधीय गुणयुक्त तीतेपाती प्रशोधन गरी तेल निकाल्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । उनका अनुसार, बजारमा तीतेपाती तेलको मूल्य प्रतिलिटर ८ देखि १० हजार रुपैयाँसम्म पर्ने भएकाले यसले किसान र स्थानीय उद्यमीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

Coffee and herbs that make money in Kavre

प्रशोधन प्रक्रियामा प्रयोग भएको स्टिम वाटर औषधीय प्रयोजनमा प्रयोग गर्न सकिने तथा बाँकी रहने अवशेष प्राङ्गारिक मलका रूपमा उपयोग गर्न सकिने भएकाले जडीबुटी प्रशोधन पूर्ण रूपमा फोहोररहित र वातावरणमैत्री रहेको अध्यक्षले बताए ।

उनका अनुसार, गाउँपालिकाले बाँझो जमिन सदुपयोग गर्दै जडीबुटी खेतीलाई संस्थागत गर्ने योजना अघि सारेको छ । हाल ४० रोपनी क्षेत्रमा तीतेपाती, तेजपत्ता र रोजमेरी खेती भइरहेको छ भने किसानलाई बिरुवा उपलब्ध गराएर उत्पादन विस्तार गर्ने तयारी गरिएको छ । जडीबुटी प्रशोधन केन्द्रमा तीतेपातीसँगै तुलसी, लेमन ग्रास र धसिङ्गरेको प्रशोधन अभ्यास भइसकेको छ । आगामी दिनमा विभिन्न प्रकारका औषधीय वनस्पति थप्दै उत्पादन विविधीकरण गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । पालिकाले जडीबुटी उत्पादनलाई दिगो बनाउन ग्रिन हाउससमेत निर्माण गरेको छ, जहाँ आवश्यक बिरुवा उत्पादन गरिनेछ । यसले बाहिरबाट बिरुवा खरिद गर्ने निर्भरता घटाउँदै स्थानीय उत्पादन प्रणाली मजबुत बनाउने अपेक्षा छ ।

सामुदायिक वन संरक्षणसँगै आयआर्जनलाई जोड्ने यो कार्यक्रमले युवाका लागि गाउँमै रोजगारी सिर्जना गर्ने र भुम्लु गाउँपालिकालाई जडीबुटी उद्यमको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने विश्वास लिइएको पालिका अध्यक्ष भुजेलले बताए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully