पातारासीले एमबीबीएसका लागि लाग्ने खर्चको ७५ प्रतिशत बराबर बर्सेनि ७–७ लाख रुपैयाँ अनुदानमा पढाइरहेको छ
What you should know
जुम्ला — पातारासी गाउँपालिका–४ का लुमगाउँका नवीन रेउले देवदह मेडिकल कलेज रूपन्देहीमा चिकित्सा शिक्षा चौथो वर्षमा अध्ययनरत छन् । उनलाई पातारासीले ७५ प्रतिशत अनुदानमा चिकित्सा शिक्षा अध्ययनको व्यवस्था मिलाइदिएको हो ।
घरको आर्थिक अवस्था कमजोर भएका नवीनले एमबीबीएसमा नाम निकालेपछि पालिकाले हरेक वर्ष ७ लाख रुपैयाँ बेहोरिरहेको छ । देवदह कलेजबाट नाम निकाल्ने उनी एक्ला हुन् । अबको डेढ वर्षपछि नवीन डाक्टर बन्नेछन् । पालिकाले मेडिकल अधिकृत निःशुल्क अध्ययन कार्यविधि बनाएर डाक्टर पढाइरहेको छ ।
डेढ वर्षदेखि पातारासी–७ का मनोज थापा पनि जानकी मेडिकल कलेज धनुषामा एमबीबीएस अध्ययन गरिरहेका छन् । ‘पारिवारिक आर्थिक अवस्था नाजुक भएकाहरूलाई इच्छा हुँदाहुँदै पनि डाक्टर पढ्ने अवस्था कठिन हुन सक्थ्यो,’ पातारासी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले भने, ‘तर पालिकाको आर्थिक सहयोगका कारण यहाँका विद्यार्थीको डाक्टर बन्ने सपना साकार भइरहेको छ ।’ उनले केही वर्षमै पातारासीबाट दुई जना एमबीबीएस डाक्टर बन्नेमा खुसी छन् ।
पातारासी गाउँपालिकाले न्यूनतम ५ जना डाक्टर उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर आन्तरिक स्रोत अभावले एमबीबीएस पढाउने काम रोक्न सक्ने देखिएको छ । शाखा प्रमुख बुढ्थापाले भने, ‘पालिका त धेरैलाई डाक्टर बनाउन चाहन्छ तर आन्तरिक स्रोतको कमीले अब थप एक जनालाई मात्र पढाउन सक्ने अवस्था छ ।’ नवीन र मनोजका लागि पालिकाले अहिले वार्षिक ७/७ लाख रुपैयाँ बेहोर्दै आइरहेको छ ।
एमबीबीएस पढ्न लाग्ने खर्चको ७५ प्रतिशत रकम पालिकाले बेहोर्ने व्यवस्था मिलाइएको हो । नवीनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट एचए अध्ययन गरेका थिए । ‘सामान्य कृषि पेसा अँगालेका बुबाआमाले एचएसम्म त पढाए तर एमबीबीएस पढाउने सम्भावना नै थिएन,’ नवीनले भने, ‘यो सपना पालिकाले लगानी गर्दा सम्भव भएको छ ।’
पातारासी गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० मा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई अनुदान सहयोग गर्ने योजना ल्याएपछि यो सुविधा लिने नवीन पहिलो हुन् । स्वास्थ्य शाखा प्रमुख बुढ्थापाले पातारासी शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा पछाडि परेको क्षेत्र भएको बताए । पातारासीमा ३ हजार १ सय ७४ घरधुरी छन् । पहिलो पटक एमबीबीएस डाक्टर उत्पादन हुने खबरले स्थानीय उत्साहित छन् ।
