विपन्न विद्यार्थीलाई स्नातक तहसम्म अध्ययनमा ५० हजार, प्राविधिक विषय पढ्नेलाई प्रतिमहिना १५ सय र एमबीबीएस अध्ययन गर्नेलाई वार्षिक ३ लाख रुपैयाँ सहयोग गर्ने व्यवस्था ।
What you should know
धादिङ — धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिको क्षेत्रमा नागरिकको मन जितिरहेको छ । माध्यमिक तहपछि आर्थिक अभावमा अध्ययन छाड्ने अवस्था आउन नदिन गाउँपालिकाले उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ ।
त्यसअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि ५० हजार रुपैयाँ प्रदान गरिन्छ । प्राविधिक विषय अध्ययनमा प्रोत्साहन गर्न प्रतिमहिना १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा गरिएको नेत्रावती डबजोङ गाउँपालिकाले विद्यार्थीबाट कुनै पनि किसिमको रकम नलिने गरी विद्यालयलाई आर्थिक सहायता गरेको छ । गाउँपालिकाभित्रका विद्यार्थीलाई विद्यालय शिक्षाको पहुँच सुनिश्चित गरी गुणस्तरीय शिक्षा प्रदानलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताए ।
गाउँपालिकामै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाभित्रबाट एमबीबीएस अध्ययन गर्ने विद्यार्थीका लागि आर्थिक सहायतास्वरूप वार्षिक ३ लाख रुपैयाँ सहयोग गर्ने नीति लिइएको छ । अहिले वडा नं १ का सुनील सुनारले एमबीबीएस अध्ययन गरिरहेको गाउँपालिका शिक्षा शाखाकी प्रमुख सुशीला ङ्याङजोले जानकारी दिए । यसरी अध्ययन गर्ने विद्यार्थीले एमबीबीएस अध्ययनपछि गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा कम्तीमा दुई वर्ष सेवा गर्ने सम्झौता छ ।
गाउँपालिकाले शिक्षामा गुणस्तर बढाउन शिक्षक–कर्मचारीलाई प्रोत्साहनस्वरूप सम्मान तथा विद्यालय प्रोत्साहन अनुदानसमेत दिँदै आएको छ । गाउँपालिकाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण, छात्रा विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याउन र टिकाउन प्रतिछात्रा दुई प्याकेटका दरले सेनिटरी प्याड वितरण गर्छ । आमा–बुबा नभएका र आर्थिक रूपमा विपन्न बालबालिकालाई एक शैक्षिक सत्रका लागि कापी, कलम र पेन्सिल वितरण गरिन्छ । ‘कुनै पनि विद्यार्थीले विद्यालय आउँदा मेरो परिवारको आर्थिक अवस्था कमजोर छ भन्ने मानसिकता बोक्नु पर्दैन,’ पालिका अध्यक्ष रिजाल बताउँछन् ।
नागरिक शिक्षित भए मात्र गाउँपालिकाको विकास हुने भन्दै पालिकाले शिक्षा क्षेत्रमा लगानी बढाएको छ । गाउँपालिकाभित्र १६ विद्यालयमा १ हजार ८ सय ७५ विद्यार्थी छन् । ती विद्यार्थीको सिकाइ उपलब्धि बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल बजेटको ४ दशमलव ३८ प्रतिशत बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले किशोरी आत्मरक्षा कार्यक्रमअन्तर्गत किशोरीको आत्मविश्वास बढाउने तालिम प्रदान गर्दै आएको पालिका उपाध्यक्ष सीतामाया चोदेन तामाङले जानकारी दिइन् । उनका अनुसार एसईई तयारी कक्षा सञ्चालन अनुदान, माध्यमिक विद्यालयले न्यून सिकाइ उपलब्धि भएको विषयमा अतिरिक्त कक्षा सञ्चालन, विद्यार्थीको प्रतिभा पहिचान गर्न गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ ।
आर्थिक आत्मनिर्भरताको सिकाइ गर्ने उद्देश्यले डिम्याट खाता खोली सेयर (आईपीओ) भर्न सिकाउने र सेयर परेको रकम व्यवस्थापन गर्ने कार्यक्रम पनि गाउँपालिकाले सुरु गरेको छ । विद्यार्थीको सिकाइलाई व्यावहारिक र नतिजामूलक बनाउने उद्देश्यले महेन्द्र बाराही माविलाई आवासीय विद्यालयका रूपमा अघि बढाइएको छ । यसको उपलब्धि विश्लेषण गरी अन्य विद्यालयमा पनि निरन्तरता दिने योजना बनाइएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुशीला ङ्याङजोले बताइन् । शिक्षामा लगानी गर्न जनप्रतिनिधिको निरन्तर चासो, शिक्षक–कर्मचारीको मिहिनेत, अभिभावकको लगातारको खबरदारी र उचित वातावरणका कारण गाउँपालिकाले शिक्षामा फड्को मारेको उनको भनाइ छ ।
२०८१ को एसईईमा यस पालिकाका ९१.६७ प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’ मा परे । विगत दुई शैक्षिक सत्रदेखि धादिङका १३ स्थानीय तहमा नेत्रावती डबजोङ लगातार प्रथम हुँदै आएको छ ।
ज्येष्ठ नागरिकलाई घरमै सेवा
गाउँपालिकाले गाउँभित्रका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने गरेको छ । गाउँपालिकाका चिकित्सक र स्वास्थ्यकर्मीको टोली औषधि र स्वास्थ्य परीक्षणको सामग्री बोकेर कम्तीमा तीन महिनामा एक पटक घरघर जाने गरेको छ । जटिल समस्या देखिए अस्पतालसम्म लाने गरिएको छ ।
दीर्घकालीन वा निको नहुने रोगबाट पीडित बिरामीको दुखाइ र अन्य शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक समस्या कम गर्दै जीवनको गुणस्तर सुधार गर्न गाउँपालिकाले यो सेवा सुरु गरेको हो । विशेष गरी क्यान्सरका अन्तिम चरणका बिरामी, अन्तिम चरणको मुटु, फोक्सो, मृगौला वा कलेजो रोग भएका, स्ट्रोक वा गम्भीर चोटपटकपछि पूर्ण रूपमा निको नहुने अवस्थामा भएका, दीर्घ स्नायुजन्य रोग भएका, अत्यधिक पीडामा रहेका ज्येष्ठ नागरिक तथा दैनिक जीवन आफैं चलाउन नसक्ने बिरामीलाई उच्च प्राथमिकतामा राखी गाउँपालिकाले सेवा दिइरहेको छ ।
दम रोगबाट पीडित सेमजोङ गैराकी ७८ वर्षीया गेरिमाया तामाङ उपचारका लागि छोराबुहारीको सहारामा टाढा–टाढा जानुपर्दा आजित थिइन् । अहिले घरमै पाएको चिकित्सकीय सेवाबाट दंग छिन् । यसले पैसा र खेतीपातीमा लाग्नुपर्ने छोरा–बुहारीको समयसमेत बचत भएको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्रप्रसाद जोशीका अनुसार गाउँपालिकाभित्र ३५ बिरामीले घुम्ती स्वास्थ्य सेवा लिइरहेका छन् । ‘मृत्युको मुखमा पुग्दा पनि पीडा कम होस् भनेर गाउँपालिकाले दिएको सेवाले धेरै बाँच्न त नसकिएला तर पोलेको घाउमा थोरै भए पनि मलमपट्टी भएको छ,’ क्यान्सरका एक बिरामीले भने ।
हरेक ज्येष्ठ नागरिक र जटिल किसिमका बिरामीको स्वास्थ्य अवस्थाको जानकारी गाउँपालिकाको स्वास्थ्य शाखामा राखिन्छ । हरेक नागरिकले स्वास्थ्यमा सहज सुविधा प्राप्त गरून् भनी गाउँपालिकाले पालिकाभित्र रहेको अस्पतालमा मेडिकल अधिकृत राखेर सेवा प्रवाह गरेको छ । सामान्य उपचारका लागि गाउँका नागरिक अन्यत्र धाउन नपरोस् भनी स्वास्थ्यका लागि थप योजना बनाइरहेको पालिका उपाध्यक्ष तामाङले जानकारी दिइन् ।
सदरमुकाम धादिङबेसीबाट करिब २५ किलोमिटर पर केन्द्र रहेको नेत्रावती डबजोङ गाउँपालिकाका अधिकांश मानिस कृषि पेसामा संलग्न छन् । हरेक घरमा पशुपालन गरिएको छ । यसैलाई मध्यनजर गरी गाउँपालिकाले पशुधनको सुरक्षा गर्दै कृषकको आर्थिक स्तरवृद्धि गर्न पशु बिमा (गाई–भैंसी) कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कृषकको घरमै पुगेर पशु स्वास्थ्य परीक्षण, पशु औषधि वितरण, पशु स्वास्थ्य तथा प्रजनन व्यवस्थापन गरी उत्पादन वृद्धि गर्ने गरिएको छ । लागत साझेदारीमा औषधि वितरण, बाह्य परजीवी नियन्त्रण, सन्तुलित आहारा व्यवस्थापनका लागि घाँसको बीउ तथा बेर्ना वितरण गरिन्छ । यसले कृषकलाई प्रत्यक्ष लाभ पुगेको छ ।
वातावरणमैत्री माटोको स्वास्थ्य सुधार तथा उर्वराशक्ति वृद्धि, मानव स्वास्थ्यका लागि सुरक्षित, लाभदायक किराको संरक्षण, जैविक कृषि प्रवर्द्धनजस्ता कार्यमा पालिकाले निरन्तर सहयोग गर्दै आएको छ । पक्की टनेल निर्माणका लागि साझेदारी अनुदान जस्ता कार्यक्रम सञ्चालन गरिएका छन्, जसबाट बेमौसमी खेतीलाई व्यवस्थित बनाउन योगदान पुगेको छ । गाउँपालिकाभित्र कर्मचारी र जनप्रतिनिधिको लोभलाग्दो समन्वयले काम गर्न सहज रहेको प्रमुख प्रशासकीय अधिकृत सन्देशप्रसाद केसली बताउँछन् ।
