'सानु साथी'मा जीवनका रङ र प्रेमका आयाम

कतै लाग्छ, भर्खरभर्खर मनमा प्रेम अंकुरित हुन लागेको एउटा युवावयमा प्रवेश गर्दै लाग्दाको युवा कवि हुन् कि ! कहीँ लाग्छ, परिपक्व प्रौढ हुन्, सबै कुराको उपभोग गरिसकेका छन् ।

पुस ५, २०८२

निरुपा प्रसून

The colors of life and dimensions of love in 'Sanu Sathi'

What you should know

मान्छे यो संसारमा किन यति धेरै छन् ? कसरी यति विध्न मान्छे उत्पति भए ? यसको एउटै उत्तर सायद हुन सक्छ- मान्छेलाई आफू र आफ्नो अस्तित्व अत्यन्तै प्यारो हुन्छ, त्यही भएर ।

मान्छेलाई आफू भएर मात्र पुग्दैन । आफू नरहँदाको समयमा पनि आफ्नो अस्तित्व यो जगतमा रहिरहोस् भन्ने ध्याउन्नमा सधैं रहन्छ । यो त भयो एउटा देखिने पाटो तर यस्ता र यस्तै नदेखिने पाटा अनेक छन्, मान्छे यो संसारमा भरिपूर्ण हुनुमा । 

आफ्नो वंश अथवा आफ्नो रगतप्रति समर्पित एउटा प्रेमिल कविता संग्रह हो, 'सानु साथ' । कवि ईश्वरमणि अधिकारीले आफ्नी प्रिय नातिनी ‘देव्यांशी’ लाई समर्पण गरेर प्रकाशित भएको सङ्ग्रहभित्र १०२ वटा कविता छन् । यसको अर्थ यो होइन कि सबै कविता देव्यांशीकै लागि मात्र लेखिएका हुन् । 

चराचर जगतमा मान्छेको जीवन र जीवनको वरिपरि रहेका स्थूलदेखि सूक्ष्म अनि ठोस र अमूर्त सबै प्रकारका विषय र अनुभूति कवितामा पाइन्छन् । सङ्ग्रहको पहिलो कविता छ 'घर'–

वर्षौंदेखि 

व्याकरण पढाउने गुरुहरुसँग

म विमति राख्दै आइरहेछु

उनीहरु घरलाई जातिवाचक भन्छन्

म घरलाई भाववाचक भन्छु ।

महोदय !

के तिमी आफ्नो घर सम्झँदा

घरको दलिन, ढुंगा र माटो सम्झन्छौ ?

घरका सामान र घरसम्म पुग्ने बाटो सम्झन्छौ ?

घरका आकार, प्रकार या कुनै खास पाटो सम्झन्छौ ?

कि सम्झन्छौ ?

बाबाको अपार आशीर्वाद

परिवारको अनन्त साथ

आमाको न्यानो माया

र घरको आँचल छायाँ ?

अनि आफ्नो आस्था 

आफूले बाँचेको समय 

आफ्नो स्वप्न

र आफ्नो अटल विश्वास ?

यो ‘सानु साथी’ कविता सङ्ग्रह मानव हुनुको सौभाग्यको गाथाले भरिएको एउटा सुन्दर ग्रन्थ हो । कविले भोगेका प्रत्येक उमेरमा प्रेमका अनेक रङलाई सुन्दर शब्दमा उनेर उत्तिकै सुन्दर कविता सिर्जना गरेका छन् । यस ब्रह्माण्डमा भएका प्रत्येक कुरा कविलाई राम्रो लाग्छ । कविलाई मान्छे मात्र होइन ईश्वर पनि उत्तिकै प्रिय लाग्छ । नाति–नातिना, छोरा–छोरी मात्रै होइन आमा–बुवा र हजुरबुवा–हजुरआमा पनि उत्तिकै अर्थ राख्दछन् उनका स्नेहहरुमा । सबै सम्बन्धहरुमा उनले सहभाव प्रकट गरेका छन् ।  

गीत लेख्छु प्रेमपत्र बन्छ

कविता लेख्छु सम्मोहन बन्छ

आख्यानहरु प्रेमाख्यान बन्छन्

प्रेमालाप बन्छन् गजलहरु

फिकाफिका लाग्छन्

विश्वविख्यात प्रेमकथाहरु

मन किन पग्लिन्छ यसरी

सधैंसधैं तिम्रो समीपमा मैन जस्तै... (पृष्ठ २१ ) 

‘तिम्रो नाममा’ शीर्षकको यो कवितामा प्रेममा समर्पणको उत्कृष्ट भाव प्रस्तुत गर्न निपुण लाग्दछन् कवि । कहीँ लाग्छ, उनका कविता पढ्दा भर्खरभर्खर मनमा प्रेम अंकुरित हुन लागेको एउटा युवावयमा प्रवेश गर्दै लाग्दाको युवा कवि हुन् कि ! कहीँ लाग्छ परिपक्व प्रौढ हुन्, सबै कुराको उपभोग गरिसकेका छन् ।

...सम्झन्ना भन्नु पनि 

भयानक रोग रहेछ 

बिर्सन्छु भन्नु त झन्

सम्झिरहनु रहेछ । (पृष्ठ २८)

---

...एकै छिन आफूलाई बिर्सेर

प्रेमलाई सम्झी त हेर

जिन्दगी मुस्कुराउँछ ब्रहृमाण्डमा । (पृष्ठ ३२)

कविले प्रेमका अनेक आयामहरु अनुभूत गरेर अथवा स्वैरकल्पनामा लेखेका होलान् । प्रेम सत्य हो । प्रेम भ्रम हो । प्रेम दुःख पनि हो भने जीवनका सम्पूर्ण आरोह–अवरोह प्रेममै चक्र लगाइरहेको कुरा उनको कवितामा उल्लेख गरेका छन् ।

मान्छे–मान्छेबीचको प्रेम मात्र होइन गाउँ, समाज, पाटीपौवा, सडक, गोरेटो, पहाड, सहर, चौतारी, भन्ज्याङ, नदी, खोला, घर र आँगन सबैसबैको मोहमा डुबेर कविता लेखेका छन् । शब्दहरु सामान्य भए पनि कविता सामान्य लाग्दैनन्, ती पोखराको सुन्दर अग्ला हिमालजस्तै छन् । कुनैकुनै कविता त सेती नदीजस्तै विद्रोही पनि लाग्छन् । 

उनीहरु अरुलाई सोध्दैनन्

उनीहरु आफौ जान्दैनन्

देश आफू मात्रै हो 

अरु, उनीहरु जान्दैनन् 

आफू शक्तिमा भएदेखि

अरुहरुको इतिहास मेटाइदिएका छन्

फेरिदिएका छन् गाथा आफूखुसी ।

सिँढी चढ्दै जान्छन्, पैताला बिर्सदै जान्छन् 

सम्झनुपर्ने सब बिर्सन्छन् , बिर्सनुपर्ने प्रायः सम्झिन्छन् 

उनीहरु भन्नु आफू मात्रै हो  

अरु उनीहरु जान्दैनन् ।... (पृष्ठ ,५९)

कवि परिवारिक मायामोहमा मात्रै हराएका छैनन् उनलाई समाज ,देश र सम्पूर्ण विश्वको चिन्ता लाग्छ । कसरी भयो किन भयो ? भन्ने उत्तरको खोजीमा देखिन्छन् । नहुनु पर्ने कुरा भइरहेकामा उनलाई दुःख लाग्छ र लेख्छन्, देशको प्रतिबिम्ब, ठूलो वर्णमाला र सहरजस्ता कविता ।

तिम्रा नाममा, फूलका नाममा , मन्जुरीनामा, प्रेम –विज्ञान , छोरीका नाममा, अलिक पल्तिरबाट, यादको क्यानभास, फरक कुरा, स्वप्न–स्केचजस्ता कविता प्रेमको उच्चतम् नमुना हुन भन्न सकिन्छ । 

सुन्दर कवितामा कविको सुन्दर भावना प्रतिबिम्बित छन् । यस धरातलमा भएका हर कुरालाई कविले प्रेमले स्वीकारेका छन् । फूलमा, जूनमा , काँडामा, घाममा सबैसबैमा उनी प्रेम खन्याउछन् । जन्म मन पर्छ र मृत्युलाई पनि स्वीकार्न जानेका छन् । एक्लो हुन पनि मन पर्छ कविलाई । भिडमा हराउन पनि मन पर्छ । धेरै कुरामा सहमत छन् कवि, थोरै कुराहरुमा मात्रै असन्तुष्टि लाग्दछन् कवि आफ्ना कवितामार्फत ।

प्रिय ‘देव्याशी’ 

संसारका सारा खुसी तिमीलाई

आकाशका जूनतारा तिमीलाई 

मधुकरको मुरली 

र वायुपङ्खी घोडा तिमीलाई

त्यही घोडाको पुच्छरमा झुन्डिएर

तिमीसम्म आइपुग्नुछ 

र हृदयले सुम्सुम्याउनुछ तिमीलाई 

दूर देशमा

सानु साथी आएकी छन् 

म सानु साथीभन्दा

धेरैधेरै सानु भएको छु ।... (सानु साथी, पृष्ठ ३९)

आफ्नी नातिनी देव्यांशीका लागि लेखिएको कविता हो ‘सानु साथी’ । नातिनी जन्मदाको अपार खुसी, अलौकिक आनन्द र नातिनीप्रतिको अथाह मोह यस कवितामा कविले साह्रै आकर्षित ठंगमा व्यक्त गरेका छन् । 

म सोचिरहेछु–

धेरैधेरै चिज छन्

तिमी र मेराबीच ।

उता तिमी छौ

यता म छु

बीचमा सबथोक छन् 

मात्र पुल छैन ।  (पृष्ठ, ५२)

कवि कुशल मुक्तककार पनि भएर हुन सक्छ कविता चिटिक्क परेका छन् । शब्दहरु जतन गरेर खर्च गरेका छन् । थोरै शब्दमा धेरै कुराहरु भनेका छन् । जादुयी छन् ‘सानु साथी’ सङ्ग्रहभित्रका कविता । यिनले पाठकलाई मोहित पार्न सक्छन् । 

निरुपा प्रसून

Link copied successfully