कतै लाग्छ, भर्खरभर्खर मनमा प्रेम अंकुरित हुन लागेको एउटा युवावयमा प्रवेश गर्दै लाग्दाको युवा कवि हुन् कि ! कहीँ लाग्छ, परिपक्व प्रौढ हुन्, सबै कुराको उपभोग गरिसकेका छन् ।
What you should know
मान्छे यो संसारमा किन यति धेरै छन् ? कसरी यति विध्न मान्छे उत्पति भए ? यसको एउटै उत्तर सायद हुन सक्छ- मान्छेलाई आफू र आफ्नो अस्तित्व अत्यन्तै प्यारो हुन्छ, त्यही भएर ।
मान्छेलाई आफू भएर मात्र पुग्दैन । आफू नरहँदाको समयमा पनि आफ्नो अस्तित्व यो जगतमा रहिरहोस् भन्ने ध्याउन्नमा सधैं रहन्छ । यो त भयो एउटा देखिने पाटो तर यस्ता र यस्तै नदेखिने पाटा अनेक छन्, मान्छे यो संसारमा भरिपूर्ण हुनुमा ।
आफ्नो वंश अथवा आफ्नो रगतप्रति समर्पित एउटा प्रेमिल कविता संग्रह हो, 'सानु साथ' । कवि ईश्वरमणि अधिकारीले आफ्नी प्रिय नातिनी ‘देव्यांशी’ लाई समर्पण गरेर प्रकाशित भएको सङ्ग्रहभित्र १०२ वटा कविता छन् । यसको अर्थ यो होइन कि सबै कविता देव्यांशीकै लागि मात्र लेखिएका हुन् ।
चराचर जगतमा मान्छेको जीवन र जीवनको वरिपरि रहेका स्थूलदेखि सूक्ष्म अनि ठोस र अमूर्त सबै प्रकारका विषय र अनुभूति कवितामा पाइन्छन् । सङ्ग्रहको पहिलो कविता छ 'घर'–
वर्षौंदेखि
व्याकरण पढाउने गुरुहरुसँग
म विमति राख्दै आइरहेछु
उनीहरु घरलाई जातिवाचक भन्छन्
म घरलाई भाववाचक भन्छु ।
महोदय !
के तिमी आफ्नो घर सम्झँदा
घरको दलिन, ढुंगा र माटो सम्झन्छौ ?
घरका सामान र घरसम्म पुग्ने बाटो सम्झन्छौ ?
घरका आकार, प्रकार या कुनै खास पाटो सम्झन्छौ ?
कि सम्झन्छौ ?
बाबाको अपार आशीर्वाद
परिवारको अनन्त साथ
आमाको न्यानो माया
र घरको आँचल छायाँ ?
अनि आफ्नो आस्था
आफूले बाँचेको समय
आफ्नो स्वप्न
र आफ्नो अटल विश्वास ?
यो ‘सानु साथी’ कविता सङ्ग्रह मानव हुनुको सौभाग्यको गाथाले भरिएको एउटा सुन्दर ग्रन्थ हो । कविले भोगेका प्रत्येक उमेरमा प्रेमका अनेक रङलाई सुन्दर शब्दमा उनेर उत्तिकै सुन्दर कविता सिर्जना गरेका छन् । यस ब्रह्माण्डमा भएका प्रत्येक कुरा कविलाई राम्रो लाग्छ । कविलाई मान्छे मात्र होइन ईश्वर पनि उत्तिकै प्रिय लाग्छ । नाति–नातिना, छोरा–छोरी मात्रै होइन आमा–बुवा र हजुरबुवा–हजुरआमा पनि उत्तिकै अर्थ राख्दछन् उनका स्नेहहरुमा । सबै सम्बन्धहरुमा उनले सहभाव प्रकट गरेका छन् ।
गीत लेख्छु प्रेमपत्र बन्छ
कविता लेख्छु सम्मोहन बन्छ
आख्यानहरु प्रेमाख्यान बन्छन्
प्रेमालाप बन्छन् गजलहरु
फिकाफिका लाग्छन्
विश्वविख्यात प्रेमकथाहरु
मन किन पग्लिन्छ यसरी
सधैंसधैं तिम्रो समीपमा मैन जस्तै... (पृष्ठ २१ )
‘तिम्रो नाममा’ शीर्षकको यो कवितामा प्रेममा समर्पणको उत्कृष्ट भाव प्रस्तुत गर्न निपुण लाग्दछन् कवि । कहीँ लाग्छ, उनका कविता पढ्दा भर्खरभर्खर मनमा प्रेम अंकुरित हुन लागेको एउटा युवावयमा प्रवेश गर्दै लाग्दाको युवा कवि हुन् कि ! कहीँ लाग्छ परिपक्व प्रौढ हुन्, सबै कुराको उपभोग गरिसकेका छन् ।
...सम्झन्ना भन्नु पनि
भयानक रोग रहेछ
बिर्सन्छु भन्नु त झन्
सम्झिरहनु रहेछ । (पृष्ठ २८)
---
...एकै छिन आफूलाई बिर्सेर
प्रेमलाई सम्झी त हेर
जिन्दगी मुस्कुराउँछ ब्रहृमाण्डमा । (पृष्ठ ३२)
कविले प्रेमका अनेक आयामहरु अनुभूत गरेर अथवा स्वैरकल्पनामा लेखेका होलान् । प्रेम सत्य हो । प्रेम भ्रम हो । प्रेम दुःख पनि हो भने जीवनका सम्पूर्ण आरोह–अवरोह प्रेममै चक्र लगाइरहेको कुरा उनको कवितामा उल्लेख गरेका छन् ।
मान्छे–मान्छेबीचको प्रेम मात्र होइन गाउँ, समाज, पाटीपौवा, सडक, गोरेटो, पहाड, सहर, चौतारी, भन्ज्याङ, नदी, खोला, घर र आँगन सबैसबैको मोहमा डुबेर कविता लेखेका छन् । शब्दहरु सामान्य भए पनि कविता सामान्य लाग्दैनन्, ती पोखराको सुन्दर अग्ला हिमालजस्तै छन् । कुनैकुनै कविता त सेती नदीजस्तै विद्रोही पनि लाग्छन् ।
उनीहरु अरुलाई सोध्दैनन्
उनीहरु आफौ जान्दैनन्
देश आफू मात्रै हो
अरु, उनीहरु जान्दैनन्
आफू शक्तिमा भएदेखि
अरुहरुको इतिहास मेटाइदिएका छन्
फेरिदिएका छन् गाथा आफूखुसी ।
सिँढी चढ्दै जान्छन्, पैताला बिर्सदै जान्छन्
सम्झनुपर्ने सब बिर्सन्छन् , बिर्सनुपर्ने प्रायः सम्झिन्छन्
उनीहरु भन्नु आफू मात्रै हो
अरु उनीहरु जान्दैनन् ।... (पृष्ठ ,५९)
कवि परिवारिक मायामोहमा मात्रै हराएका छैनन् उनलाई समाज ,देश र सम्पूर्ण विश्वको चिन्ता लाग्छ । कसरी भयो किन भयो ? भन्ने उत्तरको खोजीमा देखिन्छन् । नहुनु पर्ने कुरा भइरहेकामा उनलाई दुःख लाग्छ र लेख्छन्, देशको प्रतिबिम्ब, ठूलो वर्णमाला र सहरजस्ता कविता ।
तिम्रा नाममा, फूलका नाममा , मन्जुरीनामा, प्रेम –विज्ञान , छोरीका नाममा, अलिक पल्तिरबाट, यादको क्यानभास, फरक कुरा, स्वप्न–स्केचजस्ता कविता प्रेमको उच्चतम् नमुना हुन भन्न सकिन्छ ।
सुन्दर कवितामा कविको सुन्दर भावना प्रतिबिम्बित छन् । यस धरातलमा भएका हर कुरालाई कविले प्रेमले स्वीकारेका छन् । फूलमा, जूनमा , काँडामा, घाममा सबैसबैमा उनी प्रेम खन्याउछन् । जन्म मन पर्छ र मृत्युलाई पनि स्वीकार्न जानेका छन् । एक्लो हुन पनि मन पर्छ कविलाई । भिडमा हराउन पनि मन पर्छ । धेरै कुरामा सहमत छन् कवि, थोरै कुराहरुमा मात्रै असन्तुष्टि लाग्दछन् कवि आफ्ना कवितामार्फत ।
प्रिय ‘देव्याशी’
संसारका सारा खुसी तिमीलाई
आकाशका जूनतारा तिमीलाई
मधुकरको मुरली
र वायुपङ्खी घोडा तिमीलाई
त्यही घोडाको पुच्छरमा झुन्डिएर
तिमीसम्म आइपुग्नुछ
र हृदयले सुम्सुम्याउनुछ तिमीलाई
दूर देशमा
सानु साथी आएकी छन्
म सानु साथीभन्दा
धेरैधेरै सानु भएको छु ।... (सानु साथी, पृष्ठ ३९)
आफ्नी नातिनी देव्यांशीका लागि लेखिएको कविता हो ‘सानु साथी’ । नातिनी जन्मदाको अपार खुसी, अलौकिक आनन्द र नातिनीप्रतिको अथाह मोह यस कवितामा कविले साह्रै आकर्षित ठंगमा व्यक्त गरेका छन् ।
म सोचिरहेछु–
धेरैधेरै चिज छन्
तिमी र मेराबीच ।
उता तिमी छौ
यता म छु
बीचमा सबथोक छन्
मात्र पुल छैन । (पृष्ठ, ५२)
कवि कुशल मुक्तककार पनि भएर हुन सक्छ कविता चिटिक्क परेका छन् । शब्दहरु जतन गरेर खर्च गरेका छन् । थोरै शब्दमा धेरै कुराहरु भनेका छन् । जादुयी छन् ‘सानु साथी’ सङ्ग्रहभित्रका कविता । यिनले पाठकलाई मोहित पार्न सक्छन् ।
